चीनसँग मौसमसम्बन्धी तत्काल सूचना आदानप्रदानको अभावले निम्त्याएको चुनौती

बगाएको मितेरी पुल नजिकै प्रधानमन्त्री ओली

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, बाढी आएको स्थलको अवलोकन गर्न प्रधानमन्त्री ओली त्यहाँ पुगेका थिए
    • Author, सञ्जय ढकाल
    • Role, बीबीसी न्यूज नेपाली
  • पढ्ने समय: ६ मिनेट

सधैँ मौसमको अवस्था र आँकडा केलाइरहने कमलराम जोशी मङ्गलवार दिनभरि आश्चर्यमा थिए।

बिहान सबेरै नेपाल-चीन सिमानास्थित रसुवागढीमा आएको अचानक भेलबाढीको कारणबारे सोध्न बीबीसीले सम्पर्क गर्दा जल तथा मौसम विज्ञान विभागका महानिर्देशक जोशी आफैँ घोत्लिरहेका थिए।

चीनपट्टिबाट बेस्कन भेलबाढी आउनुको कारण के होला भनेर जान्न चीनबाट सूचना आवश्यक हुने उनी ठान्छन्।

चीनसँग सूचना आदानप्रदान हुँदैन?

अहिले चीनबाट 'रिअल टाइम'मा (तत्कालै) मौसमसम्बन्धी सूचनाहरू व्यवस्थित रूपले प्रदान हुने नगरेको उनले बताएका छन्।

"प्रारम्भिक अनुमान गर्न हामीलाई अप्ठेरो किन परेको छ भने यो घटना भएको स्थान हाम्रो देशमा परेन। अब उनीहरूसँग हाम्रो ठ्याक्कै डेटा शेअरिङ् (सूचना आदानप्रदान)को संयन्त्र छैन, उनीहरूका नीतिको कारण," जोशीले भने।

"लेदोसहितको बाढी आएको छ र वर्षाका कारण बाढी आएको देखिएको छैन। भनेपछि (चीनपट्टि) कुनै न कुनै रूपमा धेरै पानी भएको चिज फुट्यो। कुनै हिमताल फुट्यो कि वा पोखरी फुट्यो कि वा बाँध फुट्यो भन्ने हामीलाई थाहा हुन सकेको छैन।"

अब चीनतिर पनि सम्पर्क गरेर थप अध्ययन गरेपछि मात्र यकिन कारण थाहा हुने उनले बताए।

सिचुवान विश्वविद्यालयको इन्स्टिट्यूट फर डिज्यास्टर म्यानेजमेन्ट एन्ड रिकन्स्ट्रक्शनका डीन तथा असोसियट प्रोफेसर डा विङवे टियानले बीबीसी न्यूज नेपालीसँग दुई देशबीच सूचना आदानप्रदानबारे भने, "रसुवा विपद्ले दुई देशबीच सूचना र सञ्चार आदान प्रदानको महत्त्व औँल्याएको छ।"

उनले बीबीसीका प्रश्नहरूका इमेलमार्फत् उत्तर दिँदै भनेका छन्, "चीन र नेपालबीच पानी र मौसमसम्बन्धी जानकारी शेअर गर्न विभिन्न संरचना छन् र रसुवा घटनाले यस्ता प्रयत्न अझ बलियो बनाउनु पर्ने देखाएका छन्। इसिमोड, त्रिभुवन विश्वविद्यालय र फ्लड इन्फरमेशन सिस्टम जस्ता क्षेत्रीय संरचनासँग सहकार्य गरेर पूर्व सूचना प्रणाली र सूचना आदानप्रदानमा नेपालसँग काम गर्न चीन तयार छ।"

रसुवामा आएको बाढीले पुर्‍याएको क्षति

तस्बिर स्रोत, Nepali Army

तस्बिरको क्याप्शन, रसुवामा आएको बाढीले पुर्‍याएको क्षति

भोटेकोशी नदी जलाधारको तिब्बतको क्षेत्रमा थुप्रै हिमतालहरू अवस्थित रहेकाले बाढीको सम्भावित कारण पत्ता लगाउन तथा नदी तटीय क्षेत्रमा बाढीको असर आँकलनको लागि विभागले मङ्गलवार नै 'सेन्टिनल एशिया प्ल्याटफर्म'मा तत्कालको भूउपग्रह तस्बिर प्राप्त गर्न पनि अनुरोध गरेको जनाएको छ।

"मौसमको मामिलामा डेटा शेअरिङ् भनेको एउटा त भूउपग्रहबाट खिचिएका तस्बिरहरूको विश्लेषण हो। अर्को चाहिँ स्थलगत अवस्थाको रिअल टाइम सूचना हो, उदाहरणका लागि उतापट्टि बेस्सरी पानी परेको थियो कि थिएन भन्नेजस्ता जानकारी," जोशीले भने।

विगतका उदाहरण

उनले मौसमी डेटालाई नेपालले चाहिँ छिमेकीहरूलाई पनि उपयोगी हुने गरेर सार्वजनिक रूपमा राखिदिने गरेको बताए।

"हामीले हाम्रा कुन नदीको जलस्तर कति पुगेको छ भनेर स्पष्टसँग राखिदिने गरेका छौँ। तर त्यस्तै खालको सूचना आदानप्रदान उपल्लो (चीन) मुलुकबाट भने भएको छैन," उनले भने।

"कहिलेकाहीँ उनीहरूले अलर्ट गराएका उदाहरण पनि छन् तर ती सावधानी पनि आधिकारिक माध्यमबाट आएका होइनन्, जस्तो २०७८ सालमा सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारीलाई उनीहरूले 'पोखरी फुट्दै छ, सावधान रहनू' भनेर खबर पठाए। हामीले रातारात सावधानी अपनायौँ तर भोलिपल्ट त्यो फुटेको छैन भन्ने खबर आयो। अलिकति सञ्चारमा पनि समस्या छ," उनले भने।

काठमाण्डू विश्वविद्यालयका हिमनदीविज्ञ डा रिजनभक्त कायस्थ रसुवा बाढीले सीमावारपार मौसमी सूचना आदानप्रदान गर्नु कति महत्त्वपूर्ण हुन्छ भन्ने देखाएको बताउँछन्।

"स्थानीय स्तरमा पानी बढ्दै छ भनेर पूर्वसूचना दिएका भन्ने खबर मैले पढेँ तर त्यसको पुष्टि भएको छैन। विगतमा सिन्धुपाल्चोकमा धेरै पानी पर्न लागेको भनेर सूचना दिएका पनि थिए। तर यसले के देखाएको छ भने सरकारी स्तरमा अनि प्राज्ञहरूको पनि संलग्नतामा यस्ता सूचना आदानप्रदानका संयन्त्र हुनुपर्छ," डा कायस्थले बताए।

प्राज्ञहरूलाई त्यस्तो संयन्त्रमा सामेल गर्दा अवस्थाको गम्भीरताको विश्लेषण गरेर सार्वजनिक सूचना प्रवाहमा सहयोग मिल्ने उनी बताउँछन्।

महानिर्देशक जोशी अब उच्चस्तरको संवाद गरेर यस्ता सूचना आदानप्रदानको संयन्त्र बनाउनेतर्फ लाग्नुको विकल्प नभएको बताउँछन्।

"विपदका बेला सूचना आयो भने कम्तीमा एकडेढ घण्टाको समय हामीलाई मिल्न सक्छ। त्यो भनेको धेरै हो," उनले भने।

'वरपर ठूलो पानी परेको थिएन'

"त्यो स्थान वरपर धेरै पानी परेको देखिएन। पारिपट्टी चिनियाँ भूभागमा पनि हाम्रो रेडारले क्याप्चर गरेको क्षेत्रमा त्यस्तो पानी परेको देखिएन," जोशीले भने।

साथै विश्व मौसम सङ्गठनको 'फ्ल्याशफ्लड गाइडन्स सिस्टम'को 'ग्लोबल हाइड्रोएस्टिमेटर स्याटलाइट-बेस्ड प्रिसिपिटेशन एस्टिमेट्स'को नेपाल सदस्य राष्ट्र रहेकोले त्यहाँबाट प्राप्त जानकारीअनुसार पनि भोटेकोशी जलाधार क्षेत्रमा बाढी आउनु २४ घण्टाअगाडि वर्षा भएको नदेखिएको उनले बताए।

वरपर ठूलो पानी नपरेको हुँदा अर्को सम्भावित कारण माथि कतै ठूलो पहिरोले पानी रोकेको र पछि फुटेको हुन सक्ने अनुमान छ। "तर त्यसो भएको भए त्यहाँका नदीहरूमा भएका जलसतह नाप्ने स्टेशनहरूमा अचानक पानीको प्रवाह ह्वात्त घटेको देखिनुपर्थ्यो, जुन भएको छैन," जोशीले भने।

एक्कासि बिहान जलसतह ह्वात्त बढेको देखिने विभागले जारी गरेको प्रारम्भिक अध्ययन प्रतिवेदनमा पनि उल्लेख छ।

मङ्गलवार "बिहान ३ बजेआसपास तिब्बत क्षेत्रबाट एक्कासि ठूलो बाढी प्रवेश गरेको" त्यसमा जनाइएको छ।

स्थानीय तहमा 'भोटेकोशी' भन्ने गरिएको भए पनि यो खोला सप्तकोशीको सहायक नदी सुनकोशीको माथिल्लो भाग भने होइन।

रसुवाको ल्हेन्देखोलामा ८ जुलाई २०२५ मा मापन गरिएको जलसतह

तस्बिर स्रोत, DHM

तस्बिरको क्याप्शन, मङ्गलवार बिहान ३ बजे एक्कासि जलसतह बढेको आँकडाले देखाएको छ

"रसुवागढी नाकाबाट केही तल रसुवा-टिमुरेस्थित रहेको जलविद्युत् आयोजनाबाट प्राप्त, स्वचालित जलमापन केन्द्रको तथ्याङ्कअनुसार बिहान ३:१० बजे उक्त स्थानमा जलसतह एक्कासि करिब ३.५ मिटर बढेको देखिन्छ।"

त्यहाँबाट १३ किलोमिटर तल विभागको स्याफ्रुबेँसी स्वचालित जलमापन केन्द्रमा बिहान ३:३० मा एक्कासि प्रवाह बढ्छ। साढे तीन बजे ३.६५ मिटर रहेको जलसतह दश मिनेटपछि एकैचोटि ५.३७ मिटर पुग्छ र त्यसपछि सो केन्द्रलाई नै बाढीले बगाउँछ।

जब कि रसुवामा रहेको विभागको चीन सिमानानजिकै रहेको क्यान्जिङ मौसमी केन्द्र र धुन्चे मौसमी केन्द्रमा सोमबार बिहान ९ बजेदेखि मङ्गलवार बिहान ९ बजेसम्म फाटफुट मात्र वर्षा भएको मापन गरिएको थियो।

अर्थात् प्रारम्भिक विश्लेषणमा वर्षाको पानीका कारण यो बाढी आएको देखिँदैन।

हिमताल विस्फोटनको चिन्ता

जोशी र कायस्थ दुवैजनाको शङ्का तिब्बतको कुनै हिमताल विस्फोट भयो कि भन्ने छ।

त्यो शङ्का त्यत्तिकै गरिएको भने होइन।

विसं २०७३ सालको असार २१ गते भोटेकोशीमा आएको बाढी तिब्बतमा हिमताल विस्फोटन भएर आएको भनेर केही महिनापछि स्पष्ट भएको थियो।

तिब्बत, नेपाल र भारत समेटिने तीन मुख्य जलाधार क्षेत्रमा ३,६२४ वटा हिमताल पहिचान गरिएकामा सबैभन्दा बढी कोशी जलाधार क्षेत्रमा २०६४, कर्णाली जलाधार क्षेत्रमा १,१२८ वटा र गण्डकी जलाधार क्षेत्रमा ४३२ वटा रहेको जानकारहरू बताउँछन्। अनि माथिल्ला हिमाली भूभागमा नयाँनयाँ हिमताल बन्ने र फैलने प्रवृत्ति देखिएको पनि उनीहरूको भनाइ छ।

भूकम्प, भारी वर्षा वा अन्य कारणले ती फुट्दा तल्लो तटमा विनाश निम्तने चिन्ता टड्कारो छ।

डा विङवे टियानले चीनले रसुवा विपद्बारे अनुसन्धान गरिरहेको बताउँछन्। उनी भन्छन्, "प्रारम्भिक जाँच अनुसार भोटेकोशी नदीमा अचानक पानीको आयतन बढ्दा बाढी आएको देखिन्छ। पानी बढ्नुको कारण भारी वर्षा वा हिमताल फुटेर पानी झरेर हुन सक्छ। चिनियाँ अधिकारिहरू अनुसन्धान गरिरहेका छन् र नेपाली अधिकारीसँग त्यसबारे सम्पर्कमा छन्। स्याटलाइट तस्बिर र वैज्ञानिक तथ्याङ्क विश्लेषण भइरहेकाले धैर्य गर्न आग्रह गर्छौँ। भविष्यमा यस्तै दुखान्तकारी घटना नहून् भनेर चीन नेपालसँग खुला र सहयोगी रूपमा काम गर्न प्रतिबद्ध छ।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।