उत्तर कोरियाः किम जङ-अन सैन्य परेडमा सहभागी, परमाणुअस्त्र कार्यक्रम अझै बलियो बनाउने घोषणा

किम जङ-अन

तस्बिर स्रोत, KNCA/Reuters

तस्बिरको क्याप्शन, कोरियाली सेनाको ९०औँ स्थापना दिवसको अवसरमा प्योङ्याङमा सैन्य परिड आयोजना भएको थियो
    • Author, जुबैद अब्दुल जलिल र फ्रान्सिस माओ
    • Role, बीबीसी न्यूज

उत्तर कोरियाका नेता किम जङ-अनले आफ्नो देशले परमाणुअस्त्रको सङ्ख्या बढाउने उद्घोष गरेका छन्।

सोमवार राति आयोजित एउटा सैन्य परेडमा सम्बोधन गर्दै उनले आफ्नो परमाणु कार्यक्रम र अस्त्रभण्डार अझ बलियो बनाउने घोषणा गरेका हुन्।

उत्तर कोरियाली सेनाको ९०औँ स्थापना दिवसको अवसरमा आयोजित उक्त परेडमा प्रतिबन्धित अन्तरमहादेशीय बलिस्टिक क्षेप्यास्त्र आईसीबीएम पनि प्रदर्शन गरिएको थियो।

गत मार्च महिनामा उत्तर कोरियाले सन् २०१७ यता सबैभन्दा ठूलो आईसीबीएम परीक्षण गरेको थियो।

अन्तर्राष्ट्रिय समुदायले उक्त परीक्षणको व्यापक आलोचना तथा निन्दा गरेको थियो।

उक्त परीक्षणपछि संयुक्त राज्य अमेरिकाले उत्तर कोरियाविरुद्ध थप प्रतिबन्ध घोषणा गर्‍यो।

परमाणुअस्त्र बोक्न सक्नेगरी बनाइएका ती क्षेप्यास्त्रको मार हान्न सक्ने क्षमता संयुक्त राज्य अमेरिकासम्म छ।

सोमवारको परेडमा ध्वनिको गतिभन्दा तीव्र गतिमा प्रहार गरिने हाइपरसोनिक क्षेप्यास्त्र तथा पनडुब्बीबाट प्रहार गरिने बलिस्टिक क्षेप्यास्त्रहरू पनि प्रदर्शन गरिएका थिए।

भिडिओ क्याप्शन सुरु हुँदैछ, लडाकु विमान चढेर आकाशबाट उत्तर कोरियालाई हेर्दा

अविचलित

अन्तर्राष्ट्रिय निन्दा र प्रतिबन्धबाट अहिलेसम्म किम विचलित भएको देखिएको छैन।

सोमवार उनले भनेका कुराबाट पनि त्यसको सङ्केत देखिन्थ्यो।

"हामी तीव्र गतिमा हाम्रो देशको पारमाणविक क्षमता सुदृढ बनाउन र विकास गर्न आवश्यक कदम चालिरहने छौँ," उनले भने।

सरकारी समाचार संस्था केसीएनएका अनुसार परमाणुअस्त्र प्रयोग गर्ने फौज परिचालित हुन जुनसुकै बेला पनि तयार हुनुपर्ने उनको भनाइ थियो।

उत्तर कोरियाका परमाणुअस्त्र वस्तुतः आफूविरुद्ध हुन सक्ने सम्भावित युद्धलाई निरुत्साहित गर्ने साधन भए पनि ती अरू उद्देश्यका लागि पनि प्रयोग सकिने उनको भनाइ थियो।

उनका शब्दले आफूमाथि आक्रमण भए उत्तर कोरियाले प्रत्याक्रमण गर्ने पुरानो भनाइ प्रतिध्वनित गर्छन्।

उत्तर कोरियामा सैन्य परेड

तस्बिर स्रोत, KCNA/Reuters

परेडमा कस्ता अस्त्र

सरकारी सञ्चारमाध्यमले प्रकाशित गरेका तस्बिरमा सैन्य परेडमा ह्वासङ-१७ बलिस्टिक क्षेप्यास्त्र पनि प्रदर्शन गरिएको थियो।

गत महिना उक्त विशाल आईसीबीएमको परीक्षण गरिएको दाबी प्योङ्याङले गरेको थियो।

तर दक्षिण कोरियाली विज्ञहरुले उक्त परीक्षण सफल भएकोबारे आशङ्का व्यक्त गरेका थिए।

प्योङ्याङमा आयोजना हुने सैन्य परेडहरूमा सेनाले प्रायः ट्याङ्क, तोप र सैनिकको लामो लस्करसहित नयाँ अस्त्रहरू पनि प्रदर्शन गर्ने गरेको छ।

तनाव

यो वर्ष उत्तर कोरियाले कोरियाली प्रायःद्वीपमा तनाव उत्पन्न हुनेगरी विभिन्न क्षेप्यास्त्र परीक्षण गरेकाले सोमवारको सैन्य परेडलाई धेरैले उत्सुकतापूर्वक नियालेका थिए।

किम जङ-अन

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, फाइल तस्बिर

उत्तर कोरियाली गतिविधिविरुद्ध कडा नीति लिइनुपर्ने धारणा राख्ने यून सङ-न्यल दक्षिण कोरियामा नयाँ राष्ट्रपतिका रूपमा निर्वाचित भएकाले पनि दुई देशको सम्बन्ध अझ चिसिएको छ। उनले पदभार ग्रहण गर्न बाँकी नै छ।

केही साताअघि दक्षिणका रक्षामन्त्री स वुकले उत्तर कोरियाका क्षेप्यास्त्र प्रक्षेपण गर्ने ठाउँमा आक्रमण गर्न सक्ने क्षमता दक्षिण कोरियासँग भएको टिप्पणी गरेका थिए।

प्योङ्याङले त्यसविरुद्ध चर्को प्रतिक्रिया व्यक्त गरेको थियो।

सन् २०१८ मा तात्कालिक अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग वार्ता गरेपछि किमले लामो दूरीका बलिस्टिक क्षेप्यास्त्र र परमाणुअस्त्रको परीक्षणमा आवधिक रोक लगाएका थिए।

तर सन् २०२० मा उनले पहिला आफूले गरेको वाचा मान्न आफू बाध्य नभएको घोषणा गरे।

वार्ता

बाइडन नेतृत्वको अमेरिकी सरकारले उत्तर कोरियासँग बिनासर्त फेरि वार्ता गर्न अमेरिका इच्छुक रहेको बारम्बार भनेको छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, उत्तर कोरियाले किन क्षेप्यास्त्र प्रक्षेपण गरिरहन्छ

तर वार्ताका लागि प्रतिबन्धहरू हटाइनुपर्ने माग राखेको उत्तर कोरियालाई वार्तामा ल्याउन उसले खासै केही गरेको देखिँदैन।

बरु अमेरिकी राष्ट्रपति जो बाइडनले दक्षिण कोरिया र जापानसँगको सम्बन्धलाई प्राथमिकतामा राखेका छन्।

उनले दुई देशबीच सम्बन्ध सुधार गर्ने दक्षिण कोरियाका राष्ट्रपति मून जे-इनको प्रयासलाई समर्थन गरेका छन्।

क्षेप्यास्त्र परीक्षणबाहेक उत्तर कोरियाले पुङ्गे-रीस्थित परमाणुअस्त्र परीक्षण गर्ने स्थानमा मार्च महिनामा गतिविधि बढाएको सङ्केत भूउपग्रहबाट प्राप्त तस्बिरमा देखिएपछि प्योङ्याङले परमाणुअस्त्र र लामो दूरीका क्षेप्यास्त्र परीक्षण फेरि गर्न लागेको हो कि शङ्का उत्पन्न भएको छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, उत्तर कोरियामा किम जङ-अनको १० वर्षे शासन