उत्तर कोरियाः बाइडन अमेरिका फर्किएपछि तीनवटा क्षेप्यास्त्र प्रहार

क्षेप्यास्त्र परीक्षण गरेको समाचार हेर्दै एक दक्षिण कोरियाली नागरिक

तस्बिर स्रोत, Getty Images

उत्तर कोरियाले बुधवार बिहानै तीनवटा बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाको सेनाले जनाएको छ।

सोलस्थित अधिकारीहरूका अनुसार ती क्षेप्यास्त्रहरू प्योङ्याङको सुनान क्षेत्रबाट एक घण्टाभन्दा कम अवधिभित्र प्रहार गरिएका थिए।

अमेरिकी राष्ट्रपति जो बाइडनले उक्त क्षेत्रको भ्रमण गरेको भोलिपल्ट प्योङ्याङले क्षेप्यास्त्र प्रहार गरेको हो। भ्रमणका क्रममा बाइडनले उत्तर कोरियालाई अङ्कुश लगाउने उपायहरू अवलम्बन गर्ने वाचा गरेका थिए।

उत्तर कोरियाले यो वर्षको सुरुदेखि नै परीक्षणका लागि बलिस्टिक क्षेप्यास्त्रहरू प्रहार गरिरहेको छ।

जापानले कम्तीमा दुईवटा क्षेप्यास्त्र बुधवार प्रक्षेपण गरिएको पुष्टि गरेको छ। उसले अझ बढी क्षेप्यास्त्र प्रहार गरिएको हुनसक्ने स्वीकारेको छ।

आलोचना

जापानका रक्षामन्त्री नोबुओ किशीका अनुसार पहिलो क्षेप्यास्त्र झन्डै ३०० किलोमिटर उडेको थियो।

त्यस क्रममा उक्त क्षेप्यास्त्र अधिकतम ५५० किलोमिटर माथि पुगेको थियो। झन्डै ५० किलोमिटर माथि उडेको दोस्रो क्षेप्यास्त्र ७५० किलोमिटर पर पुगेको उनले बताए।

दक्षिण कोरियामा बाइडन

तस्बिर स्रोत, Reuters

किशीले क्षेप्यास्त्र प्रहार गरेकोमा उत्तर कोरियाको आलोचना गरेका छन्।

क्षेप्यास्त्र प्रहारले "जापान तथा अन्तर्राष्ट्रिय समुदायको शान्ति, स्थिरता र सुरक्षा जोखिममा पार्ने" भन्दै उनले उत्तर कोरियाको उक्त कार्य "अस्वीकार्य" भएको टिप्पणी गरेका छन्।

बाइडन

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, बाइडनले पाँचदिने एशिया भ्रमण जापानमा टुङ्ग्याएका हुन्

क्षेप्यास्त्र प्रहार भएपछि बसेको बैठकमा दक्षिण कोरियाको राष्ट्रिय सुरक्षा परिषद्‌ले उक्त परीक्षणलाई "गम्भीर उक्साहट" को सङ्ज्ञा दिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

दक्षिण कोरिया र जापानको पाँचदिने भ्रमणपछि जो बाइडन मङ्गलवार साँझ स्वदेश फर्किएको केही घण्टामै उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण गरेको हो।

संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाका अधिकारीहरूले त्यसअघि नै प्योङ्याङले अर्को अस्त्र परीक्षण गर्न लागेको चेतावनी दिएका थिए। बाइडनको भ्रमणका बेला नै त्यस्तो परीक्षण हुन सक्ने उनीहरूको अनुमान थियो।

सप्ताहान्तमा सोल भ्रमणका क्रममा बाइडनले आफ्ना दक्षिण कोरियाली समकक्षी यून सङ-न्यलबीच भेटवार्ता गरेका थिए।

उनीहरूले अझ ठूला सैन्य अभ्यास गर्ने र उत्तर कोरियालाई अस्त्र परीक्षण गर्ने काममा अङ्कुश लगाउन आवश्यक परे थप अमेरिकी रणनीतिक स्रोत र साधन प्रयोग गर्न सहमति गरेका थिए।

उत्तर कोरियाले जे गरे पनि त्यसका लागि अमेरिका तयार रहेको बाइडनको भनाइ थियो।

भिडिओ क्याप्शन सुरु हुँदैछ, लडाकु विमान चढेर आकाशबाट उत्तर कोरियालाई हेर्दा

कोभिडको प्रकोप फैलिँदा क्षेप्यास्त्र परीक्षण

कोभिड महामारीसँग सङ्घर्ष गरिरहेको बेला नै उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण गरेको हो। झन्डै अढाई करोड जनसङ्ख्या भएको उक्त देशमा अधिकांश मानिसले कोभिड-१९ विरुद्ध खोप लगाएका छैनन्।

प्योाङ्याङले कोभिडलाई केवल "ज्वरो" को सङ्ज्ञा दिने गरेको छ। एप्रिल महिनाको अन्त्यतिर प्रकोप सुरु भएपछि अहिलेसम्म १० लाख जनाभन्दा बढी मानिस बिरामी परिसकेका छन् भने कोरोनाभाइरस सङ्क्रमणका कारण कम्तीमा ६८ जनाको मृत्यु भएको छ।

मे १२ मा किम जङ-अनले कोभिड महामारीका कारण देशमा सङ्कटकाल घोषणा गरेका थिए। सोही दिन प्योङ्याङले परीक्षणका लागि बलिस्टिक क्षेप्यास्त्रहरू प्रहार पनि गरेको थियो।

दक्षिण कोरियाले उत्तरलाई मानवीय सहायता उपलब्ध गराउने प्रस्ताव गरेको भए पनि प्योङ्याङले त्यसबारे कुनै प्रतिक्रिया नदिएको जनाएको छ।

अमेरिकाले पनि खोप दिने आफ्नो प्रस्तावबारे उत्तर कोरियाले कुनै जबाफ नदिएको बताएको छ।

कोरियाली सेनाको ९०औँ स्थापना दिवसको अवसरमा प्योङ्याङमा सैन्य परेड आयोजना भएको थियो

तस्बिर स्रोत, KNCA/REUTERS

तस्बिरको क्याप्शन, कोरियाली सेनाको ९०औँ स्थापना दिवसको अवसरमा प्योङ्याङमा सैन्य परेड आयोजना भएको थियो

परमाणुअस्त्रको सङ्ख्या बढाउने योजना

गत महिना उत्तर कोरियाका नेता किम ले आफ्नो देशले परमाणुअस्त्रको सङ्ख्या बढाउने उद्घोष गरेका थिए।

उत्तर कोरियाली सेनाको ९०औँ स्थापना दिवसको अवसरमा आयोजित एउटा सैन्य परेडमा सम्बोधन गर्दै उनले आफ्नो परमाणु कार्यक्रम र अस्त्रभण्डार अझ बलियो बनाउने घोषणा गरेका हुन्।

उक्त परेडमा प्रतिबन्धित अन्तरमहादेशीय बलिस्टिक क्षेप्यास्त्र आईसीबीएम प्रदर्शन गरिएको थियो।

मार्च महिनामा उत्तर कोरियाले सन् २०१७ यता सबैभन्दा ठूलो आईसीबीएम परीक्षण गरेको थियो।

अन्तर्राष्ट्रिय समुदायले उक्त परीक्षणको व्यापक आलोचना तथा निन्दा गरेको थियो।

अन्तर्राष्ट्रिय निन्दा र प्रतिबन्धबाट अहिलेसम्म किम विचलित भएको देखिएको छैन।

यो पनि हेर्नुहोस्

भिडिओ क्याप्शन सुरु हुँदैछ, उत्तर कोरियामा किम जङ-अनको १० वर्षे शासन