उत्तर कोरिया: प्योङ्याङद्वारा लामो दूरीको क्षेप्यास्त्र प्रहार गरेको हुनसक्ने सोलको आशङ्का

तस्बिर स्रोत, Getty Images
उत्तर कोरियाले कम्तीमा एउटा लामो दूरीको र दुई वटा छोटो दूरीको बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाका जोइन्ट चिफ्स अफ स्टाफले बताएका छन्।
जापानका प्रधानमन्त्री फुमिओ किस्हिदाले एउटा अन्तरमहादेशीय बलिस्टिक क्षेप्यास्त्र हुनसक्ने बताएका छन्।
बुधवार प्योङ्याङले एकैदिनमा सबैभन्दा धेरै क्षेप्यास्त्रहरू प्रहार गरेपछि यस्तो घटनाक्रम देखा परेको हो।
प्योङ्याङको एउटा बालिस्टिक क्षेप्यास्त्रले बुधवार नर्दर्न लिमिट लाइन भनिने दुई कोरियाबीचको एउटा विवादित जलसीमा पार गरेको थियो।
बुधवार के भएको थियो?
बुधवार एउटा क्षेप्यास्त्र दक्षिण कोरियाको जल क्षेत्रमा खसेको थियो।
सोलले आफ्ना तीनवटा क्षेप्यास्त्र प्रहार गरेर त्यसको जबाफ दिएको छ।
अमेरिका र दक्षिण कोरियाले आफ्नो अहिलेसम्मकै ठूलो संयुक्त अभ्यास गरिरहँदा यी घटना भएका हुन्।
उक्त अभ्यासलाई प्योङ्याङले कडा शब्दमा आलोचना गर्दै त्यसलाई "आक्रामक र उक्साहटपूर्ण" बताएको छ।
जापानमा सतर्कता
बिहीवारको पछिल्लो क्षेप्यास्त्र प्रक्षेपणका कारण जापान सरकारले आफ्ना केही भेगका बासिन्दाका लागि दुर्लभ रूपमा आपत्कालिन सजगताको चेतावनी दिएको थियो।
उसले उत्तरी क्षेत्रका केही भागमा मानिसहरूलाई घरभित्रै बस्न भनेको छ।
टोक्योले सुरुवाती रूपमा क्षेप्यास्त्रले जापानमाथिको आकाश तय गरेको जनाएको थियो।
तर त्यहाँका रक्षामन्त्रीले पछि "त्यो जापानी द्वीप समूह नकाटेको तर सी अफ जापानमाथि विलय भएको" बताएका थिए।
प्रधानमन्त्री किस्हिदाले पछि उत्तर कोरियाका एक पछि अर्को "क्षेप्यास्त्र प्रक्षेपणको" निन्दा गर्दै त्यसलाई नियमहरूको "उल्लङ्घन" बताएका थिए।
जापानमाथि उत्तर कोरियाले पाँच वर्षमा पहिलो पटक बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेको एक महिनापछि यस घटना भएको हो।
तनाव
उत्तर कोरियाले अहिलेसम्मकै उच्च सङ्ख्यामा क्षेप्यास्त्रहरू परीक्षण गरेसँगै तनाव बढिरहेको छ।
कडा प्रतिबन्धहरूबीच प्योङ्याङले सन् २००६ र सन् २०१७ बीचमा ६ वटा परमाणु परीक्षण गरेको छ।
उसले सातौँ त्यस्तो परीक्षणको तयारी गरिरहेको विश्वास गरिन्छ।
संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्का प्रस्तावहरूको उल्लङ्घन हुनेगरी उत्तर कोरियाले आफ्नो सैन्य क्षमता विस्तार गर्ने काम जारी राखेको छ।
त्यसले उसका छिमेकीहरूलाई त्रासमा पार्ने र सम्भवतः अमेरिकी मुख्य भूमिलाई समेत आफ्नो प्रहार गर्न सक्ने दायराभित्र राख्न खोजिरहेको ठानिएको छ।










