चाडबाडको मुखमा चीनसँगको प्रमुख व्यापारिक नाका रसुवागढी बन्द हुँदा पर्ने असर र विकल्प कस्ता

तस्बिर स्रोत, Nima Dorjee Sherpa
- Author, पवनराज पौडेल
- Role, बीबीसी न्यूज नेपाली
नेपाल–चीन सीमास्थित ल्हेन्देखोलामा आएको विध्वंसकारी बाढीले गर्दा उत्तर छिमेकतर्फको प्रमुख व्यापारिक नाका बन्द भएसँगै सिन्धुपाल्चोकको तातोपानी नाकालाई अधिक सक्रिय बनाउने विषयमा छलफल सुरु भएको अधिकारीहरूले बताएका छन्।
बाढीले दुई देशलाई जोड्ने मितेरीपुल बगाउनुका साथै नेपालतर्फको सडकमा पनि उल्लेख्य क्षति पुग्दा उक्त नाका तत्काल सञ्चालनमा आउने अवस्था नदेखिएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले बीबीसी न्यूज नेपालीलाई बताए।
अधिकारीहरूका अनुसार नेपाल–चीनबीचका ७० प्रतिशत व्यापारिक गतिविधि रसुवागढी नाका भएर हुँदै आएको थियो। त्यस्तै कैलास मानसरोवर जाने नेपाली तथा भारतीय तीर्थयात्रीमध्ये धेरैले त्यही नाका प्रयोग गर्दै आएका थिए।
नेपाल र चीनले सन् २०१७ मा रसुवागढी नाकालाई अन्तर्राष्ट्रिय नाका घोषणा गरेका थिए। त्यसयता दुवै देशले तातोपानीको तुलनामा रसुवागढी भएर आफ्ना व्यापारिक गतिविधि केन्द्रित गर्दै आएका थिए।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले चाडबाड नजिकिँदै गर्दा प्रमुख व्यापारिक नाकामा भएको क्षतिले ठूलो असर गर्ने देखिएको र वैकल्पिक हिसाबले सिन्धुपाल्चोकको तातोपानी नाकालाई थप सक्रिय बनाउनेतर्फ छलफल सुरु भएको जानकारी दिए।
भौतिक क्षति

बाढीले दुई देशको सीमामा रहेको ऐतिहासिक मितेरीपुल बगाइदिएसँगै रसुवागढीमार्फत् हुने दुई देशबीचको सडक सम्पर्क पूर्ण रूपले भङ्ग भएको छ।
चिनियाँ लगानीमा निर्मित उक्त पुलमा ल्हेन्देखोलाले यसअघि पनि असर पुर्याउने गरेका विवरणहरू आउने गरेका थिए। पछिल्लो पटक चिनियाँ पक्षले २०७७ सालमा उक्त पुलको पुनर्निर्माण गरेको थियो।
बाढीले नेपालतर्फको सडकमा पनि गम्भीर क्षति पुर्याएको अधिकारीहरूले बताएका छन्।
"रसुवागढीदेखि स्याफ्रुबेँसीतर्फको सडकमा ८–१० ठाउँमै सडकहरू भत्किएका छन्," उनले भने, "खोलाले सर्लक्कै सडक नै बगाइदिएको स्थिति छ।"
उनका अनुसार रसुवागढी भन्सारको सुक्खा बन्दरगाहमा पनि गम्भीर क्षति पुगेको छ।
त्यस्तै रसुवागढी हाइड्रोपावरको ड्याममा पनि क्षति पुगेका विवरणहरू आएका छन्।
चीनतर्फ पनि क्षति भएको बुझिए पनि त्यसतर्फको विवरणबारे बुझ्नै बाँकी भएको पौडेलले बताए।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले क्षतिको मूल्याङ्कनका निम्ति मन्त्रालयको टोली त्यसतर्फ गएको जानकारी दिए।
"हाम्रा साथीहरूले सडकमा भएको क्षतिबारे बुझिरहनुभएको छ। भरे भोलिसम्ममा यकिन विवरण आउला।"
असर र विकल्प

तस्बिर स्रोत, PRADEEP BASHYAL
बाढीका कारण रसुवागढी नाका बन्द हुँदा त्यसको सबैभन्दा ठूलो असर द्विदेशीय व्यापार र धार्मिक पर्यटनमा पर्ने देखिएको छ।
नेपाल हिमालय सीमापार वाणिज्य सङ्घका अध्यक्ष रामहरि कार्कीले मङ्गलवार सबेरैको घटनाका तात्कालिक र दीर्घकालीन गरी दुईथरी असर देखिएको बताए।
"हाम्रा कतिपय व्यापारीका कन्टेनरहरू बगाएका छन्। दुवैतर्फ भएका गरी अन्दाजी ४०–५० वटा कन्टेनरमा पूर्ण क्षति पुगेको सूचना छ," उनले भने, "यो भूकम्पका बेलाको भन्दा पनि ठूलो क्षति हो। त्यतिबेला उक्त नाकामा केही कन्टेनरहरूमा माथिबाट ढुङ्गा झरेर क्षति पुगेको थियो। यस पटक व्यापारीहरूले भित्र्याएका सामानमा पुगेको क्षति एक अर्ब रुपैयाँ हाराहारीको हुन सक्ने हाम्रो आकलन छ।"
"दोस्रो, तातोपानीतर्फ 'रिरूट' गर्नेबारे चर्चा हुने गरे पनि उक्त नाकाको आवागमन पनि भरपर्दो छैन। आवागमनमा समस्या पर्दा व्यापारमा पर्न सक्ने मारले हामीलाई चिन्तित तुल्याएको छ।"
उनका अनुसार रसुवागढी र तातोपानी दुवै नाका बाढीपहिरोका कारण प्रभावित भइराख्ने हुनाले व्यापारीहरूले आफ्नो व्यावसायिक सुरक्षाका निम्ति आफ्ना सामानहरू दुई नाकाबाट आधाआधा गरेर ल्याउने गर्थे।
"अहिले जारी वर्षा याममा तातोपानी नाका पटकपटक बन्द भएको हाम्रो अनुभव छ, कतिपय अवस्थामा त हामी आफैँले डोजरले पहिरो पन्छाएर पनि ट्रक कटाएका छौँ," उनले भने, "तातोपानी नाका निर्बाध सञ्चालन हुने वातावरण बनाइएन भने कोलकाता भएर सामान ल्याउनुपर्छ, जसले गर्दा लागत र समय दुवै बढ्छ।"
तीर्थयात्रीहरूलाई कैलास मानसरोवर लाने ल्याउने गरिराखेका टूर व्यवसायीहरूको आँखा पनि तातोपानीमै छ।
सन् २०१७ मा अन्तर्राष्ट्रिय नाका घोषणा गरिएसँगै चीनले धार्मिक पर्यटकका निम्ति रसुवागढीलाई प्राथमिकतामा राख्दै आएको छ।
हुम्लाको हिल्सा भएर पनि तीर्थयात्रीहरू कैलास जाने गरेका छन्। तर त्यो हवाईमार्गमा आधारित भएकाले तुलनात्मक रूपमा महँगो पर्ने कैलास भिजन ट्रेकका सञ्चालक सागर आचार्यले बताए।
"अहिले हामीले पठाएकासहित रसुवागढी भएर पारि गएका १,००० देखि १,५०० यात्रीलाई तातोपानी नाकाबाट नेपाल ल्याउने विषयमा उतापट्टिका एजेन्टहरूसँग छलफल भइराखेको छ," आचार्यले भने, "हाम्रो चिन्ता चाहिँ तत्काल रसुवागढी नखुल्ने अवस्थामा अब के हुन्छ भन्ने हो।"

तस्बिर स्रोत, BINITA DAHAL/BBC
धार्मिक पर्यटकका निम्ति तातोपानी नाकाबाट हुने प्रवेश भुइँचालोपछि रोकिएको थियो।
"तातोपानी पुन: खुला भयो भने खासै समस्या पर्दैन तर रसुवागढी बन्द हुने र तातोपानी पनि नखुल्ने अवस्थामा हेलिकप्टरको विकल्प मात्रै बाँकी रहने हुँदा तीर्थयात्रीका निम्ति कैलास मानसरोवरको यात्रा आर्थिक रूपले बोझिलो बन्न जान्छ।"
चीनका तर्फबाट यी मामिलाहरू तिब्बतको शिजाङ स्वायत्त सरकारले हेर्दै आएको र तातोपानी नाकाबाट आवागमन सहज बनाउनेबारे प्रारम्भिक छलफल सुरु भएको ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाले बीबीसीलाई बताए।
"रणनीतिक नाकाको रूपमा रहँदै आएको रसुवागढी बन्द भएसँगै हामीसँग विकल्प नभएकाले गर्दा त्यहाँको चापलाई अब तातोपानीतर्फ सार्नैपर्छ," उनले भने, "दुवै नाका तिब्बतसँग जोडिएका हुनाले यहीँको स्वायत्त सरकारसँग कूटनीतिक छलफल थालेका हौँ।"
तातोपानीमा चाप

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अधिकारीहरू पनि नेपाल–चीन व्यापारका निम्ति तातोपानी नाकालाई अधिक सक्रिय बनाउनेबारे छलफल थालिएको बताउँछन्।
"त्यसैले अब तातोपानी नाकामा दबाव पर्नु स्वभाविक हो। त्यसलाई चुस्तदुरुस्त राखेर अघि बढ्नुपर्ने हुन्छ," मन्त्रालयका प्रवक्ता बस्नेतले भने।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले हाल तातोपानी नाका पूर्ण सञ्चालनमा रहेको बताए।
यसपालिको मनसुन सुरु हुनासाथ ठाउँठाउँमा पहिरो जाँदा बाह्रबिसे–तातोपानी सडकखण्ड झन्डै एक साता अवरुद्ध हुन पुगेको थियो।
"उक्त सडकखण्डमा यसैपटक तीनवटा बेलिब्रिज थपिएका छन्," सचिव शर्माले भने, "रसुवागढीको चाप तातोपानीतर्फ सर्यो भने पनि उक्त सडकले धान्न सक्छ।"
यद्यपि भूबनोटको हिसाबले असुरक्षित उक्त सडकखण्ड भुइँचालोपछि झनै जीर्ण बनेको उनले बताए। त्यस्तो अवस्थामा पहिरो पन्छाउँदै गाडी वारपार गराउनुको विकल्प नहुने शर्मा बताउँछन्।
पुनर्निर्माण

तस्बिर स्रोत, NEPAL ARMY
रसुवाका प्रमुख जिल्ला अधिकारी पौडेलले मङ्गलवार दिउँसो पैदल यात्रा गरेर रसुवागढी–स्याफुबेँसी सडकखण्डको अवलोकन गरे।
झन्डै १४ किलोमिटर लामो सडकको स्थिति देखेपछि त्यो तत्काल सञ्चालनमा आउनेमा उनी विश्वस्त छैनन्।
"चार-पाँच ठाउँमा जटिल अवरोधहरू छन्। यो सामान्य मर्मतसम्भार गरेर हुने किसिमको छैन," पौडेलले भने, "तत्काल यातायात सञ्चालन हुनेबारे सोच्न कठिन छ।"
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव शर्माले पनि सीमावर्ती पुलमा समेत क्षति पुगेकाले दुई देशको विषय हुन जाने बताउँछन्।
"हाम्रोतर्फको सडकमा पुगेको क्षतिको मूल्याङ्कन गरिराखेका छौँ, पुलका हकमा भने दुई देशबीच कुरा हुन पर्यो," उनले भने।
त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानमा पूर्वाधार विषय प्राध्यापन गर्ने अनिल मर्सानीले दुवै पक्षले चाहेमा बेलिब्रिजमार्फत् सम्पर्क जोड्न कठिन नहुने बताउँछन्।
"तर सडकमा पनि क्षति पुगेको भन्ने विवरणहरू आएकाले ती स्थानमा कच्ची ट्र्याक खोल्न केही समय लाग्न सक्छ," सहप्राध्यापक मर्सानीले भने, "वर्षा सकिएसँगै एकअर्को देशमा पहुँच प्राप्त हुने गरी अस्थायी प्रबन्धहरू गर्न सकिन्छ।"
"सँगसँगै उतापट्टि कति क्षति भएको छ र चिनियाँ पक्षले कतिको प्राथमिकताका साथ त्यसको मर्मतसम्भार तथा पुनर्निमार्ण गर्छ भन्ने कुराले पनि फरक पार्छ।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








