कोभिड उत्तर कोरिया: कोरोना भाइरस महामारीसँग लड्न परम्परागत औषधि र विधि

प्योङ्याङ्मा मेडकल अक्सिजन बोकेको गाडीमा नि:सङ्क्रमण गरिँदै

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, प्योङ्याङ्मा मेडकल अक्सिजन बोकेको गाडीमा नि:सङ्क्रमण गरिँदै
    • Author, र्‍याचल श्रेअर र वान्युआन सङ
    • Role, बीबीसी रीयालिटी चेक

उत्तर कोरियामा मानिसहरूले कोभिड-१९ विरुद्ध खोप लगाएका छैनन्। कोरोनाभाइरस महामारी अहिले व्यापक रूपमा फैलिएपछि उत्तर कोरिया त्यससँग सङ्घर्ष गरिरहेको छ। अरू देशसँग अलग्गिएको उक्त देशमा प्रभावकारी एन्टीभाइरल औषधि पनि उपलब्ध छैन।

सन् २०२० को आरम्भतिर उक्त देशले कोभिडबाट जोगिने उद्देश्यले आफ्ना सबै सीमानाका पूरै बन्द गरेको थियो।

प्योङ्याङका शासकहरूले अहिलेसम्म बाह्य औषधीय सहयोग अस्वीकार गर्दै आएको छ।

अनि सरकारी सञ्चारमाध्यमहरूले कोभिडलाई केवल "ज्वरो" को सङ्ज्ञा दिँदै उक्त रोगका लागि निम्ति परम्परागत उपचारविधिहरू सिफारिस गरिरहेका छन्।

चिया र काँढा

सत्ताधारी दलको पत्रिका रोदोङ सिम्नुनले गम्भीर बिरामी नभएका मानिसलाई अदुवा वा हनीसकल (एक प्रकारको जडीबुटी) को चिया अनि विलो नामक वनस्पतिको पातबाट निकालिएको रसजस्ता परम्परागत औषधि खान सुझाव दिएको छ।

देशव्यापी लकडाउनको आदेश दिँदै गर्दा नेता किम जङ-अनले मास्क लगाएका थिए

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, देशव्यापी लकडाउनको आदेश दिँदै गर्दा नेता किम जङ-अनले मास्क लगाएका थिए

चिया र काँढाजस्ता तातो पेय पदार्थले घाँटी दुखेको वा खोकीजस्ता कोभिडका केही लक्षणहरूबाट राहत दिन सक्छन्। अनि बिरामीहरूको शरीरबाट खेर गइरहेको पानीको मात्रा परिपूर्ति गर्न सहयोग पुग्छ। अदुवा तथा विलोको पातले सुन्निएको अनि दुखेको पनि कम गर्छन्।

तर तिनले भाइरस सङ्क्रमण निवारण भने गर्दैनन्।

नुनपानीले कुल्ला

हालै त्यहाँको सरकारी सञ्चारमाध्यमले एक दम्पतीको अन्तर्वार्ता गरेको थियो जसमा उनीहरूले बिहानबेलुका नुनपानीले कुल्ला गर्न सुझाव दिएका थिए।

सो सञ्चारमाध्यमका अनुसार राजधानी प्योङ्याङमा "रोगाणुरोधक घोल" बनाउन एक हजार टन नुन आपूर्ति गरिएको छ।

केही अध्ययनहरूले नुनपानीले कुला गर्दा तथा नाकमा हाल्दा त्यसले सामान्य रुघाखोकी गराउने भाइरससँग लड्न सघाउने देखाएका छन्।

तर कोभिडकै सङ्क्रमण कम गराउन तिनको भूमिकाबारे खासै प्रमाण उपलब्ध छैन।

औषधि आपूर्ति गर्न सेना परिचालन गरिएको छ

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, औषधि आपूर्ति गर्न सेना परिचालन गरिएको छ

मुख कुल्ला गर्ने माउथवाशले प्रयोगशालामा भाइरस मार्न सकेको एक अध्ययनले देखाएको थियो।

तर मानवशरीरमा पनि यस्तो हुने कुनै ठोस प्रमाण पाइएको छैन।

खासगरी हावामार्फत् फैलिने थुक वा सिँगानका ससाना कणहरू नाक वा मुखको माध्यमबाट शरीरभित्र पसेर कोभिड सर्ने गरेको पाइएको छ। त्यसैले कुल्ला गर्दा त्यसले कोरोनाभाइरस पस्ने एउटा प्रवेशबिन्दुमा मात्र प्रभाव पार्न सक्छ।

त्यसमाथि एक पटक भाइरस शरीरभित्र पसिसकेपछि त्यो द्रुत गतिमा विस्तार हुँदै शरीरको भित्री अङ्गमा पुग्छ जहाँ जतिसुकै कुल्ला गरे पनि कुनै प्रभाव पर्दैन।

दुखाइ कम गर्ने औषधि तथा एन्टीबायोटिक

सरकारी टेलिभिजनले इबुप्रोफेनजस्ता दुखाइ कम गर्ने औषधि अनि एमोक्जिसिलिन र अन्य एन्टीबायोटिक प्रयोग गर्न बिरामीहरूलाई सल्लाह दिएको छ।

दुखाइ कम गर्ने पेनकिलर औषधिहरूले लक्षणबाट राहत दिए पनि भाइरसलाई रोक्न भने सक्दैनन्

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, दुखाइ कम गर्ने पेनकिलर औषधिहरूले लक्षणबाट राहत दिए पनि भाइरसलाई रोक्न सक्दैनन्

इबुप्रोफेन (र पारासिटामोल) ले ज्वरो कम गर्न अनि टाउको र घाँटी दुखाइ कम गर्न सक्छन्।

तर तिनले भाइरसलाई रोक्न भने सक्दैनन्।

ब्याक्टेरियाका कारण हुने सङ्क्रमणको उपचार गर्न प्रयोग गरिने एन्टीबायोटिकहरू प्रयोग नगर्न विज्ञहरूले भन्दै आएका छन्।

अनावश्यक रूपमा एन्टीबायोटिक प्रयोग गर्दा औषधिविरुद्ध प्रतिरोध क्षमता भएका जीवाणुहरू विकसित हुनसक्छन्।

प्रयोगशालामा गरिएका अध्ययनले केही एन्टीबायोटिकहरूले कोरोनाभाइरसजस्ता केही भाइरसको विस्तारको गति कम गर्न सक्ने देखाएका छन्।

तर वास्तविक जीवनमा त्यस्तो परिणाम देखिएको छैन।

एजिथ्रोमाइसिनको प्रयोगले कोभिडका लक्षण कम गर्न खास केही प्रभाव नपारेको अनि कोभिडका कारण हुने अस्पताल भर्ना र मृत्युमा पनि कुनै प्रभाव नपारेको एक अध्ययनले पत्ता लगायो।

कोभिड भएका मानिसलाई अस्पताल भर्ना हुने अवस्था आउन नदिन निम्नलिखित केही औषधिले भने स्वीकृति पाएका छन्।

  • एन्टीभाइरल औषधिहरू: प्याक्सलोभिड, मोल्नुपिराभिर र रेम्डिसिभिर
  • एन्टीबडी थेरपी जसले प्राकृतिक प्रतिरोध प्रणालीसरह काम गर्छन्

तर तिनको प्रभावकारिता भन्ने भिन्नभिन्न स्तरका छन्।

सञ्चारमाध्यमहरूले कोभिडबारे विवरणहरू प्रकाशित गरेका छन् अनि आइसोलेशन उपचारबारे जानकारी दिएका छन्

तस्बिर स्रोत, KCTV

तस्बिरको क्याप्शन, सञ्चारमाध्यमहरूले कोभिडबारे विवरणहरू प्रकाशित गरेका छन् अनि आइसोलेशन उपचारबारे जानकारी दिएका छन्

स्वास्थ्य प्रणाली

उत्तर कोरियाको स्वास्थ्य प्रणालीअन्तर्गत ग्रामीण तहमा निःशुल्क उपचार सेवा दिने आधारभूत सेवादेखि लिएर खासगरी सहरी क्षेत्रमा विशिष्टीकृत सेवा दिने सरकारी अस्पतालहरू समेत छन्।

तर पछिल्ला वर्षहरूमा आर्थिक प्रतिबन्ध तथा सुक्खाजस्ता चरम मौसमका कारण देशको अर्थतन्त्र सङ्कुचित भएको छ।

सिमाना बन्द अनि लकडाउनका कारण पनि अर्थतन्त्रमा हानिकारक प्रभाव परेको छ।

यसैपनि राजधानी प्योङ्याङ्भन्दा बाहिर स्वास्थ्य प्रणाली झनै कमजोर छ। अहिले त्यहाँ जनशक्ति, औषधि तथा आवश्यक सामग्रीको अभाव भएको ठानिएको छ।

अन्तर्राष्ट्रिय सहायता

गत वर्ष उत्तर कोरियाले ३० लाख मात्रा चिनियाँ खोपको सहयोग प्रस्ताव अस्वीकार गरेको थियो। त्यस्तै उसले कोभ्याक्सअन्तर्गतको खोप सहायता प्रस्ताव पनि अस्वीकार गरेका विवरणहरू आएका थिए।

आफूले खोप, औषधि तथा जनशक्ति आपूर्तिका निम्ति गरेको सहयोगको प्रस्तावको कुनै जबाफ नआएको दक्षिण कोरियाले बताएको छ।

हालै उत्तर कोरियाले चीनको शेन्याङमा औषधीय सामग्री ओसार्न तीनवटा विमान पठाएको विवरण आएका थिए।

तर तिनमा "महामारीविरुद्ध लड्ने सामग्री" नपरेको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ।

चिनियाँ विदेश मन्त्रालयले "कोरोनाभाइरस महामारीविरुद्ध लड्न उत्तर कोरियासँग मिलेर काम गर्न आफू तयार रहेको" जनाएको छ।

यो पनि हेर्नुहोस्

भिडिओ क्याप्शन सुरु हुँदैछ, कोरोनाभाइरस किन यति धेरै सङ्क्रामक?
भिडिओ क्याप्शन सुरु हुँदैछ, के कोभिड खोप लगाउने महिलामा बाँझोपन हुन्छ?