चीनसँग थपियो अर्को व्यापारिक नाका, वर्षभरि चलाउन कस्तो चुनौती

तस्बिर स्रोत, PRCAmbNepal/X
- Author, अशोक दाहाल
- Role, बीबीसी न्यूज नेपाली
नेपाल र चीनबीच थप व्यापारिक नाका सञ्चालनमा ल्याउन दुई देशबीच भएको सहमतिअन्तर्गत सोमवारबाट मुस्ताङ हुँदै चीनको तिब्बत जोडिने कोरला नाका सञ्चालनमा आएको छ।
कोभिड महामारीअघि वर्षमा दुई पटक व्यापार मेलाका लागि मात्रै खोलिने गरिएको यो नाका अब पूर्ण रूपमा सञ्चालन गर्ने जानकारी चिनियाँ पक्षले दिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बीबीसी न्यूज नेपालीलाई बताए।
“उनीहरूले पठाएको चिठीमा अब यो नाका पूर्ण स्तरमा सञ्चालनमा ल्याउने भनिएको छ। अब यो नाका पनि तातोपानी र रसुवागढी जसरी नै सञ्चालनमा आउँछ,” उनले भने।
कोभिड महामारीपछि बन्द रहेको यो नाका खुलाउन नेपाली पक्षले पहल गरिरहेको थियो।
कहाँ छ कोरला नाका?

तस्बिर स्रोत, Buddhiram Upadhyaya
जोमसोमबाट कालीगण्डकी नदीको किनारैकिनार ११६ किलोमिटरको यात्रा गरेपछि समुद्र सतहबाट ४,६०० मिटरको उचाइमा रहेको कोरला नाका पुगिन्छ। यसअघि वर्षमा दुई पटक मात्रै व्यापारिक मेलाका लागि खुला गरिने यो नाका अन्य समय बन्दै रहने गरेको थियो।
अब नाका पूर्ण रूपमा सञ्चालनमा आउने भएपछि मुस्ताङका दुई वटा स्थानीय तहका १,००० भन्दा धेरै स्थानीयवासीलाई उक्त नाका हुँदै तिब्बत जाने अनुमतिपत्र वितरण गरिएको प्रमुख जिल्ला अधिकारी पन्तले जानकारी दिए।
उनका अनुसार मुस्ताङका लो-घेकर दामोदरकुण्ड गाउँपालिका र लोमान्थाङ गाउँपालिकाका स्थानीयवासीलाई चीनतर्फ आवतजावतका लागि पास वितरण गरिएको छ। यस्तो पास एक वर्षपछि नवीकरण गर्नुपर्छ।

तस्बिर स्रोत, DAO Mustang
लोमान्थाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुद्धिराम उपाध्यायले सीमा क्षेत्रमा कर्मचारीहरू र सुरक्षाकर्मीहरूको बसोबासका लागि अस्थायी संरचनाहरू पनि तयार भएको जानकारी दिए।
“त्यहाँ चिनियाँ पक्षले नै अस्थायी बसोबासका लागि कन्टेनरबाट बनाइएका संरचना उपलब्ध गराएको छ। तत्काललाई त्यहीँबाट सेवा उपलब्ध गराउने तयारी भइरहेको छ,” उपाध्यायले भने।
चीनले लिजी-नेचुङ बन्दरगाह नाम दिएको कोरला नाकाको तिब्बततर्फको क्षेत्रमा स्थायी संरचना र राम्रो सडक निर्माण गरेको हालै नाका खोल्नेबारेको छलफलका लागि ढोङ्बा काउन्टी पुगेका प्रजिअ पन्तले बताए।
कोरला नाकाबाट ४५ किलोमिटरको सडक यात्रामा तिब्बतस्थित बजार क्षेत्र पुगिने स्थानीय जनप्रतिनिधि बताउँछन्।
यो बाटो भएर हिन्दू, बौद्ध तथा विभिन्न धर्मावलम्बीहरूको पवित्र तीर्थस्थल मानसरोवर र कैलाश जान पनि सहज रहेको बताइन्छ।

तस्बिर स्रोत, Buddhiram Upadhyaya
स्थानीयवासी उत्साहित
नाका सञ्चालनमा आएसँगै नेपालका व्यवसायीहरूले त्यहाँबाट चिनियाँ सामानहरू खरिद गर्ने र नेपाली उत्पादनहरू पनि बिक्री गर्ने अवसर पाउने लो-घेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छेम्पेल बिष्टले बीबीसी न्यूज नेपालीलाई जानकारी दिए।
“चीन विश्वमै विद्युतीय सामग्रीको निर्यात गरिरहेको देश हो। अहिले चिनियाँ बिजुलीका सामान र लत्ताकपडा काठमाण्डू र पोखरा हुँदै हाम्रो ठाउँमा आइपुग्थ्यो अब सोझै आइपुग्ने भयो,” उनले भने।
“हाम्रोमा पनि राम्रो गुणस्तरको स्याउ, आलु लगायतका खानेकुरा उत्पादन हुने गरेको छ। चीनजस्तो धनीहरू बस्ने देशमा त्यसले बजार पाउने हाम्रो पनि आशा छ।”
बिष्टले उक्त नाका खुले पनि चीनबाट स्थानीय उपभोगका लागि मात्रै आयात नगरेर पोखरा जस्ता सहरी क्षेत्रमा बिक्री र भारतीय बजारमा निर्यातका लागि पनि सामान ल्याउन सकिने बताए।
“भारत र चीन दुवै ठूला अर्थतन्त्र भए पनि उनीहरूको सम्बन्ध त्यति राम्रो नहुँदा यो नाकाबाट हामीले व्यापारका लागि पुलको काम पनि गर्न सकिन्छ,” बिष्ट भन्छन्।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी पन्त यो नाकाबाट अन्य नाका सरह नै व्यापार हुन सक्ने बताउँछन्।
“यो ठाउँ चीनको शिगात्से सहरबाट सबैभन्दा सहज सडक पहुँच भएको नाका भएको उनीहरूको भनाइ छ। त्यसो हुँदा यहाँबाट सबै किसिमको आयात निर्यात हुने देखिन्छ,” उनले भने।
शिगात्सेबाट ल्हासा हुँदै चीनको मूलभूमिसम्म रेल सञ्जाल जोडिएको छ।
सञ्चालन गर्न कस्तो चुनौती

तस्बिर स्रोत, PRCAmbNepal/X
पहिलो पटकच पूर्ण रूपमा सञ्चालनमा आउन लागेको कोरला नाका वर्षभरि सञ्चालनमा ल्याउन भने कठिन रहेको स्थानीय अधिकारीहरू बताउँछन्।
प्रत्येक वर्षको जाडो याममा माथिल्लो मुस्ताङमा मानिसहरूको चहलपहल र गतिविधि कम हुने गरेको छ।
“मङ्सिरबाट फागुनसम्म यहाँ आवतजावत कठिन छ। मानिसहरू पनि खासै हिँडडुल गर्दैनन्,” लोमान्थाङका प्रमुख प्रशासकीय अधिकृत उपाध्यायले भने।
कोरला नाकाभन्दा १० किलोमिटर वर नेपालतर्फ सशस्त्र प्रहरीको सीमा सुरक्षा पोस्ट स्थापना गरिएको भए पनि त्यहाँ जाडो याममा सुरक्षाकर्मी बस्न सक्दैनन्। सुरक्षा पोस्टसँगै रहेको भन्सारका कर्मचारीहरू पनि यसअघि मेलाको समय बाहेक सधैँ जोमसोम बस्ने गरेका थिए।

तस्बिर स्रोत, Buddhiram Upadhyaya
लो-घेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष बिष्ट यो सीमानाकालाई हिउँदमा घोषणा गरेरै बन्द गर्न नहुने बताउँछन्।
“समय तोकेर बन्द गर्नु हुँदैन। हिउँ परेर रोकिने स्थितिमा केही दिन बन्द गर्ने अलग्गै कुरा हो,” उनले भने।
नेपालतर्फ स्थायी संरचना र कोरलासम्मको सडक पूर्वाधार राम्रो बनाउन सङ्घीय सरकारले ध्यान दिनुपर्ने उनले बताए।
“अहिले नेपालपट्टि संरचना नै केही पनि छैन। राम्रो बाटो र संरचनाहरू बनाउनुपर्यो,” उनले भने।

तस्बिर स्रोत, RSS
असअघि गत सेप्टेम्बरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणका क्रममा यो नाकासहित दुई देशबीचका थप व्यापारिक र परम्परागत नाका खुलाउने सहमति भएको थियो।
सहमति कार्यान्वयबारे छलफल गर्न चिनियाँ कम्युनिस्ट पार्टीका तिब्बत सेक्रेटरी वाङ छुङछेङ गतसाता नेपाल भ्रमणमा आएका थिए।
उनको भ्रमण सुरु हुनुभन्दा केही समयअघि मात्रै चीनले यो नाका सञ्चालनमा ल्याउन लागिएको जानकारी नेपाली पक्षलाई दिएको अधिकारीहरूले बताएका छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








