उत्तर र दक्षिण कोरियाद्वारा पहिलोपटक एक अर्काको जल सीमाभित्र क्षेप्यास्त्र प्रहार

तस्बिर स्रोत, Getty Images
उत्तर र दक्षिण कोरियाले एक अर्कातर्फ क्षेप्यास्त्र प्रहार गरेका छन्। ती क्षेप्यास्त्रहरू दुवै देशका तटस्थित पानीमा खसेका छन्।
कोरिया विभाजन भएयता पहिलोपटक ती दुई देशले समुद्री सीमा पार हुने गरी क्षेप्यास्त्र प्रहार गरेका हुन्। त्यसले उक्त क्षेत्रमा तनाव निकै बढेको सङ्केत गर्छ।
प्योङयाङले बुधवार छोटो दूरीको बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेपछि सोलले त्यसको प्रतिउत्तरमा प्रहार गरेको हो।
उत्तर कोरियाले त्यस्तो क्षेप्यास्त्र प्रहार गरेको तीन घण्टापछि दक्षिण कोरियाले प्रतिउत्तर दिएको थियो।
उत्तर कोरियाले एकै दिन कम्तीमा २३ वटा क्षेप्यास्त्रहरू प्रहार गरेको छ।
त्यसमा दक्षिणी सहर सोक्चोभन्दा ६० किलोमिटरभन्दा कम दूरीमा खसेको क्षेप्यास्त्र पनि सामेल छ।
उत्तर कोरियाले दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाद्वारा भइरहेको ठूलो मात्राको सैन्य अभ्यासको प्रतिक्रिया स्वरूप ती प्रहारहरू भएको बताएको छ।
उक्त सैन्य अभ्यासलाई उसले "आक्रामक र उत्तेजक" भनेको छ।
दक्षिण कोरियाको प्रहार

तस्बिर स्रोत, YONHAP/REUTERS
दक्षिण कोरियाली सेनाले आफ्नो भूमिको अतिक्रमण "अस्वीकार्य" रहेको बताएको छ।
उसले उत्तर कोरियातर्फ हवाई जहाजबाट भूमिमा प्रहार गर्न मिल्ने तीनवटा क्षेप्यास्त्र प्रहार गरेको छ।
अधिकारीहरूका अनुसार त्यो क्षेप्यास्त्र उत्तर कोरियाले दक्षिणतर्फ प्रहार गरेकै जति दूरीमा नर्दन लिमिट लाइन (एनएलएल) भन्दा अगाडि खसेको छ।
उक्त सीमारेखाले उत्तर र दक्षिण कोरिया बीचको समुद्रको मध्य विन्दुलाई जनाए पनि उत्तरले उक्त सीमालाई कहिल्यै स्वीकार गरेको छैन।
मङ्गलवार उत्तर कोरियाले दक्षिण कोरिया र अमेरिकाले संयुक्त सैन्य अभ्यासलाई निरन्तरता दिए "इतिहासकै सबैभन्दा डरलाग्दो मूल्य" चुकाउनुपर्ने चेतावनी दिएको थियो।
त्यसलाई उत्तर कोरियाको परमाणुअस्त्र प्रयोग गर्नसक्ने चेतावनीका रूपमा हेरिएको छ।
उत्तर कोरियाले पाँच वर्षपछि चाँडै नै परमाणुअस्त्र परीक्षण पुनः सुरु गर्ने ठानिएको छ।
अमेरिका र दक्षिण कोरियाली गुप्तचरहरूले प्योङयाङले त्यसका लागि सबैखाले आवश्यक तयारी पूरा गरेको बताएका छन्।
सोलद्वारा निन्दा
दक्षिण कोरियाली अधिकारीहरूले उत्तर कोरियाली प्रहारलगत्तै ती प्रहारको निन्दा गरेका थिए।
राष्ट्रपति युन शुक-योलले उक्त प्रहारलाई आफ्नो भूमिमाथिको अतिक्रमण भन्दै त्यसको तत्कालै कडा प्रतिक्रिया दिने बताएका थिए।
दक्षिण कोरियाली अधिकारीहरूका अनुसार बुधवार बिहान प्योङयाङले कम्तीमा १० वटा क्षेप्यास्त्रहरू पूर्वी तटतर्फ प्रहार गरेको थियो।
सोलका जोइन्ट चीफ्स अफ स्टाफले "पूर्व र पश्चिमतर्फ [प्रहार गरिएका]…ती विभिन्न खालका" क्षेप्यास्त्रहरू रहेको भन्दै आफ्ना राष्ट्रपतिले प्योङयाङको पछिल्ला प्रहारहरूमाथि "तत्काल प्रतिक्रिया" जनाउन आदेश दिएको जनाए।
दुवै दक्षिण कोरियाली र जापानी अधिकारीहरूले बुधवार बिहान क्षेप्यास्त्र प्रहार भएको थाहा पाएका थिए।










