दल, जेन जी र सरकारबीचको बैठकमा उठेका मुख्य विषय

तस्बिर स्रोत, RSS
जेन जी आन्दोलन तथा व्यापक विध्वंस भएको ५० दिन बितेपछि पहिलोपल्ट एकै ठाउँमा भेला भएका राजनीतिक दल तथा जेन जीका प्रतिनिधिहरूले 'चुनाव तथा सुशासन'का मुद्दाहरूमा केन्द्रित भएर छलफल गरेको सरकारका प्रवक्ताले बताएका छन्।
छलफलको बीचमै पत्रकारहरूलाई जानकारी दिने क्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बैठक सौहार्दपूर्ण रूपले भइरहेको बताए।
घोषित चुनावबारे अन्योलका माझ बुधवार प्रधानमन्त्री सुशीला कार्कीले मुख्य राजनीतिक दल तथा जेन जीका प्रतिनिधिहरूलाई बालुवाटार बैठकमा डाकेकी थिइन्।
के भने जेन जीले?
विभिन्न दलका १५ तथा जेन जी समूहहरूका पनि १५ जना जति बैठकमा सहभागी रहेको बताएका मन्त्री खरेलले सुरुमा जेन जी प्रतिनिधिहरूले धारणा राखेको बताएका छन्।
"सरकार, राजनीतिक दल र जेन जी प्रतिनिधिहरूबीचको यो त्रिपक्षीय बैठक हो। औपचारिक रूपमा सरकारले यो पहिलो पटक आयोजना गरेको हो," मन्त्री खरेलले भने।
बैठकको मूल उद्देश्य चुनाव, सुशासन, भ्रष्टाचार नियन्त्रण र जेन जी आन्दोलनको क्रममा भएको जनधनको क्षतिको अनुसन्धान र कारबाही गर्ने विषयमा राजनीतिक दल, जेन जी तथा सरकारबीच छलफल गरेर सँगै मिलेर आगामी बाटो तय गर्नु रहेको उनले बताए।
"खासमा जेन जी प्रतिनिधिहरूले यो आन्दोलन जसरी भयो र जेजस्ता आवाज उठे, तिनको सुनुवाइ हुनुपर्छ भन्ने धारणा राखेका छन्। मुलुकमा सुशासन हुनुपर्छ र भ्रष्टाचारको अन्त्य हुनुपर्छ भनेका छन्। चुनावको समर्थन गर्दै गर्दा सुशासनको सुनिश्चितता र भ्रष्टाचार अन्त्यको सुनिश्चितता पनि सँगसँगै गर्नुपर्छ भनेका छन्," बैठकमा जेन जी प्रतिनिधिहरूले राखेको धारणाबारे मन्त्री खरेलले बताए।

तस्बिर स्रोत, EPA/Shutterstock
दलका भनाइ कस्ता?
जेन जी प्रतिनिधिहरूले बोलेपछि धारणा राख्ने क्रममा दलका नेताहरूले विशेष परिस्थितिमा बनेको सरकार भएकाले चुनावका निम्ति सहमत भए पनि त्यसको अगाडि सरकारले शान्तिसुरक्षा सुनिश्चित गर्नुपर्ने बताएका थिए।
"हामीले युवा पुस्ताका कुराहरू सुन्यौँ। उनीहरूले संविधान मान्ने नै कुरा राखे। चुनाव, सुशासनजस्ता विषय उठे। त्यसमा हाम्रो सहमति नै छ। हामीले यो समयमा उपलब्धि हुँदै नभएको होइन, बरु कमी भयो होला भन्यौँ," नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले बीबीसीलाई बताए।
उनले दलहरूले चुनावबाट पछि नहट्ने तर त्यसका निम्ति सरकारले विश्वासको वातावरण पैदा गर्नुपर्ने धारणा रखेको बताए।
यसअघिका पहल
भदौ २३ र २४ गते भएको जेन जी आन्दोलन तथा सार्वजनिक एवं निजी संरचनाहरूमा भएको व्यापक ध्वंसपश्चात् तत्कालीन सरकार विस्थापित भई कार्की नेतृत्वको सरकार गठन भएको थियो।
उक्त सरकारको मूल कार्यादेश फागुन २१ गते निर्वाचन गर्नु रहेको छ।
सरकार गठन भएको एक महिनापछि असोज २४ गते राष्ट्रपति रामचन्द्र पौडेलले पहिलोपल्ट सर्वदलीय बैठक डाके, जसमा अन्तरिम प्रधानमन्त्री कार्की अनि मुख्य दलसहित विभिन्न दलका प्रतिनिधिहरू सामेल भए।
दल तथा सरकारबीच संवादहीनताको अन्त्य गरेको उक्त छलफल पनि निर्वाचनकै विषयमा केन्द्रित रहेको थियो।
तर दलहरूले त्यस्तो बैठक प्रधानमन्त्रीले नै डाक्नुपर्ने र चुनावको वातावरण बनाउनुपर्ने धारणा राखेका थिए।
त्यसपछि तिहारकै छेकोमा कार्तिक ४ गते प्रधानमन्त्री कार्कीले सर्वदलीय बैठक डाकेकी थिइन्। उक्त छलफलमा दलहरूले विशेष गरी चुनावका लागि आवश्यक शान्तिसुरक्षाबारे चासो व्यक्त गरेको बैठकमा सहभागी नेताहरूले बताएका थिए।
बुधवार चाहिँ दलका प्रतिनिधिका अतिरिक्त जेन जी भनिने नवयुवा पुस्ताका विभिन्न समूहका सदस्यहरूलाई पनि डाकेर सर्वपक्षीय छलफल गरिएको हो।
यस्ता छलफलले चुनावको निम्ति राजनीतिक वातावरण बनाउन मद्दत गर्ने विश्लेषकहरूले बताएका छन्।
फागुन २१ गतेको चुनावको निम्ति निर्वाचन आयोगले यसअघि नै निर्वाचन कार्यतालिका ल्याइसकेको छ।
अहिले मतदाता नामावली अद्यावधिक गर्ने काम भइरहेको छ भने दल दर्ता गर्न पनि उसले आह्वान गरेको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








