वाग्नर प्रमुख प्रिगोजिनको विदेशी गुप्तचरसँग सम्बन्ध भएको आरोप

तस्बिर स्रोत, IZVESTIA
- Author, भिटाली शेफ्चेन्को
- Role, रुस सम्पादक, बीबीसी मोनिटरिङ
रुस सरकारको नियन्त्रणमा रहेका टेलिभिजन च्यानलहरूले सैन्य विद्रोहको असफल प्रयास गरेका वाग्नर प्रमुख येभेग्नी प्रिगोजिनको तेजोबध गर्न खोजेको जस्तो देखिने अभियान सुरु गरेका छन्।
त्यहाँका प्रमुख च्यानलहरूले सेन्ट पिटर्स्बर्गस्थित प्रिगोजिनको भव्य निवासमा खानतलासीको क्रममा खिचिएको दाबी गरिएका तस्बिरहरू प्रसारण गर्दै उनको सम्पन्नताले उनमा दुष्प्रभाव पारेको तर्क गरेका छन्।
उनको आपराधिक पृष्ठभूमि केलाउँदै ती च्यानलहरूले प्रिगोजिन लालचबाट निर्देशित भएको र उनको सम्बन्ध विदेशी गुप्तचरसँग रहेको दाबी गरेका छन्।
तर प्रिगोजिनले रुसी सैन्य नेतृत्वबारे निरन्तर गरेको आलोचना र रुसी सेनाले कसरी युक्रेनमा युद्ध गरेको छ भन्ने विषयमा ती च्यानलले केही बोलेका छैनन्।
रुसको सरकारी संयन्त्रबाट प्रिगोजिनको व्यक्तिगत जीवन र उनको पृष्ठभूमिबारे यति धेरै नकारात्मक तथा हानिकारक विवरण प्रसारित भएको यो पहिलो पटक हो।
केही समयअघिसम्म पनि रुसी टेलिभिजनहरूले भाडाका सैनिकहरूको समूह वाग्नरलाई सकारात्मक ढङ्गले प्रस्तुत गरिरहेका थिए।
प्रिगोजिनले नेतृत्व गरेको निजी सैन्य समूह युक्रेन आक्रमणमा रुसको सरकारी सेनासँग मिलेर युद्ध लडेको थियो।
नक्कली कपाल र राहदानीको थुप्रो
प्रिगोजिनको घरभित्र खिचिएको भनिएका तस्बिरहरू पहिलो पटक बुधवार सरकारी टेलिभिजन नेटवर्क रोसिया-वनले प्रसारण गरेको थियो।
ती तस्बिरमा घरको भित्री सजावटका लागि महँगा सामग्री प्रयोग गरिएको देख्न सकिन्छ।
“आउनुहोस्, सत्यनिष्ठ यी लडाकु (प्रिगोजिन) जो दुइटा फौजदारी अभियोगमा दोषी ठहर भइसकेका व्यक्ति हुन् र जसले सधैँ बाँकी अरू सबैलाई चोर भनिरहे, उनी कसरी बस्छन्, हेरौँ," सिक्स्टी मिनट्स नामक कार्यक्रममा त्यसका प्रस्तोता भन्छन्।

तस्बिर स्रोत, IZVESTIA
“भ्रष्ट्राचार र अपराधविरोधी यी अभियानकर्मीको यो दरबार हेर्नुहोस्,” एडुआर्ड पेत्रोभले व्यङ्ग्यात्मक शैलीमा भन्छन्।
टेलिभिजनहरूमा प्रसारित दृश्यमा नगदको थुप्रो, विभिन्न प्रकारका हातहतियार, घरभित्रको विलासी सजावट र फराकिला बगैँचाहरू तथा उनको घरबाहिर रोकिएको हेलिकप्टर पनि देखिन्छ।
विभिन्न किसिमका नक्कली कपाल र प्रेगोजिनका लागि फरकफरक नाममा जारी गरिएका नक्कली राहदानीका दृश्य पनि टेलिभिजनबाट प्रसारित भए।
रुसको सबैभन्दा लोकप्रियमध्येको उक्त च्यानलको साँझपखको प्रमुख समाचार बुलेटिनमा पनि त्यस्तै दृश्यहरू प्रसारित भए। उक्त टेलिभिजनले सुनका ढिक्का र "सेतो पाउडरका सन्दिग्ध पोकाहरू" देखाउँदै त्यो गैरकानुनी लागुऔषध भएको दाबी गर्यो।
उक्त टेलिभिजनले प्रिगोजिनको आपराधिक विगतबारे बनाइएको सामग्री प्रसारण गर्न लामो समय खर्चिएको थियो।

तस्बिर स्रोत, IZVESTIA
प्रिगोजिनको विगत
प्रिगोजिन सन् १९७९ मा १८ वर्षको उमेरमा चोरीको अभियोगमा दोषी ठहर भएका थिए। उनलाई साढे दुई वर्षको जेल सजाय सुनाइएको थियो। तर उनी तत्कालै जेल भने जानुपरेको थिएन।
त्यसको दुई वर्षमै उनलाई चोरी र डकैतीको कसुरमा १३ वर्षको जेल सजाय तोकियो। त्यसपछि उनले नौ वर्ष कारागारमा बिताए।
“उनीहरूका अनुसार उनले जेलभित्रै अपराधका नाइकेहरूसँग सम्बन्ध बनाए र 'हटडग' विक्रेताबाट ठूलो भान्सा चलाउने योजनामा सहयोग पाए,” प्रिगोजिनले विगतमा क्रेम्लिनका लागि खाना उपलब्ध गराउने भान्सा चलाएको प्रसङ्गलाई सङ्केत गर्दै रोसिया-वन टेलिभिजनका संवाददाताले भने।


पश्चिमा गुप्तचरसँग सम्बन्ध भएको आरोप
यही भूमिकाका कारण प्रिगोजिनलाई “क्रेम्लिनका भान्से” भनेर पनि चिनियो।
रुसको सरकारी टेलिभिजनमा देखाइएको एउटा तस्बिरमा एउटा ठूलो हतौडा देखिन्छ छ जसमा “आवश्यक परे महत्त्वपूर्ण वार्तामा प्रयोग गर्नका लागि” भनेर लेखिएको छ।
ती शब्दले वाग्नरले सन् २०२२ मा धोका दिएको भन्दै एक व्यक्तिलाई हतौडा हानेर हत्या गरेको प्रसङ्गलाई सङ्केत गरेको ठानिन्छ।

तस्बिर स्रोत, IZVESTIA
त्यही साँझ अर्को सरकारी टेलिभिजन 'च्यानल वन'ले येभेग्नी प्रिगोजिनको सम्बन्ध पश्चिमा गुप्तचरहरूसँग रहेको र कथित विद्रोहमा आफ्नो संलग्नता स्वीकार गर्न उनीहरूले “सङ्कोच” मानेको दाबी गरिएको थियो।
रुसमा सबैभन्दा धेरै हेरिने तीन च्यानलमध्येको एनटीभीले प्रिगोजिन लोभ र आपराधिक विगतबाट प्रेरित भएको तर्क गर्यो।
“अहिले जे भएको छ त्यो उनको स्वाभाविक विगतका कारण हो। व्यापारिक स्वार्थ र आपराधिक विगत,” उसले भनेको छ।
प्रिगोजिनको धनप्रति लक्षित गर्दै एनटीभीले “सत्यका लागि लड्न धेरै पैसा चाहिने” भन्दै कटाक्ष गर्यो।

तस्बिर स्रोत, IZVESTIA
वाग्नरमाथि राज्यको लगानी
युक्रेनमा रुसले पूर्णस्तरको आक्रमण सुरु गरेको कैयौँ महिनासम्म पनि रुसका सरकारी सञ्चारमाध्यम र प्रिगोजिनको आफ्नै सञ्चारटोलीले वाग्नर अस्तित्वमा रहेको अस्वीकार गरेका थिए।
तर त्यसको केही समयपछि सरकारी टेलिभिजनहरूले युद्धमा वाग्नरको संलग्नताको प्रशंसा गर्न थाले।
आफूले असक्षम दाबी गरेका रुसका सैन्य कमान्डरहरूलाई कारबाही गर्ने वाचा गर्दै प्रिगोजिनले विद्रोह गरेपछि सरकारी सञ्चारमाध्यमहरूमा वाग्नरबारे उल्लेख हुन छोडेको थियो।


चौबीस घण्टाभित्र साम्य भएको सैन्य विद्रोहपछि सामाजिक सञ्जालमा कुनै प्रतिक्रिया नदिएका प्रिगोजिनले उनीविरुद्ध लक्ष्य गर्दै सार्वजनिक भएका तस्बिरहरूबारे पनि प्रतिक्रिया दिएका छैनन्।
तर वाग्नरसँग निकट मानिने एउटा च्यानलले भने उनीजस्ता धनाढ्य व्यापारीको त्यत्तिको महँगो घर हुनु स्वाभाविक भएको दाबी गरेको छ।
यसअघि वाग्नरको राज्यसँग सम्बन्ध नरहेको दाबी गरिए पनि सैन्य विद्रोहपछि राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २०२२ को मेयता एक वर्षमा एक खर्ब अमेरिकी डलर वाग्नरमा लगानी गरेको बताएका थिए।













