उत्तर कोरियाः पारमाणविक अस्त्रका लागि प्लूटोनीअम उत्पादन गर्न सक्ने केन्द्र सञ्चालनमा

किम जङ-अन

तस्बिर स्रोत, Reuters

उत्तर कोरियाले एउटा पारमाणविक रीयाक्टर पुनः सञ्चालनमा ल्याएको र त्यसले पारमाणविक अस्त्रका लागि प्लूटोनीअम उत्पादन गर्ने ठानिएको संयुक्त राष्ट्रसङ्घीय निकायले जनाएको छ।

अन्तर्राष्ट्रिय पारमाणविक ऊर्जा एजेन्सी (आईएईए) ले भनेको छ- यङब्युन रीयाक्टरले जुलाई महिनादेखि नै चिस्यान गर्ने पानी फालिरहेका सङ्केतहरू फेला परेका छन्।

त्यसबाट उक्त पारमाणविक रीयाक्टर सञ्चालनमा रहेको बुझिन्छ। त्यो केन्द्र सन् २०१८ देखि निष्क्रिय थियो।

भूउपग्रहमार्फत्‌ सो पारमाणविक केन्द्रको पर्यवेक्षण गर्ने गरेको आईएईएले पछिल्लो विकासक्रमलाई गहिरो चिन्ताको विषयको रूपमा अर्थ्याएको छ।

'प्रस्तावको उल्लङ्घन'

साथै सुरक्षा परिषद्‌ले पारित गरेका सङ्कल्प प्रस्तावहरूको पनि त्यसबाट उल्लङ्घन भएको आईएईएले जनाएको छ।

सन् २००९ मा उत्तर कोरियाले आईएईएका पर्यवेक्षकहरूलाई फिर्ता पठाइदिएको थियो।

गत ज्यानुअरीमा उत्तर कोरियाली नेता किम जङ-अनले देशको पारमाणविक क्षमतामा आधुनिकीकरण गर्न चाहेको बताएका थिए।

प्योङ्याङले प्लूटोनीअम उत्पादन थालेकै हो भने त्यसले अमेरिकी राष्ट्रपति जो बाइडनका निम्ति एउटा ठूलो वैदेशिक सङ्कट निम्त्याउनेछ।

यङ्गब्युन रिएक्टर

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, सन् २०१९ को डिसेम्बरमा भूउपग्रहबाट लिइएको यङ्गब्युन रिएक्टरको तस्वीर

दक्षिण कोरियाका विदेशमन्त्रीले आफ्नो सरकारले उत्तर कोरियाली पारमाणविक तथा क्षेप्यास्त्र गतिविधिहरूलाई अमेरिकासँगको सहकार्यमा नजिकबाट निरन्तर हेरिरहेको योन्हाप समाचारसंस्थालाई भनेका छन्।

आईएईएका पर्यवेक्षकहरूलाई फिर्ता पठाएयता उत्तर कोरियाले पारमाणविक विकासलाई निरन्तरता दिँदै आएको छ।

सन् २०१७ मा उसले पछिल्लो पारमाणविक परीक्षण गरेको थियो।

बीबीसी संवाददाता लउरा बिकर भन्छिन्, "किम जङ-अनले तत्कालीन अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँगको वार्ताको केन्द्रमा यङब्युन पारमाणविक केन्द्रलाई राखेका थिए।"

आर्थिक नाकाबन्दी खुकुलो पारिए उक्त पारमाणविक केन्द्रलाई भङ्ग पार्ने सहमतिलाई त्यति बेला ट्रम्पले अस्वीकार गरेको बताइन्छ।

सन् २०१९ मा हनोईमा ट्रम्प र किमबीच भएको वार्तालाई सोही मुद्दाले विफलतातर्फ डोर्‍याएको बताइन्छ।