उत्तर कोरियाः प्योङ्याङले गर्यो समुद्रमा बलिस्टिक क्षेप्यास्त्र प्रक्षेपण

तस्बिर स्रोत, Reuters
उत्तर कोरियाले समुद्रमा बलिस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको दक्षिण कोरियाको रक्षामन्त्रीले बताएका छन्।
दक्षिण कोरिया सरकारले पुष्टि गर्नुअघि प्रक्षेपणबारे जापानी तटरक्षक निकायले समुद्रमा पहिलो पटक जानकारी दिएको थियो।
संयुक्त राष्ट्रसङ्घले उत्तर कोरियालाई बलिस्टिक र परमाणुअस्त्र परीक्षण गर्न प्रतिबन्ध लगाएको छ।
प्रहार गरिएको वस्तु बलिस्टिक क्षेप्यास्त्र भए नभएको यसअघि स्पष्ट थिएन।
"दक्षिण कोरियाली र अमेरिकी गुप्तचर निकायले थप विवरणहरूको विश्लेषण गरिरहेका छन्," दक्षिण कोरियाको जोइन्ट चीफ अफ स्टाफ (जेसीएस)ले भनेको छ।
समाचारसंस्था रोएटर्सले उल्लेख गरेअनुसार जापानका रक्षामन्त्री नोबुओ किशीले सम्भावित बलिस्टिक क्षेप्यास्त्र करिब ५०० किलोमिटर (३१० माइल) उडेको बताएका छन्।
उत्तर कोरियाका सर्वोच्च नेता किम जङ-अनले कोरियाली प्रायःद्वीपमा बढ्दो अस्थिर सैन्य वातावरणबीच प्योङ्याङको प्रतिरक्षा क्षमतालाई सुदृढ गर्ने क्रम जारी राख्ने बताएको केही दिनपछि यो घटना भएको हो।

तस्बिर स्रोत, EPA
उनले उत्तर कोरियाको सत्तारूढ दलको महत्त्वपूर्ण वार्षिक बैठकमा त्यस्तो टिप्पणी गरेका थिए।
जापानका प्रधानमन्त्री फुमियो किशिदाले पछिल्लो परीक्षणलाई 'अति खेदजनक' भएको बताएका छन्।
सन् २०२१ यता उत्तर कोरियाले पटक पटक क्षेप्यास्त्र परीक्षण गरेकोबारे पनि उनले टिप्पणी गरे।
सन् २०२१ देखि उत्तर कोरियाले आफूसँग भएको अस्त्र सुदृढ गर्ने कार्यक्रम सुरु गर्यो।
त्यसलाई त्यहाँको राज्यसञ्चालित सञ्चारमाध्यमले नयाँ हाइपरसोनिक क्षेप्यास्त्र, रेलमा आधारित बलिस्टिक क्षेप्यास्त्र र नयाँ लामो दूरीको क्रुज क्षेप्यास्त्र परीक्षणको रूपमा प्रस्तुत गरेको थियो।
बलिस्टिक क्षेप्यास्त्रहरू क्रूज क्षेप्यास्त्रभन्दा बढी जोखिमपूर्ण मानिन्छन्। किनभने तिनले अत्यधिक शक्तिशाली विस्फोटक भार उठाउन सक्छन्।
त्यस्तै ती क्षेप्यास्त्रहरू लामो दूरीसम्म छिटो उड्न सक्छन्।
के छ उत्तर कोरियाको अवस्था ?
कोरोनाभाइरस नियन्त्रणका लागि जारी नाकाबन्दीका कारण प्योङ्याङको अर्थतन्त्र प्रभावित भएको छ। त्यहाँ खाद्यान्न अभाव भएको छ।
यस्तो परिस्थितिका बावजुद पनि त्यहाँ अस्त्र परीक्षण गरिएको छ।
वर्षको अन्त्यमा भएको बैठकमा किम जङ-अनले देशले "जीवन र मरणबीच महान् सङ्घर्ष" गरिरहेको बताएका थिए।
साथै विकास र जनताको जीवनस्तर सुधार नै वर्षभरको प्रमुख उद्देश्य रहेको उल्लेख गरेका थिए।
संयुक्त राष्ट्रसङ्घका अधिकारीहरूले यसअघि उत्तर कोरियामा बालबालिका र वृद्धवृद्धाहरू भोकमरीको जोखिममा रहेको चेतावनी दिएका थिए।
अमेरिकाले उत्तर कोरियालाई आफूसँग भएका परमाणुअस्त्र त्याग्न आग्रह गरिरहेको छ।
प्योङ्याङसँग अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनको सम्बन्ध निकै तनावपूर्ण रहँदै आएको छ।
उत्तर कोरियाले भने पटकपटक दक्षिण कोरियामाथि सैन्य गतिविधिमा दोहोरो भूमिका निर्वाह गरेको आरोप लगाएको छ।
दक्षिण कोरियाले हालसालै पहिलो पटक पानीमुनिबाट प्रहार गर्न सकिने बलिस्टिक क्षेप्यास्त्र परीक्षण गर्यो। उक्त क्षेप्यास्त्र उत्तर कोरियाको "उत्तेजना"विरुद्ध प्रतिरोधको सङ्केतका रूपमा आवश्यक रहेको बताइएको थियो।















