उत्तर कोरियाः नयाँ परीक्षण गरिएको हाइपरसोनिक क्षेप्यास्त्र के हो?

तस्बिर स्रोत, Reuters
एक पछि अर्को क्षेप्यास्त्र परीक्षण गरिरहेको उत्तर कोरियाले आफूले मङ्गलवार हाइपरसोनिक क्षेप्यास्त्रको सफल परीक्षण गरेको जनाएको छ।
ह्वासङ्-८ नाम दिइएको नयाँ क्षेप्यास्त्र उत्तर कोरियाको पाँच वर्षे सैन्य विकास योजना अन्तर्गत तयार गरिएका 'महत्त्वपूर्ण पाँच हतियार' प्रणाली मध्ये एक भएको सरकारी सञ्चार माध्यमहरूले जनाएका छन्।
उनीहरूले नयाँ क्षेप्यास्त्र 'रणनीतिक हतियार' भएको जनाएका छन्। जस अन्तर्गत साधारणतया आणविक क्षमताका हतियारहरू भन्ने बुझिन्छ।
मङ्गलवारको परीक्षणले कडा प्रतिबन्धका बीच पनि प्योङयाङ अस्त्र विकास र निर्माणको कामलाई निरन्तरता दिएको थप सङ्केत गरेको छ।
"यो हतियार प्रणालीको विकासले हरेक कोणबाट देशको आत्मरक्षा क्षमतालाई थप वृद्धि गरेको छ," उत्तर कोरियाको सरकारी मुखपत्र कोरियन सेन्ट्रल न्यूज एजेन्सीले भनेको छ।
यो उत्तर कोरियामा एकै महिनाभित्र भएको तेस्रो क्षेप्यास्त्र परीक्षण हो। यसअघि पनि उत्तर कोरियाले नयाँ प्रविधिको लामो दूरीमा मार हान्न सक्ने क्रूज क्षेप्यास्त्र परीक्षण गरेको थियो।
उक्त क्षेप्यास्त्रले जापानसम्म मार हान्न सक्ने बताइएको छ। त्यसअघि पनि उसले बलिस्टिक क्षेप्यास्त्र परीक्षण गरेको थियो।
हाइपरसोनिक क्षेप्यास्त्र के हो
साधारण क्षेप्यास्त्र भन्दा हाइपरसोनिक क्षेप्यास्त्रले तीव्र र थप लक्ष्य भेदन गर्न सक्ने क्षमताका हुने भएकाले क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीबाट रोक्न कठिन हुने समाचार संस्था एएफपीले जनाएको छ।
परीक्षणबाट यो 'क्षेप्यास्त्रको गन्तव्यमा नियन्त्रण स्थिरता' को पुष्टि गरेको कोरियन सेन्ट्रल न्यूज एजेन्सीले उल्लेख गरेको छ।
उत्तर कोरिया विश्लेषक अङ्कित पान्डा अहिले नै उक्त क्षेप्यास्त्रको क्षमताबारे विस्तृत विवरणहरू पाउन कठिन भएको बताउँछन्।
उनका अनुसार यसले परम्परागत प्रविधिमा आधारित क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीको निम्ति नयाँ चुनौती खडा गरेको अनुमान गर्न सकिन्छ।
पान्डाले नयाँ हतियारमा पहिलो पटक सानो भाँडोबाट क्षेप्यास्त्रमा इन्धन भर्ने प्रविधि प्रयोग भएको देखिएको उल्लेख गर्दै यसलाई 'महत्त्वपूर्ण कोशे ढुङ्गा' भनेका छन्।
कोरिया टाइम्सका अनुसार इन्धन लागि प्रयोग भएको नयाँ प्रविधिले क्षेप्यास्त्र प्रहार गर्न लाग्ने समय निकै कम गर्नुका साथै हतियारलाई जुनसुकै समयमा पनि प्रहारका लागि तयार राख्न मद्दत गर्ने उल्लेख गरेको छ।
पान्डा उत्तर कोरियाली लामो दूरीका क्षेप्यास्त्रहरूलाई यसले बढी प्रभावकारी बनाउने बताउँछन्।
राष्ट्रपति किमले सन् २०२१ को ज्यानुअरी महिनामा नै हाइपरसोनिक हतियार प्रणाली विकसित गर्ने अनुसन्धान सकिएको घोषणा गरेका थिए।

तस्बिर स्रोत, Getty Images
विज्ञहरूका अनुसार अस्त्र निर्माण गर्ने प्रविधिमा सुधार गर्न र अमेरिकासँग वार्ताका लागि आफ्नो हात माथि राख्न प्योङयाङले त्यस्तो परीक्षण गर्ने गरेको छ।
संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्ले लागु गरेको प्रतिबन्धहरूले उत्तर कोरियालाई बलिस्टिक क्षेप्यास्त्र परीक्षणमा मात्र रोक लगाएको छ।
परीक्षण लगत्तै संयुक्त राष्ट्रसङ्घको महासभामा बोल्दै उत्तर कोरियाली राजदूत किम सङ्ले हतियारको निर्माण गर्ने आफ्नो देशको अधिकार भन्दै परीक्षणको बचाउ गरे।
उत्तर कोरियाले देशको प्रतिरक्षाका लागि यस्ता हतियार निर्माण गरिएको बताउने गरेको छ।









