भूकम्पका बेला हिमताल विस्फोटन हुन सक्ने सधैँको चिन्ता, जोगिन नेपालको तयारी के छ

च्छोरोल्पा हिमताल

तस्बिर स्रोत, Pradeep Bashyal/BBC

तस्बिरको क्याप्शन, जोखिमयुक्त हिमताल मानिएको दोलखाको च्छोरोल्पामा पूर्वसूचना प्रणाली जडान गरिएको छ
    • Author, प्रदीप बस्याल
    • Role, बीबीसी न्यूज नेपाली

मङ्गलवार सबेरै काठमाण्डूमा भूकम्पको शक्तिशाली झट्का महसुस हुँदा नेपाली अधिकारीहरूको तत्कालको चासो हिमाली क्षेत्रमा थियो किनकि भूकम्पका बेला त्यहाँका हिमताल विस्फोट हुने जोखिम बढ्छ।

नेपालका हिमाली क्षेत्रमा सयौँका सङ्ख्यामा हिमताल भए पनि दुई वटामा मात्र पूर्वसूचना प्रणाली छ।

त्यसबाहेकका करिब दुई दर्जन हिमतालमा बेलाबखत निगरानी हुन्छ। तीसहित बाँकीमा विपद् आइहाल्ला कि भनेर चनाखो रहनुबाहेक अधिकारीहरूसँग अर्को विकल्प छैन।

जोखिमको स्तर

इम्जा तालको सतह घटाउने काममा नेपाली सेना खटिएको थियो

तस्बिर स्रोत, Nepal Army

तस्बिरको क्याप्शन, इम्जा तालको सतह घटाउने काममा नेपाली सेना खटिएको थियो

जल तथा मौसम विज्ञान विभागको हिमसर्वेक्षण तथा हिमताल शाखाका प्रमुख दिनकर कायस्थ भन्छन्, "हामीले गर्न सक्ने केही हुँदैन। हिमताल नै निगरानी गरेर बस्ने हाम्रो अत्याधुनिक प्रणाली छैन।"

सोलुखुम्बु जिल्लाको खुम्बु उपत्यकामा पर्ने इम्जा हिमताल र दोलखाको रोल्वालिङ उपत्यकामा पर्ने च्छोरोल्पा हिमतालमा मात्र नियमित रूपमा निगरानी र त्यसको सतहको सन्तुलन मिलाउने गरिएको छ।

"ती हिमतालमा स्वचालित रूपमा क्यामराबाट निगरानी र तल्लोतटीय क्षेत्रमा जल सतह मापन गर्ने सेन्सरहरू छन्। त्यसकै भरमा पूर्वसूचना दिने गरिन्छ," कायस्थ भन्छन्।

थप चारवटा ताल - थुलागी, तल्लो वरुण, होङ्गु टू र लुम्दिङच्छोमा त्यस्तो निगरानी गर्ने गरी तयारी अन्तिम चरणमा पुगेको विभागका अधिकारीहरू बताउँछन्।

त्यस्तो निगरानीको आवश्यकता महसुस गर्दै काम अगाडि बढाउन लागिएका यी हिमतालमध्ये थुगाली गण्डकी जलाधार क्षेत्रमा पर्छ भने बाँकी तीनवटा कोशी जलाधार क्षेत्रमा पर्छन्।

एकजना हिमतालविज्ञले नेपालको उच्च पर्वतीय क्षेत्रमा देशैभर हिमताल रहे तापनि पूर्वी नेपालमा यस्ता ताल विस्फोटनको जोखिम उच्च रहेको औँल्याउँछन्।

हिमनदी तथा हिमतालहरूको नक्साङ्कन तथा निगरानी कार्यमा संलग्न अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)का भूगर्भशास्त्री सुदनविकास महर्जन त्यस्तो जोखिम नेपालका मात्र नभएर तिब्बतदेखिका हिमतालबाट हुनसक्ने चेतावनी दिन्छन्।

"भूकम्पका बेला हुने कम्पनले ताल छचल्किँदा कमजोर गेगरानयुक्त बाँध फुटेर बाढी आउने, त्यसमाथि झुन्डिएर रहने ठूला बरफका ढिक्का वा ढुङ्गे पहिरो खसे बाँधमा थप भार पर्ने हुन्छ।"

हिउँदे कम्पनको 'राहत'

भूकम्पलगत्तै मङ्गलवार बिहान पूर्वी नेपालको हिमाली क्षेत्रबाट बीबीसीसँग कुरा गरेका मानिसहरूले अधिकांश हिमताल जमेको हिउँद याममा कम्पन आउँदा विस्फोटनको जोखिम यस पटक टरेको बताएका थिए।

सर्वोच्च शिखर सगरमाथासमेत पर्ने खुम्बु पासाङल्हामु गाउँपालिकाको वडा नम्बर चारका अध्यक्ष लक्ष्मण अधिकारीले गोक्यो ताल र इम्जाजस्ता मानव बस्तीमाथिका ठूला तालहरू जमेका कारण धेरै क्षति हुनबाट जोगिएको ठानिरहेको सुनाए।

"मनसुनको समय भएको भए क्षति धेरै हुन सक्थ्यो," वडाध्यक्ष अधिकारीको भनाइ थियो।

गत साउनमा सगरमाथा क्षेत्रकै थामे गाउँमाथि रहेका दुई वटा हिमतालबाट आएको बाढीले तलपट्टि कैयौँ परिवार विस्थापित भएको अवस्थामा यस पटकको भूकम्पले धेरैलाई त्यस्तै सम्भावित विपद्‍सँग जोडेर अत्त्याएको थियो।

त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकमा विपद् अध्ययन केन्द्रका निर्देशक वसन्तराज अधिकारी यही भूकम्प हिउँ पग्लिने वसन्तयामका बेला भएको भए अवस्था फरक हुन सक्ने टिप्पणी गर्छन्।

"काठमाण्डूमा हामीले जुन स्तरको कम्पन जुन अवधिसम्म महसुस गर्‍यौँ, त्यसकै आधारमा पनि यो ठूलो भूकम्प हो। त्यसले गर्दा पानी नजमीकन बसेको अवस्थामा त्यहाँ ठूला उछाल आउन सक्थ्यो," भूगर्भशास्त्री अधिकारी भन्छन्।

"तर त्यसका लागि पानीको सहत, गेगरानयुक्त बाँधजस्ता अन्य पक्षहरू पनि जिम्मेवार हुन्छन्। यस्तो बेला पानी जमेकै अवस्थामा पनि हिमपहिरोका जोखिम हुने गर्छ। यही भूकम्प नेपालतिर केन्द्रबिन्दु भएर वा जमिनमुनि कम गहिराइबाट उत्पन्न भएको भए असर अर्कै हुन सक्थ्यो।"

सगरमाथा प्रदूषण नियन्त्रण समितिका अध्यक्ष लामाकाजी शेर्पा जहिल्यै भूकम्पसँगै खुम्बु क्षेत्रमा हिमताल विस्फोटनको चिन्ता हुने भए पनि यस पटक राम्रोसँग हिउँ समेत नपरेको अवस्था रहेकाले हिमपहिरोको असर समेत खासै नसुनिएको बताउँछन्।

खुम्बु क्षेत्रको लुम्दिङ च्छो हिमताल

तस्बिर स्रोत, ICIMOD

तस्बिरको क्याप्शन, खुम्बु क्षेत्रको लुम्दिङच्छो हिमतालमा अब निगरानी गर्ने काम सुरु गर्ने सरकारी योजना छ

खुम्बुको पश्चिमपट्टि दोलखामा पर्ने च्छोरोल्पा हिमतालको तलपट्टि पर्ने ना र बेदिङजस्ता गाउँका मानिसहरू सामान्य अवस्थामै पनि बेलाबेला ताल विस्फोटन भएको हल्लाले अत्तालिने गरेको त्यहाँका मानिसहरू बताउँछन्।

"बर्खाको बेला भूकम्प आएको भए त साह्रै चिन्ता हुन्थ्यो। यतिखेर त पूरै ताल जमेको हुन्छ। गाउँमा मान्छेहरू पनि खासै हुँदैनन्। त्यसैले हामी आत्तिएनौँ," रोल्वालिङ घर भएका सगरमाथा आरोही छिरिङ पेम्बा शेर्पाले भने।

तर नेपालमा भूकम्पले हिमताल पार्ने असरको अध्ययन नभएको विज्ञहरू बताउँछन्।

सगरमाथा क्षेत्रको गोक्योमा जोखिमयुक्त नठानिएकै र साना तालहरूमा हिमपहिरो आएको पाँच महिनामै यस भूकम्प आउँदा खुम्बु क्षेत्रका मानिसहरूलाई ठूला तालको त्रास थपिएको थियो।

"यतिखेर नेपालका हिमतालमा एकैसाथ दुईखाले त्रास जोडिन पुगेका छन्। एकातर्फ जलवायु परिवर्तनका कारण हिउँ पग्लेर ताल भरिने र अर्कोतर्फ यस्ता भूहलचल हुँदा समस्या थुप्रिने गर्छन्," त्रिभुवन विश्वविद्यालयका वसन्त अधिकारी भन्छन्।

कहाँ छ जोखिम?

गोक्यो ताल

तस्बिर स्रोत, Pradeep Bashyal/BBC

तस्बिरको क्याप्शन, गोक्यो खुम्बु क्षेत्रको एउटा प्रमुख हिमताल भए पनि त्यहाँ भने विस्फोटनको जोखिम नरहेको बताइन्छ

इसिमोडका विज्ञ सुदनविकास महर्जन नेपालमा पहिचान भएका हिमतालमध्ये दुई तिहाइभन्दा धेरै पूर्वी नेपालको कोशी जलाधार क्षेत्रमा पर्ने बताउँछन्।

नेपालका २७ जिल्ला छुने यस जलाधार क्षेत्रमा एक करोडभन्दा धेरै सङ्ख्यामा मानिसहरू बस्ने राष्ट्रिय तथ्याङ्क कार्यालयको विवरण छ।

"खुम्बु क्षेत्रमा अझ ठूल्ठूला ताल छन्। त्यहाँकै लुम्दिङच्छो विस्फोटन भइहाले त्यसले खुम्बु क्षेत्रभन्दा पनि अझ तलपट्टि आएर असर गर्ने अवस्था छ। खुम्बुको पश्चिमपट्टि च्छोरोल्पा सधैँ निगरानीमा छ," महर्जन भन्छन्।

"तर नेपाल मात्र हेरेर हुँदैन। सन् २०१६ मा भोटेकोशीमा आएको बाढी तिब्बतको हिमताल विस्फोटन भएर आएको थियो।"

तिब्बत, नेपाल र भारत समेटिने तीन मुख्य जलाधार क्षेत्रमा ३,६२४ वटा हिमताल पहिचान गरिएकामा सबैभन्दा बढी कोशी जलाधार क्षेत्रमा २०६४, कर्णाली जलाधार क्षेत्रमा १,१२८ वटा र गण्डकी जलाधार क्षेत्रमा ४३२ वटा छन्।

नेपालमा जोखिमयुक्त तालका रूपमा पहिचान गरिएका २१ वटा हिमताल सन् २०१५ देखि सन् २०१८ बीचमा भूउपग्रहबाट सङ्कलित डेटाका भरमा वर्गीकरण गरिएका भए तापनि यसबीचमा माथिल्ला हिमाली भूभागमा नयाँनयाँ हिमताल बन्ने र फैलने प्रवृत्ति देखिएको इसिमोडका महर्जन बताउँछन्।

"त्यसैले भूकम्पजस्ता परिस्थिति हेर्दै अन्य त्यस्ता हिमतालको पहिचान र निगरानी गर्नुपर्ने हुन्छ।"

जोगिने उपाय

सन् २०२० मा इसिमोडले सार्वजनिक गरेको एक अध्ययन प्रतिवेदनअनुसार सन् १९७७ यता नेपालमा २६ वटा हिमताल विस्फोटनका घटना देखा परेकामा १४ वटाको उत्पत्ति नेपालमै भएको थियो।

तीमध्ये १० वटाको अन्तरदेशीय असर देखा परेको थियो।

जोखिमयुक्त हिमताल पहिचान गर्दै त्यहाँ रहेको पानीको सतह कम गर्नु नै जोगिने उपाय हुने हिमतालविज्ञ रहेका काठमाण्डू विश्वविद्यालयको वातावरणीय विज्ञान तथा इन्जिनियरिङ विभागका प्राध्यापक डा. रिजनभक्त कायस्थ बताउँछन्।

"हामीले पहिचान गरेका २१ वटामध्ये दुईवटा हिमतालको मात्र सतह घटाउन सकेका छौँ। तत्काल गर्नुपर्ने भनेको अन्य १९ वटा हिमतालमा त्यस्तै हो," कायस्थ भन्छन्।

"आर्थिक र प्राविधिक रूपमा त्यो जटिल काम नै हो। तर त्यसो गर्नुको विकल्प छैन। केही गरी ती ठूला हिमताल फुट्दा तल्लो तहमा पर्ने असर निकै ठूलो हुन्छ, जसको तुलनामा अहिले हिमतालमा गर्ने खर्च नगण्य हो।"

च्छो-रोल्पा हिमतालमुनि रोल्वालिङ नदीमा जल सतह बढेको जनाउ दिने उपकरण

तस्बिर स्रोत, Pradeep Bashyal/BBC

तस्बिरको क्याप्शन, च्छोरोल्पा हिमतालमुनि रोल्वालिङ नदीमा जल सतह बढेको जनाउ दिने उपकरण

विज्ञहरू ताल विस्फोटन भएमा तल्लो तटीय क्षेत्रको ५० किलोमिटरमा निकै ठूलो असर पर्ने र १०० किलोमिटरसम्म त्यसको मार पर्ने बताउँछन्।

यसै वर्ष थामेमा आएको हिमपहिरोले विस्फोटनपछि प्रिमनसुन र मनसुनको समयमा ठूला-साना सबैखाले हिमतालहरूको निगरानी बढाउनुपर्ने देखिएको रिजनभक्त कायस्थ बताउँछन्।

"तातोका कारण प्रिमनसुनमा हिमतालहरू बढ्ने गर्छन् भने मनसुनका बेला हुने उच्च वर्षा र हिमपातले त्यहाँ फुट्ने सम्भावना उच्च हुन्छ," उनी भन्छन्।

"थामेमा भएको त्यही थियो। त्यस भेगमा पछिल्ला वर्षामा वर्षा धेरै भएको थियो र गत बर्खामा पनि पानी धेरै परेपछि त्यो विस्फोटन भएको थियो। तर त्यसको मूल्याङ्कन हुन नसक्दा हामीले सहजताका काम गर्न सकेनौँ।"

त्यसैले ४,००० मिटरभन्दा माथिका भूभागमा उल्लेख्य रूपमा मौसम मापन केन्द्रहरू स्थापना गर्न आवश्यक भइसकेको बताउँछन्।

विगत

सन् १९८५ मा खुम्बु क्षेत्रमा दिग्च्छो हिमताल विस्फोटन भएको घटनालाई नेपालमा विवरण राखिएको पहिलो त्यस्तो उल्लेख्य घटनाका रूपमा हेरिएको छ।

सन् १९७७ यता नेपालले दुई दर्जनभन्दा बढी हिमताल विस्फोटनसँग जोडिएका घटनाहरू महसुस गरेको र त्यसमध्ये केहीको स्रोत तिब्बत रहेको भनिएको छ।

झन्डै चार दशकअघिको खुम्बु क्षेत्रको दिग्च्छो हिमताल विस्फोटपछि लिइएको तस्बिर

तस्बिर स्रोत, ICIMOD

तस्बिरको क्याप्शन, झन्डै चार दशकअघिको खुम्बु क्षेत्रको दिग्च्छो हिमताल विस्फोटपछि लिइएको तस्बिर

सन् २०२० मा अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र 'इसिमोड'ले सार्वजनिक गरेको एउटा प्रतिवेदनले नेपालको कोशी, गण्डकी र कर्णाली जलाधार क्षेत्रसहित भारत र चीनमा ४७ वटा सम्भावित खतरनाक हिमतालहरू रहेको देखाएको थियो।

सोही प्रतिवेदनमा नेपालमा अभिलेख राखिएका २,०७० हिमतालमध्ये २१ वटा "सम्भावित जोखिमयुक्त" भनेर हेरिएका छन्।

त्यसबाहेक २५ वटा तिब्बतमा र एउटा भारतमा खतरायुक्त अवस्थामा रहेको सो अध्ययनले उल्लेख गरेको छ।

तर पाँच महिनाअघिको थामे बाढी निम्त्याउने घटना निम्त्याउने तालहरू यसअघि जोखिमयुक्त रूपमा हेरिएका थिएनन्। त्यस्ता ससाना ताल नेपालमा मात्र सयौँका सङ्ख्यामा रहेको विज्ञहरू बताउँछन्।

हिमालय क्षेत्रका धेरै उपत्यकाहरू हिमताल विस्फोटन र पहिरोजस्ता घटनाबाट बनेका मानिन्छन्।

खास गरी उच्च हिमाली भेगमा मानव बस्ती भएका क्षेत्रभन्दा माथि र हिमताल एवं हिमनदी भएका क्षेत्रभन्दा मुनि सयौँ वर्षदेखि गेगरान थुप्रिएको बताइन्छ।

हिमताल र हिमनदी अस्थिर बन्दा ती गेगरान समेत सक्रिय भएर ढुङ्गा, गिटी र लेदोमिश्रित बाढी आउने विज्ञहरू बताउँछन्।

सन् २०२३ मा इसिमोडले अर्को एक प्रतिवेदनमा हिन्दूकुश क्षेत्रमा २५,००० भन्दा बढी हिमतालहरू रहेको जनाएको थियो।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।