हजुरआमा: 'पहिला सासु मान्यौं, अहिले बुहारी मान्छौं'

हजुरआमा

औसत आयुले अरू देशजस्तै नेपालमा पनि महिलाहरू तुलनात्मक रुपमा बढी बाँच्ने देखाउँछ।

यतिबेला नेपालमा ८० नाघेका हजुरआमाहरूले आफ्नो जीवनमा ठूलो फड्को भोगेको बताउँछन्।

उनीहरूले बाँचेको विगतलाई कसरी हेर्छन् र वर्तमानमा कसरी दिन बिताइरहेका छन्?

अनुभव

खासगरी ८० वर्ष उमेर कटेपछि कसैको सहाराबिना दैनिक कामकाजमै कठिनाइ आउन थालेको अधिकांश उमेर पुगेकाहरूको अनुभव हुन्छ।

तर कतिपय चाहिँ यो उमेरमा पनि आफ्नो खानपिनको व्यवस्था आफैँ गर्न सक्ने बताउँछन्।

शारीरिक रुपमा बल कम हुँदै गएपछि हिँडडुल कम हुने र अधिकांश समय घरमा बिताउनुपर्ने उनीहरूको अनुभव छ।

हामीले ८० वर्ष उमेर कटेका केही हजुरआमाहरूसँग उनीहरूको दैनिक जीवन, युवाअवस्था र अहिलेको वृद्ध अवस्थामा आएको परिवर्तनबारे कुराकानी गरेका छौं।

प्रस्तुत छ, राजधानी काठमाण्डूमा भेटिएका यस्तै हजुरआमाहरूसँग गरिएको कुराकानीको यो विवरण।

१। कृष्णकुमारी घिमिरे

कृष्णकुमारी घिमिरे

काठमाण्डूको गौशालामा जन्मिएकी ९६ वर्षीया कृष्णकुमारी घिमिरे दिनभरजसो घरमै बस्छिन्।

मोतियाबिन्दु भएर आँखा कम देख्न थालेपछि उनलाई घरमै पनि ओहोरदोहोर गर्न कसैको सहायता बिना कठिन हुन्छ।

उनको घरमा नातिनातिना, पनातिनी सबैको सङ्ख्या २० भन्दा बढी छ।

यो उमेरमा उनलाई आफ्ना परिवारका सबै मानिस वरपर बसिदिउन् भन्ने लाग्छ।

भन्छिन्, "सबै जना वरिपरि बसिदिउन् भन्ने लाग्छ। दिनभरी घर बसिरहँदा समय बिताउन गाह्रो हुन्छ त्यसैले आफन्त भेट्न आइदिउन् भन्ने लाग्छ।"

आफू विवाह गरेपछिका थुप्रै वर्षसम्म परिवारका सदस्यहरूसँग बोल्नै डर लाग्नेगरेको उनको अनुभव छ।

"जुन बेला पनि घुम्टो हालेर बस्नुपर्थ्यो। बोल्न डर लाग्थ्यो। अहिले त सबैलाई खुल्ला छ," उनले हाँसेर भनिन्।

"मैले पनि उतिबेला घर परिवारका आफूले सक्नेजति गरेँ, अहिले त धेरै सम्झिन सक्दिनँ। एकैछिनमा बिर्सिहाल्छु।"

२। मित्रकुमारी अधिकारी

८६ वर्षीया मित्रकुमारी अधिकारीको दैनिकी अहिले पनि व्यस्त छ।

बिहान उठेर ध्यान गर्ने, पूजापाठ गर्ने, आफ्ना लागि आफैँ खाना बनाउने, बत्ती कात्ने अनि किताब पढ्ने।

मित्रकुमारी अधिकारी

"दिनभर यति गर्दा एकछिन पल्टिन पनि भ्याउँदिन। अरूले पकाएको खाँदिन त्यसैले पनि मलाई शरीर चलाइरहनुपर्छ। यसले रोग लाग्दैन। सकुन्जेल गरिरहन्छु।"

मित्रकुमारीलाई पहिलाको भन्दा अहिले खासगरी महिलाको जीवन निकै सजिलो भएको लाग्छ।

"हामी बुहारी हुँदा कति कष्ट काटियो, कति दुख: काटियो, सासुससुरालाई कति मानियो, पाहुनापाछा मानियो। अहिलेका बुहारीलाई त त्यस्तो केही पनि छैन, बुहारीलाई हामीले मान्नुपर्छ," १३ वर्षको उमेरमा विवाह गरेकी मित्रकुमारी भन्छिन्।

"हाम्रो त समय यस्तो भयो। हामी त चेपुवामा पर्‍यौँ।"

३। पुण्यता गुरागाईँ

भोजपुरमा जन्मिएर भोजपुरमै १२ वर्षको उमेरमा विवाह गरेकी पुण्यवता गुरागाईँलाई आफू बुहारी हुँदा र अहिलेको समयमा आकाश जमिनको फरक लाग्छ।

"हाम्रो पालामा सासुससुरालाई हेर्नै सकिँदैन थियो, श्रीमानसँग बोल्न पनि हुँदैन थियो। अहिले त त्यस्तो छैन," ८४ वर्षीय पुण्यवताले सुनाइन्।

पुण्यता गुरागाईँ

"तर अहिले पनि हाम्रा छोराबुहारीलाई समय अनुसारको दु:ख छ।"

त्यतिबेला विवाह गरेपछिका धेरै वर्ष महिलाहरूले बच्चा जन्माउने, हुर्काउने र घर व्यवहार गर्दैमा बित्ने उनले बताइन्।

"उतिबेला हामीलाई मिठो खाने कति रहर हुन्थ्यो तर अभावले खान पाइँदैन थियो। अहिले खानलाई पुग्दो छ तर रोगले हुँदैन," पुण्यवताले दु:खेसो पोखिन्।

४। कमला ढकाल

पुण्यवतालाईजस्तै कमलालाई पनि उतिबेला रहर भए पनि खानेकुरा छानीछानी खान पाइएन भन्ने लाग्छ।

कमला ढकाल

"उतिबेला मिठो खाने भनेको सेलरोटी अनि मासु हो। अहिले जस्तो पसलहरू धेरै थिएनन्। मासु खान दसैँ नै कुर्नुपर्थ्यो अनि सेलरोटी खान तिहार नै कुर्नुपर्थ्यो," ११ वर्षमा विवाह भएकी कमलाले भनिन्।

घरमा तलमाथि गर्नै गाह्रो हुने हुँदा ८७ वर्षीया कमलालाई अधिकांश समय सहारा चाहिन्छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, नाना सिलाउने हजुरआमा

"खाना पनि कोठामै ल्याइदिन्छन्। अहिले छोराबुहारीलाई हाम्रो समयको जस्तो दु:ख नभए पनि आफ्नो समय अनुसारको दु:ख नै छ," उनी भन्छिन्।

"म समय बिताउन दिनभरी टिभी हेर्छु, धार्मिक कार्यक्रम मनपर्छ।"

५। ललिता ढकाल

८६ वर्षीया ललिता ढकालको विवाह १३ वर्षको उमेरमा भयो।

भारतको मध्यप्रदेशमा जन्मिएर नेपालमा आएर विवाह गरेकी ललिता अहिले धापासीमा बस्छिन्।

ललिता ढकाल

दिन बिताउन उनी टिभीमा धार्मिक कार्यक्रम र टेलिसिरियलहरू हेर्छिन्।

आफन्तसँग फेसबुक, भाइबर, ह्वाट्स् एपमा कुरा पनि गर्छिन्।

"अङ्ग्रेजी त्यति जानेको छैन तैपनि फेसबुक भाइबरमा नातिनातिना अनि आफन्तसँग कुरा चाहिँ गर्नसक्छु," ललिताले भनिन्।

"त्यति पनि नगरे त समय बिताउन गाह्रो हुन्छ।"

५। मिरा उपाध्याय

८३ वर्षीया मिरा उपाध्याय अहिले पनि आफूलाई सक्रिय राख्छिन्।

"शरीरले सक्दासम्म खटिनुपर्छ नत्र रोगी भइन्छ," लामो समय बाल मन्दिरमा काम गरेकी मिरा भन्छिन्।

मिरा उपाध्याय

उनी सम्झिएर औषधी खान्छिन् अनि पढ्न बस्छिन्।

कहिले आफ्नो कामले त कहिले श्रीमानको कामले विदेश जाँदा देखेका वृद्ध मानिसले जीवनमा प्रेरणा दिने गरेको उनी बताउँछिन्।

"विदेशमा ९० वर्षमा पनि मानिस सक्रिय हुन्छन् हामी पनि सकेसम्म काममा कसैसँग निर्भर हुनै हुँदैन," १९ वर्षको उमेरमा विवाह गरेकी मिराले भनिन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, एक रुपैयाँमा खाजा बेच्ने हजुरआमा