किम जङ-अनको उत्तराधिकारी को हुनसक्छ

उत्तर कोरिया

तस्बिर स्रोत, KCNA

तस्बिरको क्याप्शन, दुई साताअघि किम जङ-अन हवाई युनिटको निरीक्षण गर्ने क्रममा सार्वजनिक भएका थिए
    • Author, एलिस्टर कोलमेन
    • Role, मिथ्या सूचना नियन्त्रण विज्ञ

विश्वका सञ्चारमाध्यमले उत्तर कोरियाका सर्वोच्च नेता किम जङ-अन गम्भीर बिरामी अथवा निधन नै भइसकेको भनेर आशङ्का व्यक्त गरिरहँदा त्यहाँका सञ्चारमाध्यमले उनको अवस्था सामान्य रहेको सङ्केत दिएका छन्।

आफ्ना हजुरबुवा तथा उत्तर कोरियाका संस्थापक किम इल-सङको एप्रिल १५ मा मनाइएको जन्मोत्सव समारोहमा अनुपस्थित भएपछि किमको स्वास्थ्यबारे हल्लाहरू चल्न थालेका हुन्।

दक्षिण कोरिया र अमेरिकी सरकारहरूले उनी गम्भीर बिरामी भएको वा निधन भएको प्रमाणित गर्ने कुनै गतिविधि नदेखेको बताएका छन्।

सरकारी नियन्त्रणको उत्तर कोरियाली सञ्चारमाध्यमले औपचारिक घोषणा नगरेसम्म किमको अवस्थाका बारेमा यकिन हुने अवस्था छैन।

तर यी हल्लाहरू सत्य भए किमको उत्तराधिकारी को बन्न सक्छ?

किम य जुङ

उत्तर कोरिया

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, दक्षिण कोरियामा सन् २०१८ मा भएको ओलिम्पिक्समा किम य जुङले चर्चा कमएकी थिइन्

उत्तर कोरिया बाहिर किम जङ-अनकी बहिनी किम य जुङलाई स्वभाविक उत्तराधिकारी ठान्ने गरिएको छ। ३१ वर्षकी उनी आफ्ना दाजुजस्तै विदेशमा पढेकी हुन्।

उनी पार्टीको पोलिटब्युरोको वैकल्पिक सदस्य र देशको महत्वपूर्ण 'प्रचार र विरोध विभाग'को सहनिर्देशक हुन्।

किम जङ-अनकी 'डायरी सचिव' उपनाम पाएकी उनको दैनिक कार्यक्रम र नीति निर्माणमा नजिकबाट सल्लाह दिने ठानिन्छ।

उत्तर कोरियाको राजनीतिमा ठूलो महत्व राख्ने किम इल-सङको सिधा वंश अर्थात 'माउन्ट बेक्डु ब्लडलाइन'को उनी सदस्य हुन्।

तर बारम्बार गल्ती गर्ने र कतिपय अवस्थामा अनुपयुक्त व्यवहार देखाउने उनको पृष्ठभूमि छ।

उत्तर कोरिया

तस्बिर स्रोत, ​ Ankit Panda Twitter

हनोईमा आफ्ना दाजु र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको बैठकका बेला कुनामा बसेर यताउता हेरेको उनको तस्बिरले उत्तर कोरियाली सर्वोच्च नेतालाई लज्जित तुल्याएको ठानिन्छ।

उनले त्यसरी चियोचर्चो गरेको त्यो पहिलो घटना थिएन।

उत्तर कोरिया महिला नेतृका लागि तयार छ कि छैन् भन्ने अर्को प्रश्न पनि छ।

महिलाहरूले देशको राजनीति र समाजिक परिवेशमा महत्वपूर्ण भूमिका खेलेपनि एकदमै कमले सत्ताको शक्तिशाली पद हासिल गर्ने गरेका छन्।

किम जङ-चल

किम जङ-अनका जेठा दाजुलाई भविष्यका नेताका रूपमा उनका पिताले अघि बढाएका थिए तर किम जल-चलले सैन्य वा राजनीतिक मामिलामा खासै जाँगर नचलाएकाले त्यो त्यसै सेलाएर गयो।

उत्तर कोरिया

तस्बिर स्रोत, BBC/JNN

तस्बिरको क्याप्शन, किम जङ-चल आफ्ना मनपर्ने गायकको कन्सर्ट हेर्न लन्डनमा देखा परेका थिए

खासै सार्वजनिक मञ्चहरूमा नदेखिने उनी सन् २०१५ मा आफ्ना आदर्श गायक एरिक क्ल्यापटनको कन्सर्ट हेर्न ब्रिटेनको रोयल अल्बर्ट हलमा देखा परेका थिए।

उनी भविष्यको नेता चुनिने सम्भावना एकदमै न्यून छ।

किम प्योङ-इल

किम जङ-अनका काका पूर्वकुटनीतिज्ञ किम प्योङ-इल उत्तर कोरियाका दोस्रो सर्वोच्च नेता किम जङ-इलका सौतेनी भाइ हुन्।

उत्तर कोरिया

तस्बिर स्रोत, Polish Presidency

तस्बिरको क्याप्शन, प्योङ १७ वर्षसम्म पोलण्डमा राजदूत थिए

किम इल-सङका छोरा भएकै कारण उनी 'माउन्ट बेकडु ब्लडलाइन'का वंशज हुन्।

महत्त्वाकांक्षी किम जङ-इलले असुरक्षित महसुस गरेर उनलाई चार दशकसम्म युरोपेली देशहरूमा राजदूतका रूपमा नियुक्त गरिएको मानिन्छ।

अघिल्लो साल ६५ वर्षको उमेरमा उनी अवकाश लिएर प्योङयाङ फर्किएका हुन्।

च्वे र्‍योङ हेइ

उत्तर कोरिया

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, च्वे किमका दाहिने हात हुन्

भाइस मार्सल च्वे रहेका किम जङ-अनका दाहिने हात मानिन्छन् र उनी उत्तर कोरियाली संसद्‍का अध्यक्ष हुन्।

किमलाई बलियो बन्न सघाएकोमा कैयौँ पटक सम्मानित भएका ७० वर्षका च्वे एकदमै शक्तिशाली मानिन्छन्।

सन् २०१२ मा किम सत्तामा आएपछि एकपछि अर्को महत्त्वपूर्ण बढुवाले सर्वोच्च नेतासामु उनको महत्त्वलाई पुष्टि गर्छ।

उत्तर कोरियाको कठोर रूपमा नियन्त्रित एवम् किम केन्द्रित सञ्चारमाध्यममा किम परिवार बाहेकबाट नियमित रूपमा उल्लेख गरिने नेतामा च्वे पर्छन्।

पारिवारिक थरलाई निर्णायक नमानिने उत्तर कोरियाली नेतृत्वमाझ उनी स्वभाविक उत्तराधिकारी ठानिने छन्।

र किमको अस्वभाविक बहिर्गमनपछि राज्यले सहज रूपमा निकास पहिल्याउन चाहे उनी एउटा विकल्प हुन सक्छन्।

किम जे-रियोङ

उत्तर कोरिया

तस्बिर स्रोत, Korea Central TV

तस्बिरको क्याप्शन, किम जे रियोङ क्षेत्रीय राजनीतिबाट उदाएका हुन् र उनको किम परिवारसँग कुनै नाता छैन

नाममा 'किम' भएपनि उत्तर कोरियाली प्रधानमन्त्री उक्त परिवारका सदस्य होइनन्। कतिपय अवस्थामा 'गिम' पनि भनिने किम दुवै कोरियामा खुव चल्ने नाम हो।

सन् २०१६ मा प्रान्तीय प्रशासनभन्दा बाहिर अपरिचित रहेका किम जे-रियोङको राजनीतिक उत्थान लोभलाग्दो छ।

एक वर्षभन्दा अघि संसद्‌मा निर्वाचित भएका उनी एक महिनापछि पोलिटब्युरो र केन्द्रीय सैनिक आयोगको सदस्यसहित प्रधानमन्त्री पदमा निर्वाचित भएका थिए।

उत्तर कोरिया

तस्बिर स्रोत, Getty Images

च्वेजस्तै परिवारिक पृष्ठभूमिभन्दा बाहिरका किम परिवारको उपयुक्त उत्तराधिकारी नआएसम्म राज्य सहायकको जस्तो भूमिकाका लागि उनी अगाडि आउन सक्छन्।

सन् १९४८ मा स्थापना भएयता उत्तर कोरियामा किम परिवारले शासन गर्दै आएको छ।

नयाँ नेतृत्व कोरियाको वर्कस पार्टीको वर्चश्व रहेको संसद्‌ले अनुमोदन गर्नुपर्नेछ।