शक्तिशाली भूकम्पमा परेर तिब्बतमा कैयौँको मृत्यु, शिगात्सेमा रहेका नेपालीहरू 'सुरक्षित'

तस्बिर स्रोत, Reuters
चीनको तिब्बतमा एउटा शक्तिशाली भूकम्प जाँदा कम्तीमा १२६ जनाको मृत्यु भएको र सयौँ घरहरू भत्किएका चिनियाँ अधिकारीहरूले बताएका छन्।
चिनियाँ निकायहरूका अनुसार नेपाल-चीन सीमामा अवस्थित सगरमाथा क्षेत्रनजिकै केन्द्रबिन्दु बनाएर गएको उक्त भूकम्पछि कैयौँ परकम्पहरू मापन गरिएको छ। उक्त भूकम्पले नेपाल, भारत र भुटानका विभिन्न स्थानमा पनि हल्लाएको थियो।
अमेरिकी भौगर्भिक निकाय यूएसजीएसले उक्त भूकम्प ७.१ म्याग्निट्यूडको भएको र त्यो जमिनभन्दा १० किलोमिटर तल गएको जनाएको छ। नेपालको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रका अनुसार उक्त भूकम्पको क्षमता नेपालमा ५.३ म्याग्निट्यूड मापन गरिएको थियो भने नेपालबाट भूकम्पको केन्द्रबिन्दु औसत दूरी ९० किलोमिटर छ।
तिब्बतमा रहेका नेपालीको अवस्था के छ
केन्द्रबिन्दु रहेको भनिएको टिग्री बजारमा पनि केही नेपाली व्यवसायीहरू रहनुभएको छ। तर उहाँहरू सुरक्षित हुनुहुन्छ। उहाँहरूलाई केही भएको छैन
ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाले तिब्बतमा रहेका नेपालीहरू सुरक्षित रहेका बताएका छन्।
उनले तीब्बतभरि करिब ५,००० नेपालीहरू रहे पनि भूकम्पको केन्द्रबिन्दु आसपासको क्षेत्रमा १०० जनाभन्दा कम नेपाली व्यवसायीहरू रहेका जानकारी दिए।
"हामीले भूकम्प जानेबित्तिकै हाम्रा नेपाली समुदाय र यहाँका निकायहरूसँग सम्पर्क गर्यौँ। नेपाली दूतावास रहेको ल्हासामा केही पनि असर थिएन," उनले भने।
"त्यो केन्द्रबिन्दु रहेको भनिएको टिग्री बजारमा पनि केही नेपाली व्यवसायीहरू रहनुभएको छ। तर उहाँहरू सुरक्षित हुनुहुन्छ। उहाँहरूलाई केही भएको छैन।"
भूकम्प गएपछि तिब्बतको शिगात्से सहरमा १,००० वटाभन्दा बढी भवन भत्किएका र १८८ जना घाइते भएको पुष्टि चिनियाँ अधिकारीहरूले पुष्टि गरेका छन्। उक्त क्षेत्रमा विद्युत् र जल वितरण प्रणाली अवरुद्ध भएको छ।
शिगात्से तिब्बती बौद्ध धर्मगुरु पन्चेन लामा बस्ने धार्मिक केन्द्र हो। उनी तिब्बती बौद्धधर्मका एक महत्त्वपूर्ण व्यक्तित्व हुन्।
चिनियाँ सेनाले उद्धारकार्यमा सैनिकहरू संलग्न भएको र मानवरहित ड्रोनलाई सगरमाथानजिकै अवस्थित दुर्गम क्षेत्रमा परिचालित गरेको जनाएको छ।
विभिन्न स्थानबाट प्राप्त भिडिओमा उद्धारकर्ताहरूले भग्नावशेषमा खोजी गरिरहेको र प्रभावित मानिसहरूलाई कठ्याङ्ग्रिने जाडोबाट जोगिन कम्बल वितरण गरेको देखिन्छ।
चिनियाँ राष्ट्रपति सी जिन्पिङले क्षति कम गर्नका लागि "पूर्ण स्तरको खोजी" र उद्धार प्रयास अनि प्रभावित मानिसहरूको पुनर्वासका लागि निर्देशन दिएका छन्।
नेपालमा भूकम्पका कारण ओखलढुङ्गा, सोलुखुम्बु र सङ्खुवासभामा केही घरमा क्षति पुगेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।
शिगात्सेमा कैयौँ पटक परकम्प मापन गरिएको चिनियाँ सरकारी टेलिभिजन सीसीटीभीले जनाएको छ।
भारत र भुटानमा पनि धक्का महसुस

तस्बिर स्रोत, EPA-EFE/REX/Shutterstock
अमेरिकी भौगर्भिक निकाय यूएसजीएसले उक्त भूकम्प ७.१ म्याग्निट्यूडको भएको र त्यो जमिनभन्दा १० किलोमिटर तल गएको जनाएको छ।
नेपालमा स्थानीय समयानुसार बिहान ६: ५० तिर उक्त भूकम्पको धक्का महसुस गरिएको थियो। त्यसपछि पनि नेपालको लोबुचे क्षेत्रभन्दा उत्तर पूर्वमा पर्ने चिनियाँ भूमिलाई केन्द्रबिन्दु बनाएर आधा दर्जनभन्दा बढी भूकम्प मापन गरिएको छ।
भारतीय सञ्चारमाध्यमहरूले उक्त भूकम्प पश्चिम बङ्गाल, असम र बिहार र दिल्लीसहित उत्तर भारतका विभिन्न स्थानमा पनि महसुस भएको जनाएका छन्। भुटानमा पनि भूकम्पको धक्का महसुस गरिएको विवरण आएका छन्।

तस्बिर स्रोत, VCG/VCG via Getty Images
दक्षिणपश्चिम चीनमा बारम्बार भूकम्प जाने गर्छ। सन् २००८ मा सिचुआन प्रान्तमा एउटा भीषण भूकम्पले करिब ७०,००० जनाको ज्यान लिएको थियो।
चीनको सरकारी प्रसारक सीसीटीभीका अनुसार मङ्गलवारको भूकम्पअघि शिगात्से वरपरको २०० किलोमिटर क्षेत्रभित्र पछिल्लो पाँच वर्षमा ३ वा त्योभन्दा बढी म्याग्निट्यूडका २९ वटा भूकम्प अभिलेख गरिएको थियो।
नेपाली अधिकारीहरू के भन्छन्
नेपालको गृह मन्त्रालयका सूचना अधिकारी दिलकुमार तामाङले नेपालका उत्तरी जिल्लाहरूबाट क्षतिको विवरण सङ्कलन भइरहेको जानकारी दिए।
उनले भने, "हामीले प्राय: सबैजसो उत्तरी जिल्लाहरूबाट प्रारम्भिक विवरण लिइसकेका छौँ। हालसम्म ठूलो क्षतिको विवरण आएको छैन।"
गृह मन्त्रालयका अनुसार कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशमा भूकम्प महसुस भएन भने गण्डकी प्रदेशका जिल्लाहरूमा सामान्य कम्पन महसुस भको थियो।
अहिलेसम्मा कोशी प्रदेशका ओखलढुङ्गा र सोलुखुम्बु अनि रामेछाप र सिन्धुपाल्चोक जिल्लामा केही घरका पर्खाल र गोठमा भूकम्पले क्षति पुर्याएको गृह मन्त्रालयले जनाएको छ।

तस्बिर स्रोत, District Police Office, Solukhumbu
खुम्बु गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष लक्ष्मण अधिकारीले भूकम्पले बेसरी हल्लाए पनि क्षतिको विवरण प्राप्त नभएको बताए।
"ठूलो भूकम्प आयो। ठूलै परकम्प गइ नै रहेको छ। यहाँ ठूल्ठूला बस्तीहरू भएका खुम्जुङ, खुम्जे, ताङ्बोचे, फोर्चे, बिङ्बोचे, गोक्यो, थामे, नाम्चेबजार, फराकक्षेत्र, लुक्ला बजार, खरीखोला सबैतिर फोन गरेर बुझिसकेँ।"
"अहिलेसम्म नेपालतर्फ कतैबाट पनि क्षति भएको विवरण आएको छैन," उनले बीबीसी न्यूज नेपालीसँग मङ्गलवार मध्याह्न कुरा गर्दै भने।
नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीका अनुसार दिउँसोसम्म मानवीय क्षतिको विवरण प्राप्त भएको छैन।
"काठमाण्डूमा अत्तालिएर घरको छतबाट हाम फाल्दा एक जना घाइते भएका छन्। उनको उपचार भइरहेको छ," उनले भने।
उनका अनुसार बाराको एउटा विद्यालयमा भूकम्पपछि ११ विद्यार्थी आत्तिएर बेहोस भएका थिए। अहिले सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

हिमतालको अवस्था
खुम्बु गाउँ पालिका वडा नम्बर ४ का अध्यक्ष लक्ष्मण अधिकारीले भूकम्पले बेसरी हल्लाए पनि क्षतिको विवरण प्राप्त नभएको बताए।
उनले भने, "ठूलो भूकम्प आयो। ठूलै परकम्प गइ नै रहेको छ। यहाँ ठूल्ठूला बस्तीहरू भएका खुम्जुङ, खुम्जे, ताङबोचे, फोर्चे, बिङबोचे, गोक्यो, थामे, नाम्चेबजार, फराकक्षेत्र, लुक्ला बजार, खरीखोला सबैतिर फोन गरेर बुझिसकेँ। अहिलेसम्म नेपालतर्फ कतैबाट पनि क्षति भएको विवरण आएको छैन।"
स्थानीयबासीहरू ठूला तालहरू: गोक्यो ताल र इम्जा ताल जमेको कारण पनि धेरै क्षति हुन पाएन र जोगियो भन्ने आकलन गरिरहेको उनले बताए।
उनले भने, "मनसुनको समय भएको भए क्षति धेरै हुन सक्थ्यो।"
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मुख्य रूपमा नेपालका सात जिल्लाहरूमा भूकम्पको प्रभाव परेको हुन सक्ने ठानिएको जनाएको छ।
केन्द्रले सामाजिक सञ्जालहरूमा लेखेको छ, "नेपालको उत्तर पूर्वी सीमानजिकै चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्री काउन्टी केन्द्र भएर ७.० म्याग्निट्यूडको भूकम्प गएको छ।"
"यसले नेपालका ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, रसुवा, उत्तरी धादिङमा असर पारेको हुन सक्छ। जिल्ला प्रशासन कार्यालयहरूबाट सूचना सङ्कलन भइरहेको छ।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।










