रसुवा बाढी : ९ शव फेला परे, केही चिनियाँ नागरिकसहित कम्तीमा १९ जना बेपत्ता

रसुवामा बाढी गएपछि उद्धारमा खटेको नेपाली सेनाको टोली

तस्बिर स्रोत, NEPAL ARMY

नेपाल-चीन सीमामा अवस्थित रसुवा जिल्लामा ल्हेन्देखोलामा अकस्मात् आएको बाढीका कारण कम्तीमा नौ जनाको मृत्यु भएको र केही चिनियाँ नागरिकहित १९ जना बेपत्ता भएको अधिकारीहरूले बताएका छन्।

बाढीले दुई देश जोड्ने मितेरीपुल बगाएको छ भने रसुवाको स्याफ्रुबेँसीदेखि रसुवागढी नाकासम्मको बाटो पनि बन्द भएको छ। रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलका अनुसार बाढीका कारण पुगेको क्षतिबारे विस्तृत विवरण आउन बाँकी छ।

नेपालको नेपालको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले उक्त बाढी अविरल वर्षासँग नभई हिमताल विस्फोटसँग सम्बन्धित हुन सक्ने सङ्केत गरेको छ।

अधिकारीहरूका अनुसार बाढीले रसुवागढी भन्सार कार्यालय आसपासमा रहेका मालवाहक कन्टेनरहरू र अन्य गाडीहरू बगाएको छ।

रसुवा प्रहरीका अनुसार मङ्गलवार साँझसम्म रसुवा जिल्लामा ५७ जनाको उद्धार गरिएको छ भने नौ जनाको शव फेला परेको छ। बाढीबाट गोसाईँकुण्ड गाउँपालिका, आमाछोदिङ्मो गाउँपालिका, उत्तरगया गाउँपालिका र कालिका गाउँपालिकाका विभिन्न वडाहरू प्रभावित भएका छन्।

बेपत्ता हुने मानिस को हुन्

मितेरीपुल क्षेत्रबाट सम्पर्कविहीन भएका १८ जनाको नाम सार्वजनिक भएको छ।

रसुवाका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीका अनुसार हराउनेमध्ये नेपाल प्रहरीका तीन जना, सवारीचालक तीन जना , नेपाली कामदार छ जना र चिनियाँ नागरिक छ जना छन्।

सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापालाई उद्धृत गर्दै राष्ट्रिय समाचार समितिले सम्पर्कविहीन नेपालीमध्ये नौ जना रसुवागढी नाकामा रहेको भन्सार यार्डमा कार्यरत थिए। उनीहरू विभिन्न जिल्लाका हुन्।

राससका अनुसार तीन सुरक्षाकर्मी र छ चिनियाँ नागरिकसहित हराइरहेका सबै जना पुरुष हुन्।

नेपाल र चीनको सीमामा मितेरीपुल देखिने नक्सा

"मितेरीपुलसम्म पुग्ने सडकहरू पनि बगाएका कारण मानिसहरू अलपत्र परेका छन्," प्रमुख जिल्ला अधिकारी पौडेलले मङ्गलवार बिहान बीबीसीसँग भने।

रसुवा जलविद्युत् आयोजनामा फसेका २० जनालाई सुरक्षित स्थानतर्फ लगिएको पौडेलले बताए।

बाढीका कारण विभिन्न ठाउँमा फसेका दुई सुरक्षाकर्मी र सात सर्वसाधारण नागरिकको पनि उद्धार गरिएको जानकारी उनले दिए।

रसुवामा उद्धारमा खटिएको टोली

तस्बिर स्रोत, Nepal Army

रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले ल्हेन्देखोलामा पानीको सतह बिस्तारै घट्न थालेको जानकारी बीबीसी न्यूज नेपालीलाई दिए।

निजी हवाई सेवा प्रदायक कम्पनीहरूले बाढी प्रभावित मानिसहरूलाई रसुवाको टिमुरेबाट उद्धार गरिरहेको उनले बताए।

मितेरीपुल

कसरी आयो बाढी

रसुवामा आएको बाढी र अग्लो स्थानमा बसेका मानिसहरू

तस्बिर स्रोत, Nepal Army

नेपालको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार 'भोटेकोशी'मा आएको बाढीबारे प्रारम्भिक अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै मङ्गलवार बिहान ३ बजे आसपास तिब्बत क्षेत्रबाट एक्कासि ठूलो बाढी प्रवेश गरेको जनाएको छ।

स्थानीय तहमा 'भोटेकोशी' भन्ने गरिएको भए पनि यो खोला सप्तकोशीको सहायक नदी सुनकोशीको माथिल्लो भाग भने होइन।

उक्त बाढी वर्षाका कारण नभई हिमताल विस्फोटका कारण उत्पन्न भएको हुन सक्ने सो निकायको आकलन छ।

महाशाखाका अनुसार विश्व मौसम सङ्गठनको 'फ्ल्याश फ्लड गाइडन्स सिस्टम'को 'ग्लोबल हाइड्रोएस्टिमेटर स्याटलाइट-बेस्ड प्रिसिपिटेशन एस्टिमेट्स'ले भोटेकोशी जलाधार क्षेत्रमा विगत गत २४ घण्टामा वर्षा भएको देखिँदैन।

"भोटेकोशी नदी जलाधारको तिब्बतको क्षेत्रमा थुप्रै हिमतालहरू अवस्थित रहेकोले बाढीको सम्भावित कारण पत्ता लगाउन तता नदी तटीय क्षेत्रमा बाढीको असर आकलनको लागि आज बिहान ७ बजे 'सेन्टिनल एशिया प्ल्याट्फर्म'मा तत्कालको भूउपग्रह तस्बिर प्राप्त गर्न इमर्जन्सी अब्जर्भेशन रिक्वेस्ट (ईओआर) जारी गरिएको छ," महाशाखाले भनेको छ।

यसअघि रसुवागढी प्रहरी चौकीले अविरल वर्षाका कारण बाढी आएको जनाएको थियो।

"बिहान ४ बजेको समयमा नेपाल र चीन नाका जोड्ने मितेरीपुल बगाई पूर्ण रूपमा क्षति भई मानिस र सवारीसाधनमा आवतजावत बन्द भएको छ," प्रहरीले बिहान विज्ञप्तिमा जनाएको थियो।

बाढीका कारण त्यहाँ रहेको विद्युतीय सवारीसाधनको चार्जिङ स्टेशनमा क्षति भएको र सात-आठवटा गाडीहरू बगाएको, भन्सार कार्यालय रसुवा र रसुवागढी हाइड्रोपावरको ड्याममा पनि क्षति भएको उक्त चौकीले जनाएको छ।

घटनास्थलको भिडिओमा मितेरीपुल पूरै ध्वस्त भएको देखिन्छ।

त्रिशूली नदीबाट उद्धार गरिएकाहरू के भन्छन्?

पाल्देन तामाङ र मङ्गली तामाङ

तस्बिर स्रोत, SHAKTIMAYA TAMANG/BBC

तस्बिरको क्याप्शन, त्रिशूली नदीमा उद्धार गरिएका ६६ वर्षीया पाल्देन तामाङ र मङ्गली तामाङ

नेपाल-चीनस्थित ल्हेन्देखोलादेखि आएको बाढीको प्रभाव नुवाकोटमा समेत परेको विवरणहरू आएका छन्।

नुवाकोट जिल्लाको विदुर नगरपालिका वडा नम्बर १ मा त्रिशूली नदीमा फसेका एक महिला र एक पुरुषलाई उद्धार गरिएको छ। ल्हेन्देखोला र केरुङखोला त्रिशूली नदीका सहायक नदी हुन्।

उद्धार गरिएका ६६ वर्षीया पाल्देन तामाङ र ६६ वर्षकै मङ्गली तामाङ हुन्। उनीहरू अहिले त्रिशूली अस्पतालमा छन्।

"मैले के-के देखिनँ होला, मैले के-के सम्झिनँ होला? त्यहाँमाथि रूखमा बस्दा आँसु कति गयो होला। मनमा के-के कुरा आयो," बाढी आएका बेला रूखमा चढेर ज्यान जोगाएका दुईमध्ये पाल्देनले बीबीसीसँग भने।

"मेरो श्रीमतीको मलाई माया लाग्छ। म नआउने थिएँ, श्रीमतीका लागि आएको थिएँ।"

नुवाकोटको त्रिशूली नदीमा उद्धारका लागि खटिएको हेलिकप्टर

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, नुवाकोटको त्रिशूली नदीमा बिहान फसेका दुई जनाको नेपाली सेनाको हेलिकप्टरले उद्धार गरिएको छ

पाल्देनको स्वास्थ्य अवस्था सामान्य छ भने आफ्नी पत्नीको रक्तचाप बढेका कारण अस्पतालमा भर्ना गरी उपचार भइरहेको छ।

उक्त अस्पतालका डा राजेन्द्र लामाका अनुसार मङ्गली तामाङ भने रोइरहने र बेलाबेला तर्सिने र झस्किने गर्छिन्।

उनीहरूलाई आज बिहान सेनाको हेलिकप्टरबाट उद्धार गरिएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेले बताए।

बाढी आएको देखेपछि ज्यान जोगाउन रूख चढेर बसेका उनीहरूलाई तीन घण्टापछि उद्धार गरिएको थियो।

बिहान पानीको सतह बढेसँगै त्यस आसपासका मानिसहरू सुरक्षित स्थानतिर जान थालेका थिए।

उद्धारका लागि स्थानीय सरकार, नेपाल प्रहरी र सशस्त्र प्रहरीका टोलीहरू खटेका छन्। नेपाल प्रहरीका अनुसार उद्धारकार्यमा ३८३ प्रहरी परिचालित छन्।

नुवाकोटबाट शक्तिमाया तामाङको सहयोगमा

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।