महिलाहरूले उच्च शैक्षिक प्रगति गरेपछि अब 'डेटिङ डाउन' सामान्य बन्दै गएको हो?

तस्बिर स्रोत, kkshepel/Getty Images
- Author, सेलिन गिरिट
- Role, बीबीसी विश्व सेवा
अनेकौँ दन्त्यकथामा जस्तो दयनीय स्थितिमा रहेकी गरिब युवती र राजकुमारको बिहे हुने प्रसङ्गदेखि प्रसिद्ध ब्रिटिश साहित्यकार जेन अस्टेनको प्राइड एन्ड प्रेजुडिस पुस्तकमा वर्णित नायक नायिकाको बिहेको प्रसङ्गसम्म, महिलाले आफूभन्दा माथिल्लो आर्थिक, सामाजिक वा शैक्षिक हैसियत भएका पुरुषसँग बिहे गर्नु पर्छ भन्ने खालको सोचले लामो समयदेखि परम्परागत व्यवहारलाई स्वरूप दिँदै संस्कृतिको आकार दिएका छन्। तर अहिलेको समयमा धेरै महिलाले उच्च शिक्षा र आर्थिक स्वतन्त्रता प्राप्त गरिरहेसँगै यी परम्परागत व्यवहारहरू परिवर्तन हुँदै छन्।
अस्ट्रियास्थित युनिभर्सिटी अफ भिएनाकी समाजशास्त्री नाद्या स्टाइबर भन्छिन्, "युवाहरूमाझ अहिले असमानता बढ्दो छ, अहिले पुरुषभन्दा उच्च शिक्षा प्राप्त गरेका महिलाहरू उल्लेखनीय रूपमा धेरै छन्।"
"परिणामस्वरूप धेरै महिलाहरूले आफू सरह पढेको वा सामाजिक आर्थिक हैसियत भएकाहरू जोडा खोज्ने भए पनि उनीहरू त्यसपछिको दोस्रो उत्तम विकल्पमा जान थालेका छन् जसलाई "पार्टनरिङ डाउन" अर्थात् आफूभन्दा कम हैसियतका जोडा खोज्ने भनिन्छ," उनी भन्छिन्।
समाज विज्ञानमा यस्तो कार्यलाई "हाइपोग्यामी (आफूभन्दा कम हैसियत भएकाहरूसँग गरिने बिहे) को बढोत्तरी" भनिएको छ।
'हाइपोग्यामी' भनेको के हो
हाइपोग्यामीले आफूभन्दा कम सामाजिक, आर्थिक र शैक्षिक स्तर भएका मानिसहरू बिहे गर्ने या सम्बन्ध राख्ने कुरालाई जनाउँछ।
परम्परागतरूपमा महिलाका लागि त्यसको उल्टो अर्थात् हाइपरग्यामी (आफूभन्दा माथिल्लो स्तरका मानिससँग बिहे गर्ने)लाई धेरैजसोले रोज्ने र सामाजिक रूपमा स्वीकार्यरूपमा हेरिन्थ्यो। सांस्कृतिक मानकले महिलाहरूलाई आर्थिक रूपमा स्थिर र उनीहरूको भन्दा बढी उमेरका वा बढी पढेका मानिसहरू खोज्न प्रोत्साहन गर्थ्यो।

तस्बिर स्रोत, Historical Picture Archive
"ऐतिहासिक रूपमा केटाहरूलाई - जसले घरबाहिर निस्केर काम गर्नुपर्थ्यो - केटीहरूलाई भन्दा बढी शिक्षा दिइन्थ्यो - केटीहरूले घरमा आफ्नी आमासँग घरेलु जिम्मेवारी सिक्थे," ब्रिटिश समाजशास्त्री तथा लन्डनस्थित थिङ्कट्याङ्ककी सिभिटास की रिसर्च फेलो क्याथरिन हकिम भन्छिन्।
उनको भनाइ छ, "जोडीहरूबीच उमेर र शिक्षामा रहने गरेको ठूलो अन्तरले पितृसत्ता मौलाउन मद्दत गर्यो। आधुनिक र सम्पन्न समाजको द्योतक चाहिँ महिला र पुरुषबीचको शैक्षिक समानता हो।"
सङ्ख्या आएको परिवर्तन
पछिल्लो तथ्याङ्कले बिहेको दृश्य परिवर्तन भइरहेको देखाउँछ। पीउ रिसर्च सेन्टरले सन् २०२३ मा गरेको अध्ययनले अमेरिकामा विपरीतलिङ्गीबीच हुने विवाहको २४ प्रतिशतमा महिलाहरूले तिनका श्रीमान्को भन्दा बढी शिक्षा प्राप्त गरेको पाइयो। त्यस्तो सङ्ख्या सन् १९७२ मा १९ प्रतिशत थियो।
त्यही अध्ययनले २९ प्रतिशत जति बिहे गरेका जोडीले बराबर जस्तो कमाइ गर्ने गरेको देखाउँछ। परम्परागत नमुना नै अहिलेसम्म बहुमतमा भए पनि ५० प्रतिशत श्रीमान्हरू नै बिहान बेलुकाको छाक जुटाउने प्राथमिक भूमिकामा पाइयो भने १६ प्रतिशत महिला मात्र त्यस्तो प्राथमिक भूमिकामा पाइए।
गएको पाँच दशकमा आफ्ना श्रीमान् जत्तिकै वा श्रीमान्को भन्दा बढी कमाउने महिलाको सङ्ख्या तेबरले बढेको पाइयो।

तस्बिर स्रोत, Mark Lawrence/TV Times
यो परिवर्तनले लामो समयदेखि चल्दै आएको लैङ्गिक मान्यतालाई चुनौती दिइरहेका छन् र जोडीहरूका बीचको अपेक्षालाई पुन: परिभाषित गर्दै छन् जसबाट विकास भइरहेको वास्तविकता र चल्दै आएका सामाजिक प्राथमिकताबीच टकराव पैदा भइरहेको छ।
"केही महिलाले अहिले पनि आफूभन्दा माथिका सामाजिक आर्थिक हैसियत भएका पार्टनर खोज्छन् भने कैयौँले अहिले आफ्नो भावनासँग मेल खाने, समान किसिमका मूल्य मान्यता भएका र आपसी सम्मानलाई प्राथमिकता दिन थालेका छन्," इगनाइट डेटिङमा जोडाजोडी मिलाउने काम गर्दै आएकी मिशेल बेगी भन्छिन्।
विकास क्रमले समतावादी सम्बन्धतर्फ समाज ढल्किरहेको देखाउँछ। यसमा ठूलोसानो वा तलमाथिको संरचना भन्दा परस्पर सम्बन्ध र व्यावसायिक सफलतामा बढी जोड दिइएको हुन्छ।
युरोप र उत्तरी अमेरिकामा शैक्षिक समानता अहिलेको आम प्रवृत्ति देखिएको हकिम बताउँछिन्।
"करिब आधा तर कहिलेकाहीँ दुई तिहाइ जोडीले शैक्षिक समानता रहेको बताउँछन्," उनी भन्छिन्।
"करिब एक तिहाइ श्रीमतीले आफूभन्दा बढी पढेकासँग बिहे गर्छन् र पाँचमा एक जना श्रीमान्ले मात्र आफूभन्दा बढी हैसियतकी महिलासँग बिहे गर्छन्। शैक्षिक समानता मानक बनेको छ। "
विश्वव्यापी मान्यता
पश्चिमा समाजमा आफूभन्दा कम हैसियतका पुरुषसँग बिहे गर्ने कुरा टड्कारो हुँदै आएको छ तर विश्वका विभिन्न भागमा अझै पनि आफूभन्दा बढी हैसिरयत भएका पुरुषसँग बिहे गर्ने चलन छ।
"हिन्दू धर्मग्रन्थहरूमा समान जातमा बिहे गर्न जोड दिइएको हुन्छ, त्यसमा पनि 'अनुलोम' जसमा एक जना पुरुषले तल्लो भनिएको जातको महिला बिहे गर्न अनुमति छ तर प्रतिलोम अर्थात् एक जना तल्लो भनिएको जातको मानिसले माथिल्लो भनिएको जातकी महिला बिहे गर्ने अनुमति छैन," अमेरिकाको युनिभर्सिटी अफ मेरिल्यान्डमा समाजशास्त्री सोनाल्दे देशाइले भनिन्।

तस्बिर स्रोत, MarcoVDM/Getty Images
उनका अनुसार अहिले पनि भारतमा धेरैजसो मागी विवाह नै हुने गरेको छ र करिब ९५ प्रतिशत बिहे आफ्नै जातभित्र गर्ने चलन छ। अखबारमा छापिने वैवाहिक विज्ञापनहरूमा पुरुष अग्लो, उमेरमा बढी र कम्तीमा पनि दुलही जत्तिकै पढेको हुनु पर्ने लेखिएको हुन्छ।
"त्यसो भए पनि" उनी थप्छिन्, "तथ्याङ्कहरूले हाइपोग्यामी अर्थात् महिलाहरूले आफ्नो स्तरभन्दा कमका पुरुषसँग बिहे गर्ने क्रम बढेको देखाउँछन्।"
इरान पनि मध्य पूर्वमा विश्वविद्यालय पढ्न जाने धेरै महिला भएको देशमा पर्छ। तर त्यहाँ पितृसत्तात्मक मानक अहिले पनि उस्तै छन् किनभने धेरै परिवारले अहिले पनि पुरुषलाई रोजीरोटी जुटाउने प्रमुखका रूपमा हेर्छ जसले गर्दा त्यहाँ पढेलेखेका महिलाहरूले स्वीकार्य पार्टनर नपाउने गरेकाले त्यस्ता एकल महिलाको सङ्ख्या बढिरहेको पाइएको संवाददाताहरू बताउँछन्।

तस्बिर स्रोत, Grigorev_Vladimir/Getty Images
तर नयाँ पुस्ताका महिलाहरूले यी परम्परागत अपेक्षाहरूलाई चुनौती दिएका छन् र कैयौँले व्यक्तिगत स्वायत्तता, करिअर र आधुनिक इरानी समाजमा पार्टनरशिप भनेको के हो भन्नेबारे नयाँ परिभाषा दिन थालेका छन्।
चीनमा अलि होच्याएर भनिने "शेङ नु" अर्थात् उब्रिएका महिला भन्ने शब्दावली नै छ। त्यसले उच्च शिक्षा हासिल गरेका, बीसको उमेरको अन्तिमतिर रहेका वा तीसको उमेरमा चलिरहेका महिला भन्ने जनाउँछन्। र जापानमा महिलाहरूले ढिलो बिहे गर्ने गरेको अथवा आर्थिक रूपमा स्वतन्त्र भएकाले जेन्डर भूमिकाको भार बहन नगर्ने मनसायले बिहे नै नगर्ने निर्णय गरेका छन्।
नर्वे र स्वीडेन जस्ता मुलुकमा यसको विपरीत स्थिति देखिन्छ। लैङ्गिक समानतासम्बन्धी नीतिहरू भएका यी देशमा बाबुआमा बन्दा दिइने बिदाहरू र श्रम बजारमा महिलाको ठूलो उपस्थितिले समानतावादी जोडीको भावना यतातिर आम प्रवृत्ति बनेको छ।
"पश्चिममा उच्च शिक्षा हासिल गरेका महिलाहरू आफूले श्रीमान्ले भन्दा धेरै कमाउने नभए पनि उनीहरू बीचको सामाजिक सम्बन्ध उच्च स्तरको हुन्छ। उनीहरूसँग मोलतोल गर्ने शक्ति पनि हुन्छ र निर्णयहरू दुवै जना मिलेर लिन्छन्। तर अन्य कैयौँ संस्कृतिमा यस्ता भूमिका साँघुरो बनाइएका पनि हुन्छन्," स्टाइबर भन्छिन्।
सोसल मिडिया प्रभाव
अहिले कम हुँदै गएको भए पनि सोसल मिडियामा हाइपरग्यामी निकै चर्चित शब्द हो। यस्ता मिडियामा धनी र उच्च हैसियतवाला पार्टनर कसरी खोज्ने भन्ने बारेका कुराकानी 'ट्रेन्डिङ' हुने गरेको पाइन्छ।
'पासपोर्ट ब्रोज' भन्ने शब्दावली पनि अहिले भाइरल छन् - त्यो भनेको पश्चिमा देशका पुरुषले अन्य देशका पार्टनर खोज्ने ता कि परम्परागत लैङ्गिक भूमिकामा रहने श्रीमती पाइयून वा "ट्राडवाइफ" अभियान पनि अहिले चलिरहेको छ जहाँ सोसल मिडिया इन्फ्लुएन्सरहरूले घरेलु कुरालाई प्रोत्साहन गर्दै महिलाहरूलाई उच्चतम कमाउने श्रीमान्हरू खोज्न भनिन्छ र यसले हाइपरग्यामीलाई बढवा दिने गरेको छ।
"यस्ता आह्वानले परम्परागत आयामप्रतिको लालसा दर्साउँछन् र 'हाइपरग्यामस' संरचनालाई महत्त्व दिन्छन्," बेगी भन्छिन्।

तस्बिर स्रोत, sturti/Getty Images
उनी थप्छिन्, "यसले आधुनिक डेटिङको जटिलता दर्साउँछ। जहाँ मानिसहरू सामाजिक अपेक्षा र व्यक्तिगत स्वायत्तता बीचको सन्तुलन कायम गर्न सङ्घर्षरत हुन्छन् र सम्बन्धमा पूर्णताका लागि कसरी मानिसहरू विभिन्न उपाय अपनाउँछन् भन्ने देखाउँछ।"
स्टाइबर १९५० को दशकको जस्तो जेन्डर भूमिका पुन: देखा पर्ला भन्नेमा आशङ्का गर्छिन् जति बेला हाइपरग्यामी स्वीकार्य मात्रै होइन त्यसकै आकाङ्क्षा पनि राखिन्थ्यो।
"सोसल मिडियामा केही मानिसहरूले यसमा खेलिरहेको भए पनि अहिलेको जनसाङ्ख्यिक प्रवृत्तिले त्यस्तो देखाउँदैनन्," उनी भन्छिन् ।
'धेरै पैसा कमाउने श्रीमती'
"महिलाले आफूभन्दा "कमका पार्टनर" खोजे भने त्यसले धेरैजसो पुरुषहरूमा बढता तनाव उत्पन्न गर्छ किनभने यसले पुरुषत्व सम्बन्धी परम्परागत सोचलाई चुनौती दिन्छ," स्टाइबर औँल्याउँछिन्।
उनी भन्छिन्, "मुद्दा के होइन भने महिलाले कमलाई स्वीकार गर्छन्, मुद्दा त के हो भने के पुरुष आफूभन्दा बढी शिक्षित या सफल महिलासँग सामञ्जस्य राख्न सक्छन् कि सक्दैनन् भन्ने हो।"

तस्बिर स्रोत, PeopleImages
केही समाजशास्त्री के पनि तर्क गर्छन् भने महिलाको शिक्षाको तह बढ्दै जाँदा पनि सामाजिक संरचना भने परम्परागत लैङ्गिक भूमिकालाई कायमै राख्न काम गरिरहेका हुन्छन् - जस्तो कि ज्यालामा भएको असमानता, आंशिक काम गर्नेहरूले पाउने पदोन्नति र कार्यस्थलको मानक आदिका माध्यमबाट महिलाहरूका लागि करिअर र मातृत्वको बीचको सन्तुलन बनाउन कठिन बन्छ जसले गर्दा पुरुषको आर्थिक प्रभुत्व बलियो बन्न पुग्छ।
हकिम भन्छिन् "जताततै अधिकांश पुरुषहरूले महिलाहरूभन्दा धेरै कमाउँछन्। किनभने महिला र आमाहरूले धेरैजसो बीचमै काम छोडेका हुन्छन् या पार्ट टाइम काम गरेका हुन्छन्।"
"समतामूलक स्क्यानडिनेभियन मुलुकमा पनि श्रीमान्हरूले औसतमा घरको कमाइको तीन चौथाइ भाग कमाउँछन्। धेरै पैसा कमाउने महिला वा श्रीमतीहरू चाहिँ अपवादमा हुन्छन् दुर्लभ हुन्छन् र यो सामान्य अवस्था हुँदै होइन," उनी भन्छिन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








