उत्तर कोरियाः प्योङ्याङद्वारा जापानतर्फ बलिस्टिक क्षेप्यास्त्र प्रहार

उत्तर कोरियाको प्रक्षेपणबारे जापानी टेलिभिजनमा समाचारहरू प्रसारण भइरहेका छन्

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, उत्तर कोरियाको प्रक्षेपणबारे जापानी टेलिभिजनमा समाचारहरू प्रसारण भइरहेका छन्

उत्तर कोरियाले उत्तरी जापानको एक क्षेत्रमा शङ्कास्पद मध्यम दूरीको बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेको बताइएको छ।

त्यसका कारण जापान सरकारले होक्काइडो टापुका मानिसहरूलाई उडानको समयमा सतर्कता अपनाउन चेतावनी दिएको छ भने केही रेल सेवाहरू अस्थायी रूपमा बन्द गरिएका छन्। 

सन् २०१७ यता उत्तर कोरियाले जापानमाथि प्रहार गरेको यो पहिलो क्षेप्यास्त्र हो।

संयुक्त राष्ट्रसङ्घले उत्तर कोरियालाई बलिस्टिक र परमाणुअस्त्र परीक्षण गर्न प्रतिबन्ध लगाएको छ।

"उत्तर कोरियाले क्षेप्यास्त्र प्रक्षेपण गरेको देखिन्छ। कृपया भवन वा भूमिगत स्थलमा सुरक्षित रहनुहोला," जापान सरकारले मङ्गलवार जापानको समय अनुसार ७ बजेर २९ मिनेटमा जारी गरेको चेतावनीमा भनेको छ।

उक्त देशले यस्तो चेतावनी जारी गर्नु दुर्लभ अवस्था हो।

अधिकारीहरूका अनुसार उक्त क्षेप्यास्त्र जापानबाट करिब तीन हजार किलोमिटर पर प्रशान्त महासागरमा खसेको थियो र त्यसबाट कोही घाइते भएको विवरण आएको छैन।

भिडिओ क्याप्शन सुरु हुँदैछ, उत्तर कोरियाले किन क्षेप्यास्त्र प्रक्षेपण गरिरहन्छ

जापानका प्रधानमन्त्री फुमियो किशिदाले उक्त प्रक्षेपणलाई "हिंसक व्यवहार" भन्दै कडा निन्दा गरेका छन्। 

पछिल्लो परिस्थितिलाई लिएर जापान सरकारले राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएको छ।

यो प्रक्षेपण जापान र अमेरिकाको ध्यानाकर्षण गराउन जानाजान गरेको जस्तो देखिन्छ। 

अहिले अमेरिका र जापानले उत्तर कोरियाली नेता किम जङ अनलाई बेवास्ता गरिरहेका छन्।

कुनै पनि पूर्व चेतावनी वा परामर्श विना अन्य देशतर्फ वा माथि क्षेप्यास्त्र उडाउनु अन्तर्राष्ट्रिय मापदण्डको पूर्ण उल्लङ्घन हो।

धेरै देशहरू यस्तो काम गर्न पूर्ण रूपमा जोगिन्छन् किनकि यस्तो कार्यले सहजै आक्रमणको रूप लिन सक्छ र उत्तेजना बढाउन सक्छ। 

अमेरिकाले उत्तर कोरियाको निर्णयलाई 'दुर्भाग्यपूर्ण' भनेको छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, अमेरिका र उत्तर कोरियाबीच किन यति धेरै दुश्मनी?

जापान, अमेरिका र दक्षिण कोरियाले गत साताको सुरुमा त्रिपक्षीय सैन्य अभ्यास गरेपछि उत्तर कोरियाले उक्त प्रहार गरेको हो। 

त्यो सैन्य अभ्यास उत्तर कोरियालाई उक्साउन गरिएको ठानिएको थियो। 

एक सातामा प्योङयाङले गरेको यो पाँचौँ क्षेप्यास्त्र प्रक्षेपण हो।

शनिवार पनि दुई वटा रकेटहरू जापानको विशेष आर्थिक क्षेत्र बाहिर पानीमा खसेका थिए।

भिडिओ क्याप्शन सुरु हुँदैछ, लडाकु विमान चढेर आकाशबाट उत्तर कोरियालाई हेर्दा

उत्तर कोरियाका धेरै क्षेप्यास्त्र परीक्षणहरू छिमेकी देशहरूबाट हुने उडानहरूलाई बेवास्ता गर्दै उच्च आकाशमा गर्ने गरिन्छ।

यसै महिनाको सुरुमा उत्तर कोरियाले आफूलाई परमाणु अस्त्रयुक्त राष्ट्र घोषणा गर्ने कानुन पारित गरेको थियो। 

नेता किम जङ अनले परमाणु निरस्त्रीकरण वार्ताको सम्भावनालाई अस्वीकार गर्दै त्यस्तो गरेका हुन्।

व्यापक प्रतिबन्धकाबीच प्योङयाङले सन् २००६ देखि २०१७ सम्म ६ वटा परीक्षणहरू गरेको थियो।