उत्तर कोरिया: ध्वनिभन्दा पाँचगुणा बढी वेगको हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण गरिएको दाबी

तस्बिर स्रोत, EPA
उत्तर कोरियाले ध्वनिको भन्दा पाँचगुणा तीव्र वेगको एउटा 'हाइपरसोनिक' क्षेप्यास्त्र सफलतापूर्वक परीक्षण गरेको त्यहाँको एउटा सरकारी सञ्चारमाध्यमले जनाएको छ।
नयाँ वर्ष सुरु भएयता उत्तर कोरियाले गरेको यो प्रमुख अस्त्र परीक्षण हो।
सरकारी समाचारसंस्था केसीएनएका अनुसार उक्त क्षेप्यास्त्रले ७०० किलोमिटर परको निसानामा 'ठ्याक्कै प्रहार' गरेको थियो।
यो हाइपरसोनिक क्षेप्यास्त्रको दोस्रो परीक्षण हो। हाइपरसोनिक क्षेप्यास्त्रलाई पहिचान गर्न बलिस्टिक क्षेप्यास्त्रभन्दा बढी समय लाग्ने बताइन्छ।
प्योङ्याङको सैन्य सामर्थ्य अभिवृद्धि गर्ने प्रतिबद्धता किम जङ-अनले गरेपछि यो पछिल्लो परीक्षण भएको छ।
'अचुक निसाना'
नयाँ वर्षको सम्बोधनमा किमले कोरियाली प्रायद्वीपको अस्थिर सैनिक वातावरणका कारण प्योङयाङले आफ्नो प्रतिरक्षा क्षमता अभिवृद्धिलाई निरन्तरता दिने बताएका थिए।
दक्षिण कोरिया र अमेरिकासँग वार्ता स्थगित भइरहँदा उत्तर कोरियाले अघिल्लो वर्ष कैयौँ प्रकारका क्षेप्यास्त्रहरू परीक्षण गरेको थियो।

हाइपरसोनिक क्षेप्यास्त्र विकास गर्ने प्रयास गरिरहेका अमेरिका र चीन सहित थोरै देशमा उत्तर कोरिया पनि पर्छ।
पछिल्लो परीक्षणलाई सबैभन्दा पहिले जापानी तटरक्षक निकायले बुधवार बिहान पहिचान गरेको थियो।
त्यसपछि सोलका रक्षा अधिकारीहरूले त्यसलाई पुष्टि गरेका थिए।
बुधवारको परीक्षणमा हाइपरसोनिक ग्लाइडिङ वारहेड (युद्धशीर्ष), रकेटको बूस्टरबाट अलग भएको थियो र १२० किलोमिटरसम्म यता उति घुमेर ७०० किलोमिटर पर रहेको निसानामा ठ्याक्कै प्रहार गरेको केसीएनएको विवरणमा उल्लेख छ।

उक्त समाचारमा यो पछिल्लो परीक्षणले क्षेप्यास्त्रको उडान नियन्त्रण र हिउँदयाममा पनि काम गर्ने क्षमतालाई पुष्टि गरेको उल्लेख गरिएको छ।
हाइपरसोनिक अस्त्रहरू साधरणतया बलिस्टिक क्षेप्यास्त्रभन्दा कम उचाइबाट आफ्नो निसानातर्फ उड्छन्।
यस्ता अस्त्र ध्वनिभन्दा पाँचगुणा बढी अर्थात् करिब ६२ सय किलोमिटर प्रतिघण्टा वेगमा उड्छन्।
अस्त्र कार्यक्रमलाई निरन्तरता
कारनीगी इन्डाओमेन्ट फर इन्टरन्याश्नल पीसका रक्षाविज्ञ अङ्कित पान्डाले रोएटर्स समाचारसंस्थालाई हालै परीक्षण गरिएको क्षेप्यास्त्र गएको सेप्टेम्बरमा परीक्षण गरिएको हाइपरसोनिक क्षेप्यास्त्रजस्तै ठ्याक्कै नभएको बताए।
तर दुवैबीच साझा विशेषता भएको उनको भनाइ छ।
नयाँ क्षेप्यास्त्रलाई सबैभन्दा पहिले गएको अक्टोबरमा प्योङ्याङमा गरिएको प्रतिरक्षा प्रदर्शनीमा सार्वजनिक गरिएको थियो।
उत्तर कोरियामा कोरोनाभाइरस महामारीका कारण लगाइएको नाकाबन्दीले खाद्य सङ्कट निम्त्याइरहँदा अहिलेको परीक्षण भएको हो।
गत साता वर्षान्तमा आयोजित बैठकमा किमले आफ्नो देशले "जीवन र मृत्युको महान् सङ्घर्ष" गरिरहेको उल्लेख गर्दै विकास अभिवृद्धि गर्ने र जनताको जीवनस्तर सुधार्ने नयाँ वर्षको लक्ष्य भएको बताएका थिए।
त्यसका बाबजुद उत्तर कोरियाले आफ्नो अस्त्र कार्यक्रमलाई सुस्त बनाउने कुनै सङ्केत दिएको छैन।
अमेरिकाले उत्तर कोरियालाई परमाणुअस्त्र त्याग्न भन्दै आएको छ।
प्योङ्याङ र राष्ट्रपति जो बाइडनबीचको सम्बन्ध हालसम्म तनावपूर्ण नै देखिएको छ।














