नेपालको हिमाली क्षेत्र किन भूकम्पको उच्च जोखिममा छ?

२०७२ सालको भूकम्पपछि सगरमाथा आधार शिविरको अवस्था

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, २०७२ सालको भूकम्पपछि सगरमाथा आधार शिविरको अवस्था
    • Author, विष्णु पोखरेल
    • Role, बीबीसी न्यूज नेपाली

नेपाल-चीन सीमानजिकै हिमाली क्षेत्रलाई केन्द्रबिन्दु बनाएर मङ्गलवार बिहान गएको शक्तिशाली भूकम्पपछि हिमालय क्षेत्रमा भूकम्पीय जोखिमबारे चासो र चिन्ता व्यक्त भइरहेको छ।

नेपालको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले नेपालमा मुख्यरूपमा उत्तरतर्फका सात जिल्लाहरूमा भूकम्पको प्रभाव परेको हुन सक्ने जनाएको छ।

प्राधिकरणका अनुसार चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्गयी काउन्टी केन्द्र भएर ६.८ म्याग्निट्यूडको भूकम्प गएको हो।

विज्ञहरूका अनुसार पश्चिममा अफगानिस्तानदेखि पूर्वमा म्यान्मारसम्म फैलिएको हिन्दूकुश तथा हिमालय क्षेत्र भूकम्पीय जोखिमका दृष्टिले निकै संवेदनशील रहेको छ।

नेपालमा ८०० किलोमिटरभन्दा लामो हिमाली क्षेत्र भएकाले यस क्षेत्रको भूकम्पीय जोखिमको एक तिहाइ प्रभाव यसै क्षेत्रमा पर्ने अवस्था रहेको राष्ट्रिय भूकम्प मापन अनुसन्धान केन्द्रका अधिकारीहरू बताउँछन्।

हिमाली क्षेत्र किन उच्च जोखिममा?

हिमालय क्षेत्र

तस्बिर स्रोत, Pradeep Bashya/BBC

तस्बिरको क्याप्शन, विज्ञका अनुसार पृथ्वीको सतहमुनि रहेका जमिन-जमिनका दुईवटा प्लेटहरूले एक आपसलाई धकेलिरहेको अवस्था हिमालय क्षेत्रमा मात्र रहेको छ

केन्द्रका सिनियर डिभिजनल सिस्मोलोजिस्ट लोकविजय अधिकारीका अनुसार पृथ्वीको सतहमुनि रहेका जमिन-जमिनका दुईवटा प्लेटहरूले एक आपसलाई धकेलिरहेको अवस्था हिमालय क्षेत्रमा मात्र रहेको छ।

उनले भने, "अन्य क्षेत्रमा पनि पृथ्वीमुनिका प्लेटहरूबीच टकराव तथा छुने अवस्था बनिरहेको छ तर त्यो समुद्री प्लेट र जमिनको प्लेटबीच भइरहेको देखिन्छ।"

"हिमालय क्षेत्र मात्र यस्तो क्षेत्र हो यहाँ जमिनमुनि नै रहेका दुईवटा प्लेटहरू टकराइरहेका छन्।"

उनका अनुसार समग्र हिमालय तथा हिन्दूकुश क्षेत्रमा पृथ्वीको सतहमुनि दक्षितर्फ रहेको भारतीय प्लेट प्रतिवर्ष करिब चार सेन्टिमिटरको दरले उत्तरतर्फ रहेको युरेसियन प्लेटतर्फ सरिरहेको छ।

"भारतीय प्लेट युरेसियन प्लेटमुनि रहेको छ र बर्सेनि सर्ने चार सेन्टिमिटरमध्ये हाम्रो नेपालको क्षेत्रमा पर्ने हिमालयमुनि मात्र करिब दुई सेन्टिमिटर सर्ने गर्छ," उनले भने।

"त्यसरी सर्दा दुईवटा काठहरू तल र माथि खप्टाएर राखेर विपरीत गतिमा ठेल्दा जस्तो घर्षण पैदा भएर हलचल उत्पन्न हुन्छ उस्तै खालको दरार हाम्रो हिमालमुनि पनि उत्पन्न भइरहेको छ।"

त्यसरी उत्पन्न हुने दरारका कारण हिमालय क्षेत्रमा भूकम्प गैरहने जोखिम निकै उच्च भएको उनको भनाइ छ।

अधिकारीहरूका अनुसार नेपालमा दुई म्याग्निट्यूडभन्दा बढीका झन्डै १० वटा ससाना भूकम्प दैनिक रूपमा जाने गरेका छन्।

नेपलभित्रै भूकम्पको जोखिम फरकफरक

विश्वभरि रहेका टेक्टोनिक प्लेटहरू

अधिकारीका अनुसार नेपालभित्रै र हिमाली क्षेत्रमध्ये पनि पश्चिमतर्फको भागमा भूकम्प जाँदा त्यसले असर पुर्‍याउने क्षेत्र धेरै हुने देखिन्छ।

त्यसको कारणबारे उनी भन्छन्, "दुईटा प्लेटहरूमा दरार पैदा हुँदा पनि सबैतिर एकै खालको अवस्था रहँदैन। विशेषगरी पश्चिम नेपालतिर, हिमालयभन्दा धेरै दक्षिणतर्फ पनि त्यस्तो दरार पैदा हुने अवस्था छ। त्यसले पश्चिम नेपालमा भूकम्पको 'वेभलेन्थ' धेरै हुन्छ।"

भूकम्प गएको स्थानको भौगोलिक अवस्था कस्तो छ भन्नेले पनि जोखिम कम र बढी हुने गरेको अधिकारी बताउँछन्।

"जमिनमुनि धेरै चट्टान भएको कडा क्षेत्रमा भूकम्प स्वाट्टै गएर लामो समय नरहने हुन्छ भने काठमाण्डूजस्तो जमिनमुनि बालुवा वा माटोजस्तो बनोट भएको क्षेत्रमा धेरै बेरसम्म भूकम्पको धक्का रहन्छ," अधिकारीले भने।

"भूकम्प गएका बेला त्यस्तो अवस्थाले पनि कहाँ कति असर पार्छ भन्ने हुन्छ। कुनै पनि पहाडको उचाइतर्फ धक्का धेरै महसुस हुने र ठूलो क्षति हुने गरेको देखिएको छ।"

हिमाली क्षेत्रमा जोखिम किन बढी हुन्छ?

हिमतालको तस्बिर

तस्बिर स्रोत, Dinkar Kayastha

तस्बिरको क्याप्शन, भूकम्पका कारण हिमाली क्षेत्रमा हिमतालहरू फुट्ने सम्भावना थप बढाउने विज्ञहरू बताउँछन्

अधिकारी सैद्धान्तिक रूपमा तथा व्यापक क्षेत्रलाई समेटेर हिमाली क्षेत्रमा हुन सक्ने भूकम्पीय जोखिमबारे अध्ययनहरू भए पनि सूक्ष्म ढङ्गको अध्ययनको अभाव रहेको बताउँछन्।

उनले भने, "नेपालका हिमाल र चुचुराहरूको भौगोलिक अवस्थाहरूलाई हेरेर विस्तृत रूपमा गरिएको अध्ययन हालसम्म उपलब्ध छैन। त्यसैले हामीलाई कस्तो भूकम्प जाँदा कहाँ कस्तो प्रकारको क्षति हुन्छ भन्ने थाहा छैन।"

हिमाली क्षेत्रमा भूकम्पपछिको जोखिम अझ धेरै हुने जानकारहरू बताउँछन्।

अधिकारी भन्छन्, "भूकम्पका कारण हिमाली क्षेत्रमा पहिरो जाने तथा त्यस क्षेत्रमा रहेका हिमतालहरू फुट्ने सम्भावना बढ्छ। त्यसले गर्दा विपद्‌को जोखिमलाई थप बढाउँछ।"

विश्वमा गएका ठूला भूकम्प

केही वर्षअघि अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र 'इसिमोड'ले सार्वजनिक गरेको एउटा प्रतिवेदनले नेपालको कोशी, गण्डकी र कर्णाली जलाधार क्षेत्र सहित भारत र चीनमा ४७ वटा सम्भावित खतरनाक हिमतालहरू रहेको देखाएको थियो।

खतराको सूचीमा परेका हिमतालहरूमध्ये २१ वटा नेपालमा, २५ वटा तिब्बतमा र एउटा भारतमा रहेको सो अध्ययनले उल्लेख गरेको छ।

सन् १९७७ यता नेपालले दुई दर्जन भन्दा बढी हिमताल विस्फोटनसँग जोडिएका घटनाहरू महसुस गरेको र त्यसमध्ये केहीको स्रोत तिब्बत रहेको बताइएको छ।

हिमाली क्षेत्रमा जोखिम

तस्बिर स्रोत, BIJAY GAJMER/BBC

तस्बिरको क्याप्शन, यो शताब्दीको अन्त्यसम्म हिमताल फुट्ने घटना तीन गुणाले बढ्न सक्ने कतिपय प्रतिवेदनले जनाएका छन्

यो शताब्दीको अन्त्यसम्म हिमताल फुट्ने घटना तीन गुणाले बढ्न सक्ने र सन् २०५० बाट 'हिमताल विस्फोटको उच्च बिन्दु' मा पुगिने चेतावनी इसिमोडको प्रतिवेदनले दिएको छ।

नेपाली अधिकारीहरू इसिमोडले सम्भावित खतराको सूचीमा राखेका केही हिमतालहरूको आफूहरूले नियमित अनुगमन गर्ने गरेको बताउँछन्।

यद्यपि हिमातालहरूको नियमित अनुगमन गर्ने भरपर्दो प्रविधि र व्यवस्था नहुँदा जोखिमको पूर्वानुमान गर्न सहज नभएको स्वीकार्छन्।

जल तथा मौसम विज्ञान विभागको हिम सर्वेक्षण तथा हिमताल शाखाका प्रमुख दिनकर कायस्थले जोखिम धेरै भएका हिमतालहरूमा पूर्वसूचना प्रणाली जडान गर्न लागिएको बताए।

पहिले नै केही तालहरूमा जडान भएको प्रविधिले अहिले काम नगरेको अवस्थामा नयाँ उपकरण जडान गर्न लागिएको बुझिएको छ।

"पहिलो चरणमा हामीले इम्जा र च्छोरोल्पा तालमा त्यस्तो प्रणाली जारी गर्न लागेका छौँ। त्यसका लागि ठेक्का प्रक्रिया अघि बढिसकेको छ," मङ्गलवार उनले बीबीसीसँग भने।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।