मेयरको ‘चस्मा’मा मेयर: बालेनको कामबारे अन्य नगर प्रमुखहरू के सोच्छन्?

तस्बिर स्रोत, BINAY SHAKYA
काठमाण्डू महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन), उनले गर्ने निर्णय र राख्ने अभिव्यक्तिहरू प्राय सञ्चारमाध्यम र सामाजिक सञ्जालमा चर्चाका विषय बन्ने गरेका छन्।
विशेषगरी उनको खरो मानिने प्रस्तुतिबारे कोही पक्षमा उभिन्छन्, कोही विपक्षमा। उनको एउटै स्ट्याटस आलोचनाको विषय बन्छ। यद्यपि कतिपय नीतिगत निर्णय वा नियमहरू लागू गराउन उनले दिएका निर्देशनको तारिफ पनि हुन्छ।
दुई साताअघि बालेनले काठमाण्डूका विद्यालयहरू निरीक्षण गर्न जाँदाको विवरण साझा गरे। उक्त फेसबुक पोस्टमा सन्तोष दाहाल नाम गरेका एक जना प्रयोगकर्ताले लेखेका छन्, “तपाईँ जत्तिको मेयर हरेक पालिकामा भएको भए आज हाम्रो देश धेरै माथि पुगिसक्ने थियो।“
कतिपयले उनी “२०८४ मा आफ्नो स्थानीय तहको मेयर हुनुपर्ने” मत राखेका छन्।
बालेनसँगै देशभर ७५३ पालिकाहरूमा प्रमुख तथा अध्यक्ष निर्वाचित भएका थिए। तर उनीहरूमध्ये निकै कमको नाम र कामको चर्चा हुन्छ।

तस्बिर स्रोत, BINAY SHAKYA
उनीहरूमध्ये कतिपयले “आफूले गरेको राम्रो कामको पर्याप्त चर्चा नभएको” गुनासो गरेका छन् भने कतिपयले “काठमाण्डू महानगरपालिकाका राम्रा काम कारबाही आफूले पनि अनुसरण गर्नुपर्ने” बताएका छन्।
यहाँ हामीले तीमध्ये केही पालिका प्रमुखहरूका धारणा प्रस्तुत गरेका छौँ।
राजेशमान सिंह
वीरगन्ज महानगरपालिका प्रमुख

तस्बिर स्रोत, RAJESH MAN SINGH/FACEBOOK
वीरगन्जलाई धार्मिक सहरको रूपमा प्रवर्द्धन गर्न सक्रिय रहेका बताउने राजेशमान सिंहले कुनै पनि पालिकाहरूबीच कामकारबाहीको तुलना गर्न नमिल्ने मत राखेका छन्।
“बालेनजी र म फरक मानिस हौँ। उहाँसँग मैले प्रतिस्पर्धा गरेर सक्दिनँ। तर हामीले पनि राम्रा काम गरेका छौँ जसबारे पालिकावासी खुसी छन् तर सञ्चारमाध्यममा खासै चर्चा भएको छैन,” उनले आफ्नो विचार राखे।
यद्यपि काम गर्नेको वाहवाही र विरोध दुवै हुने भएकाले आफूलाई दुवै स्वीकार्य भएको उनले बताए। तर कतिपयले काठमाण्डू महानगरपालिकासँग आफ्नो नेतृत्व रहेको महानगरपालिकाको गतिविधि “दाँजेको मन नपरेको बताए।”
उनले भने,”कहाँ काठमाण्डू महानगर, देशको राजधानी। कहाँ वीरगन्ज महानगर नाम मात्रको आर्थिक राजधानी। कथित आर्थिक राजधानी हुनुको आभास वीरगन्जवासीले गर्न पाएका छैनन्।“
उनले काठमाण्डू महानगरलाई सङ्घ वा प्रदेश सरकारले पर्याप्त सहयोग गरे पनि आफ्नो महानगरको हकमा त्यस्तो नभएको बताए।


“दुवै महानगरमा ३२ वटा वडा छन्। तर, यहाँ त्यहाँजस्तो विकास प्राधिकरण छैन। त्यहाँजस्तो बजेट, आन्तरिक आय स्रोत वा सङ्घको सहयोग छैन,“ उनले भने।
काठमाण्डूमा उपत्यका विकास प्राधिकरण र आन्तरिक स्रोत सङ्घको लगानी छ।
आर्थिक वर्ष २०८०/८१ को लागि काठमाण्डू महानगरपालिकाको वार्षिक बजेट २४ अर्ब ५८ करोड रुपैयाँ छ। त्यस्तै वीरगन्जको ३ अर्ब २१ करोड रुपैयाँ छ।
“बालेनजीका कामहरू आम मान्छेले रुचाइरहनु भएको छ। तर कसैले हात्ती चढ्यो भन्दैमा मैले त्यसो गर्न मिल्दैन। घाँटी हेरेर हाड निल्नु पर्छ,” उनले भने।
आफूले साधन र स्रोतले भ्याएसम्म काम गरिरहेको उनले दाबी गरे। “थुप्रै कामहरू थालनी भएका छन् र म पनि ती उपलब्धिहरूसँग पूर्ण रूपमा सन्तुष्ट छैन। सायद नयाँ आर्थिक वर्षमा परिणाम केन्द्रित हुन सकिन्छ,” उनले प्रस्ट्याए।
विमला राई
हलेसी तुवाचुङ नगरपालिका प्रमुख

तस्बिर स्रोत, BIMALA RAI/FACEBOOK
देशभरका पालिकाहरूमध्ये काठमाण्डू महानगरपालिका वा धरान उपमहानगरपालिकाका मेयरहरूको प्राय चर्चा भएको महसुस गरेकी छन् विमला राईले। उनीहरूको राम्रो कामलाई स्वस्थ प्रतिस्पर्धाको रूपमा लिन आवश्यक भए पनि ठाउँ र आवश्यकताअनुसार कामहरू फरक हुने उनले बताइन्।
“कार्यक्षेत्र, अधिकार, कानुन र नियम हामी सबै नगर प्रमुखहरूलाई एउटै हो। तर ठाउँअनुसार आवश्यकता फरक हुन्छन् र सोहीअनुरूप काम गर्नुपर्छ,” उनले आफ्नो धारणा राखिन्।
“बालेन साहको हकमा उहाँले फोहोर उठाए पनि चर्चामा, नउठाए पनि चर्चामा। तर हाम्रो ठाउँको प्राथमिकता फरक छ। हाम्रा लागि खानेपानी महत्त्वको मुद्दा हो।“
मानिसले बालेनको उदाहरण दिँदै “यस्तो पो गर्नुपर्छ” भने पनि त्यसलाई आफूले सामाजिक सञ्जालको प्रभावका रूपमा लिएको उनले बताइन्।
“अन्तर्निहित कुरामा सुझबुझ छैन। जे सामाजिक सञ्जालमा चल्यो त्यसको पछाडि कुदेको देख्छु। केही कुरा कानले सुन्न र आँखाले देख्दा सही लाग्ला तर त्यही सही भन्ने हुँदैन।“
जे चल्छ त्यसको मात्र चर्चा हुँदा कतिपय साना पालिकाहरूले चालेको महत्त्वपूर्ण कदम छायामा परेको उनको बुझाइ छ। त्यससँगै केही काममा भने सामाजिक वा कानुनी अड्चनहरू खडा हुने गरेको उनले बताइन्।
उनले भनिन्,”केही अवस्थामा हाम्रो खुट्टा र हात बाँधिदिएर कामको परिणाम अपेक्षा गरिन्छ वा अन्य पालिकाका मेयरहरूसँग तुलना गरिन्छ। जुन सही होइन।“
धनराज आचार्य
पोखरा महानगरपालिका प्रमुख

तस्बिर स्रोत, DHANRAJ ACHARYA/FACEBOOK
सबै पालिका प्रमुख वा अध्यक्षहरूले निर्वाचित भएयता आफ्नो नीति तथा कार्यक्रममा समावेश भएका कामहरू गर्दै आएको भए पनि सबैको शैली फरक भएको धनराज आचार्यले बताए।
“तर आममानिसमा कस्तो बुझाइ रहेछ भने- दलबाट जितेर आएकाहरूलाई कामकारबाहीमा दलको दबाव हुन्छ तथा काम गर्न सक्दैनन् र स्वतन्त्र ढङ्गमा आएकाहरूले निर्धक्क काम गर्न सक्छन्।“
उनले भने,”तर त्यस्तो होइन। सबैलाई बराबर अधिकार छ। सबैले आफ्नो हिसाबले जिम्मेवारी अघि बढाएका छन्। केही संवेदनशील विषयहरू हुन्छन् जसबारे काठमाण्डूको घटनाक्रम चाँडो मिडियामा आउँछ अन्य ठाउँमा मिडियासम्मको पहुँचमै समस्या हुनसक्छ।“


ठूला सहरका कतिपय आवश्यकता र काम उस्तै प्रकृतिका हुने भए पनि कतिपय राम्रा अभ्यास सानै पालिकाको समेत अनुसरण गर्न सकिने मत उनले राखे।
यस कुरामा आफूहरूले नगरपालिका सङ्घमार्फत् छलफल गरेर अघि बढाएको जानकारी दिए।
उनले भने,”राम्रो काम छ भने सबैतिर लागु गर्न प्रयास गरेका छौँ। हामी बीचमा शेयरिङ र लर्निङ हुनसक्छ। प्रतिस्पर्धा होइन।“
“यो स्थानीय आवश्यकतासँग सम्बन्धित कुरा पनि हो। कसैको पनि कार्य सम्पादन कहीँ रोकिएको छैन। बस् कोही चर्चामा छन्, कोही छैनन्।“
सुशीला शाही
लम्किचुहा नगरपालिका प्रमुख

तस्बिर स्रोत, SUSHILA SHAHI
सुशीला शाहीलाई चाहिँ बालेनको केही निर्णय तथा कामहरू मन परेको भए पनि उनका “अदालतको निर्णय मान्दिनँ”जस्ता अभिव्यक्ति मन परेको रहेनछ।
बालेनले काठमाण्डु महानगरपालिकाभित्र रहेका सिनेमा घरहरूमा हिन्दी चलचित्र प्रदर्शनमा रोक लगाउँदा पाटन उच्च अदालतले हिन्दी फिल्म नरोक्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो।
उनले तत्काल फेसबुकमार्फत् भनेका थिए, "जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ, म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन।"
“स्थानीय सरकार आफैमा सरकार हो। तर त्यहाँका प्रमुखले नेपाल सरकारको कानुन वा अदालतको निर्णय मान्दिनँ भन्न पाउँदैनन्,“ शाहीले आफ्नो विचार अघि सारिन्।
“उहाँले गरेका कतिपय काम राम्रा पनि छन् तर उहाँलाई हेरेर सिक्नुपर्छ भन्ने होइन। उदाहरण नै दिने हो भने शुक्रवार आएको नो ब्यागको अवधारणा। त्यो हाम्रो नगरपालिकाले गत वर्षदेखि नै अपनाएको छ तर चर्चा काठमाण्डूमा लागु भएपछि मात्र भयो।”
नगर प्रमुखका रूपमा कसैले गरेको काम पछ्याउनुभन्दा आफ्नो भूगोलले मागेअनुसार अघि बढ्ने शाहीको विचार छ। कतिपय स्थितिमा भने बजेट अभावकै कारण कार्य सम्पादन गर्नबाट चुकिरहेको उनले स्वीकार गरिन्।
“हामीलाई सबै अधिकार बालेनलाई जति नै हुन्छ। तर प्रतिस्पर्धाको सोच हुँदैन। किनकि जति बजेट उहाँसँग छ त्यति त लगभग हाम्रो प्रदेश सरकारका लागि छ,” उनले केही व्यङ्ग्यात्मक ढङ्गमा भनिन्।
विद्या सुन्दर शाक्य
काठमाण्डू महानगरपालिकाका पूर्व मेयर

तस्बिर स्रोत, BIDYA SUNDAR SHAKYA
शिक्षा, फोहोर व्यवस्थापन, खाद्य गुणस्तर अनुगमनलगायत क्षेत्रमा बालेनले गरिरहेको कामको चर्चा भए पनि “नयाँ नेतृत्वले आफ्नो कार्यकालमा भन्दा फरक केही गरेको नदेखेको” बताउँछन् विद्यासुन्दर शाक्य।
“फोहोर व्यवस्थापनका लागि वैज्ञानिक ढङ्गमा अगाडि बढ्नुपर्ने देख्छु। तर पहिला जे भइरहेको थियो, अहिले पनि त्यस्तै भइरहेको छ,“ उनले भने।
त्यस्तै सहर व्यवस्थित बनाउनका लागि भन्दै ठेला गाडामा व्यापार गर्नेहरूमाथि भइरहेको व्यवहार पनि आफूलाई चित्ता नबुझेको उनले बताए।
“म जुन पार्टीबाट प्रतिनिधित्व गर्थेँ त्यो गरेर खाने अर्थात् श्रमजीवी वर्गको हो। त्यसैले मलाई सधैँ लाग्यो काठमाण्डू यहाँका मानिसको मात्र नभई सिङ्गो देशवासीको हो,” उनले भने।
“कोही रहरले आएको भए पनि धेरै बाध्यताले आएका छन्। त्यसैले उनीहरूलाई मर्न दिनु हुँदैन। मैले उनीहरूलाई सधैँ अरूलाई बाधा नपर्ने गरी गरिखाऊ भनेको थिएँ। नेतृत्वसँगै नीतिमा फरक पर्यो।”


काठमाण्डू महानगरले मात्रै सबैलाई शरण दिन नसक्ने भएकाले यस समस्याको समाधानका लागि सङ्घीय र प्रदेश सरकारसँगको सहकार्य आवश्यक पर्ने उनले बताए।
यसबाहेक कतिपय कुनै पनि नगर प्रमुखले आफ्नो कार्य क्षेत्र र अधिकार क्षेत्रबारे बुझ्नु पर्ने मत राखे।
“कोही पनि व्यक्तिले चुनाव लडिरहँदा आफू जुन पदमा उठ्ने हो त्यसको अधिकार र जिम्मेवारीबारे बुझ्नु पर्छ। अहिले वडाध्यक्षदेखि नगर प्रमुख वा प्रदेशका माननीयले सबै अधिकार आफूलाई चाहिन्छ भनेजस्तो गर्नुहुन्छ। तर त्यस्तो सम्भव हुँदैन,” शाक्यले भने।
“संविधान र कानुनले सबैको कार्यक्षेत्र र जिम्मेवारी तोकिदिएको छ। कतिपय कुरालाई नियमावलीले प्रस्ट पारिदिएको छ। त्यो सबै अध्ययन गर्नुपर्छ। सबैको सीमा र कार्यक्षेत्र हुन्छ त्यसबारे बुझ्नुपर्यो।“
यस विषयमा आफूले विभिन्न वडाका जनप्रतिनिधिहरूसँग छलफल गरेको र प्रायले महानगरपालिकामा अहिले “संस्थागत नभई व्यक्तिगत अवधारणाका आधारमा निर्णय हुने गरेको बताएको” उनको दाबी छ।
प्रणालीमा सुधारका लागि संस्थागत निर्णय आवश्यक हुने उनले बताए।








