उत्तर कोरिया: संयुक्त राष्ट्रसङ्घको परमाणु निरस्त्रीकरण मञ्चको नेतृत्वमा

तस्बिर स्रोत, Getty Images
- Author, फ्रान्सेस माओ
- Role, बीबीसी न्यूज
उत्तर कोरिया औपचारिक रूपमा नै संयुक्त राष्ट्रसङ्घको एक उच्चस्तरिय परमाणु निरस्त्रीकरण मञ्चको अस्थायी नेतृत्वमा पुगेको छ।
राष्ट्रसङ्घको सुरक्षा परिषद्ले प्रतिबन्ध लगाएका अन्तर महादेशीय बलिस्टिक क्षेप्यास्त्र परीक्षण गरेको आरोपबीच उत्तर कोरिया त्यस्तो निरस्त्रीकरण सम्बन्धी निकायको नेतृत्वमा पुगेको हो।
यद्यपि सदस्यहरूले आलोपालो नेतृत्व गर्ने प्रक्रिया अन्तर्गत "कन्फरेन्स अन डिस्आर्मामन्ट" भनिने निरस्त्रीकरण सम्बन्धी उक्त मञ्चको अध्यक्षता उत्तर कोरियाले गरेको हो।
उत्तर कोरिया नेतृत्वमा पुगेसँगै उक्त मञ्चको प्रभावकारिताबारे आलोचना सुरु भएको छ।
केही गैरसरकारी संस्थाका प्रतिनिधिहरूले कूटनैतिक विरोध जनाउँदै अन्य देशहरूलाई विरोधस्वरूप बैठक कक्षबाट बाहिर निस्कन आग्रह गरेका थिए।
सदस्य राष्ट्रहरूले बिहीवारको सत्रमा त्यसो नगरे पनि केही देशहरूले भने तल्लो दर्जाका प्रतिनिधि मात्र पठाएका थिए।
उत्तर कोरियाका छिमेकी राष्ट्रहरू दक्षिण कोरिया र जापानमा अमेरिकी राष्ट्रपति जो बाइडनको भ्रमण लगत्तै प्योङयाङले गत साता थुप्रै क्षेप्यास्त्रहरू परीक्षण गरेको थियो।
राष्ट्रसङ्घले उत्तर कोरियालाई बलिस्टिक र परमाणु अस्त्रको परीक्षणमा रोक लगाएको छ। यसअघिका परीक्षणपछि उत्तर कोरियामाथि थप प्रतिबन्धहरू पनि लगाइएको छ।
अस्त्र र परमाणु सम्झौताहरूबारे छलफल हुने बहुपक्षीय स्थायी निकायको रूपमा स्थापित निरस्त्रीकरण कन्फरेन्स वर्षको तीन पटक जिनिभा स्थित संयुक्त राष्ट्रसङ्घको कार्यालयमा आयोजना हुने गरेको छ।
यो निकायको अन्तिम लक्ष्य भनेको परमाणु अस्त्रहरूको प्रतिस्पर्धा अन्त्य गर्दै भविष्यमा हुनसक्ने परमाणु युद्ध रोक्नु हो।
तर सन् १९९६ यता यसले कुनै पनि नयाँ सहमति जुटाउन सकेको छैन।
उत्तर कोरियाले यो मञ्चको कम्तीमा आगामी तीन हप्तासम्म अध्यक्षता गर्नेछ।
पश्चिमा देशहरूको प्रतिक्रिया
उत्तर कोरियाले वर्षको सुरुवाती महिनाहरूमा गरेका परीक्षणहरूको भर्त्सना गर्दै बिहीवारको उद्घाटन सत्रमा पश्चिमा देशहरूले संयुक्त वक्तव्य जारी गरे।
भर्त्सना गर्नेमध्ये अधिकांश देशहरूले प्योङयाङमाथि प्रतिबन्ध लगाएका छन्।
"निरस्त्रीकरण कन्फरेन्सको आधारभूत मान्यता नै कमजोर बनाउने जनवादी गणतन्त्र कोरियाको गैरजिम्मेवार कदमप्रति हामी चिन्तित छौँ," पश्चिमा गठबन्धनका नेताहरूको तर्फबाट अस्ट्रेलियाका राजदूतले भने।
नियुक्तिबारे उठेका सवालहरूबारे प्रतिक्रिया दिँदै अमेरिकाले यसले उक्त मञ्चको प्रभावकारिताबारे प्रश्न उठेको बताएको छ।
"विश्वका कुनै पनि अरू सरकारहरूको भन्दा अस्त्र विस्तार नगर्ने मान्यताको क्षयीकरण गर्ने जनवादी गणतन्त्र कोरियाको जस्तो शक्ति यसको नेतृत्वमा रहँदा प्रश्न उठ्नु स्वाभाविकै हो," अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले भने।

अस्ट्रेलियाका राजदूत अमान्डा गोर्लीले कन्फरेन्समा सहभागिता जनाउने आफूहरूको कदमलाई उत्तर कोरियाली गतिविधिलाई स्वीकार गरेको भन्ने अर्थमा बुझ्न नहुने प्रस्ट्याएका छन्।
बैठकमा सहभागी उत्तर कोरियाली राजदूतले जारी वक्तव्य र आलोचनाहरूलाई आफूले ध्यानमा राखेको बताएका छन्।
उनकै शब्दमा "आत्मरक्षाका लागि सैनिकीकरण आवश्यक रहेको" आफ्नो देशको दाबी दोहोर्याउँदै उनले विश्वव्यापी निरस्त्रीकरणमा योगदान पुर्याउने प्रतिबद्धता जनाएका छन्।











