बयासी वर्षको उमेरमा पनि तरबार चलाउन सिकाउने एक भारतीय हजुरआमा

मीनाक्षी राघवन सम्भवतः कलरीपायट्टुको अभ्यास गर्ने र सिकाउने संसारकै सबैभन्दा वृद्ध महिला हुन्

तस्बिर स्रोत, Meenakshi Raghavan

तस्बिरको क्याप्शन, मीनाक्षी राघवन सम्भवतः कलरीपायट्टुको अभ्यास गर्ने र सिकाउने संसारकै सबैभन्दा वृद्ध महिला हुन्
    • Author, सुमित्रा नायर
    • Role, केरला

प्राचीन भारतीय मार्सल आर्ट कलारीपयट्टु सिकाउने ८२ वर्षीया महिलाले त्यसबाट अवकाश लिने आफ्नो कुनै योजना नरहेको बताएकी छन्।

"सायद म आफ्नो अन्तिम दिनसम्म कलारीको अभ्यास गरिरहनेछु," मीनाक्षी राघवनले भनिन्। उनलाई यो कला अभ्यास गर्ने संसारकै सबैभन्दा वृद्ध महिला मानिन्छ।

कलारीपयट्टु भन्नाले कलारीको अर्थ युद्धभूमि हो भने पायट्टुको अर्थ लडाइँ हो। कलारीपयट्टु भारतको दक्षिणी राज्य केरलामा कम्तीमा ३,००० वर्ष पहिले उत्पत्ति भएको ठानिन्छ र यसलाई भारतको सबैभन्दा पुरानो मार्सल आर्ट मानिन्छ।

यो केवल लड्न वा लडाइँको प्रयोजनका लागि मात्र अभ्यास गरिँदैन; यसले अनुशासन जगाउन, शक्ति निर्माण गर्न र आत्मरक्षाको सीप विकास गर्न पनि काम गर्छ।

राघवनलाई प्रेमपूर्वक मीनाक्षी अम्मा भनेर चिनिन्छ। केरलाको भाडाकारा जहाँ उनी बस्छिन् त्यहाँ बोलिने मल्यालम भाषामा अम्मा भनेको आमा हो। उन्नियार्चा, अरोमल चेकावर र थाचोली ओथेनानजस्ता कलाका अन्य प्रख्यात प्रवर्तकहरू पनि केरलाकै हुन्।

मीनाक्षी अम्मा कहिलेकाहीँ अन्य शहरहरूमा पनि प्रस्तुति दिन्छिन्, तर मुख्यतया उनका श्रीमानले सन् १९५० मा स्थापना गरेको आफ्नै कलारी स्कूल उनी चलाउँछिन्। बिहान पाँच बजेदेखि दिउँसोसम्म कक्षाहरू हुने भएकाले उनका दिनहरू व्यस्त हुन्छन्।

"म दैनिक लगभग ५० जना विद्यार्थीलाई पढाउँछु। मेरा चार छोराछोरीलाई पनि म र मेरो श्रीमान्‌ले नै यसलाई कलाको रूपमा तालिम दिएका हौँ। उनीहरूले छ वर्षको उमेरदेखि नै सिक्न थाले," उनी भन्छिन्।

मीनाक्षी अम्मा

तस्बिर स्रोत, Meenakshi Raghavan

तस्बिरको क्याप्शन, मीनाक्षी अम्मा कहिलेकाहीँ अन्य शहरहरूमा पनि प्रस्तुति दिन्छिन्, तर मुख्यतया उनी आफ्नै कलारी स्कूल चलाउँछिन्

कलारीपयट्टुका चार चरणहरू छन् र यो कला सिक्न धैर्य चाहिन्छ।

तालिम मेपट्टुबाट सुरु हुन्छ जसमा तेल मालिस र त्यसपछि शरीरलाई 'फिट' राख्न व्यायाम गरिन्छ।

लगभग दुई वर्षपछि विद्यार्थीहरू कोल्थरी (लट्ठीले गरिने लडाइँ), त्यसपछि अङ्गथरी (हतियारले गरिने लडाइँ), र अन्तिममा एउटा उच्चतम स्तरको निहत्था लडाइँ भूरुकाई गर्न सक्ने हुन्छन्। कलारीपयट्टुमा निपुण हुन सामान्यतया पाँच वर्ष लाग्छ।

कलारीका अर्का शिक्षक विनोद कदाङ्गलका अनुसार कुङ फूमा कलरीपयट्टुबाट श्वासप्रश्वास गर्ने विधि र मर्मशास्त्र (शरीरको ऊर्जा प्रवाहलाई सक्रिय पार्न महत्त्वपूर्ण बिन्दुहरूलाई झकझकाउने) जस्ता सिद्धान्तहरू ग्रहण ठानिन्छ।

छैटौँ शताब्दीतिर भारतीय बौद्ध भिक्षु बोधि धर्मले यी प्रविधिहरू शाओलिन भिक्षुहरूलाई सिकाए र त्यसले प्रसिद्ध चिनियाँ मार्सल आर्टमा पनि प्रभाव पारेको ठानिन्छ।

मीनाक्षी अम्मालाई अझै पनि ७५ वर्षअघि कलारीमा पहिलो पटक पाइला टेकेको सम्झना छ। कलारीको अभ्यास रातो माटोले लिपिएको भुइँमा गरिन्छ।

"म सात वर्षकी थिएँ र नृत्यमा धेरै राम्रो थिएँ। त्यसैले मेरा गुरु वीपी राघवनले मेरा बुबालाई भेट्नुभयो र मलाई कलारीपयट्टु सिकाउन सुझाव दिनुभयो। नृत्यमा जस्तै कलारीपयट्टुमा पनि लचिलो हुन आवश्यक छ," उनी भन्छिन्।

केरलाको टेए समुदायकी मीनाक्षी अम्माका गुरु १५ वर्षका थिए। त्यति बेला उनी र उनका भाइहरूले कथित तल्लो जातका कारण भर्ना नपाएपछि आफ्नै कलारीपयट्टु स्कूल खोलेका थिए।

उनी बिहान पाँच बजेदेखि दिउँसोसम्म नै व्यस्त रहन्छिन्

तस्बिर स्रोत, Meenakshi Raghavan

तस्बिरको क्याप्शन, उनी बिहान पाँच बजेदेखि दिउँसोसम्म नै व्यस्त रहन्छिन्

"कलारी सिक्ने कुरामा केटीहरूलाई भर्ना गर्न कुनै पूर्वाग्रह थिएन। वास्तवमा त्यति बेला केरलाका सबै विद्यालयहरूमा शारीरिक शिक्षा अनिवार्य थियो। तर यौवनावस्था पुगेपछि भने त्यो गर्न रोकियोस् भन्ने अपेक्षा गरिन्थ्यो," उनी भन्छिन्।

अरूको भन्दा भिन्न मीनाक्षी अम्माका बुबाले उनलाई किशोरावस्थाको अन्त्यतिर प्रशिक्षण दिन प्रोत्साहित गरे। १७ वर्षको उमेरमा उनी राघवनसँग प्रेममा परिन् र उनीहरूले चाँडै विवाह गरे। उनीहरूले त्यसपछि सयौँ विद्यार्थीलाई प्राय: नि:शुल्क तालिम दिए।

"त्यति बेला धेरै बालबालिका गरिब परिवारका हुन्थे। राघवनले स्वीकार गरेको पैसा भनेको गुरु दक्षिणाका रूपमा मात्रै थियो," उनी भन्छिन्।

दानबाट प्राप्त रकमले विद्यालयलाई टिकायो, जबकि राघवनले पछि थ पआम्दानीका लागि पढाउने काम गरे। सन् २००७ मा उनको मृत्युपछि मीनाक्षी अम्माले औपचारिक रूपमा जिम्मेवारी सम्हालिन्।

अहिले अवकाश लिने उनको कुनै योजना छैन। तर एक दिन आफ्नो जेठो छोरा सञ्जीवलाई स्कूल हस्तान्तरण गर्ने उनको आशा चाहिँ छ।

स्कूलमा प्रशिक्षक पनि रहेका ६२ वर्षीय छोरा उत्कृष्ट कला सिकाउने आमाबाट सिक्न पाएका कारण आफू भाग्यमानी भएको बताउँछन्। तर उनको छोरा हुनुले कुनै फाइदा गर्दैन; उनी अझै पनि आफ्नी आमा सबैभन्दा कडा प्रतिद्वन्द्वी भएको बताउँछन्।

मीनाक्षी अम्मा स्थानीय स्तरमा सेलिब्रेटी हुन्। हाम्रो अन्तर्वार्ताको क्रममा तीनजना राजनीतिज्ञ उनलाई एउटा पुरस्कार समारोहमा बोलाउन आएका थिए।

"अम्मा, तपाईँ उपस्थित भएर हाम्रो शोभा बढाइदिनुपर्छ," तिनीहरूमध्ये एकजनाले हात जोडेर भने।

"मलाई बोलाउनेबारे सोचिदिनु भएकोमा धन्यवाद, म आउँछु," उनले भनिन्।

उनका विद्यार्थीहरूले उनको "एकदमै प्रशंसा" गर्छन्। धेरैले राज्यभरि आफ्नै कलारी स्कूलहरू खोलेका छन् जुन मीनाक्षी अम्माको लागि ठूलो गर्वको विषय हो।

"उहाँ महिलाहरूका लागि प्रेरणा हुनुहुन्छ - आफ्ना विद्यार्थीहरूलाई माया र स्नेह देखाउने उहाँ एक दुर्लभ व्यक्ति हो, तर कलारीको सन्दर्भमा उहाँ अझै पनि कडा अनुशासनवादी हुनुहुन्छ," एकजना पूर्वविद्यार्थी केएफ टोमसले भने।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।