रुसको वाग्नर समूह जस्ता भाडाका सेनाहरूले कसरी संसारभर काम गर्छन्

तस्बिर स्रोत, Reuters
- Author, ज़ुबैर अहमद
- Role, बीबीसी संवाददाता
भाडाका सैनिक उपलब्ध गराउने निजी कम्पनी वाग्नरका प्रमुख येभ्गेनी प्रिगोजिन असफल विद्रोहपश्चात् बेलारुस पुगेका छन्। बेलारुसका राष्ट्रपति अलेक्ज्यान्डर लुकाशेन्कोले गत मङ्गलवार यसको पुष्टि गरे।
मङ्गलवार नै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना सेनालाई सम्बोधन गर्दै वाग्नर विद्रोहको असफलतापछि "गृहयुद्ध रोकिएको" बताए।
वाग्नर समूहको विद्रोहले युक्रेनसँगको युद्धमा होमिएका राष्ट्रपति पुटिनलाई जसरी निकै कठिन परिस्थितिमा पारिदियो त्यसलाई लिएर निजी सेनाको भूमिकामाथि प्रश्न उठ्न थालेको छ।
भाडाका सैनिकहरूको अराजक दुनियाँबारे चर्चा परिचर्चा हुन थालेको छ। उनीहरूको दुनियाँ द्वन्द्वले घेरिएको छ। जहाँ जहाँ द्वन्द्व हुन्छ त्यहाँ उनीहरूको उपस्थिति हुन्छ। उनीहरू विश्वका प्रभावशाली देशहरूका लागि काम गर्छन्। त्यति मात्र होइन केही गैर सरकारी सङ्गठनले पनि उनीहरूको सेवा लिएका हुन्छन्।
निजी सेना कैयौँ देशमा सक्रिय छन् र उनीहरूको सङ्ख्यामा घटबढ भइरहन्छ। तर रुसको वाग्नर समूह र अमेरिकाको एकेडेमी (विगतमा ब्ल्याकवाटर नामबाट परिचित) दुई यस्ता प्रख्यात भाडाका सेना (पीएमसी) उपलब्ध गराउने कम्पनी हुन् जो पछिल्ला वर्षहरूमा अत्यधिक विवादका कारण निकै चर्चामा आएका छन्।

तस्बिर स्रोत, Getty Images
सन म्याकफेट वाशिङ्टन डीसीस्थित न्याशनल डिफेन्स युनिभर्सिटीका प्राध्यापक हुन। वर्षौँसम्म निजी कम्पनीमा सेनाका रूपमा काम गरेका उनले उक्त विषयबारे दुई वटा किताब र केही उपन्यास लेखेका छन्। बीबीसीसँग टेलिफोन कुराकानीका क्रममा उनले निजी सेना र भाडाका सेनाको दुनियाँ आफैमा एउटा उद्योग रहेको बताए।
‘‘भाडाका सैनिक र निजी सेनाको खतराले भरिएको जिन्दगीबारे सबैलाई थाहा दिनका लागि मैले लेखेको हुँ। यो उद्योग लगाम बिना नै अघि बढिरहेको छ र प्रभावशाली देशहरूले यो विषयलाई गम्भीररूपमा लिएका छैनन्। यसको सुरुवात सन् १९९०को दशकमा भएको हो। तर सरकारहरू यसमा लगाम लगाउने विषयमा भने सुस्त भएका छन्। यदि अहिले जस्तै उनीहरू अघि बढिरहने हो भने अन्तर्राष्ट्रिय सम्बन्धमा यसको प्रभाव पर्नेछ। मानिसहरूले निजी सेना तयार पार्ने सोच बनाउने छन्। भोलिका दिनमा इलोन मस्क (ट्विटर र टेस्लाका लगानीकर्ता)ले आफ्नै निजी सेना बनाउन सक्छन्। जोकोहीले निजी सेना राख्न सक्छ। यो रुझान जारी रहे दुनियाँ फेरिनेछ, अराजकता फैलने छ।’’


६२ वर्षका प्रीगोजीनलाई यहाँसम्म पुर्याउने व्यक्ति राष्ट्रपति पुटिन हुन। विश्वभर रुसी प्रभाव पुनः स्थापित गर्नका लागि उनले सन् २०१४मा वाग्नर समूह गठन गरेका थिए।
दिल्लीस्थित राजनीति र विदेश मामिलाबारे एक जना प्रख्यात विश्लेषक डा. सुव्रोकमल दत्ता वाग्नरको विद्रोहपश्चात् पुटिनको शासनमा सङ्कट आए जस्तो देखिएको बताउँछन्। उक्त समूहको सङ्ख्या २० देखि ३५ हजारको आसपास छ र उ दक्षिण तथा पूर्वी युक्रेनमा युक्रेनी सेनाविरुद्ध व्यापक रूपमा सफल भएको छ।
वाग्नर समूह रुसको निजी सेना हो जसलाई फरक फरक समयमा फरक फरक स्थानमा परिचालन गरिएको छ। सन् २०१४मा रुसले क्राइमियामाथि नियन्त्रण गर्दा पनि वाग्नर समूहको ठूलो योगदान रहेको थियो।
निजी सेनाको गतिविधि विवादास्पद रहेको छ। त्यसको उदाहरण हो सन् २००७को सेप्टेम्बर महिनामा इराकको राजधानी बगदादमा भएको नरसंहार। उक्त घटनामा अमेरिकाको निजी सुरक्षा कम्पनी ब्ल्याकवाटर वर्ल्डवाइड (जुन हाल एकेडेमीको नामबाट चिनिन्छ)का सैनिक सामेल भएका थिए जसलाई इराकमा सुरक्षा सेवा उपलब्ध गराउनका लागि अमेरिकी सरकारले अनुबन्ध गरेको थियो।

तस्बिर स्रोत, Getty Images
घटना भएको दिन ब्ल्याकवाटर सेनाका चार वटा बख्तरबन्द गाडी बगदादको मध्य भागमा अघि बढिरहेका थियो।
त्यो सवारीमा निकै धेरै हतियारसहित सुरक्षा ठेकेदारहरू अघि बढिरहेका थिए जसलाई अमेरिकाको विदेश मन्त्रालयले एउटा कूटनीतिक टोलीको सुरक्षाको जिम्मेवारी सुम्पेको थियो।
प्रत्यक्षदर्शी र घटनाबारे भएको जाँचका अनुसार एउटा कार ब्ल्याकवाटरको सवारी नजिकै आएपछि त्यो प्रकरण सुरु भएको हो। त्यसपछि के भयो भन्ने कुरा विवादित छ। तर ब्ल्याकवाटरका कर्मचारीहरूले आउँदै गरेको गाडीबाट खतरा महसुस गरे र व्यस्त चोकमा पैदल यात्रु र सवारीसाधनमाथि अन्धाधुन्ध गोली चलाए।
गोलाबारीमा १७ इराकी नागरिकको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएका थिए।
पीडितहरूमा पुरुष, महिला र केटाकेटीहरू थिए, जसमध्ये धेरै निःशस्त्र थिए र उनीहरूबाट उक्त सवारीलाई कुनै स्पष्ट खतरा थिएन। इराक सरकारले त्यो घटनाको चर्को आलोचना गरेको थियो। साथै यसको अन्तर्राष्ट्रिय रूपमा निन्दा पनि गरिएको थियो।

तस्बिर स्रोत, Getty Images
उक्त नरसंहारबारे अमेरिकाले गरेको अनुसन्धानमा ब्ल्याकवाटरका सेनाको बल प्रयोग अत्यधिक र अनुचित रहेको भन्ने निष्कर्ष निकाल्यो। अमेरिकाको न्याय मन्त्रालयले पछि घटनामा संलग्न ब्ल्याकवाटरका धेरै कर्मचारीहरूलाई हत्याको आरोप लगाएको थियो।
अफ्रिकाका कैयौँ देशहरूमा निजी सेनाका रूपमा काम गरिसकेका प्राध्यापक सन म्याकफेट यी सैनिकहरू जबाफदेही नरहेकाले विभिन्न देशका सरकारहरूले यसको प्रयोग गर्ने बताउँछन्।
‘‘भाडाका सैनिकलाई काम दिनुको खास कारण यो हो। सरकारी सिपाहीले कसैको हत्या गरे उसको कोर्ट मार्सल गरिन्छ। तर निजी सेनाका कसैले त्यही काम गरे उनीहरू आफ्नो घर फर्कन पाउँछन्,’’ उनले भने।

तस्बिर स्रोत, Getty Images
भाडाका सैनिकको इतिहास
भाडाका सैनिकको भूमिका हाम्रो इतिहास जतिकै पुरानो छ। व्यक्तिगत स्वार्थ, राजनीतिक स्वार्थ वा वैचारिक कारणले उनीहरू शताब्दियौँदेखि युद्धमा संलग्न छन्।
निजी सेनाहरू राज्यको नियमित सेनालाई सहयोग गर्न, व्यावसायिक हितहरूको रक्षा गर्न, र विशेष सैन्य कारबाही सञ्चालन गर्ने जस्ता विभिन्न कारण प्रयोग गर्ने गरिएको छ।
प्राचीन अनि मध्यकालीन समयमा इजिप्टमा फ़िरौनले छिमेकी क्षेत्रहरूबाट भाडाका सैनिक लिने र स्थायी सेना पनि राख्ने गरेका थिए। प्राचीन ग्रीस, एथेन्स र स्पार्टा जस्ता 'सिटीस्टेटहरूले प्राय आफ्नो सैन्य बललाई बलियो बनाउनका लागि भाडाका सैनिकहरूलाई काममा राख्ने गर्थे।
प्राचीन रोमन साम्राज्यले आफ्ना सेनाहरूको आवश्यकता पूर्ति गर्नका लागि जर्मनीका जनजातिहरूलाई भाडाका सेना नियुक्त गरेको थियो। सम्राट्हरूले निजी अङ्गरक्षकहरूको एकाइ पनि गठन गरेका थिए।

तस्बिर स्रोत, Getty Images
औपनिवेशिक युग र पुनर्जागरण
युरोपेली अन्वेषण: निजी कम्पनीहरू जस्तै डच इस्ट इन्डिया कम्पनी र ब्रिटिश इस्ट इन्डिया कम्पनीले पहिचान भएका नयाँ ठाउँहरूमा आफ्नो व्यावसायिक हितको रक्षा गर्न निजी सेनाहरू स्थापना गरे
इटलीको पुनर्जागरण: भेनिस र फ्लोरेन्स जस्ता शक्तिशाली सिटीस्टेटहरूले आफ्ना तर्फबाट युद्ध लड्न भाडाका सेनाहरू प्रयोग गरे।
साम्राज्यवादको युग
युरोपेली साम्राज्यहरू: औपनिवेशिक काल उचाइमा रहेका बेला युरोपेली शक्तिहरूले आफ्नो उपनिवेशहरू विस्तार गर्न र नियन्त्रण कायम राख्न निजी र भाडाका सैनिक नियुक्त गरे। ब्रिटिश साउथ अफ्रिका कम्पनी र कङ्गो फ्री स्टेटको फोर्स पब्लिक जस्ता कम्पनीहरूका आफ्नै निजी सेना थिए
अमेरिकी क्रान्ति: अमेरिकी क्रान्तिकारी युद्धका बेला अमेरिकी उपनिवेशवादी र ब्रिटिश साम्राज्य दुवैले भाडाका सेना नियुक्त गरेका थिए

तस्बिर स्रोत, Getty Images
आधुनिक युगमा भाडाका सेनाको प्रयोग
औपनिवेशवाद पछिका सङ्घर्ष: २०औँ शताब्दीको उत्तरार्धमा निजी सैन्य कम्पनीहरू (पीएमसी)ले प्रमुखता प्राप्त गरे। त्यस्ता समूहले सरकार र सरकारका तर्फबाट परिचालित विभिन्न संस्थाहरूको तर्फबाट अफ्रिका र बल्कन जस्ता धेरै युद्धहरूमा भाग लिए।
इराक र अफगानिस्तान युद्ध: इराक र अफगानिस्तान युद्धको समयमा अमेरिका र उसका सहयोगी राष्ट्रहरू ब्ल्याकवाटर जस्ता पीएमसीहरूमा धेरै निर्भर थिए। यी पीएमसीहरूले सुरक्षा, सरसामान सम्बन्धी सहायता र अन्य सेवाहरू प्रदान गरे।
समसामयिक कार्यहरू: पीएमसीले विश्वभर द्वन्द्व र द्वन्द्वपछिको वातावरणमा भूमिका खेल्न जारी राखेको छ। तथापि उत्तरदायित्व, पारदर्शिता र सम्भावित मानवअधिकार उल्लङ्घनका सन्दर्भमा उनीहरूको प्रयोग विवादास्पद बनेको छ।
भारतमा निजी सेनाको इतिहास
डा. सुवरोकमल दत्ताका अनुसार विजयनगर साम्राज्यमा सेनाको एउटा अंश थियो जसमा उज्बेकिस्तान , कजाखस्तान जस्ता मध्य एशियाली देश वा अफगानिस्तान र इरान जस्ता देशहरूबाट आएका लडाकुहरू थिए।
उनीहरूलाई रकम दिइन्थ्यो, ‘कनट्र्याक्ट’मा काम गर्थे र विजयनगर साम्राज्यले उनीहरूलाई अहमदनगरका सुल्तानहरू र गोलकोंडा अनि हैदरावादका निजामहरू विरुद्ध राम्रोसँग प्रयोग गरेको थियो।
उनी भन्छन्, "मध्य एशियाका सर्वसाधारण मिलेर बनेको निजी सेनाले पनि चोल साम्राज्यको विस्तारमा महत्त्वपूर्ण भूमिका खेलेको छ। दिल्ली र मुगल साम्राज्यमा पनि निजी सेनाको प्रयोग सामान्य थियो। औपनिवेशिक साम्राज्यको कुरा गर्दा नयाँ ठाउँ र नयाँ देश कब्जा गरिरहँदा निजी सेनाको सदुपयोग त्यो समयमा पनि भइरहेको थियो। कब्जा गरिएका देशहरूका धेरै मानिसहरूलाई बल प्रयोग गरी निजी सेनाका रूपमा प्रयोग गरिन्थ्यो। उनीहरूलाई युद्ध मैदानमा क्रूर रूपमा प्रयोग गरिन्थ्यो।’’

तस्बिर स्रोत, Getty Images
के यस्ता प्रयोग गैर कानुनी हुन, के तीनलाई नियमन गरिन्छ?
डा. सुवरोकमल दत्ता उनीहरूको अनुगमन गर्न आवश्यक रहेको बताउँछन्। त्यसका लागि अन्तर्राष्ट्रिय महासन्धि, कानुन आवश्यक रहेको उनी बताउँछन्।
उनी भन्छिन् ‘‘२१औँ शताब्दीमा अमेरिका, युरोप र रुसले जसरी निजी सेना प्रयोग गरी अन्य देशहरूमाथि कब्जा जमाउन, देशका सरकारहरूलाई अस्थिर बनाउन र आफ्ना नीतिहरू लागू गर्न प्रयोग गरेका छन् त्यसले अन्तर्राष्ट्रिय कानुन, भियना महासन्धिको उल्लङ्घन गरेको छ। अमेरिका एउटा उदाहरण हो। उसले इराकमा निजी सेनाको प्रयोग जसरी गर्यो त्यो अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन थियो। जसको परिणाम मानव अधिकारको घोर उल्लङ्घन भएको छ। निजी सेनाको प्रयोग रोक्न संयुक्त राष्ट्र सङ्घको निगरानीमा अन्तर्राष्ट्रिय सम्झौता हुनुपर्छ भन्ने मलाई लाग्छ, अब यो बन्द गर्नुपर्ने बेला आएको छ।‘’
प्राध्यापक सन म्याकफेटका अनुसार निजी सेना र भाडामा रहेका सेनाहरूलाई रोक्न, नियमन गर्न वा कानुन बनाउनमा दुई वटा बाधाहरू छन्।

तस्बिर स्रोत, Getty Images
पहिलो कुरा त संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्का पाँच स्थायी सदस्यहरू सबैभन्दा ठूलो सङ्ख्यामा निजी सेनाहरू प्रयोग गर्ने देशहरू छन्। उदाहरणका लागि, अमेरिकाले सबैभन्दा बढी निजी सैनिक प्रयोग गर्छ।
उनका अनुसार दोस्रो बाधा यस्तो छ: ‘‘यदि तपाईँले राम्रो अन्तर्राष्ट्रिय कानुन बनाउनुभयो भने पनि उदाहरणका लागि बेलारुस भित्रका भाडाका सैनिकहरूलाई कसले पक्राउ गर्छ? लिबिया, यमन, इराकमा गएर उनीहरूलाई कसले पक्राउ गर्छ। राष्ट्रसङ्घले त्यसो गर्न सक्दैन। केही यस्ता व्यक्तिहरू छन् जसले अन्तर्राष्ट्रिय कानुनको माग गरिरहेका छन् तर यो केवल एक कल्पना मात्र हो।’’
म्याकफेट जस्ता विज्ञहरू र निजी सेनामा काम गरेका व्यक्तिहरूका अनुसार यो उद्योग बढ्दै गइरहेको छ, यसलाई कसैले रोक्न सक्दैन।
उनीहरूका अनुसार उनलाई ठूला शक्तिले प्रयोग गरिरहेका छन् जुन चिन्ताको विषय हो ।








