राजनीतिमा जेन जी सहभागिताका लागि उमेरहद कति तगारो छ

राज्य सञ्चालनका तीन तहमा उमेर हदबन्दी २१ वर्षदेखि ७० वर्षमा सीमित गर्न प्रस्ताव गर्दै जेन जीहरू प्रतिनिधिहरूले प्रधानमन्त्रीलाई भेटेका थिए

तस्बिर स्रोत, PM Secretariat

तस्बिरको क्याप्शन, राज्य सञ्चालनका तीन तहमा उमेर हदबन्दी २१ वर्षदेखि ७० वर्षमा सीमित गर्न प्रस्ताव गर्दै जेन जी प्रतिनिधिहरूले प्रधानमन्त्रीलाई भेटेका थिए
    • Author, प्रदीप बस्याल
    • Role, बीबीसी न्यूज नेपाली

गत कात्तिक २८ मा विभिन्न जेन जी समूहरूले प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाएको सरकारसँग गर्न चाहेको भनिएको एक सम्झौता पत्रमा प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको सदस्यको उमेर हदबन्दी २१ वर्षदेखि ७० वर्षमा सीमित गर्न प्रस्ताव गरिएको छ।

'जेन-जी मुभमेन्ट अलायन्स,' 'काउन्सिल अफ जेन-जी,' सात प्रदेशका संयोजकहरू र 'जेन-जी फ्रन्ट'ले प्रधानमन्त्रीसमक्ष एकीकृत "जेन-जीको नेतृत्वमा भएको जनआन्दोलनको जनादेश सम्बन्धमा जनआन्दोलनकारी र राज्यपक्षबीचको प्रस्तावित सम्झौता पत्र" बुझाउँदा नेपालको संविधानमा गर्नुपर्ने सुधार उल्लेख गर्दै त्यसमा उमेरसम्बन्धी उक्त विषय उठान गरेका हुन्।

जबकि हाल त्यसमा फरक फरक व्यवस्था छ।

प्रतिनिधि सभाका लागि २५ वर्ष र राष्ट्रिय सभाका लागि ३५ वर्ष उमेर पूरा भएको हुनु पर्ने संवैधानिक व्यवस्था छ। प्रदेश सभाकै लागि उम्मेदवार हुन २५ वर्ष उमेर पूरा भएको हुनु पर्छ।

गाउँ तथा नगर कार्यपालिका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्ष र सदस्य हुने योग्यता देशको मूल कानुनमै २१ वर्ष उमेर पूरा भएको हुनुपर्ने भनेर लेखिएको छ।

निर्वाचन आयोगका एकजना पूर्वप्रमुखले जेन जी समूहको भावना उनीहरूबाटै प्रस्तुत गर्नका लागि उमेर हद कम गर्ने काम आवश्यक रहेको बताउँछन्।

पूर्व कार्यवाहक पूर्वप्रमुख निर्वाचन आयुक्त दोलखबहादुर गुरुङले यस पटकको चुनावका लागि निर्वाचन कार्यतालिका प्रकाशनमा भइसकेको अवस्थामा उमेरसहितका कतिपय विषयहरू सरकार र दलहरूबीच पूर्वसहमति गर्दै निर्वाचित संसदबाट पारित गर्न सकिने विकल्पमा जान सकिने बताउँछन्।

जेन जी अभियन्ताहरूको भने यस विषयमा भिन्नभिन्न मत पाइन्छ।

जेन जीका मत

साझा प्रस्तावमा एउटा कुरा समेटिए तापनि सबै जेन जी नेताहरू यस विषयमा मतैक्य पाइएनन्।

जेन जी अभियन्ता पुरुषोत्तम यादवले बदलिँदो परिवेशसँग जोडेर उमेरहद घटाउने कुरा गर्नुपर्ने टिप्पणी गर्छौँ।

"एक दशकअघिको १६ वर्षे मानिसले जे जति बुझ्थ्यो, सिक्थ्यो त्यो अहिले त्यति नै उमेरमा निकै धेरै सिक्छ। परिवेश त्यसले फेरिएको छ। उनीहरूको एक्सपोजर त्यो स्तरको छ। सोच्ने क्षमता त्यही गतिमा बढिरहेको छ। त्यो पक्ष हामीले बुझ्नुपर्छ," यादव भन्छन्।

"हामी त बरु माथिल्लो उमेर हदलाई कसिलो बनाउँदै ६० कटेपछि राजनीति नगर्ने भन्दै छौँ। तल्लो उमेर हदमा अब लचिलो भएर घटाउनै पर्छ।"

यादवले मतदान गर्ने उमेर हदलाई समेत १८ बाट घटाउँदै १६ मा झार्न आवश्यक रहेको तर्क गर्छन्।

"त्यसरी उमेर घटाउँदैमा सबै जेन जीहरू भोलि नै राजनीतिमा आउँछन् भन्ने होइन। तर इच्छुकका लागि बाटो खुला राखिदिनुपर्छ। हामी त प्रधानमन्त्री हुने उमेर हद पनि ३५ तोकिराख्न आवश्यक छैन भनिरहेका छौँ," यादवको भनाइ छ।

"राजनीति गर्ने समान उद्देश्यमा रहेका विभिन्न उमेर हद्दमा अब समीक्षा गरेर एकरूपता ल्याउन आवश्यक छ।"

अर्की एक जेन जी अभियानकर्मी भावना राउतको मत भने भिन्न छ। उनले अनुभव भन्ने कुरा उमेरसँग पनि आउने भएकाले संसद्मा रहेको २५ वर्षे उमेर हद उपयुक्त नै रहेको बताउँछिन्।

"फेरि जेन जी भनेको २८ वर्ष सम्मका व्यक्तिहरू भएकाले उनीहरूलाई अवसर हुँदै नहुने पनि होइन। जेन जी भन्दा पनि युवा आन्दोलन भनेर यसलाई हेर्नुपर्ला सायद," राउत भन्छिन्।

"जेन जी उमेरकै रूपमा हेर्दा न त हामी आर्थिक रूपमा न त भावनात्मक रूपमै परिपक्व भइसकेका हुन्छौँ। हामी आन्दोलनमा होमिन, हामी अगाडि आउन, प्रश्न गर्न नडराउने पुस्ता हो। तर त्यति नै बेला अन्य धेरै कुरा हुन्छन् जुन राजनीतिका लागि बाधा बन्छ।"

मतदाता

केम्ब्रिज शब्दकोशका अनुसार सन् १९९० को दशकको अन्त्यतिर र सन् २००० दशकको सुरुतिर जन्मिएका मानिसहरूलाई 'जेनरेशन जेड' अर्थात्‌ 'जेन जी' भन्ने गरिएको छ।

जस अन्तर्गत हाल उनीहरू १३ देखि २८ वर्ष उमेर समूहबीचका मानिसहरू गनिन्छन्।

राउतले स्थानीय तहमा वडाहरूबाटै सिक्दै आउने अवसरका लागि २१ वर्षे उमेर हद कायम रहेको बताउँदै २५ वर्षे हदम्यादले उच्च शिक्षा पूरा गर्ने अवसर दिने तर्क गर्छिन्।

"जेन जीहरू पार्टीमा रहेर हस्तक्षेप गर्न सक्ने अन्य विकल्पहरू समेतलाई त्यसले रोक्दैन," राउत थप्छिन्।

नेपाल नागरिकता ऐन, २०६३ मा जुनसुकै आधारमा नेपालको नागरिकता लिन १६ वर्ष उमेर पूरा भएको हुनुपर्ने जनाइएको छ।

सवारी तथा यातायात व्यवस्था ऐन-२०४९ अनुसार ठूलो सवारीका लागि २१ वर्ष उमेर नपुगेको व्यक्ति अयोग्य हुने, मझौला र साना सवारीका लागि १८ वर्ष उमेर नपुगेको व्यक्ति अयोग्य हुने जनाइएको छ।

तर त्यसमै मोटरसाइकल तथा त्यस्तै अन्य दुई पाङ्ग्रे सवारीको निमित्त १६ वर्ष उमेर पुगेको व्यक्तिले चालक अनुमति पत्र प्राप्त गर्न सक्ने जनाइएको छ।

जेन जीको मागमा के गर्न सकिन्छ?

जेन जी युवाहरू

तस्बिर स्रोत, Reuters

पूर्व निर्वाचन आयुक्त दोलखबहादुर गुरुङ परिपक्वताका हिसाबले स्थानीय तहका लागि केही कम र संसद्‍का लागि माथिल्लो उमेर तोकिएको भए पनि प्रविधिमा रहेको पहुँचजस्ता विभिन्न विषयले अहिलेका पुस्ता छिट्टै परिपक्व हुने मत राख्छन्।

उनले कैयौँ देशमा त्यस्ता उमेर हद नेपालको तुलनामा कम रहेको तथ्यलाई समेत आधार मान्न सकिने बताउँछन्।

यूके, अस्ट्रेलिया र क्यानडाका तल्लो सदनमा उम्मेदवार हुनका लागि कम्तीमा १८ वर्ष उमेर पुगेको हुनु पर्ने व्यवस्था छ।

अमेरिका, भारत, जापानजस्ता देशका तल्लो सदनमा भने सांसद हुने उमेर हद कम्तीमा २५ वर्ष तोकिएको छ।

नेपालको संविधानले १८ वर्ष उमेर पूरा भएको प्रत्येक नेपाली नागरिकलाई सङ्घीय कानुन बमोजिम कुनै एक निर्वाचन क्षेत्रमा मतदान गर्ने अधिकार हुने उल्लेख छ।

पछिल्ला केही वर्षमा कैयौँ देशहरूले मतदान गर्न योग्य उमेरलाई कम गरेका छन्।

"जेन जी कुनै सङ्गठित समूह नभएर उमेर समूह हो जुन हरेकजसो दलमा छन्। उनीहरूलाई जिताएर उनीहरूमार्फत् अभिव्यक्त देशका आम मुद्दा सदनमा ल्याउने हो भने ऐनहरू संशोधन गर्न ढिलो भइसकेको छ। यी काम युद्धस्तरमा हुनुपर्थ्यो," गुरुङ भन्छन्।

"त्यसो गर्न नसकिए सरकारसहित सर्वपक्षीय रूपमा बसेर पहिलो बैठकबाट यो यो काम गर्न भन्दै सहमति गर्नुपर्‍यो। हिजोकै ठूला दलहरूसँग जेन जी समेत राखेर सहमति गर्दा सबै प्रणालीगत सुधार गर्न सकिन्छ।"

उनले अन्तरिम सरकारले गर्ने त्यस्तो परिवर्तन निर्वाचित सरकारले उल्ट्याउन सक्ने जोखिम हुने भन्दै सबैभन्दा उपयुक्त विकल्प यतिखेर सहमतिमै जानु हुने बताउँछन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।