उत्तर कोरिया: किम जङ-अनले किन दिए कोरियाली प्रायःद्वीप 'युद्धको सँघारमा' रहेको चेतावनी

किम जङ-अन

तस्बिर स्रोत, Reuters

उत्तर कोरियाका नेता किम जङ-अनले कोरियाली प्रायःद्वीप युद्धको सँघारमा रहेको भन्दै आफू "परमाणुयुद्ध रोक्न सघाउने रणनीति प्रयोग" गर्न तयार रहेको बताएका छन्। 

कोरियाली युद्धको वार्षिकोत्सव मनाउन आयोजित समारोहमा किमले प्योङ्याङ अमेरिकासँग "जस्तोसुकै सैन्य मुठभेडका लागि पूर्ण रूपमा तयार रहेको" भनेको सरकारी समाचारसंस्था केसीएनएले जनाएको छ।

उत्तर कोरियाले आफ्नो सातौँ परमाणुअस्त्र परीक्षण गर्ने तयारी गरिरहेको हुनसक्ने आशङ्का गरिएका बेला उनको यस्तो भनाइ आएको हो। 

प्योङ्याङले त्यस्तो परीक्षण जुनकुनै बेला गर्न सक्ने चेतावनी गत महिना अमेरिकाले दिएको थियो। 

अस्त्र परीक्षण

उत्तर कोरियाको यसअघि सन् २०१७ मा परमाणुअस्त्र परीक्षण गरेको थियो।

उत्तर कोरियाका लागि अमेरिकी विशेष प्रतिनिधि सुङ किमका अनुसार प्योङ्याङले यो वर्ष अभूतपूर्व सङ्ख्यामा क्षेप्यास्त्र परीक्षण गरेको बताएका छन्। 

यो वर्ष ३१ वटा त्यस्ता परीक्षण भए। यसअघि सन् २०१९ मा एकैवर्ष सर्वाधिक २५ वटा परीक्षण भएका थिए।

गत जुन महिनामा दक्षिण कोरियाले प्रतिक्रियास्वरूप आठवटा क्षेप्यास्त्र परीक्षण गरेको थियो।

भिडिओ क्याप्शन सुरु हुँदैछ, लडाकु विमान चढेर आकाशबाट उत्तर कोरियालाई हेर्दा

कोरियाली युद्धको इतिहास

सन् १९५०-५३ को कोरियाली युद्ध अस्थायी युद्धविराम भएपछि टुङ्गिएको थियो। तर उत्तर कोरियाले त्यसलाई अमेरिकाविरुद्ध आफ्नो विजयका रूपमा प्रस्तुत गर्ने गरेको छ।

कोरियाली प्रायःद्वीपलाई दुई देशमा विभक्त गर्ने युद्ध रोकिएको भए पनि उनीहरूबीच कुनै शान्तिसन्धि भएको छैन।

त्यतिबेलादेखि नै दुई कोरिया प्राविधिक रूपमा युद्धमा छन्। बेलाबेलामा उनीहरूको सम्बन्धमा तनाव उत्पन्न हुने गरेको छ।

वार्षिक "विजय दिवस" उत्सवमा सैन्य परेड, आतिसबाजी र साङ्गीतिक कार्यक्रम पनि समाविष्ट हुन्छन्।

उक्त समारोहलाई सम्बोधन गर्दै किमले अमेरिकाबाट रहेको परमाणु त्रासका कारण उत्तर कोरियाले आत्मरक्षा सुदृढ बनाउने "अत्यावश्यक ऐतिहासिक काम" गर्नुपर्ने बताए।

"अमेरिकाले उत्तर कोरियाको नियमित सैन्य अभ्यासहरूलाई उक्साहट भन्दै गलत व्याख्या गरेको छ," उनले भने।

उत्तरबाट हुने सम्भावित आक्रमणलाई रोक्न दक्षिण कोरियाले पहिल्यै आक्रमण गर्ने योजना ब्युँताउन लागेको भन्ने विवरणहरूलाई पनि उनले छोए।

भिडिओ क्याप्शन सुरु हुँदैछ, उत्तर कोरियामा किम जङ-अनको १० वर्षे शासन

कस्तो रणनीति

"किल चेन" भनिने उक्त रणनीति सबैभन्दा पहिले एक दशकअघि व्याख्या गरिएको थियो। 

उक्त रणनीतिअनुसार प्योङ्याङले प्रहार गर्नुअगावै उत्तर कोरियाका क्षेप्यास्त्र र सम्भवतः उच्च नेतृत्वमाथि आक्रमण हुन सक्छ।

केही विश्लेषकहरूले त्यसका आफ्नै किसिमका जोखिमहरू हुने र त्यसले अस्त्र प्रतिस्पर्धालाई प्रोत्साहन गर्ने चेतावनी दिएका छन्। 

त्यस्तो आक्रमण गरेमा दक्षिण कोरियाली सरकार र सेनालाई "मेटाइदिने" चेतावनी उनले दिएका छन्।

रेखा

के उत्तर कोरिया 'युद्धको सँघारमा' पुगेको हो?

रुपर्ट विङ्फील्ड-हेस, बीबीसी न्यूज

कोरियाली प्रायःद्वीप "युद्धको सङ्घारमा" रहेको किम जङ-अनको चेतावनी निकै डरलाग्दो देखिन्छ। तर महत्त्वपूर्ण वार्षिकोत्सवहरूमा उत्तर कोरियाली नेतृत्वले प्रायः उग्र कुरा भन्ने गरेको छ।

यसले उत्तर कोरियाली सत्ता दक्षिण कोरियाका नयाँ राष्ट्रपति यून सुक-योलसँग कति क्रुद्ध छ भन्ने सङ्केत गर्छ।

मे महिनामा पदभार सम्हालेयता राष्ट्रपति यूनले एउटा नयाँ र थप आक्रामक रक्षा रणनीति अघि सारेका छन्।

त्यसअनुसार सोलले प्योङ्याङबाट तत्काल परमाणु आक्रमणको त्रास देखेको खण्डमा दक्षिण कोरियाली सेनालाई पूर्वसावधानीका रूपमा उत्तर कोरियामा प्रहार बाटो खुला हुनेछ।

"किल चेन" भनिने यो रणनीतिले दक्षिण कोरियालाई सम्भावित आक्रमणअगावै उत्तर कोरियापट्टि बलिस्टिक क्षेप्यास्त्र र हवाई आक्रमण गर्न दिनेछ।

त्यस्ता लक्ष्यमा उत्तर कोरियाली सैन्य संरचनाहरू पर्छन्। अर्को शब्दमा भन्नुपर्दा किम जङ-अनको हत्याको प्रयास पनि हुन सक्छ।

डोनल्ड ट्रम्पपछि आएका अमेरिकी राष्ट्रपति जो बाइडनको कार्यकालमा वाशिङ्टनले आफूलाई खासै वास्ता नगरेकोमा प्योङ्याङ त्यति सन्तुष्ट छैन।

यी सबै कुराले उत्तर कोरियाले जानीजानी केही तनाव बढाउने घटना गराउने सङ्केत गर्छन्।

अहिले धेरैलाई प्योङ्याङले सातौँ भूमिगत परमाणु परीक्षण गर्ने अनुमान गरेका छन्। मार्च महिनादेखि पुङ्गे-री परीक्षणस्थलमा तयारीहरू भइरहेका छन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, उत्तर कोरियाले किन क्षेप्यास्त्र प्रक्षेपण गरिरहन्छ
रेखा