‘गरिबको चमेली’ गीत पाँच दशकअघि यसरी रचिएको थियो

- Author, विष्णु पोखरेल
- Role, बीबीसी न्यूज नेपाली
बालेन्द्र शाहले तीन वर्षअघि वर्तमान राजनीति र अव्यवस्थाप्रति व्यङ्ग्य गर्दै एउटा र्याप गीतको भिडिओ सार्वजनिक गरे। त्यसमा ‘देश लुटिएको’ र ‘कानुन-व्यवस्था नभएको’ जस्ता प्रश्न उठाइएका थिए।
र्याप विधाको हुँदाहुँदै पनि त्यसको बीचबीचमा एउटा लोकभाकाको ‘जनवादी’ गीतका दुई पङ्क्ति समाविष्ट थिए।
गाई त बाध्यौ ढुङ्ग्रोमा मोही छैन, मोही छैन
गरिबको चमेली बोल्दिने कोही छैन।
गरिबको बोल्दिने कोही छैन, कोही छैन
गरिबको चमेली बोल्दिने कोही छैन।
र्यापर बालेनका रूपमा चिनिने तिनै शाह अहिले काठमाण्डू महानगरपालिकाको मेयर छन्।
अनि ‘बलिदान’ शीर्षक दिइएको र्याप गीतमा जोडिएका तिनै पङ्क्ति अहिले उनका कतिपय गतिविधिविरुद्ध विरोध प्रदर्शनमा प्रयोग भइरहेका छन्।
नगरप्रहरीले एकजना साइकल व्यापारीलाई दुर्व्यवहार गरेको भिडिओ ‘भाइरल’ भएसँगै बुधवार केही व्यक्तिहरूले महानगरपालिकाको मूलद्वारमा पुगेर तिनै पङ्क्तिहरू गाउँदै विरोध जनाए।
बालेनले कुनैबेला आफ्नै गीतमा जोडेका र स्थानीय तहको चुनावअघि भोट माग्ने क्रममा समेत प्रयोग भएका ती लोकभाकाका पङ्क्तिहरू भने करिब पाँच दशकअघि भिन्नै प्रसङ्गमा लेखिएका थिए। र, पछि ‘क्रान्तिकारी’ धारको मानिने ‘बलिदान’ नामक चलचित्रको गीतमा समावेश भएका थिए।

तस्बिर स्रोत, Yutube/Balen
यसरी रचियो ‘गरिबको चमेली’ गीत
विसं २०२३ सालतिर बनेको एउटा साङ्गीतिक टोलीको नाम थियो- राल्फा समूह।
त्यसका सदस्य थिए- मेघराज शर्मा नेपाल (मञ्जुल), हरि श्रेष्ठ (नोरेम), खगेन्द्र बस्नेत (सिमोस) निरञ्जन चापागाई (निनु), नारायणभक्त श्रेष्ठ (रायन), रामेश्वर श्रेष्ठ (रामेश), अरुण-ऋषि-मनोज (अरिम) लगायत।
त्यसका सदस्यहरूका भनाइमा राल्फा समूहले त्यस बेलाको पञ्चायती व्यवस्थाविरुद्ध गाउँगाउँ गएर गीतको माध्यमबाट जागरण फैलाउने काम गर्थ्यो। सँगसँगै लोकगीत र त्यसका लयलाई पनि सङ्कलन गरिरहेको थियो।
त्यसैक्रममा विसं २०२८ सालतिर उक्त समूहका दुईजना सदस्यहरू मञ्जुल र रामेश काठमाण्डूबाट निस्किएर पूर्वाञ्चलतर्फ लागेका थिए।

तस्बिर स्रोत, Facebook/Raamesh
एकदिन उनीहरू रामेछापको मन्थलीस्थित मुगीटारमा बास बसे। भोलिपल्ट मुगीटारको चौतारोमा उनीहरूले गीत गाए।
“हामीले गीत गाउँदै गर्दा त्यहाँका मानिसहरूले हामीलाई एकजना सानी नानीलाई देखाउँदै ‘यीनले पनि राम्रो गीत गाउँछिन्’ भने,” पाँच दशकअघिको घटना स्मरण गर्दै रामेशले बीबीसीसँग भने।
“हामीले फकाइफुल्याइ ती नानीलाई गीत गाउन लगायौँ। उनले दुईवटा हँसिया ठोकठाक गरेर ताल निकाल्दै लोकभाकामा गीत गाइन्।”
उनले गाएको गीतमा शब्दहरू प्रेमसँग सम्बन्धित थिए।
त्यो भाका रामेश र मञ्जुललाई मन पर्यो। उनीहरूले त्यसलाई टिपोट गरे। अनि, बाटो लागे।
रामेश भन्छन्, “पछि हामीले त्यो भाकामा आफ्नै शब्दहरू राखेर ‘गरिबको चमेली बोल्दिने कोही छैन’ गीत लेख्यौँ। मैले त्यसमा सङ्गीत भरेँ।”


चलचित्रमा समावेश
पञ्चायत ढलेर देशमा प्रजातन्त्र आएपछि विसं २०५० को दशकमा बनेको चलचित्र बलिदानमा उक्त गीत समावेश भयो।
चलचित्रमा समावेश हुँदा राल्फा समूहमा पहिले गाउने केही गायक छुटे भने केही नयाँ थपिए।
रामेशका भनाइमा पहिले गाउँगाउँमा चर्चित भएको उक्त गीत चलचित्रमा आएसँगै विभिन्न सञ्चारमाध्यममा प्रसारण हुन थाल्यो र थप चर्चित भयो।
त्यसयता लगातार विभिन्न आन्दोलनमा उक्त चलचित्रमा समावेश भएका ‘जनवादी’ गीतहरू बज्ने गरेका छन्। त्यसमध्ये एउटा यो पनि सधैँ पर्ने गरेको रामेश बताउँछन्।

तस्बिर स्रोत, Screengrab
“नयाँ परिवर्तनका लागि र सारालाई पाल्ने गरिब/दु:खी जनतालाई अपहेलना गरेको देखेकाले लयहरूमा बटुल्दै र शब्दहरू बदल्दै गीत बनाउँथ्यौँ। यो पनि त्यस्तै मध्येको एउटा गीत हो।”
“समाजका असमानताविरुद्ध हामीले विभिन्न लयमा आफ्ना शब्दहरू राखेर गाउँथ्यौँ। सायद त्यसैले पनि ‘हाम्रा लागि बोल्दिने कोही पनि छैन’ भन्ने भावको यो गीत धेरैले मन पराएको हुनुपर्छ।”
उनका भनाइमा उक्त गीतमा समावेश ‘चमेली’ शब्द कुनै पात्रलाई लिएर भन्दा पनि लयमा रहेको थेगोलाई टिपेर राखिएको हो।
आन्दोलनमा प्रयोग

विशेषगरी ‘गाउँगाउँबाट उठ बस्तीबस्तीबाट उठ’ र ‘गरिबको चमेली बोल्दिने कोही छैन’ जस्ता गीतहरू विभिन्न आन्दोलन र विरोध प्रदर्शनमा निकै प्रयोग हुने गरेका छन्।
‘जनवादी’ भनेर चिनिएका भए पनि यस्ता गीतहरू सबैखाले विचार वा मत राख्नेहरूले विरोध जनाउने क्रममा वा मानिसलाई विरोधका लागि आकर्षित गर्ने क्रममा प्रयोग गर्ने गरेका छन्।
त्यसको सम्भावित कारणबारे काठमाण्डू विश्वविद्यालयको सङ्गीत विभागका प्रमुख लोचन रिजाल भन्छन्, “सङ्गीतको शक्तिले जनतालाई सहजै प्रभावित पार्न सकिन्छ भनिन्छ। त्यसैले पनि धेरैले विरोध गर्नका लागि जनताको तत्कालै मन छुने गीतको सहारा लिएका होलान् जस्तो लाग्छ।”

तस्बिर स्रोत, TWITTER/ANIL GHIMIRE
उनका अनुसार नेपालमा अहिले पनि गरिबी धेरै भएको तथा ‘भुइँमान्छे’हरूले “आफ्नो बोलिदिने कोही नभएको” महसुस गरेकाले यस्ता गीतहरू प्रयोग भइरहेका हुनसक्छन्।
रिजाल आजभन्दा पाँच दशकअघि कुनै पनि सर्जकले गीतको रचना गर्दा त्यसबेलाको परिप्रेक्ष र त्यसै बेलाका लागि समयसापेक्ष हुनेगरी गीत लेखेको हुनसक्ने ठान्छन्।
तर आजका दिनसम्म पनि अवस्था नफेरिएकाले ती गीतहरू विरोधका लागि अझ सान्दर्भिक बनेका हुन्।
“जनवादी गीत भनौँ वा जे भनौँ त्यसबेला सर्जकले मान्छेको बोली बोलेको हुनुपर्छ र अहिले पनि नेपालमा त्यस्तै अवस्था रहिरहेकाले पनि हो जस्तो लाग्छ,” उनी भन्छन्।
‘अन्याय बोध’ र ‘न्यायका लागि जागरुक गराउने’ उद्देश्य

रामेश चाहिँ उक्त गीत गरिबहरूमाथि भइरहेको अन्यायबारे उनीहरूलाई नै बोध गराउन र कसरी न्याय हुन्छ भनेर जागरुक गराउन लेखिएको बताउँछन्।
गीतका सुरुका आठ हरफले गरिबमाथि भइरहेको थिचोमिचोबारे चेतना जगाउने र अन्तिम दुई हरफले त्यस्तो थिचोमिचो कसरी अन्त्य हुन्छ भन्ने सन्देश दिने उनको भनाइ छ।
त्यस्ता सन्देशहरू आजका दिनमा पनि आश्यक पर्ने भएकाले यो गीत विरोध प्रदर्शनमा प्रयोग भएको हुनसक्ने उनी ठान्छन्।
उनले बालेनले चुनवकै बेलामा समेत उक्त गीतका हरफहरू राखिएको आफ्नो र्याप गीत बजाएको आफूले थाहा पाएको बताए।
यद्यपि “देशमा बढ्दो बेथितिविरुद्ध लड्न एउटा युवाले प्रयोग गरेको देखेर” आफूहरूले “अनुमतिविनै प्रयोग हुँदा पनि” आपत्ति नजनाएको उनको भनाइ छ।
बालेनलाई रामेशको सुझाव

तस्बिर स्रोत, Facebook/Balen
यद्यपि उनी सामाजिक सञ्जालमा भाइरल भएका भिडिओहरू देखेर विचलित भएका छन्।
त्यसैले उनले बुधवार महानगरपालिका अगाडि भएको प्रदर्शनको समाचार देखेपछि त्यसलाई फेसबुकमा शेअर गरे र बालेनलाई सुझाव दिँदै एउटा पोस्ट लेखे।
उनले लेखेका छन्, “गरिबलाई, दु:खीलाई नकुट्नुहोस्। कामगरी खानेको अङ्गभङ्ग नगर्नुहोस्। गरिबको कमाइमा देश चलेको छ।”
“गरिबलाइ रोजगारीको व्यवस्था गर्नुहोस्। उनीहरूको सम्मान गर्ने अभियान चलाउनुहोस्। अनि मात्र बालेन हामी सबैको हुनेछ। आफूले पाउँदै गरेको जनआस्थाको सम्मान गर्नुहोस्।”


जसको गीत सुनेर भाका टिपे उनैलाई भेट्न पाएनन्
रामेशका भनाइमा आफू र मञ्जुलले पाँच दशकअघि रामेछापमा लोकभागामा गीत गाउने ती बालिकालाई नभेटेको भए सायद यो गीतको रचना हुने थिएन।
यद्यपि जीवनको आठ दशक टेकेका यी गायकले त्यसपछि कहिल्यै पनि ती बालिकालाई भेट्न पाएनन्।
आज पनि उनलाई ‘ती नानी कहाँ होलिन् र कस्ती भइन् होला’ जस्तो लाग्छ।
कुनै पनि विरोध प्रदर्शन वा आन्दोलनको खबर आउँदा होस् वा अन्यत्र नै किन नहोस्- ‘गरिबको चमेली बोल्दिने कोही छैन’को धून बज्ने बित्तिकै उनका कानमा तिनै बालिकाले हँसिया जुधाएर निकालेको ट्वाकट्वाक आवाज गुञ्जिन्छ।








