जुत्ता फुकालेर मात्रै घरभित्र छिर्ने साधारण बानीले तपाईँको स्वास्थ्यमा पार्ने ठूलो प्रभाव

तस्बिर स्रोत, Getty Images
- Author, मनल मोहम्मद
- Role, द कन्भरसेसन्स
नेपालमा घरबाहिर लगाउने जुत्ता ढोका बाहिरै खोल्ने चलन व्यापक छ। घरभित्र सामान्यत: खाली खुट्टा या घरभित्र मात्रै प्रयोग गर्ने चप्पल लगाइन्छ। घर बाहिर चप्पल फुकाल्नु कति फाइदाकारी रहेछ भन्ने कुरा विभिन्न उदाहरण सहित वेस्टमिन्स्टर विश्वविद्यालय यूकेकी प्राध्यापक मनल मोहम्मदले यो लेखमा प्रष्ट्याएकी छन्।
+++
मेरी आमाको तोड्नै नसकिने एउटा कडा नियम थियो - घरबाहिर लगाएको जुत्ता घरभित्र लगाउन नपाइने।
घरका सदस्य या छिमेकी या पाहुना जो भए पनि घरको मुख्य दैलो छिर्नुअघि बाहिर लगाएको जुत्ता फुकाल्नै पर्थ्यो।
बच्चा हुँदा म सोच्ने गर्थेँ, यो आमालाई मन पर्ने कैयौँ कुरामध्ये एक हो।
तर मेरो उमेर बढ्दै जाँदा यो आमाको कडा नियम मात्रै नभएर स्वास्थ्य, सुरक्षा र स्वच्छताका लागि रहेछ भन्ने महसुस हुँदै गयो।
सफाइ भनेको धेरैजसो आँखाले देख्न सकिने फोहोरसँग जोडिएको हुन्छ।
तर जुत्तासँग जोडिएको फोहोर धेरैजसो सूक्ष्म किटाणुसँग जोडिएको हुन्छ, अनि माटो र सुकेको घाँसभन्दा बढी नै खतरनाक हुन्छ।
बाहिर लगाउने जुत्ताले ब्याक्टेरिया, एलर्जी गराउने तत्त्वहरू र विषालु रसायनहरू बोकेको हुन सक्छ जसले मानिसमा गम्भीर स्वास्थ्य समस्या ल्याउन सक्छ।
तपाईँको जुत्ता कहाँ कहाँ पुग्छ विचार गर्नुहोस् त: सार्वजनिक शौचालय, सडक पेटी, अस्पतालका कोठाहरू र कीटनाशक तथा अनावश्यक झार नियन्त्रण गर्न छरिएका विषादीयुक्त बारी लगायतका स्थानहरू।
अमेरिकाको युनिभर्सिटी अफ एरिजोनामा गरिएको एक अध्ययन अनुसार परीक्षण गरिएकामध्ये ९६ प्रतिशत जुत्तामा कोलिफर्म ब्याक्टेरिया पोजिटिभ पाइयो जुन सामान्यत: दिसामा पाइन्छ।
अझ खतरनाक त २७ प्रतिशतमा ई कोलाई ब्याक्टेरिया पाइयो जसले विभिन्न खाले सङ्क्रमण गराउँछ र त्यस्ता सङ्क्रमण केही त जीवन खतरामा पार्ने सम्मका हुन्छन्।

तस्बिर स्रोत, Getty Images
ई कोलाईका केही स्ट्रेन (प्रकार) हानिकारक छैनन्। तर केहीले शिगाटक्सिन्स उत्पादन गर्छन् जसको सङ्क्रमणबाट रगतसहितको पखाला लाग्न सक्छ र त्यसले हेमोलाइटिक युरेमिक सिन्ड्रोमको अवस्थासम्म पुर्याउँछ जसले तपाईँको 'मिर्गौला फेल' सम्मको स्थितिमा पुर्याउन सक्छ।
पाँच वर्ष मुनिका बच्चा यस्तो अवस्थामा अझ विशेष खतरामा हुन्छन् किनभने उनीहरूको रोग प्रतिरोधी शक्ति विकास क्रममा रहेको हुन्छ र उनीहरू आफ्ना हात बारम्बार मुखमा पुर्याउँछन्।
ईकोलाई मात्र जुत्तामा टाँसिएर तपाईँको बैठक कोठासम्म आइपुग्ने सूक्ष्म कीटाणु होइनन्।
जुत्ताहरूले क्लोस्ट्रिडिअम डिफिसाइल भन्ने ब्याक्टेरिया पनि बोक्छन् जसले पेट दुखाउँछ र तारन्तार पखाला लगाउन सक्छ। त्यसैगरी एमआरएस भनिने औषधिले काम नगर्ने 'सुपरबग' लगायत स्ट्याफाइलोकोकर अउरस पनि बोक्न सक्छ जसले छालाको सङ्क्रमण वा न्यूमोनिया या रगतमा अन्य खतरनाक सङ्क्रमण पनि गराउन सक्छ।
सूक्ष्म कीटाणुको मात्रै कुरा होइन।
स्वास्थ्यमाथि खतरा ब्याक्टेरियासँग मात्र जोडिएको छैन।
जुत्ताहरू रसायन र एलर्जी गराउने तत्त्व पनि बोक्ने माध्यम बन्छन्।
अध्ययनहरूले देखाएका छन् कि बाहिर लगाउने जुत्तामा कीटनाशक र लेड जस्ता 'हेभि मेटल' पनि हुन सक्छन् जसले खासगरी बालबालिका र घर पालुवा जनावरको स्वास्थ्यमा खतरा पुर्याउँछन्।
खासगरी सहरी धुलोमा पाइने लेड बच्चाहरूका लागि हानिकारक हुन्छन् किनभने त्यसले उनीहरूको मस्तिष्क विकासमा प्रभाव पार्न सक्छ र दीर्घकालीन संज्ञानात्मक समस्या हुन सक्छ।
त्यसैगरी एलर्जी गराउने तत्त्वहरू जस्तो कि पोलेनहरू जुत्ताको सोलमा टाँसिन्छन् । यसबाट उत्पन्न हुने एलर्जीको समस्याले श्वास प्रश्वासमा समस्या आउन सक्छ।
त्यो भन्दा पनि सचेत हुनुपर्ने कुरा त सडकहरूमा प्रयोग गरिने एसफल्टहरूमा कार्सिनोजेनिक यौगिकहरू हुन्छन्। एउटा अमेरिकी अध्ययनका अनुसार यी रसायनहरू घरभित्र पनि पाइन्छन् घरभित्रका धुलोमा रहिरहन्छन्। अध्ययनक्रममा कहिलेकाहीँ त बाहिरको भन्दा भित्रको त्यस्ता यौगिकको तह ३७ गुणासम्म बढी भएको पाइयो।
चउरमा धेरैजसो समय बिताउनेहरू वा बाहिर बच्चा र घरपालुवा कुकुर बिराला पनि लगिन्छन्। यस्ता प्रदूषित सतहमा हिँडेका जनावरले पन्जाहरू चाट्दा र त्यस्ता ठाउँमा गएका बच्चाहरूले आफ्ना हात मुखमा हाल्दा पनि जोखिम बढी हुन्छ किनभने बालबालिका र घरपालुवा जनावरहरूको बारम्बार आफ्ना हात वा पञ्जा मुखमा हाल्ने बानी हुन्छ।
बाहिर हिँड्न लगाइएका जुत्ता भित्र लगाए यस्ता हानिकारक वस्तुहरूबाट हुने खतरा झन् बढी हुन पुग्छ।
सफा माटो र स्वास्थ्यकर घर
यस्ता प्रमाणहरूले मेरी आमाको त्यसबेलाको कडाइ अहिले त्यस्तो अव्यवहारिक लाग्दैन।
वास्तवमा घर बाहिर जुत्ता फुकाल्नु घरमा गर्न सकिने असाध्यै सजिलो र प्रभावकारी स्वास्थ्य समस्या आउन नदिन गरिने उपाय हो।
घरभित्र पस्नु अघि बाहिरै जुत्ता फुकाल्दा त्यसले तपाईँको भित्रको कार्पेटमा धुलो टाँसिन त रोकिन्छ। त्यसो गर्दा तपाईँले आफ्नो परिवारलाई घातक सूक्ष्म कीटाणु र रसायनको सम्पर्कमा आउनबाट पनि बचाइरहनुभएको हुन्छ।
र यसो गर्न गाह्रो पनि छैन। घर भित्र छिर्ने स्थानमा जुत्ता फुकाल्ने र राख्ने ठाउँ बनाउनुहोस्। त्यसलाई व्यवस्थित तुल्याउन एउटा जुत्ता राख्ने र्याक वा बास्केट राख्न सकिन्छ र छिमेकी वा पाहुना आएका बेला घर भित्र लगाउन सजिला किसिमका चप्पलहरू दिन सकिन्छ।
कसैलाई घरभित्र पस्नु अघि बाहिरै जुत्ता फुकाल्नुहोस् भन्दा असजिलो लाग्न सक्छ तर घरभित्र प्रवेश गर्ने सामान्य लाग्ने कुरामा पनि यस्तो खतरा लुकेको हुन्छ भन्ने विषयलाई बेवास्ता गर्न भने सकिन्न।
* मनल मोहम्मद युनिभर्सिटी अफ वेस्टमिन्स्टर यूकेमा सिनिअर लेक्चरर हुन्। यो लेख सुरुमा द कन्भरसेसनमा छापिएको थियो।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








