वाग्नर समूहको क्रूरताबाट पीडित भएकाहरूले कसरी पाउलान् न्याय

एक वाग्नर लडाकु

तस्बिर स्रोत, @RSOTM Telegram channel

तस्बिरको क्याप्शन, सन् २०१९ मा लिबियाको राजधानी त्रिपोली कब्जा गर्ने उद्देश्यले भएको आक्रमणका क्रममा लिबियाली जेनरल खालिफा हाफ्तरलाई साथ दिएका एक वाग्नर लडाकु
    • Author, नादिर इब्राहिम
    • Role, बीबीसी विश्‍व सेवा

गत शनिवार भाडाका सैनिक उपलब्ध गराउने वाग्नर समूहले रुसको सैन्य नेतृत्वविरुद्ध विद्रोहको सन्देश दिँदै आफ्ना फौजहरूलाई मस्कोतर्फ कुच गर्न लगायो।

यस क्रममा उक्त समूहले रोस्तोभ-अन-डन नामक दक्षिणी रुसको एक सहरमा रहेको सैन्य मुख्यालय पनि कब्जा गर्‍यो। त्यहाँबाट युक्रेनविरुद्ध युद्ध सञ्चालन भइरहेको थियो।

वाग्नर फौज राजधानी मस्कोबाट झन्डै २०० किलोमिटर मात्र टाढा रहेका बेला छिमेकी देश बेलारुसका राष्ट्रपति अलेक्ज्यान्डर लुकाशेन्कोको मध्यस्थताका कारण रुसी सरकारसँग एक सहमति भएपछि यस विद्रोह रोकियो।

यसरी रुसमा एउटा सम्भावित गृहयुद्ध टर्‍यो। त्यसका लागि भएको सहमतिअनुसार वाग्नर समूहका लडाकुविरुद्ध शनिवारको विद्रोहमा भाग लिएबापत कुनै अभियोजन हुने छैन।

यद्यपि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यसलाई "राजद्रोह" को सङ्ज्ञा दिएका थिए।

वाग्नर समूहका चर्चित नेता येभ्गेनी प्रिगोजिनलाई बेलारुसमा निर्वासनमा पठाइने भएको छ भने शनिवारको विद्रोहमा सहभागी नहुने उनका लडाकुहरूलाई रुसी सेनामा भर्ती हुनेगरी सम्झौता गर्ने अवसर दिइने बताइएको छ।

बेलारुस जाने क्रममा हात हल्लाउँदै वाग्नर समूहका नेता येभ्गेनी प्रिगोजिन

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, बेलारुस जाने क्रममा हात हल्लाउँदै वाग्नर समूहका नेता येभ्गेनी प्रिगोजिन

सहमतिपछिको एक टेलिग्राम पोस्टमा प्रिगोजिनले सम्भवत: रुसी रक्षा मन्त्रालयप्रति सङ्केत गर्दै "उनीहरूले" वाग्नर समूहलाई "भङ्ग गर्न" चाहेको बताएका छन्।

तर अकस्मात् उनले शक्ति प्रदर्शन गर्नुको कारण त्यही मात्र थियो भन्ने चाहिँ अझै स्पष्ट छैन।

वाग्नर र अन्तर्राष्ट्रिय युद्ध अपराधहरू

वाग्नर समूहलाई यसअघि अफ्रिकाका विभिन्न भाग, सिरिया र युक्रेनमा निरस्त्र सर्वसाधारणमाथि क्रूर व्यवहार गरेको आरोप लागेको छ।

बीबीसीको एक अनुसन्धानले पत्ता लगाएको एक प्रमाणअनुसार यस समूहका सदस्यहरू लिबियाको राजधानी त्रिपोलीमा सर्वसाधारणको हत्या, लडाकुलाई लक्ष्यित गरी राखिने विस्फोटक पदार्थ वा एन्टि-पर्सनल माइनको अवैध प्रयोग र सर्वसाधारणको घरमा विस्फोटक पदार्थ राख्ने काममा संलग्न देखिएका छन्।

सन् २०२१ मा त्रिपोली भ्रमण गरेको बीबीसी टोलीले आफ्ना बुवा तथा दुई दाजुभाइसँगै वाग्नर लडाकुबाट अपहरित एक साक्षीसँग कुरा गरेको छ।

उनले हामीलाई बताएअनुसार वाग्नर लडाकुले उनलाई एउटा गाउँको सानो छाप्रोमा लगेर राखे। त्यसपछि केही मान्छे कारमा फर्किए। तर दुई जना भने कलाश्‍नुकफ राइफल लिएर छाप्रोबाहिर पहरा दिएर बसे।

"त्यसमध्ये एउटाले आफ्नो हतियार बाहिर निकाल्यो," उनले बताए, "त्यसपछि मैले कुरा बुझिहालेँ। उनले गोली हान्न लागेको मैले भेउ पाइहालेँ। उनले गोली हान्नासाथ म एकातिर लडेँ र मरे जस्तो गरेँ।"

उनका बुवा र दाजुभाइको भने हत्या भयो।

यी साक्षीहरूले बीबीसी टोलीलाई एक हत्यारा पहिचान गर्न सहयोग गरेका छन्। 'भाखा' छद्मनाम प्रयोग गरेका ती हत्यारा पछि युक्रेन आक्रमणमा मारिएका थिए।

लिबियामा देखिएका वाग्नर लडाकुहरू

तस्बिर स्रोत, @RSOTM Telegram channel

तस्बिरको क्याप्शन, लिबियामा एक परिवारको हत्या भएको ठाउँनजिकै देखिएका भाखा पनि भनिने भ्लादिमिर अन्डानोभ। उनी सन् २०१४ मा युक्रेनी कैदीहरूको हत्यामा समेत संलग्न भएको आशङ्का गरिएको छ

सन् २०२२ को मे महिनामा युक्रेनी अभियोजनकर्ताहरूले युक्रेनविरुद्धको आक्रमणका क्रममा युद्ध अपराधमा संलग्न भएको आरोपमा आठ वाग्नर लडाकुको नाम र तस्बिर सार्वजनिक गरेका थिए। ती अधिकारीहरूका अनुसार उनीहरूले सर्वसाधारण जनतालाई यातना दिएका र हत्या गरेका थिए।

सन् २०२३ मा संयुक्त राज्य अमेरिकाको अर्थ मन्त्रालयले यस समूहलाई "सेन्ट्रल अफ्रिकन रिपब्लिक र मालीमा नरसंहार, बलात्कार, बालबालिकाको अपहरण र शारीरिक दुर्व्यवहार" लगायतका गम्भीर आपराधिक गतिविधिको जारी स्वरूपमा संलग्न भएको आरोप लगाएको छ।

वाग्नर समूह रुसी सेनामा सामेल भए के हुन्छ?

जनीभा महासन्धिअनुसार राज्यका सशस्त्र समूहहरूबाट भएको अन्तर्राष्ट्रिय मानवीय कानुनको उल्लङ्घनको छानबिन गरी सजाय दिने जिम्मेवारी राज्यहरूकै हो।

अर्थात् वाग्नर समूहले गरेका अपराध र कानुन उल्लङ्घन हुने घटनाहरूको अनुसन्धान गर्नुपर्ने दायित्व रुसी सरकारको हो। तर यो व्यवस्था वाग्नर समूहले रुसी रक्षा मन्त्रालयसँग गरेको सम्झौतापछिका घटनाहरूमा मात्र लागु हुन्छ।

वाग्नरजस्तो जटिल प्रकृतिको र रहस्यमय सैन्य समूहभन्दा फरक रुसी सेनाको भने आधिकारिक कानुनी व्यवस्था र जबाफदेही संयन्त्रहरू छन्।

रोस्तोभ-अन-डनमा वाग्नर फौज

तस्बिर स्रोत, AFP

तस्बिरको क्याप्शन, रोस्तोभ-अन-डनमा वाग्नर समूहका लडाकुहरू

यद्यपि प्यारिसमा रहेका सिरियाली मानव अधिकार अधिवक्ता माजेन डार्विशका अनुसार वाग्नर समूह रुसी सेनामा सामेल हुँदैमा उक्त समूहबाट पीडित भइसकेका वा हुन सक्ने मानिसहरूलाई न्याय प्राप्त नहुन सक्छ।

कठोर परिश्रमपछि डार्विशले सन् २०१७ मा सिरियामा हमादी बौटा नामक एक सर्वसाधारणलाई यातना दिई हत्या गर्ने वाग्नर लडाकुहरूको पहिचान गरेका छन्। यी लडाकुहरूले सिङ्गो प्रक्रियाको भिडिओ खिचेका थिए र पछि उक्त भयानक घटनाको भिडिओका क्लिपहरू इन्टरनेटमा सार्वजनिक भएका थिए।

रुसका वकिलहरूको सहयोगमा ती लडाकुहरूका विरुद्ध एक फौजदारी उजुरी पनि दर्ता गरिएको थियो।

तर तीमध्यै कसैका विरुद्ध पनि कुनै सजाय नभएको डार्विशले हामीलाई बताएका छन्। बरु उजुरी परेपछि नै तीमध्ये एक जनालाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले एक पदक दिएका छन्।

वाग्नर समूह भङ्ग भए के हुन्छ?

यदि वाग्नर समूह पूर्ण रूपमा भङ्ग भयो भने यसबाट पीडित भएकाहरूलाई न्याय दिलाउन अझै कठिन हुनसक्छ।

प्रायशः फौजदारी उजुरीहरू समूह नभई व्यक्तिका विरुद्ध दायर गरिने भएकाले समूह भङ्ग भए पनि वाग्नर लडाकुहरूमाथि कारबाही गर्न सकिन्छ। तर यसका लागि प्रमाण जुटाउन र अस्तित्वमै नरहेको सङ्गठनको कुन तहलाई दोष दिने भन्ने निर्क्योल गर्न अझ कठिन हुन्छ।

क्रेम्लिनसँगको सहमतिअनुसार हाल अन्तर्राष्ट्रिय स्तरमा काम गरिरहेका वाग्नर लडाकुहरूको भविष्य के हुन्छ भन्ने स्पष्ट छैन। यो समूह हाल लिबिया, सुडान, सिरिया, माली, सेन्ट्रल अफ्रिकन रिपब्लिक, मोजाम्बिक, भेनिज्वेइला, बुर्किनाफासो र म्याडग्यास्करजस्ता देशहरूमा सक्रिय छ।

यदि वाग्नर समूह र रुसी सरकारकारबीच असमझदारी उत्पन्न हुने र यस समूह भङ्ग हुने हो भने रुसी रक्षा मन्त्रालयले यसका अफ्रिकी एकाइहरूलाई सामान पठाउन छाड्ने वाग्नर समूहलाई नजिकबाट नियालिरहेका एक राष्ट्रसङ्घीय स्रोतले बीबीसीलाई बताएका छन्।

उक्त स्रोतका अनुसार त्यसपछि सेन्ट्रल अफ्रिकन रिपब्लिक, लिबिया, सुडान र मालीलगायत देशहरूमा रहेका लडाकुहरूले तलब नपाउन सक्छन् । उनीहरूलाई राजनीतिक तथा सैन्य सहयोग पनि नहुन सक्छ।

अर्थात् हाल अफ्रिकामा खटाइएका वाग्नर लडाकुहरू बेरोजगार भई नयाँ भर्तीका लागि उपलब्ध हुन सक्छन्। अस्थिरता, गृहयुद्ध र विद्रोहसँग जुधिरहेका देशहरूका लागि यो ठूलो खतरा हुन सक्छ।

राजनीतिक शक्त सङ्घर्षका कारण प्राय: सधैँ सर्वसाधारणहरू पीडित हुने गरेका छन्। हाल वाग्नर समूह सक्रिय रहेका देशका सर्वसाधारणहरूले हालको अनिश्‍चितताले कुख्यात वाग्नर समूहको अनियन्त्रित क्रूरतामा वृद्धि नहोस् भन्ने चाहेका छन्।