उत्तर कोरियाले 'जुनसुकै बेला' परमाणुअस्त्र परीक्षण गर्न सक्ने अमेरिकाको चेतावनी

तस्बिर स्रोत, Getty Images
संयुक्त राज्य अमेरिकाका एक अधिकारीले उत्तर कोरियाबाट जुनसुकै बेला पनि परमाणुअस्त्र परीक्षण हुन सक्ने चेतावनी दिएका छन्। अहिलेसम्म उत्तर कोरियाले छवटा त्यस्ता परीक्षण गरिसकेको छ।
प्योङ्याङले आइतवार आठवटा बलिस्टिक क्षेप्यास्त्र परीक्षण गरेको थियो। पहिलो पटक एकैदिन त्यति सङ्ख्यामा त्यस्ता अस्त्रहरू प्रहार गरिएको थियो।
अहिले उत्तर कोरियाका लागि अमेरिकाका विशेष प्रतिनिधि सङ किमले परमाणुअस्त्र प्रहार गर्न सक्ने चेतावनी दिएका हुन्।
जस्तो खालको पारमाणविक परीक्षण गरियो भने पनि त्यसको "चर्को र बलियो प्रतिक्रिया" दिइने अमेरिकी उपविदेशमन्त्री वेन्डी शेर्मनले संवाददाताहरूलाई बताएकी छन्।
पाँच वर्षदेखि भएको छैन
पाँच वर्षदेखि प्योङ्याङले कुनै परमाणुअस्त्रको परीक्षण गरेको छैन।
यद्यपि कोरियाली प्रायःद्वीपमा तनाव चर्किएको छ।
जकार्ताबाट बोल्दै किमले उत्तर कोरियाले यो वर्ष अभूतपूर्व सङ्ख्यामा क्षेप्यास्त्रको परीक्षण गरेको बताएका छन्। सन् २०१९ मा एक वर्षभरि उसले सर्वाधिक २५ वटा क्षेप्यास्त्र प्रहार गरेको थियो।

तस्बिर स्रोत, EPA
तर यो वर्ष अहिलेसम्म परीक्षणका लागि ३१ वटा क्षेप्यास्त्र प्रहार गरिसकेको छ।
"अनि अहिले बल्ल जुन महिना भयो," उनले भने।
उत्तर कोरियाली अधिकारीहरूले बारम्बार भन्ने कुराबाट उनीहरू रणनीतिक वा सानो आकारका परमाणुअस्त्रको परीक्षण गर्न इच्छुक देखिएको किमको भनाइ छ।
अब कहिले परमाणुअस्त्र प्रहार होला भन्ने प्रश्नमा उनले "जतिसुकै बेला पनि" हुन सक्ने चेतावनी दिए।
प्योङ्याङले चाँडोमा यही साता त्यसो गर्न सक्ने ब्लूमबर्गमा प्रकाशित समाचारमा लेखिएको छ।
सोलमा सञ्चारमाध्यमसँग बोल्दै शेर्मनले उत्तर कोरियाले गर्ने त्यस्तो परीक्षण संयुक्त राष्ट्रसङ्घका सङ्कल्प प्रस्तावहरूविरुद्ध हुने बताइन्।
दक्षिण कोरियाली र जापानी अधिकारीहरूसँग भेट गर्न उनी सोल गएकी हुन्।
"दक्षिण कोरिया र संयुक्त राज्य अमेरिका र जापान मात्र हैन, मलाई लाग्छ, पूरै विश्वले बलियो र स्पष्ट रूपमा प्रतिक्रिया दिन्छ," उनले भनिन्।
उत्तर कोरियाले अमेरिकी भनाइबारे कुनै प्रतिक्रिया दिएको छैन।
अमेरिकाको जबाफ
अमेरिकाले दक्षिण कोरियासँग मिलेर प्योङ्याङले गरेका परीक्षणको जबाफमा सोमवार आठवटा क्षेप्यास्त्र प्रहार गरेको छ।
यद्पि अमेरिका उत्तर कोरियासँग बिनासर्त कूटनीतिक वार्ता राख्न प्रतिबद्ध भएको किमले बताएका छन्।
उनले उक्त सन्देश व्यक्तिगत माध्यमबाट पनि पठाइएको उनको भनाइ छ।
उत्तर कोरियामा कोभिड महामारी फैलिएपछि अमेरिकाले मानवीय सहायता गर्ने प्रस्ताव दिएको उनले बताए।
झन्डै २.५ करोड जनसङ्ख्या भएको उत्तर कोरियामा अधिकांश मानिसले कोभिड-१९ विरुद्ध खोप लगाएका छैनन्।
"तर आजसम्म उत्तर कोरियाले सहभागी हुनेबारे कुनै प्रतिक्रिया दिएको छैन र त्यसप्रति इच्छुक भएको सङ्केत पनि देखिएको छैन," उनले भने।












