तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
युक्रेन युद्धः सात श्रीलङ्काली नागरिक जो युक्रेनमा रुसी क्रूरताबाट मुक्त भए
- Author, सोफिया बेटिजा
- Role, बीबीसी न्यूज, खार्किभ, युक्रेन
इज्यूम सहर पुनः युक्रेनको नियन्त्रणमा आएपछि उक्त क्षेत्र रुसको कब्जामा हुँदा भएका अत्याचारसम्बन्धी धेरै घटनाहरू उजागर भएका छन्। त्यहाँ केही श्रीलङ्कालीहरूलाई महिनौँदेखि बन्दी बनाएर राखिएको भन्ने विवरणहरू सार्वजनिक भएका छन्। तिनै मानिसले बीबीसीलाई आफ्नो भोगाइ सुनाएका छन्।
"हामीले आफूहरू कहिल्यै जिउँदै बाहिर निस्कन्छौँ भन्ने सोचेका थिएनौँ," दिलुजन पाथिनाजकनले भने।
दिलुजन रुसी सेनाले गत मे महिनामा बन्दी बनाएको भनिएको सात श्रीलङ्कालीमध्ये थिए।
उक्त समूह उत्तरपूर्वी युक्रेनको कुपियान्स्कमा अवस्थित आफ्नो घरबाट तुलनात्मक रूपमा सुरक्षित खार्किभतर्फ पैदल यात्रामा निस्किएका थिए। त्यो दूरी झन्डै १२० किलोमिटरको छ।
तर पहिलो सुरक्षाचौकीमा पुग्नेबित्तिकै उनीहरूलाई रुसी सेनाले नियन्त्रणमा लिए। ती श्रीलङ्कालीहरूको आँखामा पट्टी लगाइयो, हात बाँधियो र उनीहरूलाई रुसी सीमानजिकै रहेको भोभचान्स्क सहरमा रहेको औजार उद्योगमा लगियो।
त्यहीँबाट उनीहरूको चार महिना लामो त्रासदीपूर्ण समय सुरु भएको थियो। त्यहाँ उनीहरूलाई बन्दी बनाइनुका साथै बलपूर्वक मजदुरी गराइएको थियो र यातना समेत दिइएको थियो।
चेतावनी: तल केही अत्याचारसम्बन्धी विवरणहरू उल्लेख गरिएको छ
यो समूह कामको खोजीमा वा पढ्नका लागि युक्रेन आएको थियो। तर अचानक उनीहरू कैदी भए।
निकै थोरै खानामा निर्भर भए। कैदी रहँदा उनीहरूलाई केबल दुई मिनेटको लागि शौचालय प्रयोग गर्न अनुमति दिइन्थ्यो। कहिलेकाहीँ उनीहरूलाई नुहाउन अनुमति दिइन्थ्यो तर त्यसका लागि दुई मिनेट समय तोकिएको थियो।
उमेरले २० वर्ष हाराहारीका पुरुषहरू सबैलाई एउटै कोठामा राखिएको थियो। समूहकी एक मात्र महिला ५० वर्षीय मेरी एडिट उथजकुमारलाई अलग्गै राखिएको थियो।
"उनीहरूले हामीलाई एउटा कोठामा थुने," उनले भनिन्,"हामी नुहाउन जाँदा उनीहरूले हामी माथि कुटपिट गर्थे। उनीहरूले मलाई अरू कसैसँग भेट्न समेत दिएनन्। हामी तीन महिनासम्म भित्रै थुनियौँ।"
मेरीको मुहारमा पहिले देखि नै श्रीलङ्कामा कारमा भएको बम प्रहारमा पर्दाको दाग छ। उनको मुटुमा पनि समस्या छ। तर उनले त्यसका लागि कुनै औषधि पाएकी छैनन्।
तर यो एकान्तको रहँदाको प्रभाव थियो जसले उनीहरूमा गम्भीर नतिजा निम्त्यायो।
"एक्लै रहँदा म निकै तनावमा हुन्थेँ," उनले भनिन्, "उनीहरूले मलाई मानसिक स्वास्थ्य समस्याहरू भएको बताए र मलाई केही चक्कीहरू दिए। तर मैले खाइनँ।"
उनीबाहेक अन्य केही व्यक्तिहरूमा शारीरिक चोटपटक लागेको छ, जसले उनीहरूलाई बारम्बार आफूले भोगेको यातना सम्झाइरहन्छ। एक जनाले जुत्ता फुकालेर पिलासले आफ्नो बूढीऔँलाको नङ निकालेको भाग देखाए। अर्का एक व्यक्तिले पनि उस्तै यातना भोगेको बताए।
उक्त समूहले बिनाकारण आफूलाई कुटपिट गर्ने रुसी सैनिकहरूको बारेमा पनि बोल्यो। ती सैनिकहरू रक्सीले मात्तिएका हुन्थे र उनीहरूलाई आक्रमण गर्थे।
"उनीहरूले मेरो शरीरभरि धेरै पटक बन्दुकले हिर्काए," ३५ वर्षीय थिनेश गोगेन्थिरानले भने। "उनीहरूमध्ये एकले त मेरो पेटमा मुक्का हान्यो र दुई दिनसम्म मलाई निकै पीडा भयो। त्यसपछि उसले मसँग पैसा माग्यो।"
"हामीहरू निकै क्रोधित र दुःखी थियौँ। हामी हरेक दिन रुन्थ्यौँ," २५ वर्षीय दिलुक्सन रोबर्टक्लिभले घटनाक्रम व्याख्या गरे।
"हामीलाई प्रार्थना र परिवारजनको यादले जीवित राखेको थियो।"
रुसले सर्वसाधारण माथिको आक्रमण र युद्ध अपराध गरेको कुरा नर्कार्दै आएको छ। यद्यपि श्रीलङ्काली समूहले लगाएको आरोप रुसी सेनाले कब्जा गरेको भूभागमा गरेको बर्बरता व्याख्या गर्ने अन्य प्रतिवेदनहरूसँगै आएको छ।
युक्रेनले इज्यूम सहरनजिकै रहेका जङ्गलहरूमा गाडिएका स्थानबाट शवहरू उत्खनन गर्दै छ। तीमध्ये केही शवहरूमा यातनाका सङ्केतहरू देखिन्छन्। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले "खार्किभ क्षेत्रको स्वतन्त्र भएका केही भूभागहरूमा १० वटाभन्दा बढी यातना गृह फेला परिसकेको" बताएका छन्।
युक्रेनी फौजले प्रत्याक्रमणमार्फत् भोभचान्स्कसहित पूर्वी युक्रेनको भूभागहरू पुनः आफ्नो नियन्त्रणमा लिने क्रममा बन्दी बनाइएका सात श्रीलङ्कालीहरूको मुक्ति सम्भव भएको हो।
फेरि एक पटक यो समूहले खार्किभतर्फको यात्रा सुरु गर्न लागेको छ। उनीहरू एक्लिएका थिए र परिवारसँग सम्पर्क गर्नका निम्ति उनीहरूसँग फोन पनि थिएन।
तर अन्ततः उनीहरूको भाग्य फेरियो। कसैले उनीहरूलाई बाटोमा देखे र प्रहरीलाई खबर गरे। एक प्रहरी अधिकारीले आफ्नो फोन उनीहरूलाई दिए।
त्यतिबेला ४० वर्षीय ऐनकरनाथन गणेशमूर्तिले उक्त मोबाइलको स्क्रीनमा आफ्नी श्रीमती र छोरीलाई देखेको क्षण भक्कानिए। त्यसपछि अन्य सबैले परिवारजनसँग कुरा गरे र त्यहाँ थप आँसु बग्यो।
अन्त्यमा यस समूहले आश्चर्यचकित भएका प्रहरी प्रमुखको वरपर झुम्मिए र उनलाई अँगालो मारे।
यस समूहलाई खार्किभ लगिएको छ र त्यहाँ उनीहरूको स्वास्थ्य परीक्षण गरिएको छ। उनीहरूलाई नयाँ लत्ता कपडासहित स्विमिङ पुल र जिम भएको पुनर्स्थापना केन्द्रमा बस्ने प्रबन्ध मिलाइएको छ।
दिलुक्सनले दङ्ग पर्दै भने,"अहिले त म निकै खुसी छु।"
युक्रेन युद्धका कारण आक्रान्त भएको हुनसक्छ तर आप्रवासीहरूको यस देश र यहाँका मानिसहरूसँग एक उल्लेखनीय सम्बन्ध बनाएका छन् र रुसले दिइरहेको पीडा समेत बाँडिरहेका छन्।
यो पनि हेर्नुहोस्