वाग्नर प्रमुख प्रिगोजिनलाई बेलारुसमा आश्रय, युक्रेनमा रुसी क्षेप्यास्त्र आक्रमण

तस्बिर स्रोत, Reuters
झन्डै २४ घण्टा रुसी नेतृत्वको टाउको दुखाइ बनेको विद्रोहको नेतृत्व गरेका येभ्गेनी प्रिगोजिन बेलारुस पुगेका छन्। वाग्नर समूहले गरेको सैन्य विद्रोह अन्त्य भएको तीन दिनपछि उनी बेलारुस पुगेका हुन्।
उक्त समूह रुसको सरकारी सेनासँग मिलेर युक्रेनमा लडिरहेको निजी सेना हो।
"हो, साँच्चै, उनी आज बेलारुसमा छन्,’" उनलाई सैन्य विद्रोह परित्याग गरेर निर्वासनमा आउन सहमत गराएको श्रेय लिँदै बेलारुसका राष्ट्रपति अलेक्ज्यान्डर लुकाशेन्कोले भने।
शनिवार राति दक्षिण रुसमा गाडीमा कतै गइरहेको देखिएपश्चात् उनी कहाँ छन् भन्ने कुरा रहस्यमय बनेको थियो।
मङ्गलवार उनको निजी जेट विमान बेलारुसको राजधानी मिन्स्कतर्फ गइरहेको पाइएको थियो।
वाग्नर समूहले भर्ती गरेका भाडाका सैनिकहरूले प्रिगोजिनसँग सहकार्य गर्न चाहे उनीहरूलाई परित्याग गरिएको एक सैन्य आधार शिविर उपलब्ध गराउने प्रस्ताव गरिएको लुकाशेन्कोले बताएका छन्।
"त्यो ठाउँ बारिएको छ, सबै कुरा उपलब्ध छ र पाल टाँग्न सकिन्छ," उनले भने।
विद्रोह अन्त्य गर्नका लागि भएको भनिएको सम्झौताअनुरूप प्रिगोजिनलाई सुरक्षाको प्रत्याभूति दिइएको छ भने वाग्नर समूहमाथि रुसमा भएको आपराधिक क्रियाकलापको अभियोगहरू हटाइएको छ।
मस्कोले ती भाडाका सैनिकहरूले प्रयोग गरेका ठूला हातहतियार रुसी सेनालाई उपलब्ध गराउने तयारी गरिरहेको छ।

तस्बिर स्रोत, BELARUS PRESIDENCY HANDOUT
यद्यपि रुसी राष्ट्रपति पुटिनले गत सप्ताहान्तमा विद्रोह गर्ने वाग्नर समूहका नेतृत्वकर्ताहरू माथि ‘‘रुस रक्तपातपूर्ण द्वन्द्वमा निसासिएको हेर्न खोजेको" आरोप लगाएका थिए।
एउटा छोटो सम्बोधनका क्रममा उनले विद्रोहका नाइकेहरूलाई "न्यायको दायरामा ल्याउने" वाचा गरेका छन्।
उनले अन्य वाग्नर लडाकुहरूलाई ‘‘देशभक्त’’को सङ्ज्ञा दिएका थिए। मन्तव्यका क्रममा उनले सीधै प्रिगोजिनको नाम भने लिएनन्।
छिमेकीहरूको चिन्ता
वाग्नरका लडाकुहरूलाई उनीहरू रुसी सेनामा आबद्ध हुन, आफ्नो घर फर्किन वा बेलारुस जान सक्ने विकल्प खुला रहेको बताइएको छ।
उत्तर एट्लान्टिक सन्धि सङ्गठन नेटोमा आबद्ध पोल्यान्ड, लाट्भिआ र लिथुआनिआमा बेलारुसमा वाग्नर समूहको आगमनले छिमेकी राष्ट्रका रूपमा आफूहरूलाई समस्यामा निम्त्याउन सक्ने चिन्ता व्यक्त गरेका छन्।
रुसले केहीअघि सामरिक महत्त्वका आणविक अस्त्र बेलारुसमा स्थानान्तरण गरिसकेको छ।
रुसी सर्वसाधारणहरू पनि निकै विचलित रहेको युरोपियन लिडरशिप नेटवर्ककी क्याटिया ग्लोड बताउँछिन्।
"पक्कै पनि उनीहरू प्रिगोजिनजस्ता अपराधी बेलारुसमा बसून् भन्ने चाहँदैनन्,’" उनले भनिन्।
लुकाशेन्कोले वाग्नर समूहले बेलारुसको सेनालाई रणनीति र हतियारहरूबारे अनुभव सुनाएर सहयोग गर्न सक्ने बताएका छन्।
रुसको सहर रोस्तोभ-अन-डनमा विद्रोहीहरूको सहज नियन्त्रण अनि निकै कम प्रतिरोधकाबीच उत्तरतर्फ अघि बढेको घटनाले २३ वर्ष लामो भ्लादिमिर पुटिनको शासनकालमा क्रेम्लिनको सुरक्षा नियन्त्रणमा ठूलो कमजोरीहरू रहेको उजागर गरिदिएको छ।
वाग्नर फौज राजधानी मस्कोबाट झन्डै २०० किलोमिटर नजिक पुगेको बेला उक्त सैन्य विद्रोह साम्य पार्न लुकाशेन्कोले मध्यस्थताका गरेका थिए।
क्रेम्लिनका प्रवक्ता दिमित्री पेस्कोभले गत शुक्रवार र शनिवारका घटनाहरूले सत्तामा पुटिनको वर्चस्व घटाएको भन्ने कुरालाई अस्वीकार गरेका छन्।

तस्बिर स्रोत, Reuters


कसरी उत्पन्न भएको थियो तनाव?
हालैका महिनाहरूमा प्रिगोजिनले रुसको सैन्य नेतृत्वको खरो आलोचना गर्दै आएका थिए। उनीहरूबीच युद्धको रणनीतिबारे तीव्र मतभेद थियो।
गत शनिवार वाग्नरका लडाकुहरू युक्रेनस्थित आफू खटेको क्षेत्रबाट रुसको सीमाभित्र फर्किएर दक्षिणी सहर रोस्तोभ-अन-डनमा प्रवेश गरेका थिए।
घटनाक्रम तीव्र गतिमा अगाडि बढ्यो र उनीहरूले मस्कोतर्फ कुच गरे। त्यस क्रममा उनीहरूले उत्तरमा पर्ने भोरोनेज सहरको सैन्य संरचनाहरू पनि नियन्त्रणमा लिए।

तस्बिर स्रोत, ARKADY BUDNITSKY/EPA-EFE/REX/SHUTTERSTOCK
क्रेम्लिनलाई राजधानी मस्कोसहित थुप्रै स्थानहरूमा सुरक्षा कडा बनाउन दबाव दिँदै भाडाका लडाकुहरू राजधानीतर्फ अघि बढेका थिए। त्यतिबेला त्यहाँका नगरप्रमुखले सर्वसाधारण नागरिकहरूलाई यात्रा नगर्न आह्वान गरेका थिए।
आवश्यक परेको खण्डमा वाग्नर लडाकुहरूविरुद्ध लड्न हजारौँ विशिष्ट चेचेन सेनाहरू मस्कोतर्फ लागेको चेतावनीहरू समेत दिइएको थियो।
प्रतिक्रियास्वरूप राष्ट्रपति भ्लादिमिर पुटिनले रुसलाई "धोका" दिन खोज्नेहरूलाई सजाय दिने वाचा गरेका थिए।
रुसी टीभी च्यानल रोसिया ट्वेन्टीफोरका अनुसार बेलारुसी नेता अलेक्ज्यान्डर लुकाशेन्को र प्रिगोजिनको भेटवार्तापछि अचानक शनिवार साँझ अवस्था साम्य पार्ने सहमति भएको थियो।

तस्बिर स्रोत, AFP
केही घण्टापछि वाग्नर सेनाले रोस्तोभ छोड्दै गरेको र समर्थकहरूले उनीहरूका नेताको जयजयकार गर्दै हात मिलाउन कोसिस गरिरहेको देखिने भिडिओ सार्वजनिक भयो।
एक दिनको घटनाक्रमलाई युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले "पूर्ण अराजकता"को सङ्ज्ञा दिएका थिए।
फ्लाइट ट्र्याकिङले शनिवार राष्ट्रपतिका दुई विमानहरूले सहर छोडेको देखाएपछि पुटिन मस्कोबाट भागेको अफवाह फैलिएको थियो।
यद्यपि उनका प्रेससचिव दिमित्री पेस्कोभले राष्ट्रपति क्रेम्लिनमै रहेको बताएका थिए।
युक्रेनमा मिसाइल आक्रमण
यसैबीच रुसले युक्रेनमा मिसाइल आक्रमण गरेको छ।
पूर्वी युक्रेनस्थित क्रामातोर्स्कको केन्द्रमा भएको मिसाइल आक्रमणमा चार जनाको मृत्यु भएको र अन्य केही घाइते भएको युक्रेनी अधिकारीहरूले बताएका छन्।
युक्रेनी नियन्त्रणमा रहेको तर युक्रेनमा रुसले नियन्त्रणमा लिएको भूभागनजिक रहेको उक्त सहरमा मङ्गलवार एउटा रेस्टुराँ र शपिङ मलमा आक्रमण गरिएको थियो।
त्यहाँ मानिसहरू भग्नावशेषमा च्यापिएको हुनसक्ने अनुमान गरिएको छ र उद्धार कार्य जारी छ।
एक प्रत्यक्षदर्शीले आफूले "मृत्यु भएका, चिच्याइरहेका, रोइरहेका मानिसहरू, कोलाहल..." देखेको बीबीसीलाई बताएका छन्।
युक्रेनको समयानुसार साँझको झन्डै ७ः३० बजेतिर भएको घटनामा एक १७ वर्षीया युवतीको मृत्यु भएको हुनसक्ने बताइएको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्।













