रवि लामिछाने र बालेनले हातेमालो गरेपछि नेपाली राजनीतिमा कस्तो तरङ्ग

तस्बिर स्रोत, ASIM SHAH/FB
- Author, पवनराज पौडेल
- Role, बीबीसी न्यूज नेपाली
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाण्डू महानगरपालिकाका मेयर बालेन्द्र शाह 'बालेन'बीच राजनीतिक सहकार्य गर्ने गरी आइतवार भएको सम्झौताले वैकल्पिक भनिएका र परम्परागत दलहरूबीचको ध्रुवीकरणलाई प्रोत्साहन दिने केही विश्लेषकहरूले बताएका छन्।
आइतवार उनीहरूले रास्वपाले आसन्न प्रतिनिधिसभाको निर्वाचनपछि बालेनलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्ने र पार्टीको केन्द्रीय सभापति लामिछाने रहने गरी सातबुँदे सम्झौतामा हस्ताक्षर गरेका थिए।
"साङ्गठनिक हित, दार्शनिक आधार र व्यक्तिगत स्वार्थका आधारमा दलहरू ध्रुवीकृत हुँदै जान्छन् र यो क्रम चुनाव भएर नयाँ सरकार नबनुन्जेलसम्म चल्छ," त्रिभुवन विश्वविद्यालयस्थित राजनीतिशास्त्र केन्द्रीय विभागका उपप्राध्यापक मिलन श्रेष्ठ भन्छन्, "पुराना दलहरूबीच त्यो अभ्यास हुँदै आइरहेकै थियो, अब नयाँहरूबीच पनि त्यसको सुरुवात भयो भन्न सकियो।"
"मतदाताका निम्ति पनि त्यो राम्रो हो, किनकि विकल्प थोरै हुँदा द्विविधा हुँदैन। धेरै दल हुँदा विकल्प त हुन्छ तर सँगसँगै द्विविधा पनि हुन्छ।"
राजनीतिक विश्लेषक मुमाराम खनाल पनि राजनीतिक शक्तिहरूबीच ध्रुवीकरण हुनु राम्रो भएको बताउँछन्।
"नयाँ पार्टीहरू एकै ठाउँबाट चुनाव लड्नु राम्रो कुरा हो। धेरै भए भने माछाबजार जस्तो हुन्छ।"
निर्वाचन आयोगका अनुसार आउँदो निर्वाचनको प्रयोजनका निम्ति कुल ११४ वटा दल दर्ता भएका छन्।
सम्झौताले दिएको सन्देश

तस्बिर स्रोत, ASIM SHAH/FB
रवि-बालेनबीचको सम्झौतालाई आफूले "शक्ति आर्जनको कोणबाट मात्र हेरेको" खनाल बताउँछन्।
"लेनदेन र स्वार्थको सिन्डिकेट बनाएका कारण नै परम्परागत दलहरूको राजनीति यो ठाउँमा पुगेको हो," खनालले भने, "हाम्रो लोकतन्त्र, संस्थाहरू र राजनीतिक नेताहरू एकैसाथ सामूहिक रूपमा विफल भएको अवस्थामा त्यसको कारण खोज्ने तहको न (त्यो) सहमति छ न राजनीतिक एजेन्डा छ।"
"एकताको सन्देश दिनु पर्छ भन्ने कुरा नै त्यसको मुख्य पक्ष हो। उनीहरूबीच भएको पदको बाँडफाँटको कुराले चाहिँ गम्भीरतापूर्वक राजनीति गर्नेहरूलाई त्यति सकारात्मक सन्देश दिँदैन तर जो एकदमै अन्धसमर्थक छन् उनीहरूलाई चाहिँ उत्साहित गराउँछ।"
उपप्राध्यापक श्रेष्ठ "व्यक्तिगत मिलाप, टकराव र स्वार्थको" धरातलमा उक्त सम्झौता भएको टिप्पणी गर्छन्।
"लामिछानेले पार्टीसँग सम्झौता गरेका होइनन्। रास्वपाले बालेनलाई पार्टी प्रवेश गराएको भन्छु मचाहिँ," उनले भने, "अनि रविको पार्टीमा असन्तुष्ट भएका मानिसहरूले बालेनलाई चुनावमा हराए भने के हुन्छ? रविजीले त त्यसको जबाफ दिँदैनन् होला।"
"उक्त सम्झौता दिगो हुने सम्भावना म कम देख्छु। त्यसो हुनका निम्ति राजनीतिक संस्कार हुनु पर्छ, त्यो बीनाको सम्झौताले कुनै पनि पार्टी र नेतृत्वलाई बचाउन सक्दैन।"
"सम्झौता गर्नुभन्दा त्यसको इमान्दार कार्यान्वयन चुनौतीपूर्ण छ। त्यसको आधारशीला उहाँहरूको व्यवहारले तय गर्ने कुरा हो। त्यसका निम्ति पर्खनु पर्छ," श्रेष्ठले भने।
पुराना दललाई कस्तो चुनौती

तस्बिर स्रोत, Getty Images/EPA
विश्लेषक खनाल र उपप्राध्यापक श्रेष्ठ दुवै रवि र बालेनको शक्तिले परम्परागत दलहरूलाई चुनौती दिन सक्नेमा भने सहमत सुनिए।
राजनीतिक संस्कारको प्रसङ्ग दोहोर्याउँदै श्रेष्ठले "मिलेर अघि बढेका खण्डमा" मात्र उनीहरूले दलहरूलाई चुनौती दिन सक्ने टिप्पणी गरे।
"विशेषगरी अधिक चुनौती नेपाली कांग्रेसलाई हुन सक्छ, किनकि रविजीले पनि आफ्नो राजनीतिक विचारधारा 'लोकतन्त्र, बहुलवाद र खुलापन' भनिसके र कांग्रेसको पनि त्यही नै हो। मत तान्ने भनेको विचार समूहकै तान्ने हो। कांग्रेसको कम्युनिस्टलाई र कम्युनिस्टको कांग्रेसलाई जानेभन्दा उस्ताउस्तै ठाउँमा जाने हो।"
विश्लेषक खनाल "ढुक्कसाथ नयाँले पुरानालाई विस्थापित गर्छन् भन्न नसकिने तर चुनौती सिर्जना गर्न भने सक्ने" टिप्पणी गर्छन्।
"जताततै राजनीतिक ह्रास भएको अवस्थामा संस्थाहरूको र समाजको पनि ह्रास भएको छ। त्यसले गर्दा समाज पनि धेरै प्रतिक्रियात्मक भएको छ। त्यो प्रतिक्रियाले नयाँलाई समर्थन गर्न सक्ने पनि हुन सक्छ र यस्तो खालको राजनीतिक ह्रासले कहिलेकाहिँ उल्टो परिणाम पनि दिन सक्ने भएकाले ढुक्कसाथ भन्ने स्थिति हुँदैन।"
'पुरानाविरुद्ध नयाँ' भन्ने भाष्यचाहिँ अहिलेसम्म छ तर अझ पछाडि जाँदा यस्ता नयाँनयाँ पार्टीहरूका जुन 'स्टन्ट'हरू हुन्छन्, ती समाजको गतिसँग अनुकूल नहुन सक्छन्।"
प्रतिक्रिया र अर्थ

तस्बिर स्रोत, Ujyalo Nepal Official
उक्त सम्झौताबारे राजनीतिक वृत्तबाट स्वागत र आशङ्का मिश्रित प्रतिक्रिया आएको छ।
नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले "त्यसबाट खासै प्रभाव पर्ने आफूले नदेखेको" प्रतिक्रिया दिएका छन्।
"उनीहरू कुनै दागरहित वा प्रश्न नभएका व्यक्तित्व होइनन्, न रास्वपाका नेता न बालेनजी। सबैका बारेमा धेरै ठूलो प्रश्न उठेको छ र जनताले त्यसलाई मूल्याङ्कन गरिराखेका छन्," आइतवार पार्टी बैठकपछि उनले पत्रकारहरूसँग भने।
"उहाँहरूको जुन क्रियाकलाप देखिएको छ र जस्ता खाले प्रश्न उहाँहरूको खिलाफमा उठेका छन्, गम्भीर खालका छन्। त्यसले गर्दा नेपाली कांग्रेस पार्टीले कहाँ को मिले भनेर आत्तिनुपर्ने कुनै कारण छैन।"
त्यस्तै नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले शाह र रवि लामिछानेबीचको एकताप्रति सङ्केत गर्दै त्यसलाई 'अर्को षड्यन्त्रको' अर्थमा चर्चा गरेका छन्।
"अब सोही षड्यन्त्रको दोस्रो चरणको तयारी पनि सुरु हुँदै छ। यस्तो गम्भीर अवस्थामा संविधान र लोकतन्त्रका पक्षधर देशभक्त शक्तिहरू सचेत र एकजुट हुन आवश्यक छ। नेपाल राष्ट्रलाई भूराजनीतिक द्वन्द्वको गोटी बन्नबाट जोगाउन सबैले जिम्मेवार र सक्रिय भूमिका खेल्नुपर्छ," उनले आइतवार फेसबुकमा लेखेका छन्।
तीनै पक्षलाई एकै ठाउँमा समेट्न पहल गरिरहेका सुधन गुरुङले रवि लामिछाने र बालेन सहमतिप्रति सकारात्मक प्रतिक्रिया व्यक्त गरेका छन्।
छलफलहरूमा बारम्बार सहभागी भए पनि घिसिङ अन्तिममा उक्त समझदारीमा अटाएनन्। आइतवार घिसिङसँग फेरि लामिछाने र बालेनले छलफल गरेको बताइएको छ। तर त्यसबाट अपेक्षित परिणाम ननिस्किएको सङ्केत गुरुङले दिएका छन्।
"यो अवसर होइन, एउटा गम्भीर परिस्थिति हो। यस्तो समयमा हामीले सबै प्रमुख शक्तिहरू एकजुट भएर उभिने अपेक्षा गरेका थियौँ... कसैलाई पनि कुनै पक्ष लिन बाध्य पारिने होइन। तर यति निर्णायक घडीमा पनि कुलमान घिसिङ अलग भएको देखिनु परिवर्तन चाहने हामी आम जनताको लागि दुःखद छ," उनले आइतवार मध्यरातपछि सामाजिक सञ्जालमा लेखे।
त्यसअघि घिसिङले उज्यालो नेपाल पार्टी "आत्मसम्मान र स्वाभिमान नगुमाईकन सबैसँग सहकार्य गर्न तयार रहेको" प्रतिक्रिया दिएका थिए।
पोखरा पुगेका घिसिङले आइतवार एक कार्यक्रममा भने, "यसतर्फ धेरै कुरा भइरहेको छ र आउने दिनमा त्यसको परिणाम आउने विश्वास व्यक्त गर्छु।"
कुलमान घिसिङ किन छुटे
उपप्राध्यापक श्रेष्ठका अनुसार संसद्मा चौथो ठूलो दल बनिसकेको रास्वपा र 'न्याश्नल सेलिब्रिटी'का रूपमा रहेका बालेनबीच सम्झौता हुँदा अहिले देखिए जस्तो तरङ्ग उठ्नु स्वाभाविक हो।
तर परम्परागत दलका नेताहरूका कतिपय प्रतिक्रियालाई उनी एक प्रकारको ईर्ष्याका रूपमा व्याख्या गर्छन्।
"मेरो अनुमान के छ भने रविजीले बालेनजी ठिक कि कुलमानजी ठिक भनेर छान्दाछान्दा अन्तिममा बालेनजीसँग तारतम्य मिलेको हो। किनकि बालेनकोमा उनी एक्लैलाई व्यवस्थापन गरे पुग्छ तर कुलमानकोमा त्यसो गरेर पुग्दैन भन्ने रविजीलाई थाहा छ," उनले भने।
"त्यस कारण यो स्वार्थहरूको खेलमा समर्थनको पनि स्वार्थ र विरोधको पनि स्वार्थ हुनु स्वाभाविक हो। तथापि एकै लाइनका मान्छेहरू ध्रुवीकृत भएकै राम्रो हो।"
सुधन गुरुङको प्रश्न

तस्बिर स्रोत, Hami Nepal
लामिछाने र बालेनले आइतवार राति पुनः कुलमान घिसिङसँग वार्ता गरेको विवरण आएको छ। कुनै सहमति हुन नसकेपछि सोमवार पनि वार्ता हुने बताइएको छ।
'हामी नेपाल'का अगुवा सुधन गुरुङले सामाजिक सञ्जालमा "राति १ः०१ बजे" लेख्दै [कुलमान घिसिङलाई] "अलग राखिएको हो कि [उनी] अलग रहन खोजेका हुन्, समयले बताउला! तर आजको समयले तपाईँहरूलाई सँगै उभिने म्यान्डेट दिएको छ" भनेका छन्।
"हामीलाई कुनै पक्ष लिन बाध्य नपार्नुहोस्। देशलाई विभाजन होइन, एकता आवश्यक छ," उनले "सरोकारवाला शक्तिहरू"लाई सम्बोधन गर्दै लेखेका छन्।
"के तपाईँहरू साँच्चिकै बाँकी रहेका स्तम्भहरूलाई एकताबद्ध गर्न चाहनुभएको हो कि केवल त्यसको भ्रम मात्रै छरिरहनु भएको हो?" उनको प्रश्न छ।
"जेन जीले हेरिरहेको छ।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








