अहिले लडाइँ जहाँको तहीँ अड्किएको छ: युक्रेनी गुप्तचर प्रमुख

    • Author, ह्युगो बशेगा
    • Role, बीबीसी न्यूज, किएभ

युक्रेनमा भइरहेको लडाइँमा न युक्रेन न त रुसले नै महत्त्वपूर्ण प्रगति हासिल गर्न सकेको र गतिरोधको अवस्था रहेको युक्रेनी सेनाको गुप्तचर निकायका प्रमुखले बीबीसीलाई बताएका छन्।

युक्रेन आफूलाई समर्थन गर्ने पश्चिमा राष्ट्रहरूबाट थप अत्याधुनिक हतियारको प्रतीक्षमा छ।

“अहिले युद्ध अड्किएको अवस्थामा छ, अगाडि बढिरहेको छैन,” किरिलो बुडानोभले बीबीसीलाई दिएको अन्तर्वार्तामा भने।

युक्रेनी फौजले गत नोभेम्बर महिनामा दक्षिणी सहर खेअर्सनलाई पुन: नियन्त्रणमा लिएपछि अहिले पूर्वी डोनेट्स्क क्षेत्रस्थित बख्मुटवरिपरि सघन लडाइँ भइरहेको छ।

अन्यत्र रुसी सेना रक्षात्मक स्थितिमा रहेको छ। हिउँदका कारण युक्रेनको झन्डै १,००० किलोमिटर लामो युद्धमोर्चामा स्थलगत कारबाही सुस्त बनेको छ।

रुस अहिले “अहिले मार्गविहीन अवस्थामा पुगेको” र उसले ठूलो क्षति बेहोरिरहेको बुडानोभको दाबी छ।

क्रेम्लिनले फेरि सैनिकहरू परिचालन गर्ने घोषणा गर्न लागेको आफ्नो बुझाइ रहेको उनले बताए।

उनका अनुसार धेरै क्षेत्रमा युक्रेनी सैनिकहरूले पनि अगाडि बढ्न स्रोतको अभाव भोग्नुपरेको छ।

"हामी उनीहरूलाई सबै दिशामा हराउन सक्दैनौँ र उनीहरू पनि हामीलाई त्यसो गर्न सक्दैनन्,” उनले भने।

“हामी नयाँ र अत्याधुनिक हतियार कहिले आइपुग्ला भन्ने पर्खाइमा छौँ।”

यो महिनाको सुरुमा रुसी सेनाले एकपछि अर्को विफलता भोगेपछि मस्कोले बेलारुसतर्फबाट सन् २०२३ को सुरुमा स्थलगत आक्रमण गर्ने सम्भावनाबारे उनले सचेत गराए।

तर बुडानोभले बेलारुसमा भइरहेको सैनिक गतिविधिलाई खासै महत्त्व दिएनन्।

बेलारुसमा ठूलो सङ्ख्यामा रुसी सैनिकहरूको एक ठाउँबाट अर्को ठाउँ ओसारिएको छ। युक्रेनले आफ्ना हजारौँ सैनिकलाई दक्षिणी र पूर्वी रणभूमिबाट उत्तरतिर पठाओस् भनेर रुसले त्यसो गरेको ठानिएको छ।

हालै रुसी सेना बोकेको एउटा रेल बेलारुस-युक्रेन सीमानजिकै रोकिएको र केही घण्टापछि सबै सैनिक लिएर फर्किएको बुडानोभले बताए।

“उनीहरूले त्यो दिउँसो गरेका थिए र त्यो (हामीले) हेर्न नचाहे पनि सबैले देखून् भनेर गरिएको थियो,” उनले बेलारुसस्थित फौजबाट तत्कालको खतरा रहेको आफूलाई नलागेको बताए।

“अहिलेसम्मको स्थिति हेर्दा बेलारुसबाट किएभमाथि वा उत्तरी क्षेत्रमा आक्रमण गर्ने कुनै योजना बनाएको देखिन्न।”

मधुरो बत्ती बलिरहेको बुडानोभको कार्यालयमा अन्तर्वार्ता लिइएको थियो।

कुराकानी रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बेलारुसी राजधानी मिन्स्कमा तीन वर्षयता पहिलो पटक यात्रा गरेको केही दिनपछि भएको थियो।

भ्रमणका बेला पुटिनले लामो समयदेखि रुसको गतिविधिको समर्थक रहेका राष्ट्रपति आलेक्जान्डर लुकशेन्कोलाई बेलारुसी फौजलाई युक्रेन पठाउन सहमत गराउन खोज्ने अनुमान गरिएको थियो।

रुसी फौजले बेलारुसलाई युक्रेनमाथि आक्रमण गर्न आधारशिविरका रूपमा प्रयोग गरिरहेको छ।

बुडानोभले बेलारुसी समाजले युद्धमा थप संलग्न हुने कुराको समर्थन नगर्ने र बेलारुसका ४८,००० सैनिकको तयारीको पर्याप्तताबारे पनि विश्लेषकहरूले प्रश्न उठाएको जनाएका छन्।

“त्यसैले राष्ट्रपति लुकशेन्कोले आफ्नो मुलुकमाथि कुनै विपत्ति नआओस् भनेर सबै उपाय गरिरहेका छन्,” बुडानोभले भने।

खेअर्सन पुनः आफ्नो नियन्त्रणमा लिएपछि युक्रेनी फौज र रुसी पक्षबीच बाख्मुटमा भीषण लडाइँ भइरहेको छ। अनि त्यो पहिलो विश्वयुद्धका बेलाको जस्तो छ।

रुसले खेअर्सन नियन्त्रणमा लिन सके युक्रेनको आपूर्ति प्रणाली अवरुद्ध हुनेछ र बलियो युक्रेनी समर्थन रहेका पूर्वी क्षेत्रहरू क्रामाटोर्स्क र स्लोभियान्स्क लगायतका स्थानमा उसलाई अगाडि बढ्न बाटो खुल्नेछ।

युक्रेनी सैनिकहरूले हप्तौँदेखि बाख्मुटको रक्षा गरिरहेका छन्।

बुडानोभका अनुसार त्यहाँ भाडाको सैनिक उपलब्ध गराउने रुसी समूह वाग्नर ग्रूपको नेतृत्वमा आक्रमण भइरहेको छ। रुसका वरिष्ठ सैन्य अधिकारीहरूबीच द्वन्द्व भएको मौका छोपेर वाग्नरका संस्थापक येभ्गेनी प्रिगोजिनले उक्त सहरमा नियन्त्रण कायम गरी "राजनीतिक पुरस्कार" हार पार्न खोजेको ठानिएको छ।

कसरी भइरहेको छ लडाइँ

युद्ध मैदानबाट टाढाका स्थानमा रुसले ड्रोन र क्षेप्यास्त्रबाट मध्य अक्टोबरयता निरन्तर हवाई कारबाही गरिरहेको छ।

युक्रेनका महत्त्वपूर्ण भौतिक संरचनाहरू रुसी कारबाहीको निसानामा परेका छन्।

त्यसका कारण दशौँ लाख मानिसले बिजुली र पानी पाउन सकेका छैनन् र जाडोमा घर तताउने प्रणाली प्रयोग गर्न पाएका छैनन्।

ती कारबाहीहरू निरन्तर हुन सक्ने तर रुसले त्यही तहको हवाई कारबाही भने जारी राख्न नसक्ने बुडानोभ ठान्छन्। रुसको क्षेप्यास्त्र भण्डारण रित्तिन लागेको र रुसी उद्योग त्यसलाई भरिभराउ राख्न अक्षम रहेको उनको बुझाइ छ।

रुसी आक्रमणमा प्रयोग गरिएका धेरैजसो ड्रोन इरानले उपलब्ध गराएको भए पनि युक्रेनी गुप्तचर प्रमुखका अनुसार इरानले रुसलाई क्षेप्यास्त्र उपलब्ध गराउन अस्वीकार गरेको छ।

पश्चिमा देशहरूले तेहरानमाथि थप कारबाही गर्न सक्ने भयका कारण इरानले त्यसो गरेको उनको ठम्याइ छ। अहिले नै इरानले आफ्नो पारमाणविक कार्यक्रमका कारण विभिन्न प्रतिबन्ध झेलिरहेको छ।

युद्ध अहिलेका लागि गतिरोधको अवस्थामा रहे पनि बुडानोभले सन् २०१४ देखि रुसी नियन्त्रणमा रहेको क्राइमिया लगायतका भूमि आफ्नो नियन्त्रणमा फिर्ता ल्याउने विषयमा दृढ छन्।

उनी भन्छन्," युक्रेनको सीमा सन् १९९१ को मै फर्किनेछ जुन सोभियत सङ्घ विघटन भएपछि स्वतन्त्र हुँदाखेरिकै सिमाना हो।

थप रिपोर्टिङ हाना सीबा र रबी राइटबाट