उत्तर कोरिया: किम जङ अनको उपस्थितिमा हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण गरिएको दाबी

तस्बिर स्रोत, EPA
उत्तर कोरियाले नेता किम जङ अनको रेखदेखमा अर्को हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण गरिएको जनाएको छ।
केसीएनए समाचार संस्थाले मङ्गलवार प्रहार गरिएको क्षेप्यास्त्र एक हजार किलोमिटर परको निसानामै पुगेको जनाएको छ।
जानकारीमा आएको उत्तर कोरियाको यो तेस्रो हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण हो।
नयाँ वर्षको अवसरमा भाषण गर्ने क्रममा नेता किमले प्योङयाङको प्रतिरक्षालाई बढाउने बाचा गरेका थिए। त्यसपछि एकै साताभित्र दुईवटा क्षेप्यास्त्र परीक्षण भएका छन्।
मङ्गलवार गरिएको प्रक्षेपणको दक्षिण कोरिया र जापान दुवैले पहिचान गरेका थिए र उनीहरूले उत्तर कोरियाबाट समुद्रतर्फ क्षेप्यास्त्र प्रहार भएको बताएका थिए।
केसीएनए समाचार संस्थाले त्यसपछि उक्त क्षेप्यास्त्र हाइपरसोनिक भएको र त्यसमा "उच्च गतिशीलता" भएको भनी व्याख्या गरेको थियो।

तस्बिर स्रोत, KCNA
उत्तर कोरियाले यसअघि ज्यानुअरी ५ तारिखमा हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण सफलतापूर्वक गरेको थियो।
उक्त कदमपछि अमेरिका, यूके, फ्रान्सलगायत देशहरूले त्यसको निन्दा गर्दै प्योङयाङलाई "अस्थिर कार्यहरू" रोक्न आह्वान गरेका थिए।
हाइपरसोनिक अस्त्रहरू प्रायः बलिस्टिक क्षेप्यास्त्रभन्दा निसानातर्फ कम उचाइ हुँदै जान्छन्।
तर त्यसको गति भने ध्वनिको गतिभन्दा पाँच गुणाभन्दा बढी अर्थात् प्रतिघन्टा ६,२०० किलोमिटर हुनसक्छ।
हाइपरसोनिक क्षेप्यास्त्र विकास गर्नसक्ने थोरै देशमा उत्तर कोरिया पर्छ। अमेरिका र चीनले पनि यो क्षेप्यास्त्र विकास गरेका छन्।
केसीएनए समाचार संस्थाले शेअर गरेका तस्बिरहरूमा अन्य अधिकारीसँग परीक्षणको अवलोकन नेता किमले पनि गरेको देखिन्छ।
खबरहरूका अनुसार सन् २०२० को मार्च महिनायता उनले क्षेप्यास्त्र प्रक्षेपण हुँदा उपस्थिति जनाएको यो पहिलोपटक हो।








