क्षेप्यास्त्र हानेर अमेरिकाको ध्यान खिच्न चाहन्छन् किम जङ-अन

तस्बिर स्रोत, Getty Images
उत्तरी जापानका निवासीहरूको निम्ति बिहीवार बिहान निकै तनावपूर्ण अनि अलमलयुक्त भयो।
करिब ७ बजेर ५० मिनेट जाँदा मियागी तथा यामागाता प्रिफेक्चरमा हवाई आक्रमणबाट सावधान गराउने अलार्म बज्यो।
नियमित टेलिभिजन कार्यक्रमहरू रोकिए अनि मानिसहरूलाई आश्रयस्थलमा जान सुझाइयो।
जापानी तटरक्षकहरूका अनुसार उत्तर कोरियाले प्रहार गरेको एक क्षेप्यास्त्र त्यतैतर्फ आउँदै थियो।
उत्तर कोरियाली क्षेप्यास्त्रहरूले यसअघि पनि जापान पार गरेको छ। गत महिना पनि एउटा क्षेप्यास्त्रले जापान पार गरेको थियो।
यति धेरै दक्षिणी जापानी भूभागतर्फ क्षेप्यास्त्र लक्षित भएको भने यो पहिलोपटक थियो।
परीक्षण विफल
तर बिहीवार बिहान प्रहार गरिएको क्षेप्यास्त्र जापानी हवाई क्षेत्र सम्म आइपुगेन।
दक्षिण कोरियाका सैनिक सूत्रहरूका अनुसार उक्त क्षेप्यास्त्र आकाशमै विफल भयो र मुनि जापानी सागरमा खस्यो।
त्यसोभए के अब सबैथोक साम्य भयो त? के अब सर्वसाधारणले शान्तिपूर्वक कफी पिउनतर्फ लाग्दा भयो त?
त्यसो होइन।
पहिलो कुरा आफ्ना छिमेकीतर्फ विना कुनै चेतावनी त्यसरी बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेर उनीहरूलाई अब त्यो कता खस्ला भन्ने त्रासमा पार्नु सामान्य व्यवहार हुँदै होइन।
त्यो त एकदमै खतरनाक र उक्साहटपूर्ण काम हो जुन स्थापित अन्तर्राष्ट्रिय व्यवहारविरुद्ध छ।
त्यसले हवाई उड्डयन तथा पानीजहाजका आवतजावतमा खतरा उब्जाउँछ। यदि क्षेप्यास्त्र आकाशमै पड्किए पनि त्यसका टुक्राटाक्री तल खसेर जनधन जोखिममा पार्न सक्छ।
दोस्रो कुरा यो घटना उत्तर कोरियाले दक्षिण कोरियाको तटपारि रेकर्ड सङ्ख्यामा क्षेप्यास्त्र प्रहार गरेको भोलिपल्ट भएको छ।
साथै अमेरिकाको महत्त्वपूर्ण चुनावहरूको केही दिन अघि मात्रै यो घटना भएको छ। किम जङ्-अनले उनको सैन्य क्षमताको प्रदर्शनप्रति अमेरिकी प्रशासनको ध्यान खिँच्ने आश गर्नेछन्।

तस्बिर स्रोत, Getty Images
उसोभए प्योङ्याङ के चाहन्छ?
उत्तर कोरियाले जानाजान छिमेकीहरूसँग तनाव बढाउँदैछ। विश्लेषकहरू ठान्छन् ऊ अझ ठूला अस्त्र, सम्भवत: परमाणु परीक्षण, वा प्रशान्त महासागरसम्म पुग्ने गरी लामो दूरीको बलिस्टिक क्षेप्यास्त्र वा दुवै परीक्षण गर्न चाहन्छ।
यी सबै हल्लाखल्लाको राजनीतिक उद्देश्य छ। सन् २०१० मा पनि प्योङ्याङले यस्तै व्यवहार देखाएको थियो। अनि सन् २०१७ मा पनि।
पहिले तनावलाई डरलाग्दो स्तरमा बढाइदिने अनि दक्षिण कोरिया, जापान र अमेरिकासँग सम्पर्क तथा सुविधा खोज्ने। अहिलेपनि प्योङ्याङको लक्ष्य लगभग त्यही नै हुनुपर्छ।
तर किम जङ्-अन को दोस्रो उद्देश्य पनि छ। उनको देशले क्षेप्यास्त्र प्रविधिलाई परिष्कृत पार्न सकेको छैन।
कुनै क्षेप्यास्त्रलाई अन्तरिक्षतर्फ प्रहार गरिसकेपछि माथि पुगेर त्यसको वारहेड वा युद्धशीर्ष छुट्टिन्छ अनि फेरि पृथ्वीमै लक्ष्यतर्फ खस्छ। ‘रि इन्ट्री भेहिकल’मार्फत् वारहेड फर्कन्छ तर त्यसरी तल फर्कने भेहिकलले वायुमण्डलसँग टकराउँदा उत्पन्न हुने ठूलो परिमाणको ताप र चाप सहन सक्नु पर्छ।
अघिल्ला परीक्षणहरूमा उत्तर कोरियाका रि इन्ट्री भेहिकल विफल भएका थिए। त्यसैलै प्रविधिलाई सिद्ध गर्न उसले निरन्तर परीक्षण गरिरहनुपर्छ। यदि बिहीवारको परीक्षण पनि विफल भएको हो भने त्यसले उत्तर कोरियाका सामु अझै विद्यमान चुनौती दर्शाउँछ।
उसको मूल उद्देश्य केवल दक्षिण कोरिया र जापानलाई मात्र तर्साउनु होइन। त्यति त उसले अहिले नै गर्न सक्छ।
उसको खास उद्देश्य परमाणु क्षमतायुक्त अन्तरमहादेशीय बलिस्टिक क्षेप्यास्त्र (आइसीबीएम)मार्फत् अमेरिकालाई थर्काउनु हो।
बिहीवार बिहान चेतावनीको घण्टी सुनेका मानिसहरू त साँच्चिएकै तर्सिएका होलान्।
तर यदि जापानलाई थर्कमान बनाउनु उसको उद्देश्य हो भने त्यसको परिणाम उल्टो भइरहेको छ।
प्योङ्याङका क्षेप्यास्त्र परीक्षण तथा ताइवानविरुद्ध चीनका पछिल्ला धम्कीहरूले जापानको राजनीतिमा दुरगामी असर पारिरहेका छन्।
दशकौँसम्म जापानका दक्षिणपन्थीहरूले दोस्रो युद्धपश्चात् उक्त देशले अपनाएको शान्तिकामी संविधान त्यागेर देश फेरि हातहतियारले लैस हुनुपर्नेमा जोड दिइरहेका छन्।
आजका दिनसम्म अधिकांश सर्वसाधारण जापानीले त्यसमा असहमति प्रकट गर्दै आएका छन्।
तर त्यो अवस्था बदलिँदो छ। सुरक्षा मामिलाका कट्टरपन्थीहरूका भनाइमा बल थपिँदै गएको छ।
आगामी महिना जापान सरकारले रक्षा बजेटलाई अर्को दशकसम्म दोबर पार्ने तथा लामो दूरीका आक्रामक अस्त्र जोड्ने प्रस्ताव गर्दैछ।
विवरणहरूका अनुसार जापानले अमेरिकासँग सयौँ टोमाहक क्षेप्यास्त्र किन्नेबारे कुराकानी गरिरहेको छ।
त्यसो भयो भने दोस्रो विश्व युद्ध यता पहिलो पटक जापानसँग चीन र उत्तर कोरियाका भित्री भागसम्म मार हान्न सक्ने क्षमता हुनेछ।








