कोभिड उत्तर कोरिया: सङ्क्रमणको पहिलो पुष्टि गर्दै उत्तर कोरियामा कडा लकडाउन

तस्बिर स्रोत, AFP
उत्तर कोरियाले पहिलो पटक औपचारिक रूपमा कोभिड सङ्क्रमण भएको पुष्टि गर्दै देशव्यापी कडा लकडाउन लगाएको छ।
राज्य सञ्चालित सञ्चारमाध्यमले प्योङयाङमा ओमिक्रोनको प्रकोप फैलिएको जनाएको छ तर सङ्क्रमित सङ्ख्या खुलाएको छैन।
केसीएनएले उत्तर कोरियाली नेता किम जङ-अनले प्रकोप निर्मूल गर्ने प्रतिबद्धता व्यक्त गरेको जनाएको छ।
कतिले मुलुकको क्वारन्टीन नियम उल्लङ्घन गरेकोले "गम्भीर राष्ट्रिय आपत्काल" लगाउनु परेको केसीएनएले जनाएको छ।
तर पर्यवेक्षकहरू उत्तर कोरियामा लामो समयदेखि कोरोनाभाइरस सङ्क्रमण रहेको विश्वास गर्छन्।
उत्तर कोरियाले कोभिड-१९ खोप कार्यक्रम कार्यान्वयन गर्न अस्वीकार गरेकाले उत्तर कोरियाको दुई करोड ५० लाख मानिसहरू जोखिममा रहेको कतिपय मानिसहरू बताउँछन्।
अन्तर्राष्ट्रिय समुदायले आस्ट्राजेनेका र चिनियाँ सिनोभ्याक खोप उपलब्ध गराउन गरेको प्रस्ताव उत्तर कोरियाले गत वर्ष अस्वीकार गरेको थियो।
उत्तर कोरियाको कमजोर स्वास्थ्य सेवा प्रणालीप्रति पनि गम्भीर चासोहरू व्यक्त हुने गरेको छ।
उत्तर कोरियाले कोभिड नियन्त्रणका लागि सन् २०२० को ज्यानुअरी महिनादेखि नै सीमा बन्द गरेको छ।
तर अत्यावश्यक वस्तु पनि नभित्रिँदा देशमा खाद्य अभावदेखि अर्थतन्त्रमा धक्का पुगेको छ।
बिहीवार केसीएनएले जनाए अनुसार नेता किमले भाइरस नियन्त्रणका लागि "कडा आपत्काल" को आदेश दिएका छन्।
त्यसमा स्थानीय तवरमा पनि लकडाउन लगाउने र कार्यक्षेत्रमा एकठाउँमा जम्मा हुन नपाउने व्यवस्था गरिएको छ।
उत्तर कोरियाली सञ्चारमाध्यमका अनुसार ओमिक्रोन भेरिअन्टको पहिलो सङ्क्रमण चार दिनअघि राजधानीमा भेटिएको छ।
ओमिक्रोन भेरिअन्ट भेटिएको घोषणा गर्नु दुई दिन अघिदेखि नै प्योङयाङको केही क्षेत्रका बासिन्दा लकडाउनमा रहेको सोलस्थित एनके न्यूजले जनाएको छ।
दक्षिण कोरियाली सरकारले उत्तर कोरियाको प्रकोप नियन्त्रणका लागि मानवीय सहायता प्रस्ताव गरेको बताएको छ।
त्यसबारे प्योङयाङले प्रतिक्रिया जनाउन बाँकी छ।

बीबीसीका सोलस्थित संवाददाता जीन मकन्जी भन्छन्: "उत्तर कोरियाले दुई वर्षभन्दा बढी समयदेखि शङ्कास्पद रूपमा कोभिड-१९ को एउटा पनि सङ्क्रमण नभएको बताइरह्यो। अहिले किन सङ्क्रमण भेटिएको स्वीकार गरेको होला?"
"सम्भवतः अहिलेको प्रकोप गम्भीर प्रकृतिको रहेको र लुकाउन मुस्किल भएको हुन सक्छ।"
"उत्तर कोरियाले सार्वजनिक रूपमा भाइरस विरुद्ध लड्ने निरन्तर जनाउँदै आएको छ। लामो समयदेखिको सीमा बन्द त्यसकै लागि गरिएको उसको भनाइ छ। ओमिक्रोन देशभित्र भित्रिएकाले अब त्यसको सङ्क्रमण नियन्त्रित गर्न चुनौतीपूर्ण छ।"
"किनभने उत्तर कोरियासँग खोप छैन, त्यहाँको स्वास्थ्य सेवा प्रणाली राम्रो छैन र थोरै मानिसको मात्र परीक्षण गर्न सक्ने क्षमता छ त्यसैले अहिले उत्तर कोरियासँग निकै थोरै विकल्प छन्।"
"अधिकारीहरूले लकडाउन गर्नुबाहेक अरू उपाय नरहेको जनाएका छन्। त्यसो गर्न उनीहरूले आमनागरिक र बाहिरी विश्वलाई त जानकारी दिनै पर्यो।"
"तर त्यसको अर्थ उत्तर कोरिया बाहिरी सहयोग लिन चाहन्छ भन्ने हुँदैन।"

विश्लेषकहरू यति बेला उत्तर कोरियाले कोभिड सङ्क्रमण भएको पुष्टि गर्नु महत्त्वपूर्ण रहेको बताउँछन्। त्यसले यो वर्ष प्रदर्शन गर्ने भनिएको देशको आणविक लक्ष्यलाई समस्यामा पार्न सक्छ।
उत्तर कोरियाले एक दर्जनभन्दा बढी प्रतिबन्धित क्षेप्यास्त्र परीक्षण गरेको दाबी गर्छ। त्यसमध्ये चार वर्षदेखि परीक्षण नगरेको अन्तरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र पनि पर्छ।
युनिभर्सिटी अफ नर्थ कोरियन स्टडीजका प्रोफेशर याङ मो जिनले एएफपीलाई बताए अनुसार प्रकोप नियन्त्रणमा केन्द्रित हुन उत्तर कोरियाले आफ्नो आणविक परीक्षण कार्यक्रमण पछाडि पार्न पनि सक्छ वा आम रूपमा कोभिडको त्रास बढ्दै गयो भने त्यसलाई अन्यत्र मोड्न अर्को परीक्षण गर्न पनि सक्छ।
तर एह्वा विश्वविद्यालयका लीफ एरिक इसलेले उत्तर कोरियालीहरू आणविक परीक्षणभन्दा कोरोनाभाइरसमा नै केन्द्रित हुने ठान्छन्।
गत जून महिनामा राज्य सञ्चालित मिडियाले कोरोनाभाइरस सन्दर्भमा किमले सरकारी अधिकारीहरूलाई "गम्भीर घटना"का लागि दण्ड दिएको बताएका थिए।
गत सेप्टेम्बर महिनामा विशेष पोशाक र मास्क लगाएका सैनिकको प्रदर्शन गरेको थियो, त्यसले कोभिड फैलिनबाट रोक्न विशेष समूह बनाउने ठानिएको थियो।
उत्तर कोरियाको चीन र दक्षिण सीमा जोडिएको छ। चीनले अहिले ओमिक्रोन लहर नियन्त्रण गर्न सङ्घर्ष गरिरहेको छ र ठूल्ठूला शहरमा लकडाउन गरेको छ।









