चीन कोभिड: जब जिउँदै बिरामीलाई शववाहनमा राखियो

शाङ्घाई

तस्बिर स्रोत, Getty Images

चीनमा एक वृद्ध कोभिड सङ्क्रमितको निधन भएको ठानेर शववाहनमा राख्ने शाङ्घाई उपचार केन्द्रका चार जनालाई जागिरबाट निष्कासन गरिएको छ।

आइतवार सार्वजनिक भएका अनलाइन भिडिओमा दुई व्यक्तिले शवसहितको ब्याग शववाहनमा राख्दै गरेको देखिन्छ।

पछि ती कामदारले सो ब्यागलाई खोल्दै गरेको र एक जनाले बिरामी जीवितै भएको भनी बोलेको सो भिडिओमा सुनिन्छ।

चिनियाँ सामाजिक सञ्जालमा यो घटनाबारे नागरिकहरू आक्रोशित रूपमा प्रस्तुत भएका छन्।

शाङ्घाईको पुटुओ क्षेत्रमा अधिकारीले सोमवार बेलुकी घटनाको पुष्टि गर्दै ती बिरामीलाई अस्पताल पुर्‍याइएको र उनी खतरामुक्त रहेको बताएका थिए।

अधिकारीहरूले एक चिकित्सक र पाँच कामदारहरूमाथि छानबिन भइरहेको बताएका थिए।

स्थानीय नागरिक मामिला कार्यालयका उपप्रमुख र उपचार केन्द्रका निर्देशकसहित चार जनालाई जागिरबाट निकाला गरिएको बताइएको छ।

एक चिकित्सकको अनुमति खारेज गरिएको छ।

बिरामीको परिचय अझै खुलेको छैन।

भिडिओ क्याप्शन सुरु हुँदैछ, कडा लकडाउन भएको साङ्घाईको अवस्था यस्तो छ

धेरैले यो घटनाको निन्दा गरेका छन्। एक सरकारी सञ्चारमाध्यममा भूतपूर्व प्रधान सम्पादकले यसलाई जिम्मेवारी वहनको नगरेको गम्भीर घटना भन्दै यसबाट झन्डै एक व्यक्तिको ज्यान गएको बताएका छन्।

वेइबोमा अर्का एक प्रयोगकर्ताले यसलाई शाङ्घाईमा भइरहेको कोलाहलपूर्ण अवस्थाको सङ्केत भएको बताएका छन्।

करिब साढे दुई करोड मानिस बसोबास गर्ने चीनको सबैभन्दा ठूलो सहर शाङ्घाईमा कोभिडका कारण कडा प्रतिबन्ध लागेको छ साता पूरा भएको छ।

त्यहाँका धेरैजसो बासिन्दालाई घर छोड्न प्रतिबन्ध लगाइएको छ र कोभिड सङ्क्रमितको संसर्गमा पुग्ने जोकोहीलाई पनि राज्य सञ्चालित क्वारन्टीन केन्द्रमा पुर्‍याइने गरिएको छ।

प्रतिबन्ध लागु गर्न खोज्दा बासिन्दा र प्रहरीबीच भिडन्त भएका भिडिओहरू पनि सार्वजनिक भएका छन्।