बारम्बार क्षेप्यास्त्र प्रहार गर्दै आएका किम जङ-अनले यो वर्ष अब के गर्लान्

किम जङ-अन

तस्बिर स्रोत, Reuters via KCNA

    • Author, जीन मकेन्जी
    • Role, बीबीसी, सोल संवाददाता

उत्तर कोरियाले सन् २०२२ मा नयाँ कीर्तिमान राख्यो।

उक्त देशले एक वर्षको अवधिमा अभूतपूर्व रूपमा सर्वाधिक क्षेप्यास्त्र प्रहार गर्‍यो।

सन् २०२२ मा उत्तर कोरियाले आकाशमा प्रक्षेपण गरेका क्षेप्यास्त्रहरू उसले हालसम्म प्रक्षेपण गरेको कुल सङ्ख्याको एकचौथाइ हो। त्यही वर्ष किम जङ-अनले उत्तर कोरिया "परमाणुअस्त्रसम्पन्न राष्ट्र" बनेको घोषणा गरे।

उनले ती अस्त्र उत्तर कोरियामै रहने पनि बताए।

किमको घोषणाले कोरियाली प्रायःद्वीपको तनाव सन् २०१७ पछि उत्कर्षमा पुग्यो। सन् २०१७ मा तात्कालिक अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियालाई "अग्नि र प्रकोप" को धम्की दिँदा पनि तनाव चुलिएको थियो।

यो वर्ष उत्तर कोरियाले के गर्दा र अब के होला?

प्योङ्याङमा नववर्षको पूर्वसन्ध्यामा रमाउँदै मानिसहरू

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, प्योङ्याङमा नववर्षको पूर्वसन्ध्यामा सार्वजनिक स्थलमा भेला भएर मानिसहरूले हर्षोल्लास मनाएका थिए

परमाणुअस्त्रको विकास

सन् २०२२ मा उत्तर कोरियाले आफ्नो अस्त्रभण्डारमा ठूलो प्रगति गर्‍यो। नयाँ वर्ष सुरु हुनासाथ उसले "दक्षिण कोरियामा प्रहार गर्न" बनाइएका छोटो दूरीका क्षेप्यास्त्रहरू प्रक्षेपण गरेको थियो। त्यसपछि उसले "जापानलाई लक्ष्य बनाउन सक्ने" मध्यम दूरीका क्षेप्यास्त्रहरू प्रक्षेपण गर्‍यो।

वर्षको अन्त्यसम्ममा उसले अहिलेसम्मकै सबैभन्दा शक्तिशाली अन्तरमहादेशीय बलिस्टिक क्षेप्यास्त्र ह्वासङ-१७ को सफल प्रक्षेपण गर्‍यो। त्यो अस्त्र अमेरिकाको जुनसुकै ठाउँसम्म पुग्न सक्ने ठानिएको छ।

किमले परमाणुअस्त्र प्रयोग गर्ने सीमा पनि घटाए।

सेप्टेम्बरमा उत्तर कोरिया स्थायी रूपमै "परमाणुअस्त्रसम्पन्न" राज्य भएको घोषणा गरेसँगै उनले ती अस्त्रहरू अबउप्रान्त युद्ध रोक्नका लागि मात्र नभई युद्ध जित्नका लागि प्रयोग गर्न सकिने उद्घोष गरे।

वर्षको अन्त्यतिर सन् २०२३ को लागि लक्ष्य निर्धारण गर्ने उद्देश्यले सत्तारूढ वर्कर्स पार्टीको भेला बोलाए।

उनको प्राथमिकतामा तीव्र गतिमा परमाणुअस्त्रको उत्पादन बढाउनु पर्छ। त्यसमा दक्षिण कोरियाविरुद्ध लडाइँ गर्न प्रयोग गर्न सकिने साना सामरिक परमाणुअस्त्रको उत्पादन पनि पर्ने उनले बताएका छन्।

क्षेप्यास्त्र

तस्बिर स्रोत, KCNA

उत्तर कोरिया

कार्नेगी एन्डाउमन्ट फर इन्टर्न्याश्नल पीसमा कार्यरत परमाणुअस्त्रविज्ञ अङ्कित पान्डा यसलाई सबैभन्दा गम्भीर कुरा मान्छन्।

सामरिक परमाणुअस्त्र विकासका लागि उत्तर कोरियाले सुरुमा सानो क्षेप्यास्त्रमा भर्न सकिने साना परमाणुबम उत्पादन गर्नुपर्छ। विश्वले अझै प्योङ्याङले त्यसो गर्न सक्छ भन्ने कुराको प्रमाण फेला पारेको छैन।

गुप्तचर समुदायले सन् २०२२ को अधिकांश समय उत्तर कोरियाले त्यस्ता उपकरण परीक्षण गर्छ भनेर पर्खियो तर त्यसो भएन। त्यसैले सन् २०२३ मा उक्त परीक्षण हुने ठानिएको छ।

किमले यो वर्ष गर्ने ठानिएका कामको सूचीमा जासुसी उपग्रहको प्रक्षेपण पनि पर्छ। उनले आगामी वसन्तयाममा त्यो उपग्रह प्रक्षेपण गर्ने र थप शक्तिशाली तथा ठोस इन्धनबाट चल्ने अन्तरमहादेशीय बलिस्टिक क्षेप्यास्त्र (आईसीबीएम) रहेको दाबी गरेका छन्।

किम जङ-अन

तस्बिर स्रोत, Reuters

त्यस्तो आईसीबीएमले अमेरिकासम्म सोझै मार हान्न सक्ने र विद्यमान नमुनाको तुलनामा त्यसले विपक्षीलाई कम सङ्केत दिने बताइएको छ।

त्यसैले प्योङ्याङले संयुक्त राष्ट्रसङ्घका प्रतिबन्धहरूका बाबजुद आफ्नो परमाणुअस्त्रको आक्रामक परीक्षण, परिष्कृत र विस्तार गर्ने क्रम जारी राख्नेछ। त्यसो हुँदा सन् २०२३ गत वर्षभन्दा फरक हुने अनुमान गर्न सकिन्छ।

नयाँवर्ष सुरु भएको तीन घण्टाभन्दा कम समयमै प्योङ्याङले आफ्नो पहिलो क्षेप्यास्त्र परीक्षण गर्‍यो।

तर पान्डा भन्छन्, "आगामी वर्षमा धेरैजसो क्षेप्यास्त्र प्रक्षेपण गरेको नभई प्रशिक्षणको अभ्यास गरिन सक्छ। किनकि उत्तर कोरियाले अब सम्भावित द्वन्द्वमा आफ्ना क्षेप्यास्त्रहरू प्रयोग गर्ने तयारी गरिरहेको छ।"

के वार्ता होला?

किमका लक्ष्यहरूको लामो सूचीले के सङ्केत गर्छ भने उनले यो वर्ष अमेरिकासँग वार्तामा फर्किने सम्भावना छैन। 

सन् २०१९ मा परमाणुनिरस्त्रीकरण वार्ता अन्तिम चरणमा पुगेर अड्कियो। त्यसपछि किमले वार्ता गर्न चाहेकोबारे केही बोलेका छैनन्।

उनले आफूलाई अधिकतम लाभ हुन सक्ने अवस्थासम्म पर्खिरहेको हुनसक्ने देखिन्छ। 

उत्तर कोरिया अमेरिका र दक्षिण कोरियामा क्षति पुर्‍याउन सक्षम छ भन्ने प्रमाणित गर्नु वार्ताको टेबलमा फर्किनुभन्दा पनि ठूलो प्राथमिकता परेको छ। त्यो हुँदा बल्ल उनले आफूले चाहे जसरी वार्ता गर्न सकिने ठानेका हुनसक्छन्।

red line
यो पनि पढ्नुहोस्
red line

उत्तर कोरिया गत वर्षयता चीन र रुससँग नजिकिएको छ। 

देशको विदेशनीति पूर्णतः परिवर्तन गर्ने प्रक्रियाअन्तर्गत उक्त निकटता आएको हुनसक्ने उत्तर कोरिया मामिला विश्लेषक रेचल मिन्यङ ली बताउँछिन्।

लीले २० वर्ष अमेरिकी सरकारको लागि उत्तर कोरिया विश्लेषकका रूपमा काम गरेकी थिइन्। अहिले उनी ओपन न्यूक्लिअर नेटवर्कमा आबद्ध छिन्।

"यदि उत्तर कोरियाले अमेरिकालाई आफ्नो सुरक्षा र अस्तित्वको लागि आवश्यक ठान्दैन भने भविष्यको परमाणुवार्ताको आकार र स्वरूपमा गम्भीर असर पार्नेछ," उनले भनिन्।

क्षेप्यास्त्र

तस्बिर स्रोत, KCNA

कोरियाली प्रायःद्वीपमा तनाव

यसैबीच कोरियाली प्रायःद्वीपमा अस्थिर अवस्था सिर्जना भइरहेको छ।

उत्तर कोरियाले "उकासेपछि" दक्षिण कोरिया र कहिलेकाहीँ अमेरिकाले प्रतिक्रिया जनाउँछन्।

यो क्रम सन् २०२२ को मे महिनामा नयाँ दक्षिण कोरियाली राष्ट्रपतिले उत्तर कोरियामाथि कडा प्रस्तुत हुने उद्घोष गरेसँगै सुरु भएको हो।

राष्ट्रपति यून सुक-योल उत्तरलाई रोक्ने सबैभन्दा राम्रो उपाय सैन्य शक्तिको प्रयोग हो भन्ने मान्यता राख्छन्।

उनले संयुक्त राज्य अमेरिकासँग संयुक्त सैन्य अभ्यास पुनः सुरु गरे। उत्तर कोरियाले त्यसप्रति आपत्ति जनायो र थप क्षेप्यास्त्र प्रक्षेपण गर्‍यो।

दुवै पक्षले सीमानजिकै युद्धक विमानहरू उडाउने र समुद्रमा तोप प्रहार गर्ने काम गरे।

गत साता प्योङ्याङले अप्रत्याशित रूपमा दक्षिण कोरियाको उडान क्षेत्रमा पाँचवटा ड्रोन उडाएपछि तनाव झनै चुलियो। 

दक्षिण कोरियाले ती ड्रोनमाथि प्रत्याक्रमण गर्न नसकेपछि प्रतिरक्षात्मक प्रणालीमा कमजोरी रहेको हो कि भनेर सर्वसाधारण दक्षिण कोरियालीहरू चिन्तित बने। प्रायः दक्षिण कोरियालीहरू उत्तरका गतिविधिबारे खासै वास्ता राख्दैनन्।

red line
यो पनि पढ्नुहोस्
red line

राष्ट्रपतिले प्रत्येक उक्साहटको दक्षिणले जबाफ दिने र उत्तरलाई दण्डित गर्ने वाचा गरे।

उत्तर कोरियासँग सम्बन्धित विषयको अनुगमन गर्दै आएको कोरिया रिस्क ग्रूपका कार्यकारी प्रमुख चाड ओ क्यारलले उक्त उद्घोषका कारण सन् २०२३ मा दुई कोरियाबीच प्रत्यक्ष द्वन्द्व हुन सक्ने र त्यस क्रममा मानिसहरूले ज्यान समेत गुनाउन सक्ने चेतावनी दिएका छन्।

"उत्तर वा दक्षिण कोरियाको प्रतिक्रिया त्यस्तो बिन्दुसम्म बढ्न सक्छ जहाँ हामीले वास्तविक आक्रमण र प्रत्याक्रमण भएको देख्नेछौँ। त्यस्तो घटना जानाजान वा अन्य तरिकाले हुन सक्छ," उनले भने।

एउटा त्रुटि वा त्रुटिपूर्ण बुझाइका कारण परिस्थिति बिग्रिन सक्छ।

उत्तर कोरियामा के हुँदैछ?

आफ्नी छोरीसँग किम

तस्बिर स्रोत, KCNA

उत्तर कोरियाका जनताले सन् २०२३ मा के आशा गर्लान् त?

तीन वर्षदेखि कोभिड महामारीका कारण सङ्क्रमण नियन्त्रण गर्ने उद्देश्यले उत्तर कोरियाको सीमा बन्द गरिएको छ।

कोरोनाभाइरस सङ्क्रमण रोक्नका लागि त्यहाँ व्यापार पनि ठप्प पारिएको थियो। त्यस्ता प्रतिबन्धका कारण त्यहाँ खाद्यान्न र औषधिको गम्भीर अभाव भएको मानवीय सङ्गठनहरूले ठानेका छन्। गत वर्ष किमले "खाद्य सङ्कट" बारे निकै दुर्लभ खुलासा गरे।

त्यसपछि सन् २०२२ को मेमा उत्तर कोरियाले कोरोनाभाइरस सङ्क्रमणको पहिलो घटना स्वीकार गर्‍यो। सङ्क्रमण पुष्टि भएको केही महिनापछि मात्रै उसले भाइरसलाई पराजित गरेको दाबी गरेको थियो।

त्यसो भए सन् २०२३ मा उत्तर कोरियाले चीनसँगको आफ्नो सीमा फेरि खोल्ला र यात्रुलाई तथा आपूर्तिलाई आगमन अनुमति देला त?

चीनले आफ्नो सीमा पुनः खुला गरेकाले आशा गर्ने केही ठाउँ छ। उत्तर कोरियाले तयारीस्वरूप सीमामा तैनाथ मानिसहरूलाई खोप लगाइरहेको बताइएको छ। तर उसको असुरक्षित स्वास्थ्यसेवाबारे ली सतर्क छिन्।

“अर्थतन्त्र ध्वस्त हुनेगरी आपत्कालीन अवस्थामा बाहेक विश्वभरि र विशेषगरी छिमेकी चीनमा महामारी अन्त्य नभएसम्म उत्तर कोरियाले आफ्नो सीमा पूर्ण रूपमा खोल्ने सम्भावना छैन," उनले भनिन्।

किमले कसलाई आफ्नो उत्तराधिकारी बनाउँछन् भन्ने कुरामा पनि ध्यान दिनुपर्छ। उत्तराधिकारीसम्बन्धी उनको योजना स्पष्ट छैन। यद्यपि गत वर्ष उनले आफ्नी एक छोरीलाई सार्वजनिक कार्यक्रममा सहभागी गराए।

नयाँ वर्षको सैन्य परेडमा सहित ती बालिका अहिलेसम्म तीनवटा कार्यक्रममा सहभागी हुँदाका तस्बिरहरू सार्वजनिक भएका छन्।

कसैकसैले कतै उनी नै किमकी उत्तराधिकारी हुन् कि भनेर अनुमान गरेका छन्।

तर उत्तर कोरियामा के हुन्छ भनेर यसै भन्न सकिँदैन। अनि सन् २०२३ पनि अप्रत्याशित र अस्थिर वर्ष हुने देखिन्छ।