आफ्नो क्षेप्यास्त्र आफ्नै शहरमा खस्दा…

तस्बिर स्रोत, Getty Images
आफ्नो अनियन्त्रित पारमाणविक कार्यक्रमका कारण विश्वका लागि चिन्ताको विषय बन्न पुगेको उत्तर कोरिया एक पटक आफ्नै कार्यक्रमको शिकार बन्न पुग्यो।
परीक्षणका क्रममा त्रुटि हुँदा एउटा क्षेप्यास्त्र उत्तर कोरियाली शहरमै खस्यो।
'दि डिप्लोम्याट'को वेब पोर्टलमा प्रकाशित एउटा विश्लेषणमा त्यसबारे चर्चा गरिएको छ।
सम्पादक अंकित पाण्डा र 'जेम्स मार्टिन सेन्टर फर नन प्रोलिफेरेसन स्टडीज'का अनुसन्धानकर्ता डेभ सिजमर्लरले उक्त विश्लेषण लेखेका हुन्।
प्रक्षेपण
सो विश्लेषणमा जनाइए अनुसार गत एप्रिल २८ तारिखमा उक्त घटना भएको थियो।
अमेरिकी सरकारी स्रोतहरूका अनुसार उक्त क्षेप्यास्त्रको परीक्षण ठिक तरिकाले हुन नसकेपछि त्यो आफ्नो क्षेत्रभन्दा बाहिर जान सकेन।
बीबीसीसँग कुरा गर्दै अंकित पाण्डाले भने, "क्षेप्यास्त्र परीक्षणका लागि तयार पारिएकै बेला इञ्जिनले काम गर्न छाड्यो जसका कारण क्षेप्यास्त्र आफ्नो क्षेत्रभन्दा बाहिर जान सकेन।"

तस्बिर स्रोत, Getty Images
उनले थपे, "क्षेप्यास्त्रमा तरल इन्धन हुन्छ र क्षेप्यास्त्र प्रक्षेपण गर्ने बेला ठूलो विस्फोट हुन्छ। यसको प्रमाण हामी भूउपग्रहबाट प्राप्त तस्वीरबाट पाउन सक्छौँ।"
उक्त क्षेप्यास्त्रको परीक्षण विफल हुँदा त्यसबाट हुन गएको नोक्सानीबारे भूउपग्रहबाट प्राप्त तस्वीरका आधारमा चाहिँ लख काट्न गाह्रो छ।
टोकचोन शहरमा खसेको ह्वासङ-१२ नामक उक्त क्षेप्यास्त्र मध्यम दूरीको थियो।
अरू बेलामा जस्तो प्योङयाङले सो क्षेप्यास्त्रबारे कुनै दावी गरेन तर अन्तर्राष्ट्रिय समुदायबाट उसको कडा आलोचना भयो।
निरन्तरता
एप्रिलमा पाएको असफलतापछि मेमा दोस्रो पटक गरिएको उक्त क्षेप्यास्त्रको परीक्षण सफल भएको थियो।
लगातार परमाणविक परीक्षण गरेका कारण उत्तर कोरियाले अन्तर्राष्ट्रिय समुदायको कडा आलोचना खेप्दै आएको छ।
संयुक्त राष्ट्रसंघीय र अमेरिकी प्रतिबन्धका बावजुद उसले आफ्ना पारणविक तथा क्षेप्यास्त्र कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ।

तस्बिर स्रोत, Getty Images
गत नोभेम्बरमा अन्तरमहादेशीय क्षेप्यास्त्रको परीक्षण गरेको उत्तर कोरियाले त्यसको पहुँचमा पूरै अमेरिका भएको दावी गरेको थियो।
नयाँ वर्षको शुभकामना दिँदै उत्तर कोरियाली नेता किम जङ-अनले आफ्नो देशको परमाणु अस्त्रको बटन आफू नजिकै रहेको बताएका थिए।
जवाफमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले किमको भन्दा आफ्नो पारमाणिक अस्त्रको बटन 'धेरै ठूलो' र 'झन् बढी शक्तिशाली' रहेको बताएका छन्।








