पार्टी अध्यक्ष नछाडी माधव नेपालले भ्रष्टाचार मुद्दामा 'तारेख खेप्दा' उठेको प्रश्न

मुस्कानसहित दायाँ हात उठाएर अभिवादन गरिरहेका माधवकुमार नेपाल

तस्बिर स्रोत, Getty Images

    • Author, शरद केसी
    • Role, संवाददाता, बीबीसी न्यूज नेपाली

नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल भ्रष्टाचार मुद्दामा शुक्रवार विशेष अदालतमा हाजिर भएका छन्।

वारेस राखेर मुद्दा लड्न पाउनुपर्ने उनको माग अदालतले साउन दोस्रो साता अस्वीकार गरिदिएपछि उनी आफैँ अदालत हाजिर भएका हुन्।

अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीका अनुसार नेता नेपाल असोज १ गतेका लागि अर्को तारेख लिएर फर्किएका छन्।

नेता नेपाल नेतृत्वको सरकारले कानुन विपरीत पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपाललाई हदबन्दी छुट जग्गा बेचबिखन र सट्टापट्टा गर्न दिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको छ।

त्यससँगै उनको सांसद पद निलम्बित भएको छ। तर पार्टी अध्यक्ष र संसदीय दलको नेता उनले छाडेका छैनन्।

उनको दलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्राधिकार नाघेको भन्दै राजनीतिक प्रतिशोध साँध्न मुद्दा लगाइएको निर्णय सार्वजनिक गरेको थियो।

"तर पछाडिका कारण के छन् भन्ने आम मानिसले खोतल्दैन," राजनीतिशास्त्री प्राध्यापक कृष्ण पोखरेल भन्छन्, "त्यसैले कुनै पनि नेतामाथि त्यस्तो आरोप लाग्दा छानबिनलाई सहज बनाउने गरी उसले पद छाडेन भने त्यसको नकारात्मक प्रभाव उसको छवि मात्र नभई पार्टीलाई पनि पर्छ।"

माधव नेपालको पक्ष वा विपक्षमा को

नेकपा एकीकृत समाजवादीको बैठकमा माधवकुमार नेपाल लगायतका नेताहरू

तस्बिर स्रोत, CPN US

नेकपा एकीकृत समाजवादीको केही साताअघिको पार्टी पदाधिकारीहरू सम्मिलित सचिवालयको बैठकमा भ्रष्टाचारको मुद्दा दर्ता भएपछिको परिस्थितिबारे छलफल भयो।

बैठकमा नेता नेपाललाई नैतिकताको आधारमा राजीनामा दिन उक्त पार्टीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले लिखित सुझाव दिए।

तर बाँकी सबै नेताले राजीनामा दिन नहुने सुझाव दिएको उपाध्यक्ष गङ्गालाल तुलाधरले जानकारी दिए। उनका अनुसार बैठकमा नेता नेपालले नै 'म छोडौँ कि कसो गरौँ' भनेका थिए।

"तर झलनाथजीबाहेक सबैले यो सिङ्गो पार्टी र हामीमाथि प्रहार भएको विषय भएकाले तपाईँले राजीनामा दिने कुरा छैन र हुँदैन भनियो," तुलाधरले भने, "त्यसैले उहाँले अहिले छोड्नुहुन्न।"

अनैतिक काम नगरेको भन्दै अध्यक्ष नेपालले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने खाँचो पनि नरहेको स्थायी कमिटी सदस्य रामचन्द्र झाको दाबी छ।

प्रतिनिधिसभामा पार्टी संसदीय दलको नेता नछाड्दा पनि काम चलिरहेकाले नयाँ नेता चयनको खाँचो नपरेको उनको भनाइ छ।

"अहिले राजेन्द्र पाण्डेले उपनेताको हैसियतले काम गरिरहनुभएको छ," नेता झाले भने, "जरुरी परे छानिएला।"

उपाध्यक्ष तुलाधरले पनि दलको नेता निलम्बनमा पर्दा उपनेताले काम गर्न सक्ने भएकाले नयाँ चयनको प्रक्रियामा जानुपर्ने अवस्था नरहेको तर्क गरेका छन्।

'खिचातानी' को खेल?

माधवकुमार नेपाल

तस्बिर स्रोत, RSS/Composite

नेपालले पार्टी अध्यक्ष छाडेमा उनको उत्तराधिकारी बन्ने विषयमा पार्टीभित्र दाउपेच रहेको पनि बताइन्छ।

नेपालपछि दोस्रो वरियतामा खनाल छन्। त्यसपछि वरिष्ठ नेताहरू।

तर वरिष्ठ उपाध्यक्ष पाण्डेले मर्यादाक्रमअनुसार अध्यक्षपछिको कार्यकारी जिम्मेवारीमा आफू नै रहेको यसअघि नै बताइसकेका छन्। नेपालले छाड्न चाहेमा जिम्मेवारी स्वतः आफूमा आउनुपर्ने आशय उनको थियो।

तर नेता नेपालको उत्तराधिकारीको रूपमा अरूले काम गर्न सक्नेमा नेपाल पक्षकै नेताहरू अविश्वास व्यक्त गर्छन्।

"उहाँ (माधव नेपाल) ले छाड्नुभयो भने पार्टी भताभुङ्ग हुने खतरा छ," नेता झाले भने, "त्यसको सीधा फाइदा केपी ओलीलाई हुन्छ भन्ने कुरा हामीले बुझेका छौँ।"

कृष्ण पोखरेल
krishnapokharel/fb
कुनै पनि नेतामाथि आरोप लाग्दा छानबिनलाई सहज बनाउने गरी उसले पद छाडेन भने त्यसको नकारात्मक प्रभाव उसको छवि मात्र नभई पार्टीलाई पनि पर्छ
कृष्ण पोखरेल
राजनीतिशास्त्री

उपाध्यक्ष तुलाधरले पनि नेपालले अध्यक्ष छाडेमा कसको पालो भन्ने कुरा पनि पनि समस्या हुने अवस्था देखेका छन्।

राजेन्द्र पाण्डेभन्दा माथिको वरीयतामा थुप्रै नेताहरू रहेको बताउँदै उनले भने, "त्यसैले केन्द्रीय कमिटीले तोक्नुपर्ने वा निर्वाचनकै प्रक्रियामा जानुपर्ने पनि हुन सक्छ, त्यो पनि सामना गर्थ्यौँ होला तर माधव नेपालले त्यो तहको अपराध गरेको पनि होइन।"

उक्त पार्टीको स्थायी कमिटी, पोलिट्ब्यूरो र केन्द्रीय कमिटीको बैठक भदौ अन्तिम साता निर्धारण गरिएको छ।

तर त्यसमा नेता नेपालको राजीनामा छलफलको विषय नबन्ने उपाध्यक्ष तुलाधरले बताए। "उहाँले बनाए त बन्छ, अरूले बनाएर बन्दैन," उनले भने।

राजनीतिक नैतिकताको प्रसङ्ग

नेता नेपाल समकालीन नेताहरूमा तुलनात्मक रूपमा कम विवादित र स्वच्छ छविको रहेको भन्ने गरिन्थ्यो।

नेताहरूको नैतिकताको प्रसङ्गमा प्राध्यापक कृष्ण पोखरेलले पछिल्ला दशकका थोरै घटना रहेको बताए।

नेपाली कांग्रेसले चुनावमा अपेक्षाकृत परिणाम प्राप्त नगरेपछि गिरिजाप्रसाद कोइराला संसदीय दलको नेता नबनेको र चुनावमा पार्टीले ठूलो हार बेहोरेपछि माधव नेपालले पनि नेकपा एमालेको महासचिव पद त्यागेको घटना उनी सम्झन्छन्।

"त्यो एउटा मानक स्थापना गरेको नेताले अहिले नछाड्दा त पदमै रहेर यस (अभियोग) बाट निस्किन सहज हुन्छ भन्ने हुन सक्ला," पोखरेल भन्छन्, "तर त्यो राम्रो होइन।"

पतञ्जलि योगपीठ नेपाल

तस्बिर स्रोत, PYP Nepal

तस्बिरको क्याप्शन, धुलिखेलमा पतञ्जलि योगपीठ नेपालले आयुर्वेद अस्पताल र कलेज सञ्चालन गरेको बताएको छ

त्यसो भए नेकपा एकीकृत समाजवादीका नेताहरू माथि के प्रश्न उठ्छ भने आफूहरूले नैतिकवान् नेता भन्दै गर्व पनि गर्ने अनि राजीनामा गर्न पनि नदिएर आफ्नो स्वार्थको निम्ति अध्यक्ष नेपालको छवि धूलिसात् गराउन उनीहरूले प्रयास गरिरहेका त हैनन्?

"बाहिरबाट त्यस्तो देखिए पनि पार्टीको आन्तरिक जीवनको आवश्यकताले हामीले त्यसो गरेका हौँ, त्यसमा मलाई अन्यथा लाग्दैन," उपाध्यक्ष तुलाधरको जबाफ थियो।

तर राजनीतिशास्त्री पोखरेलले राजाको अवसानपछि राजगद्दी खाली नहुने बताउँदै अध्यक्ष नेपालपछि पार्टी जोखिममा पर्ने तर्कप्रति असहमति प्रकट गरे।

"एउटा नेता नहुँदैमा अर्कोले जिम्मेवारी लिन नसक्ने वा पार्टी नचल्ने अवस्था हो भने त त्यो पार्टी नै रहेन नि," उनको भनाइ छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।