रसुवागढी र तातोपानी नाका अझै ठप्प, नेपाल-चीन व्यापारमा ठूलो घाटा

तस्बिर स्रोत, Suraj Maharjan
- Author, फणीन्द्र दाहाल
- Role, बीबीसी न्यूज नेपाली
बाढी र पहिरोले सडक तथा पुल बगाउँदा झन्डै एक महिनादेखि नेपाल र चीन जोड्ने तातोपानी र रसुवागढी नाका ठप्प छन्। ती नाका फेरि कहिले खुल्छन् भन्ने स्पष्ट हुन सकेको छैन।
नेपाली अधिकारीहरूले तातोपानी नाका खुलाउन एउटा "अस्थायी डाइभर्शन" निर्माणको प्रयास अन्तिम चरणमा पुगेको जानकारी दिएको छ। वैकल्पिक बाटो बनेको खण्डमा अहिले रोकिएका मालवाहक कन्टेनरहरू पार हुन सक्ने बताइएको छ।
रसुवागढी नाकामा चीनतर्फको भूभागमा सडकमा क्षति पुगेका कारणले त्यो बनिसक्न अझै केही साता लाग्न सक्ने बुझिएको छ।
गत महिना भीषण वर्षाले भोटेकोशीको बेलिब्रिज र तातोपानीनजिकै लिपिङखोलाको पुल बगाएको थियो। त्यसयता तातोपानी नाकासम्म पुग्ने बाटो अवरुद्ध छ।
रसुवागढीनजिकै चीनको सीमाभित्र सडक बगेको थियो। चिनियाँ स्थानीय निकायले तत्कालै तातोपानी र रसुवागढी नाका सञ्चालन हुन नसक्ने जानकारी व्यवसायीहरूलाई गराएको थियो।
भन्सार विभागका अधिकारीहरूले तिहारअघि दुवै नाका खुल्ने सम्भावना न्यून रहेको बताएका छन्। नेपाली व्यापारीहरूका अनुसार नाका बन्द हुँदा नेपाल-चीन व्यापारमा ठूलो घाटा पुगेको अधिकारी र व्यवसायीहरूले बताएका छन्।
नाका कहिले सहज होला
बीबीसीले दुवै नाका सञ्चालनका लागि भइरहेका प्रयासबारे अधिकारीहरूसँग बुझ्ने प्रयास गरेको थियो। तर त्यसबारे स्पष्ट उत्तर पाइएन।
बाढीपहिरोलगत्तै चिनियाँ पक्षले ती नाका हुँदै विदेश व्यापार गर्ने कम्पनीहरूलाई "केरुङ नाकानजिकै सडकमा ठूलो क्षति पुगेको र र तातोपानी नाकानजिकैको पुल बगाएको" र निकट भविष्यमा ती खुल्ने सम्भावना नरहेको जनाएको थियो। साथै शिगात्से म्यूनिसिपल ब्यूरो अफ कर्मसले ती नाका खुल्ने समयतालिकाबारे छुट्टै जानकारी दिने पनि बताइएको थियो।
तर अझै पनि दुवै नाका ठप्प रहेका र ती कहिले खुल्ने यकिन नभइसकेको अधिकारीहरू बताउँछन्।

तस्बिर स्रोत, Suraj Maharjan
वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता बाबुराम अधिकारीले बीबीसीसँग भने, “दुवैतिरबाट सामान आइरहेको छैन। लार्चा र लिपी भन्ने ठाउँमा पहिरोले पुल बगाएको छ। त्यसमध्ये लाल्चामा ह्यूम्पाइप राखेर बाटो मोडिएको छ। तर लिपीमा अहिले पनि काम भइरहेको छ भन्ने जानकारी पाएका छौँ।”
केरुङ नाकातर्फ चिनियाँ भूभागमा कुन परिमाणमा सडक क्षति भयो आफूहरूलाई स्पष्ट जानकारी नभएको उनले बताए।
“चिनियाँ राजदूतावासका प्रतिनिधिलाई बोलाएर कहाँ कति क्षति भयो र सडक बन्न कति समय लाग्छ भनेर सोध्न सम्बन्धित शाखालाई भनेका छौँ,” उनले भने।
बीबीसीले चिनियाँ भूभागतर्फ भएको क्षति र पुनर्निर्माणमा लाग्न सक्ने समयबारे काठमाण्डूस्थित चिनियाँ दूतावासलाई इमेलमार्फत् प्रश्न पठाएको छ। तर त्यसको दूतावासबाट उत्तर प्राप्त हुन बाँकी छ।
सडक विभाग के भन्छ

तस्बिर स्रोत, Suraj Maharjan
अरनिको राजमार्गमा क्षतिग्रस्त भएका पुलहरू रहेको खण्ड समेत हेर्ने जिम्मेवारी पाएको सडक डिभिजन चरीकोटका अधिकारीहरूले तत्कालै बेलिब्रिज निर्माण गर्न सकिने अवस्था नरहेकाले आफूहरूले ह्यूम्पाइप प्रयोग गरी डाइभर्शन बनाइरहेको जनाएका छन्।
लार्चामा केही दिनअघि नै त्यस्तो डाइभर्शन तयार भएको छ भने लिपिङखोलामा निर्माण कार्य अन्तिम चरणमा पुगेको सडक डिभिजन कार्यालय, चरीकोटका सूचना अधिकारी इन्जिनियर सुरज महर्जनले बीबीसीलाई बताए।
“लिपिङ खोलाको पुलमा पनि बेलुका (बुधवार)सम्म अस्थायी डाइभर्शन निर्माण गर्न सकिन्छ कि भन्ने हाम्रो तयारी छ। अहिलेको हाम्रो प्राथमिकता तातोपानीमा थुप्रिएर बसेका कन्टेनरहरूलाई पास गराउने हो।”
उनले आफूले काम गरिरहेको ठाउँबाट हेर्दा चिनियाँ भूभागमा पनि बाढी र पहिरोले क्षति पुर्याउनेका स्थानमा चीनले उपकरणहरू प्रयोग गरेर काम गरिरहेको देखिएको बताए।
गल्छी-त्रिशूली -मैलुङ-स्याफ्रुबेँसी-रसुवागढी सडक योजनाका प्रमुख खड्गलाल श्रेष्ठले तिब्बततर्फको भूभागमा सडक अवरुद्ध भए पनि त्रिशूली, धुन्चे, स्याफ्रुबेँसी हुँदै रसुवागढीसम्म सवारीसाधन चलिरहेको बताए। “स्याफ्रुबेँसी र मैलुङ हुँदै अर्को एउटा सडक निर्माणकै क्रममा थियो। त्यहाँ पहिरोका कारण सडक भासिएपछि त्यो अवरुद्ध छ।”
तिब्बततर्फ सडकमा भएको क्षतिको स्तरबारे आफूलाई जानकारी नभएको उनले बताए।
कोभिड महामारीका बेला पनि चीनले दुवै नाका बन्द गरेको थियो। त्यसबाट नेपाल-चीन व्यापारमा नकारात्मक असर परेको थियो। लामो समय नाका बन्द गरेको भन्दै त्यस बेला चीनको आलोचना भएको थियो।
त्यसअघि सन् २०१५ को विनाशकारी भूकम्पले तातोपानी क्षेत्रमा ठूलो क्षति पुर्याएको थियो। उक्त नाका चार वर्षसम्म बन्द हुँदा रसुवागढी भने चल्तीमा थियो।
नेपाली व्यवसायीहरू के भन्छन्
एक महिनादेखि नेपाल-चीन सीमामा रहेका दुई नाकासँग सम्पर्क भङ्ग भएपछि त्यसको प्रत्यक्ष मारमा नेपाली व्यवसायीहरू परेका छन्।
नेपाल हिमालय सीमापार वाणिज्य सङ्घका सभापति रामहरि कार्कीले तातोपानी नाकामा ३०० देखि ४०० र केरुङ नाकामा झन्डै ७०० वटा कन्टेनर रोकिएको बताए।
झन्डै २०० वटा कन्टेनरमा रहेका फलफूल कुहिएको भन्दै उनले दशैँको लागि ल्याइएका सामानहरू पनि प्रयोजनविहीन भएको बताए।

तस्बिर स्रोत, Suraj Maharjan
“अहिले हामीले हाम्रा व्यापारीहरूलाई पहिला यी सवारीसाधनहरू भित्रि दिनुहोस्। बरु केही समय सामानहरू नहाल्नुहोस् भनेर मौखिक जानकारी दिएका छौँ," उनले भने, "३०-४० दिन लगाएर ल्याउन मिल्ने समान छ भने त्यसका लागि बन्दरगाह नै प्रयोग गर्ने कि भन्ने कुरा पनि छ।"
"एक दिनमा ४०-५० वटाभन्दा बढी भन्सार हुँदैन। त्यही भएर सामान थुप्रिन दिनुहुँदैन भन्ने पक्षमा छौँ।”
उनले आफूहरूले हाल सडक संरचनामा पुगेको क्षतिका कारण रोकिएका कन्टेनरहरू पार नहुन्जेलसम्म सडकमार्ग हुँदै सामानहरू नल्याउन व्यवसायीहरूलाई अनुरोध गरेको पनि बताए।
सीमावर्ती क्षेत्रमा हाल बनाइएका सडक र अस्थायी पुलहरूबाट आवतजावत सहज नभएको खण्डमा व्यवसायीहरूले चीनबाट समुद्री मार्ग हुँदै सामानहरू भारत ल्याउनुपर्ने अवस्था उत्पन्न हुने देखिन्छ।
त्यसले सामान भित्रिने समय र आयातमा लाग्ने लागतलाई पनि उल्लेख्य रूपमा बढाउने ठानिन्छ।
राजस्व सङ्कलनमा कस्तो असर

तस्बिर स्रोत, Suraj Maharjan
भन्सार विभागका अधिकारीहरूले नाकाहरूबाट आवतजावत रोकिएका कारण राजस्व सङ्कलन पनि लगभग ठप्प रहेको जनाएका छन्।
भन्सार विभागका प्रवक्ता मुक्तिप्रसाद श्रेष्ठले भन्सार कार्यालयहरूबाट खासै काम नभएको बीबीसीलाई बताए।
“तिहारअघिसम्म खुलाउने प्रयास हो, तर यत्तिकै जान्छ कि भन्ने आशङ्का पनि छ। राजस्व सङ्कलन पनि लगभग शून्य बराबर छ।”
तातोपानी भन्सार कार्यालयका प्रमुख कमलकुमार भट्टराईले आफूहरूलाई यो वर्ष २१ अर्ब ७३ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य दिइएको भन्दै बाढीपहिरोपछि आवागमन ठप्प हुँदा खासै राजस्व नउठेको बताए।
उनका अनुसार उक्त भन्सार कार्यालयबाट मासिक एक अर्ब ८० करोड रुपैयाँजति राजस्व उठ्ने गर्छ। दशैँ र तिहारजस्ता चाडपर्वको बेला अरू बेलाभन्दा धेरै सामान आयात हुने भए पनि दशैँको मुखमा सडक अवरुद्ध हुँदा नकारात्मक असर परेको उनले बताए।
टिमुरेस्थित रसुवा भन्सार कार्यालयका प्रमुख तुलसीप्रसाद भट्टराईले दशैँको मुखमा नाका बन्द भएपछि राजस्वमा ठूलो क्षति भएको बताए।
उनका अनुसार सो कार्यालयलाई यो वर्ष ३० अर्ब २० करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य दिइएको छ।
प्रत्येक महिना झन्डै २.५ अर्ब रुपैयाँ राजस्व उठ्ने सो भन्सार कार्यालय हुँदै चीनबाट सबैभन्दा बढी सामान नेपाल आउने गर्छ।
चीनतर्फ पहिरोले सडकमा ठूलो क्षति पुर्याएको भन्दै रसुवा भन्सार कार्यालयका प्रमुख भट्टराईले वीच्याटमा चिनियाँ अधिकारीहरूले अक्टोबर महिनाको अन्त्यसम्ममा एकतर्फी आवतजावत गर्न बाटो खोल्न सकिन्छ भन्ने आशा व्यक्त गरेको बताए।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








