नेपाल निर्वाचनः सडकबाट उठेर नगरप्रमुख बनेका हर्क साम्पाङ् जसले धरानको तिर्खा मेट्ने लक्ष्य राखेका छन्

हर्क सम्पाङ्
    • Author, विक्रम निरौला
    • Role, विराटनगर

स्थानीय तहको निर्वाचनबाट सुनसरीको धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार हर्कराज राई (हर्क साम्पाङ्) मेयरमा निर्वाचित भएपछि उनको चर्चा चुलिएको छ।

चुनावअघि सामान्य अभियानकर्ताको छवि बनाएका राई नगरप्रमुख बन्लान् भन्ने धेरै धरानवासीले सोचेका पनि थिएनन्।

टेम्पु चलाएर माइकिङ गर्दै उनी एक्लै घरदैलोमा हिँडेको देखिने र मूलधारका पार्टीहरूले काम नगरेकाले आफूलाई मौका दिन अनुरोध गर्दै मत मागेका भिडिओहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्।

मेयरमा निर्वाचित भएका साम्पाङ्ले बीबीसीसँग कुरा गर्दै उपमहानगरको सेवा प्रवाहलाई सुधार गर्ने र सबैसँग मिलेर काम गर्ने बताएका छन्।

को हुन हर्क साम्पाङ्

चुनाव चिह्न लौरो लिएर प्रतिस्पर्धामा होमिएका साम्पाङ्ले आफूलाई धरानवासी जनताका लागि न्यायको आवाज उठाउँदै हिँड्ने मान्छेका रूपमा प्रस्तुत गर्दै आएका छन्।

खोटाङबाट एसएलसी सकेर धरान झरेका साम्पाङ्ले धरानबाट स्नातक तहको अध्ययन पूरा गरेका थिए।

हर्क राइ

कुनै बेला वैदेशिक रोजगारीका लागि इराक समेत पुगेका उनले पछिल्लो एक दशक आफूलाई सामाजिक मुद्दाहरूमा केन्द्रित गरेका थिए।

वि.सं. २०७४ सालको उपनिर्वचानमा स्वतन्त्र उम्मेदवार बन्दा उनले जम्मा ५४० मत ल्याएका थिए।

'हर्क साम्पाङ् अ रिभोलुशन' नामक फेसबुक पेजमा राखिएको यस पटकको उनको घोषणापत्रमा खानेपानीको तत्काल सुधारसहित सुशासन र भ्रष्टाचारमुक्त धरान निर्माणका लागि २७ बुँदे प्रतिबद्धता व्यक्त गरिएको छ।

एक अभियानकर्ताका रूपमा लामो समयदेखि उनले ती मुद्दाहरू उठाउँदै आएका थिए।

तर यसपालि आफ्नो प्रचार सामग्रीमा उनले लेखेका थिए, "आजसम्म जनताको दुःख र पीडाको आवाज बोलेर हिँडेँ। अब मलाई जनताको आँसु पुछ्ने र घाउमा मलम लगाइदिने ठाउँमा पुर्‍याउन मेरो सादर अनुरोध।"

खानेपानीको समस्या, सर्दु जलाधार क्षेत्रको संरक्षण, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानभित्रका विकृति र विसङ्गतिविरुद्ध खबरदारी अभियान चलाउँदै आएका साम्पाङ्ले मेयरका बनेपछि प्रतिबद्धता पूरा गर्ने बताएका छन्।

हर्क राइ

उनले बीबीसीसँग भने, "यसअघिको चुनावमा धराने मतदाताले विश्वास नगरे पनि मैले हिम्मत हारिनँ। धरानवासीको समस्या लिएर एक्लै पनि सडकमा निस्किएँ। यस पटक मलाई विश्वास गर्नुभयो अब मैले धरानवासीको विश्वासलाई कुनै पनि हालतमा घात गर्दिनँ।"

उनले धरानको खानेपानीको व्यवस्थापनसँगै नयाँ स्रोतको खोजी आफ्नो पहिलो प्राथमिकता भएको बताएका छन्।

उपमहानगरपालिकामा मङ्गलवार पदभार ग्रहण गर्दै मेयर राईले पुरानै प्रतिबद्धता दोहोर्‍याएका छन्।

उनले लामो समयदेखे विवादित बनेको धरान उपमहानगरपालिकाको कर नीतिलाई वैज्ञानिक बनाउन अध्ययन समिति गठन गरेका छन्।

धरानको तिर्खा सम्बोधन गर्न कतिको सहज छ

झन्डै पौने दुई लाख जनसङ्ख्या रहेको धरानमा मानिसहरूले वर्षौँदेखि खानेपानीको समस्या झेल्दै आएका छन्।

त्यहाँ दैनिक एक लाख ५० हजार लिटर पानीको माग छ तर मागको तुलनामा आधा मात्रै पानी आपूर्ति गर्न सकिएको बताइन्छ।

हिउँदको समयमा धरानमा खानेपानीको हाहाकार नै हुने गरेको छ।

साम्पाङ

तस्बिर स्रोत, Dharan Sub-Metropolitan City/Facebook

एशियाली विकास ब्याङ्कको सहयोगमा सञ्चालित खानेपानी आयोजनामा करिब दुई अर्ब रुपैयाँ खर्च भए पनि त्यो आयोजनाबाट राहत महसुस नभएको धरानवासीले गुनासो गर्दै आएका छन्।

आफ्नो चुनावी घोषणापत्रमा राईले खानेपानीको समस्या हल गर्न जितेर गएको एक साताबाटै लागिपर्ने वाचा गरेका थिए।

खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि सप्तकोशीबाट स्रोत थप्ने र आफैँ खटिएर खानेपानीको उत्पादन, सञ्चय र वितरण प्रणालीमा सुधार गर्ने अनि अनाहकमा हजारौँ रुपैयाँ बिल आउने प्रणालीको अन्त्य गर्ने उनको वाचा छ।

सम्पाङ्ले २०,८२१ मत ल्याएर जित हासिल गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका किशोर राईले १६,०६९ मत ल्याएका थिए।

कुनै समय नेकपा एमालेको किल्ला भनेर परिचित धरानमा यस पटक उक्त दलकी उम्मेदवार मञ्जु भण्डारी सुवेदीले १२, ८२५ मत ल्याएकी थिइन्।

यसअघिको स्थानीय तह चुनावमा एमालेका तारा सुब्बा धरानको मेयर र मञ्जु भण्डारी उपमेयरमा निर्वाचित भएका थिए।

धरान

तस्बिर स्रोत, Harka Sampang A Revolution/Facebook

तर पाँचवर्षे कार्यकाल नसकिँदै मेयर सुब्बाको निधन भएपछि भएको उपनिर्वाचनमा कांग्रेसका तिलक राईले बाजी मारेका थिए।

पञ्चायतकालमा समेत जनपक्षीय उम्मेदवार जिताएको धरानमा वि.सं. २०४९, २०५४ र २०७४ को स्थानीय तह निर्वाचनमा एमालेले जितेको थियो।

मतदाताले किन रोजे हर्क साम्पाङ्

धरानमै बस्ने प्राध्यापक टङ्क न्यौपाने विगतका चुनावमा सबै दलले खानेपानी समस्याको समाधान गर्ने आश्वासन दिएका तर त्यो पूरा नभएका कारण यस पटक मतदाताले विकल्प रोजेको हुनसक्ने ठान्छन्।

उनले भने, "अरू दल तथा तिनका उम्मेदवारहरूले जनताका जल्दाबल्दा अजेन्डा नै दिन सकेनन्। स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ् धराने जनताका मूलभूत मुद्दा बोकेर मतदाताका घरदैलोमा पुगे त्यसैले उनी सफल भए।"

"यो परिणामले दिएको सन्देश के हो भने दलहरूले आफूहरुले जे गरे पनि हुन्छ भन्ने दम्भ त्याग्नुपर्छ।"

धरान १५ की ४२ वर्षीया कमलादेवी खड्काले नयाँ मेयरले खानेपानी समस्या हल गर्ने आशा राखेको बताइन्।

उनले बीबीसीसँग भनिन्, "उहाँको मुख्य मुद्दा खानेपानी थियो। अहिले सबैले मिलेर चुनाव जिताएका छन्। हेरौँ अब नगरवासीको पीडामा मलहम लगाउने काम होला कि!"

धरानका पाका पत्रकार हर्ष सुब्बा अघिल्लो नेतृत्वसँग धरानवासीको असन्तुष्टिका कारण साम्पाङ् मेयरमा चुनिएको ठान्छन्।

हर्क साम्पाङ्

तस्बिर स्रोत, Harka Sampang A Revolution/Facebook

उनले भने, "उनको चुनावी अभियानमा धराने जनताको सहभागिता अरू उम्मेदवारको तुलनामा निकै कम देखिन्थ्यो। तर उपमहानगरको नेतृत्व हात पार्न उनी सफल हुनुका धेरैमध्ये एउटा प्रमुख कारण अघिल्लो नेतृत्वसँग धराने जनताको असन्तुष्टि र अविश्वास नै हो।"

यस पटकको स्थानीय चुनावमा भएको साम्पाङ्‌को विजयलाई पूर्वी नेपालमा देखा परेको परिवर्तनको लहरका रूपमा पनि कैयौँले हेरिरहेका छन्।

धरान-२५ की अस्मिता बिष्ट हर्क साम्पाङ्‌को जित परिवर्तनको पक्षमा व्यक्त मत रहेको बताउँछिन्।

उनले भनिन्, "वर्षौँदेखि राजनीतिक दलका नेताहरूले दिएको आश्वासन र सपना पूरा नभए पछि धरानवासीले नयाँ विकल्प खोजेका हुन्।"