‘वाग्नर प्रमुख प्रिगोजिन रुसमै छन्’: लुकाशेन्को

तस्बिर स्रोत, Reuters
- Author, सेरा रेन्सफर्ड, वार्सा र टमस म्याकिन्टोश, लन्डन
- Role, बीबीसी न्यूज
- Published
गत महिना रुसविरुद्ध छोटो अवधिमा नै साम्य हुन पुगेको सैन्य विद्रोह उद्घोष गर्ने नेता तथा विवादित सैन्य समूह वाग्नरका प्रमुख येभ्गेनी प्रिगोजिन पहिले दाबी गरिएअनुसार बेलारुसमा नभई रुसमा नै रहेका बेलारुसका नेताले बताएका छन्।
उक्त सैन्य विद्रोहयता प्रिगोजिन कहाँ छन् भन्ने विषय रहस्यमा नै रहँदै आएको छ।
सैन्य विवाद हल गर्न भएको सम्झौतामा उनीविरुद्धका अभियोगहरू फिर्ता लिने र उनलाई बेलारुसमा बसाइसराइको अवसर दिने कुरा रहेको बताइएको थियो।
तर बिहीवार बेलारुसका नेता अलेक्सान्डर लुकाशेन्कोले भने, “जहाँसम्म प्रिगोजिनको कुरा छ उनी हाल सेन्ट पिटर्स्बर्गमा छन्। उनी बेलारुसको सीमाभित्र छैनन्।”
लुकाशेन्कोले नै प्रिगोजिन नेतृत्वको सैन्य विद्रोह अन्त्य गर्ने सम्झौताको अगुवाइ गरेका थिए र गत सातामात्रै उनले प्रिगोजिन बेलारुस आइपुगेको पुष्टि गरेका थिए।
"हो, साँच्चै, उनी आज बेलारुसमा छन्," उनलाई सैन्य विद्रोह परित्याग गरेर निर्वासनमा आउन सहमत गराएको श्रेय लिँदै लुकाशेन्कोले गत साता भनेका थिए।
बीबीसीले निगरानी गरेर जुन महिनाको अन्त्यतिर प्रिगोजिनको निजी जेट विमान बेलारुस गएको र सोही साँझ रुस फर्केको थाहा पाएको थियो।


उक्त जेट विमानले त्यसयता सेन्ट पिटर्स्बर्ग र मस्कोबीच अनेकौँ उडानहरू गरिसकेको छ। तर उक्त यात्रामा प्रिगोजिन विमानमा सवार थिए कि थिएनन् भन्ने चाहिँ स्पष्ट भएको छैन।
वाग्नरका प्रमुखको हालको अवस्थितिका विषयमा बेलारुसका नेता लुकाशेन्कोको यो पछिल्लो दाबीलाई पनि बीबीसीले पुष्टि गर्न सक्दैन।
बिहीवार बोल्दै लुकाशेन्कोले “मलाई जहाँसम्म थाहा छ” भन्दै वाग्नरका बाँकी लडाकुहरू पनि आफ्नै सैन्य शिविरमै रहेका बताएका छन्। त्यसको अर्थ उनीहरू पूर्वी युक्रेन वा रुसको क्रास्नोडार क्षेत्रस्थित सैन्य तालिम केन्द्रमा हुन सक्छन्।
बेलारुसका नेताका अनुसार वाग्नरलाई उसका केही लडाकुहरूलाई बेलारुसमा तैनाथ हुन दिने प्रस्ताव अझै पनि कायमै छ। उनले त्यसका लागि सोभियतकालीन कतिपय सैनिक क्षेत्रहरू उनीहरूलाई प्रयोग गर्न दिने पनि बताएका छन्। त्यस्तो प्रस्तावले यसअघि उनको छिमेकमा रहेका नेटो राष्ट्रहरूलाई झस्काइदिएको थियो।
“तर त्यसका लागि वाग्नरको योजना अर्कै छ,” उनले भने। “निश्चय नै त्यो के हो भनेर म तपाईँलाई बताउँदिनँ।”
“तर हालको लागि भने उनीहरूको स्थानान्तरणको मुद्दा समाधान भइसकेको छैन,” लुकाशेन्कोले भने।


सन् १९९४ देखि बेलारुसको सत्तामा रहेका लुकाशेन्कोले सन् २०२० को निर्वाचनमा धाँधली गरेर आफ्नो शासन लम्ब्याएको ठानिन्छ।
उनी वाग्नरका लडाकुहरू बेलारुसमा आउनु जोखिमपूर्ण कुरा हो भन्ठान्दैन्। उनीहरूले बेलारुसविरुद्ध हतियार उठाउँछन् भन्ने पनि आफूलाई नलागेको उनले बताएका छन्।
वाग्नर समूह भाडाका सैनिकहरूको एउटा निजी समूह हो जसले युक्रेनमा रुसको नियमित सैनिकहरूसँगै लागेर युक्रेनविरुद्ध लडाइँ गरिरहेको छ।
प्रिगोजिनको सैन्य विद्रोहका क्रममा वाग्नरका भाडाका सैनिकहरूले युक्रेनको युद्धभूमिमा रहेका शिविरहरू पार गरेर रुसको दक्षिणी सहर रोस्टोभ अन डोन प्रवेश गरी त्यहाँका कतिपय सुरक्षा संरचनाहरू आफ्नो नियन्त्रणमा लिएका थिए।

तस्बिर स्रोत, Reuters
कस्तो क्षति
त्यसपछि वाग्नरका लडाकुहरूको समूह त्यहाँबाट उत्तरमा रहेको मस्कोतर्फ अघि बढेको थियो।
त्यसका कारण क्रेम्लिनले देशको राजधानी लगायतका कतिपय क्षेत्रमा सुरक्षा व्यवस्था कडा तुल्याउनु परेको थियो।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उक्त सैन्य विद्रोहका क्रममा रुसी पाइलटहरूको ज्यान गएको पछि बताएका थिए। त्यस बेला कतिपय सैन्य विमानहरू पनि नष्ट गरिएको जस्तो देखिएको छ।
प्रारम्भमा पुटिनले उक्त समूहको कार्यलाई देशद्रोह भनेर आरोप लगाएका थिए। तर त्यस्तो विद्रोह अन्त्य गर्न गरिएको एक सम्झौताअन्तर्गत प्रिगोजिनलाई सुरक्षाको प्रतिबद्धता व्यक्त गरिनुका साथै वाग्नरविरुद्धका रुसी फौजदारी अभियोगहरू फिर्ता लिइएको थियो।
वाग्नरका लडाकुहरूलाई स्वेच्छापूर्वक रुसको नियमित सेनामा भर्ना भएर करारपत्र हासिल गर्न सक्ने, आआफ्नो घर फर्किन सक्ने वा बेलारुसतर्फ जान सक्ने विकल्प दिइएको थियो।



















