रवि लामिछाने र बालेन मिल्दा कांग्रेस, एमाले र अन्य राजनीतिक शक्तिले के भने

रवि लामिछाने र बालेनबीच एकताको सहमतिपछि हात मिलाउँदै

तस्बिर स्रोत, Asim Shah/FB

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाण्डू महानगरपालिकाका मेअर बालेन शाहबीच भएको सहमतिबारे मिश्रित प्रतिक्रिया आएका छन्।

नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी सहितका राजनीतिक दल, स्थानीय सरकार प्रमुख र जेन जी अभियानकर्मीहरूले एकताको निर्णयप्रति स्वागत र आशङ्का मिश्रित टिप्पणी गरेका छन्।

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले दुई पक्षबीचको एकीकरणलाई आफूले अनौठो नमानेको बताए।

"मैले त्यसलाई अनौठो मानेको छैन। अब कोको मिल्छन् कोको फुट्छन् राजनीतिक यात्रामा यो भइरहने कुरा हो त्यस कारणले यसलाई अनौठो मान्नु हुँदैन," कांग्रेस पार्टी कार्यालय बाहिर पत्रकारहरूको प्रश्नमा उनले भने।

आफ्नो दलले राणा र पञ्चायतकालको चुनौती सामना गरेर आएको भन्दै गुरुङले दुई पक्षबीचको एकतालाई पनि ठूलो चुनौतीमा नलिएको आशयको प्रतिक्रिया दिए।

रवि र बालेनबीच एकताको सहमतिपछि

तस्बिर स्रोत, KP Khanal

नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले बालेन शाह र रवि लामिछानेबीच एकताप्रति सङ्केत गर्दै त्यसलाई 'अर्को षड्यन्त्रको' अर्थमा चर्चा गरेका छन्।

"…भाद्र २३ र २४ गतेको घटना भूराजनीतिक द्वन्द्वको गोटी बनाएर नेपाललाई युक्रेनजस्तै अस्थिर बनाउने षड्यन्त्रको पहिलो चरण थियो," पोखरेलले आइतवार बिहान फेसबुकमा लेखेका छन्।

"अब सोही षड्यन्त्रको दोस्रो चरणको तयारी पनि सुरु हुँदै छ। यस्तो गम्भीर अवस्थामा संविधान र लोकतन्त्रका पक्षधर देशभक्त शक्तिहरू सचेत र एकजुट हुन आवश्यक छ। नेपाल राष्ट्रलाई भूराजनीतिक द्वन्द्वको गोटी बन्नबाट जोगाउन सबैले जिम्मेवार र सक्रिय भूमिका खेल्नुपर्छ।"

जेन जी आन्दोलनपछि सरकारको नेतृत्व गुमाएको एमालेका कैयौँ नेताहरूले उक्त आन्दोलनलाई "बाह्य षड्यन्त्र" भन्दै आएका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहन श्रेष्ठले सहमति सकारात्मक भए पनि कैयौँ आशङ्काहरू बाँकी रहेको टिप्पणी गरेका छन्।

"अलिक बढी चर्चा कमाएका दुई युवाहरूको सहमति हुनु राम्रै हो। सहमति गर्दैगर्दा देशको वास्तविक समस्या र बदल्नुपर्ने प्राथमिकता पहिचान गरी तदनुरूपको रुझान नदेखिनु विडम्बनापूर्ण छ। सहमतिको पृष्ठभूमिमा देश र जनतालाई राखिएको छ कि बाह्य स्वार्थ भन्ने कुरा आगामी दिनमा देखिँदै जाला-अहिलेलाई शुभकामना," श्रेष्ठले फेसबुकमा लेखेका छन्।

हर्क साम्पाङको व्यङ्ग्य

हर्क साम्पाङ

तस्बिर स्रोत, Harka Sampang/FB

धरान उपमहानगरपालिकामा स्वतन्त्र निर्वाचित भएर हालै मात्र आफ्नो नेतृत्वमा पार्टी गठन गरेका हर्क साम्पाङले आफ्नो दलले कुनै शक्तिसँग एकता नगर्ने प्रतिक्रिया दिएका छन्।

श्रम संस्कृति पार्टीका अध्यक्ष राईले लामिछाने र शाहको एकताप्रति व्यङ्ग्य र लाञ्छनामिश्रित कैयौँ पोस्ट र भिडिओ फेसबुकमा राखेका छन्।

"जसलाई जोसँग मिल्नु छ मिल्दा हुन्छ। श्रम संस्कृति कसैसँग मिल्दैन," उनले भनेका छन्।

उनले लामिछाने र शाहप्रति लक्षित गर्दै उनीहरूले "सत्तामा पुग्ने र प्रतिशोध साँध्ने" मात्रै राजनीति गरेको आरोप लगाएका छन्।

सुधन गुरुङले के भने

सुधन गुरुङ र बालेन

तस्बिर स्रोत, Sudan Gurung,FB/ScreenGrab

लामिछाने, शाह र उज्यालो नेपाल पार्टीले संरक्षक मानेका कुलमान घिसिङ सहितलाई एउटै दलमा मिलाउन अग्रसरता लिँदै वैकल्पिक दलमा जेन जी अगुवाहरू समेत समेट्न पहल गरिरहेका सुधन गुरुङले एकताप्रति सकारात्मक प्रतिक्रिया जनाएका छन्।

बिहीवार लामिछाने र बालेन ललितपुरस्थित एउटा निजी घरमा वार्ता गरिरहँदा ढोका बाहिर बसेर सम्झौता नहुँदासम्म ढोका नखोल्ने बताइरहेको देखिएका गुरुङ साँच्चिकै सम्झौता हुँदा भने त्यहाँ देखिएनन्।

आइतवार बिहान उनले फेसबुकमा सम्झौताबारे छोटो टिप्पणी गरेका छन्।

"अब रास्वपाले चुनावको तयारीमा ध्यान दिन सक्छ। हामी भने राष्ट्रिय समस्या र जनताका वास्तविक समस्याहरू समाधान गर्नमा ध्यान दिनेछौ," गुरुङले लेखेका छन्।

दुर्गा प्रसाईले देखे 'भागबण्डा'

दुर्गा प्रसाई

तस्बिर स्रोत, Durga Prasai/FB

कतिपय जेन जी अभियानकर्मीहरूले दुई पक्षबीचको सम्झौताको स्वागत गरेका छन् भने धेरै जसो जेन जी अगुवा सामाजिक सञ्जालमा मौन छन्।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालका दुर्गा प्रसाईले शाह र लामिछानेबीचको सम्झौताको तस्बिर राख्दै सम्झौतालाई "भागबन्डा" भनेका छन्।

"…सत्ता, पद र प्रभावको भागबन्डा मिल्दा देशको आत्मा भने फेरि एक पटक चोइटिएको छ।

७० लाख सहकारी पीडितको रगत–पसिनाले कमाएको रकम अझै न्यायको प्रतीक्षामा छ" प्रसाईले फेसबुकमा लामो पोस्ट गर्दै भनेका छन्।

सहकारीको रकम अपचलन प्रकरणमा १० महिना थुनामा रहेका रास्वपा सभापति लामिछाने हालै मात्र धरौटीमा पुर्पक्षका लागि थुनामुक्त भएका थिए। प्रसाईले लामिछानेको उक्त पृष्ठभूमिप्रति व्यङ्ग्य गरेका छन्।

उनले धर्म निरपेक्षता र राजतन्त्रबारे जनमत सङ्ग्रह हुनुपर्ने दोहोर्‍याउँदै आएका छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।