उत्तर कोरिया: किम जङ अन भन्छन्, ‘कोभिड महामारी आफ्नो देश स्थापना भए यताकै सबैभन्दा गम्भीर सङ्कट’

कोभिड १९

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, मे १२ मा किम जङ अनले राखेको कोभिड नियन्त्रण सम्बन्धी बैठक

उत्तर कोरियाका नेता किम जङ अनले कोभिड महामारीलाई आफ्नो देशले भोगेको हालसम्मकै सबैभन्दा गम्भीर सङ्कट भनेका छन्।

एउटा आपत्कालीन बैठकमा किमले कोभिड-१९ को महामारीसँग जुझ्न सबै स्तरको प्रयास गरिनुपर्ने बताए।

सरकारी सञ्चारमाध्यमले थप २१ जना मानिस मारिएको र एक लाख ७० हजार नयाँ सङ्क्रमणका घटनाहरू पहिचान गरिएको जनाएका छन्।

समग्रमा पाँच लाखभन्दा बढी मानिसहरूमा कोभिडको लक्षण देखिएको छ।

कोरोनाभाइरस नियन्त्रणको प्रयास अन्तर्गत देशव्यापी लकडाउन लगाइएको छ।

उत्तर कोरियाको स्वास्थ्य प्रणाली विश्वमै खराबमध्येमा पर्छ र उसले विगतमा खोप उपलब्ध गराउने अन्तर्राष्ट्रिय प्रस्तावहरू अस्वीकार गरेको थियो।

किमले के भने?

उत्तर कोरियाली नेताको घोषणा बिहीवार पहिलो पटक कोभिड पुष्टि भएको जानकारी गराइएपछि आएको हो।

तर विज्ञहरूले केही समयअघिबाटै त्यहाँ सङ्क्रमण फैलिरहेको ठान्दै आएका छन्।

ठूलो महामारीले उत्तर कोरियामा गम्भीर दुष्परिणाम निम्त्याउने भय व्यक्त गरिँदै आएको छ।

खोप कार्यक्रमको अभाव र कमजोर स्वास्थ्य प्रणालीका कारण त्यहाँको २ करोड ५० लाख जनसङ्ख्या जोखिममा रहेको छ।

शनिवार सरकारी सञ्चारमाध्यमले हालैका हप्तामा कारण बिना ५ लाख ज्वरोका घटनाहरू देखिएको विवरण प्रकाशित गरेको थियो।

उत्तर कोरियाको कोभिड परीक्षण क्षमता सीमित रहेका कारण अधिकांश सङ्क्रमण पुष्टि हुनसकेका छैनन्।

शुक्रवार र बिहीवार दिइएको सङ्ख्या भन्दा उल्लेख्य रूपमा उच्च उक्त आँकडाले सम्भवतः उत्तर कोरियाको महामारीको स्तरबारे केही सङ्केत दिने ठानिएको छ।

सरकारी केसीएनए समाचार संस्थाले किमलाई उद्धृत गर्दै लेखेको छ, "घातक महामारीको फैलावट हाम्रो देश स्थापना यता ब्योहोरेको (अहिलेसम्मकै ठूलो) विपद् हो।"

उनले उक्त सङ्कटका लागि प्रशासनिक र स्वास्थ्य अयोग्यतालाई दोष दिएका छन् र छिमेकी चीन जस्ता देशका प्रतिकार्यबाट पाठ सिक्नुपर्ने बताएका छन्।

सरकारी सञ्चारमाध्यमले ज्वरोका कारण एप्रिल यता २७ जनाले ज्यान गुमाएको बताएपनि उक्त विवरणमा तीनमा कोभिड पोजिटिभ फेला परेको या नपरेको केही भनिएको छैन।

गएको अक्टोबरमा प्योङ्याङमा एउटा सुपर मार्केटलाई नि सङ्क्रमित बनाउँदै सफाइकर्मी 

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, गएको अक्टोबरमा प्योङ्याङमा एउटा सुपर मार्केटलाई नि सङ्क्रमित बनाउँदै सफाइकर्मी 

राजधानी प्योङयाङमा जम्मा एउटा मृत्यु ओमिक्रोन भेरिअन्टका कारण भएको पुष्टि भएको जनाइएको छ।

खोप सहयोग अस्वीकार गरेको थियो प्योङ्याङले

बिहीवार उत्तर कोरियाले गरेको अभूतपूर्व स्वीकारोक्तिले दुई वर्ष यता उसले कोभिड मुक्त रहेको भन्दै गर्दै आएको दाबीलाई अन्त्य गरिदिएको थियो।

अघिल्लो वर्ष अन्तर्राष्ट्रिय समुदायले गरेको दशौँ लाख एस्ट्राजेनेका र चीनमा उत्पादित खोप उपलब्ध गराउने प्रस्ताव उसले अस्वीकार गरेको थियो।

बरु उसले सन् २०२० को ज्यानुअरीमा आफ्नो सीमा बन्द गरेर कोभिड नियन्त्रण गरेको दाबी गरेको थियो।

उत्तर कोरियाको स्थल सीमा दक्षिण कोरिया र चीनसँग जोडिएको छ र ती दुवै देशले कोभिड १९ महामारीसँग सङ्घर्ष गरेका छन्।

नयाँ कोभिड नियमबारे छलफल गर्न आयोजना गरिएको बैठकमा किमले अनुहार ढाक्ने गरी मास्क लगाइरहेको टेलिभिजनमा देखिएको थियो। उनले त्यसरी मास्क लगाएको पहिलो पटक भएको ठानिएको छ।

उनले भाइरस रोकथाम लागि स्थानीय स्तरका लकडाउन र कार्यस्थलका भेलाहरूमा नियन्त्रण सहितका आदेश दिएका छन्।

बिहीवारको घोषणापछि दक्षिण कोरियाले मानवीय सहायताको प्रस्ताव गरेको छ तर प्योङयाङले अझै प्रतिक्रिया दिइसकेको छैन।