१० कम्युनिस्ट घटकको एकीकरणमा जेन जीको चर्चा

झलनाथ खनाल, प्रचण्ड र माधवकुमार नेपाल पहिलो पङ्क्तिमा क्रमश: बायाँबाट

तस्बिर स्रोत, RSS

    • Author, प्रदीप बस्याल
    • Role, बीबीसी न्यूज नेपाली

नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसहित १० कम्युनिस्ट घटकहरू नेपाली कम्युनिस्ट पार्टीका रूपमा एक भएको घोषणा गर्न आयोजित सभामा नेताहरूले बारम्बार 'जेन जी' भनिने नवयुवा पुस्तालाई सम्बोधन गर्दै पुराना दल र नेताहरूको 'उपादेयता नसकिएको' दाबी गरेका छन्।

नवगठित दलको संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपाल बनेका छन् एवं उक्त दलको चुनाव चिह्न तारा प्रस्ताव गरिएको छ।

प्रचण्डले आफूहरूको एकतामा "प्रत्यक्ष वा परोक्ष रूपमा जेन जी आन्दोलनको भूमिका रहेको" उल्लेख गर्दै नयाँ पार्टीले युवाहरूलाई पार्टी र राज्य सञ्चालनको केन्द्रमा राख्ने बताए।

उनले नयाँ पार्टी गठनलाई "दलहरूलाई लगाइएको आक्षेपका विरुद्ध राष्ट्रिय एकताको आधार"का रूपमा उल्लेख गरे।

सहसंयोजक नेपालले २०७५ जेठ ३ मा माओवादी र एमाले एकता भएर बनेको तत्कालीन नेकपामा रहेका नौ जनाको सचिवालयमध्ये पाँचजना आफूहरूकै पार्टीमा रहेकाले त्यही नै मूल पार्टी रहेको दाबी गरे।

एकता प्रक्रियामा गए तापनि यी दुईसहितका दलहरूमा मतभिन्नता देखा परेका छन्। त्यसले गर्दा ती दलका कतिपय नेताहरू एकता प्रक्रियाबाहिरै छन्।

मुख्य रूपमा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा र एकीकृत समाजवादी महासचिव घनश्याम भुसाल एकीकरण प्रक्रियामा सामेल भएनन्।

आशङ्का

एकजना जेन जी अभियानकर्मीले नेताहरूप्रति यतिखेर विश्वासको सङ्कट रहेको बताउँदै उनीहरू "साँच्चिकै सुध्रन चाहेको भए विधानमा कम्तीमा ६० वा ४० प्रतिशतजस्तो जेन जी सहभागिता गराउने व्यवस्था गर्नुपर्थ्यो" भनेर प्रतिक्रिया दिएका छन्।

"मैले सानैदेखि वहाँहरूलाई नै हेरिरहेको छु। नेपालमा यति ठूलो परिवर्तन भइसक्दा समेत अहिले पनि वहाँहरू कुर्सी छाड्न तयार हुनुहुन्न," अभियानकर्मी पुरुषोत्तम यादव भन्छन्।

"दुईचारओटा तिनै दलहरू मिलेर अहिले हामीहरूलाई आशा देखाउन खोज्नुभएको छ। वहाँहरूले नै होइन नेपाललाई स्विट्जरल्यान्ड बनाउँछु भनेर सपना देखाएको?"

एकता समारोहमा उपस्थित नेताहरू

तस्बिर स्रोत, RSS

राजनीतिक विश्लेषक हरि रोकाले जेन जीले पछिल्लो आन्दोलनका क्रममा उठाएका मुद्दामा यिनै नेताहरूको ठोस बहस र कार्यनीति भएको नदेखिएको भन्दै यो एकता "आफैँलाई जोगाउने प्रयास"का रूपमा आएको टिप्पणी गरेका छन्।

"जेन जी आन्दोलन किन भयो, उनीहरू किन त्यसरी ज्यानै छाडेर गए भन्नेबारेमा गहिरो अध्ययन गरेर त्यसको मर्मअनुसार अहिले यो एकता वा विभाजन भएजस्तो लाग्दैन," विश्लेषक रोका भन्छन्।

"यो आफूहरूलाई सुरक्षित कित्तामा राख्न, आफूलाई बचाउन मात्र नेताहरू एक ठाउँमा भएका हुन्।"

केन्द्रमा जेन जी

जेन जी आन्दोलनको क्षणलाई सम्झँदै प्रचण्डले झन्डै ६ घण्टा यो देश राज्यविहीनजस्तै बन्दा देश सुगौली सन्धीपछि सबैभन्दा ठूलो राष्ट्रिय सङ्कटमा पुगेको बताए।

"झन्डैझन्डै संविधान नै खारेज हुन लागेको त्यो भयानक रात... हामीले थोरै भए पनि केही न केही भूमिका खेल्ने अवसर प्राप्त भएको भन्दै राष्ट्रपतिलाई सहयोग गरेको हो।"

त्यसै दिन राति आफूहरूले सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउन साथ दिएको र निर्वाचनमा जाने घोषणा गरेको भन्दै प्रधानमन्त्रीले आफूहरूको "मुखै हेर्न मन छैन" भनेर आएका खबरहरूलाई लिएर गुनासो गरे।

तर उनले उक्त आन्दोलनका कारण आफूहरूको एकता यति छिटो भएको बताउँदै आफूहरूलाई पहिलो दल बनाउने दाबी गरे।

"हामीलाई जेन जी युवाहरूको आन्दोलनले राम्रोसँग घोच्यो... कमजोरीलाई राम्रोसँग उजागर गर्नुभयो...पार्टीहरू सच्चिनुपर्छ भन्ने उजागर गरिदिनुभयो," प्रचण्डले थपे। "हामी सच्चिनुको अब कुनै विकल्प छैन।"

जेन जी आन्दोलन

तस्बिर स्रोत, AFP via Getty Images

नेता माधवकुमार नेपालले बुधवार नै कैयौँ जेन जी युवाहरूलाई पार्टी प्रवेश गराएको बताउँदै सामाजिक अभियानकर्मीहरूलाई समेत हातेमालोका लागि आग्रह गरे।

उनले भदौ २७ गते अर्थात सुशीला कार्की प्रधानमन्त्री नियुक्ति भएको बेला राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेको वक्तव्य उद्धृत गर्दै "बडो जुक्तिले प्राप्त गरेको यो अवसरको सदुपयोग गर्न" भूमिका निर्वाह गर्न आवश्यक रहेको बताए।

उनले "पार्टी र नेताहरूको उपादेयता नसकिएको" दाबी गर्दै आफ्नो आचरण र व्यवहारबाट "जनता…युवापुस्ता… नयाँपुस्ता"को विश्वास जित्नुपर्ने बताए।

प्रधानमन्त्री सुशीला कार्कीलाई संविधानको रक्षा गर्दै अघि बढ्न आह्वान गर्दै नेता नेपालले निर्वाचनमा आफूहरूले सघाउने बताए। उनले त्यसपछि संविधान संशोधनका विषयमा पार्टीमा बहसहरू गरिने बताए पनि त्यो केके विषयमा हुने भन्ने खुलाएनन्।

नेता माधवकुमार नेपालले वामपन्थीहरूबीच 'सहकार्य' एवं विभिन्न शक्तिहरूबीच 'मोर्चा' बनाउँदै दुवै विकल्पमा दलहरूसँग जुटिरहने बताए। त्यस क्रममा सङ्घीयता र गणतन्त्रमा सम्झौता नगरिने उनले बताए।

अन्य नेताहरूले आफ्नो सम्बोधनका क्रममा बारम्बार जेन जीहरूलाई सम्बोधन गरेका थिए। तिनैमध्येका नारायणकाजी श्रेष्ठले नयाँ पार्टीको संरचनामा जेन जीसहितलाई समेटेर लग्दा मात्र अभिभारा पूरा हुने बताएका थिए। नेता वामदेव गौतमले समाजवादमा नगएकैले जेन जी आन्दोलन भएको बताए।

'मार्क्सवाद लेनिनवाद'लाई नयाँ दलको मार्गदर्शक सिद्धान्तका रूपमा राखिएको छ।

प्रचण्डले कम्युनिस्टको मात्र देश होइन भन्दै सबै खाले पार्टीहरूसँग मोर्चा गराउन सकिने विकल्पबारे उल्लेख गरे।

जेन जी मुद्दामा नयाँ दल साँच्चिकै गम्भीर छ?

जेन जी आन्दोलन

राजनीतिक विश्लेषक हरि रोकाले जेन जीको माग सामाजिक न्याय, सुशासनजस्ता विषय रहेको र "बढ्दो असमानताबीच लोकतन्त्र देखाउने दाँतजस्तो मात्र भएपछि" उनीहरू त्यसविरुद्ध सडकमा उत्रिएको ठान्छन्।

"जसरी किशोरकिशोरी र युवाहरूले बलिदानी दिए, त्यसरी उनीहरूको माग र आवश्यकतालाई ध्यानमा राखेर...बेरोजगारी हटाउने, औद्योगीकरण गर्ने, कृषिको आधुनिकीकरण गर्नेदेखि जीवनयापनका लागि सहज वातावरण बनाउनका लागि कहीँ छलफल र बहस नै छैन। त्यो मुद्दै कतै छैन," उनी भन्छन्।

"जसले गर्दा यो एकता हुँदैमा उनीहरूका मुद्दालाई के फरक पार्छ र?"

अहिलेलाई चुनावमा केही हैसियत बढाउन सकिने नयाँ दलको आकलन रहेको र त्यो अहिलेकै परिस्थितिमा केही सम्भव समेत हुने विश्लेषक रोका टिप्पणी गर्छन्।

"किनकि जेनजीहरूले खासै पार्टी वा समूहहरू बनाएका छैनन्। उनीहरूले वैचारिक वा राजनीतिक समूह बनाएर आन्दोलन गरेका पनि होइनन्," रोकाको भनाइ छ।

जेन जी अभियानकर्मी पुरुषोत्तम यादवले नेताहरूले विगतका लागि नैतिक जिम्मेवारी लिनुपर्नेमा त्यस्तो नदेखिएको भन्दै चिन्ता व्यक्त गरे।

उनले जेन जी पुस्ता दलहरूको विरोधी नभएको तर नेताहरूले पार्टी नेतृत्वमा अझै युवापुस्तालाई स्वीकार्न नसकिरहेको बताए।

"पुराना पाटपुर्जा जोडेर नयाँ इन्जिन बन्दैन," यादव भन्छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।