युक्रेन युद्ध: आक्रमण सुरु भएपछि रुस पुगेका धर्मसन्तान खोज्न र उद्धार गर्न युक्रेनी आमाले गरेको सङ्घर्ष

    • Author, निना नाजारोभा र कातेरिना खिन्कुलोभा
    • Role, बीबीसी विश्व सेवा

रुसले युक्रेनमा आक्रमण सुरु गरेपछि एक दम्पती आफूले लालनपालन गरेका छ धर्मसन्तानसँग अनिश्चितकालका लागि छुट्टिनुपर्‍यो। बालबालिकालाई रुसमा लगेर जबरजस्ती अरूलाई पाल्न दिइने कुरा सुनेपछि उनीहरूलाई ती बच्चासँग फेरि भेट हुने आशा मरिसकेको थियो।

युक्रेनमाथि रुसी आक्रमण सुरु भएलगत्तै ओल्गा लोपात्किनाको ध्यान घरबाट १०० किलोमिटर टाढाको समुद्री क्षेत्रतिर घुम्न गएका छ बालबालिकामा गयो।

स्वच्छ हावाको आनन्द लिऊन् भनेर पठाइएका उनीहरू बिदा मनाउने जाने मानिस बस्ने एउटा घरमा बसिरहेका थिए।

अचानक भीषण बमबारी सुरु भएपछि बच्चाहरू भएको ठाउँमा पुगेर उनीहरूलाई ल्याउन सम्भव भएन।

बच्चाहरूलाई मारिऊपोलमै छोड्ने कि बमबारीको जोखिम मोलेर पतिलाई लिन पठाउने? ओल्गालाई ठूलो सङ्कट आइलाग्यो।

"हामीलाई छटपटी भयो तर के गर्ने निर्णय लिन सकेनौँ," उनले भनिन्।

युक्रेनमा रुसी बमबारीबाट भएको क्षतिको पर्यायजस्तै बनेको थियो मारिऊपोल सहर।

आक्रमण सुरु भएको दुई दिनपछि पूर्वी क्षेत्रबाट भागेर आएका शरणार्थीहरूसँग भेट भएपछि ओल्गालाई युद्धको हिंसात्मक वास्तविकताबारे बोध भयो। अवस्था बिग्रिँदै गएको देखेर उनी दुःखी भइन्।

धेरै युक्रेनजस्तै ओल्गाले पनि युद्ध केही दिनमै सकिने सोचेकी थिइन्। त्यसपछि आफ्ना बच्चाहरूलाई युक्रेन अधिकारीहरूले उद्धार गरेर ल्याइदिने उनको आशा थियो।

तर युद्ध चर्किँदै जाँदा बालबालिका थप जोखिममा परे। उनीहरू विस्फोटमा नमारिएको भए रुसी नियन्त्रणमा उनीहरूको भविष्य कस्तो होला भन्ने चिन्ता ओल्गालाई पर्‍यो।

वयस्क र बालबालिका दुवैलाई उद्धारको नाममा रुसमा लगिँदै गरेका समाचारहरू आएपछि उनीहरूको चिन्ता बढ्यो।

धर्म सन्तानको रहर

यो दम्पतीले सन् २०१६ बाट धर्मसन्तान पाल्न थालेका हुन्।

गत फेब्रुअरीमा युद्ध सुरु हुनुअघिसम्म उनीहरूले राखेका धर्म सन्तानको सङ्ख्या सात पुगेको थियो। उनीहरू छ देखि १७ वर्षसम्मका थिए। त्यसबाहेक उनीहरूका आफ्ना दुई सन्तान थिए।

"हामी अरूभन्दा भिन्न खालको रुचि भएका मान्छे हौँ, हामीलाई यसो गर्न मन पर्छ। बच्चाहरूले हामीलाई भावनासँग जोड्छन्, उनीहरू आउनुअघि हाम्रो जीवन नीरस थियो," उनी भन्छिन्।

ओल्गाले बालबालिकाहरूलाई सङ्गीत सिकाउने काम गरिन्। उनका पति डेनिसले खानीमा काम गरे। उनीहरूको जीवन रमाइलो र पूर्ण नै थियो।

तर मार्च महिनाको सुरुसँगै उनीहरूको परिवार यत्रतत्र छरियो र डरैडरमा बाँच्न थाल्यो।

विद्युत् आपूर्ति कटौती भएपछि बच्चाहरूले मोबाइल चार्ज गर्न पाएनन्। ओल्गाले उनीहरूसँग बोल्न पाइनन्।

उनीहरूको घर भएको क्षेत्रमा पनि गोलाबारी सुरु भएपछि भूमिगत तल्लामा बस्न सुरु गरे।

"हामीलाई जताततैबाट बम हानिएको थियो। त्यो क्षण निकै डरलाग्दो थियो," उनले सुनाइन्।

मारिऊपोलबाट उद्धार गरिएका केही मानिसहरूलाई राखिएको थाहा पाएपछि उनीहरू अर्को ठाउँमा सरे। युक्रेन प्रशासनले आफ्ना बच्चाहरूलाई पनि त्यहाँ ल्याइदिने उनीहरूको आशा थियो।

तर त्यो सहर असुरक्षित थियो। त्यसपछि उनीहरू अझै पश्चिममा रहेको लभिभ जाने निर्णय गरे।

त्यहाँ पनि एउटा समस्या आइलाग्यो। डेनिस सेनामा भर्ती हुनुपर्ने कुरा उठेपछि उनीहरू युक्रेन छोडेर भागे।

आफैँ शरणार्थी

युद्ध सुरु भएको दुई सातामै ओल्गा, डेनिस र उनीहरूसँग रहेका तीन बच्चा आफैँ शरणार्थी भइसकेका थिए।

तैपनि ओल्गालाई छुटेका धर्मसन्तानहरूलाई भेट्टाउने आशा मरिसकेको थिएन।

जर्मनी पुगेर बस्ने ठाउँको खोजी गरिरहेका बेला उनीहरूले आफ्ना बच्चाहरूबारे थाहा पाए।

उनीहरूलाई रुससमर्थित पृथक्तावादीहरूको नियन्त्रण रहेको डोनेट्स्क पुर्‍याएको रहेछ। त्यहाँ एउटा क्षयरोग अस्पतालमा उनीहरूलाई राखिएको थियो।

उनीहरूलाई अलपत्र छाडिएको सामाजिक सेवाले जानकारी दिएको थियो।

मोबाइल चार्ज गर्ने मौका पाएपछि सबैभन्दा जेठो धर्मसन्तान तिमोफेले ओल्गालाई सन्देश पठाएका थिए। उनलाई त्यो ठाउँ छाडेर जाने मौका दिने भनिएको भए पनि भाइबहिनीलाई हेर्नका लागि आफूले त्यसलाई अस्वीकार गरेको उनले खबर पठाए। तर ओल्गाले खबर नै नगरी युक्रेन छोडेकोमा उनी रिसाएका थिए।

ओल्गाले आफ्ना बच्चाहरूबारे सामाजिक सञ्जालमा जानकारीहरू राख्दै सहयोगका लागि आह्वान गरिन्। तर उनलाई बच्चाहरू छोडेको, देश छोडेको र उनीहरूको ख्याल नगरेको आक्षेपहरू लगाउँदै प्रतिक्रियाहरू आए। त्यसले उनलाई दुःख पनि लाग्यो।

तैपनि उनले अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आफ्नो समस्या उठाइन्।

"मैले हाम्रो अवस्थाबारे सकेसम्म धेरै प्रचार गर्ने प्रयास गरेँ। मलाई आशा थियो कसैले यो सुनेर सहयोग गर्न सक्छ," उनी भन्छिन्।

बस्ने ठाउँको खोजी

बस्ने ठाउँको खोजीमा भौँतारिँदै उनीहरू फ्रान्स पुगे। त्यहाँ उनीहरूलाई नयाँ जीवन, जागिर र सबै परिवार अटाउने घर रेडक्रसको अनुदानमा मिल्यो।

त्यहाँका नगरप्रमुखले युक्रेनी शरणार्थीका परिवारलाई बस्नका लागि आमन्त्रण गरेका थिए।

एप्रिलबाट ओल्गाले तिमोफीसँग हरेक साँझजसो कुरा गर्न थालिन्। त्यसले उनीहरूबीच चिसिएको सम्बन्ध पुनः सुमधुर बन्यो।

बच्चाहरू डोनेट्स्कको सामाजिक सेवा गर्ने संस्थाले त्यहाँबाट अन्यत्र जान दिने अनुमतिको पर्खाइमा थिए।

'फेरी युक्रेन कसरी जानु?'

तर उनीहरूलाई कानुनी अधिकारप्राप्त अभिभावकलाई मात्र जिम्मा दिइने सर्त राखियो।

त्यसका लागि ओल्गा भर्खरै छोडेर भागेको देश फर्किनुपर्ने भयो।

"म रुसबाट भागेर शरणार्थी भएँ, अब उनीहरूकै कब्जामा भएको ठाउँमा कसरी जानु?" उनी अप्ठ्यारोमा परिन्।

उनी जान नसक्ने भएपछि डोनेट्स्कको सामाजिक सेवाले बच्चाहरूको जन्मदर्ता माग्यो।

तर ओल्गालाई उनीहरूलाई रुसमा धर्मसन्तानको रूपमा पठाउन मागिएको हो कि भन्ने आशङ्का भयो।

रुसी टेलिभिजनहरूले नियमित रूपमा युक्रेनबाट स्वतन्त्र गरिएको क्षेत्रबाट उद्धार गरिएका नागरिकहरूबारे प्रसारण गरिरहेका समाचारहरूले उनीहरूको आशङ्कामा बल पुगेको थियो।

त्यसलाई किएभले अपहरण भन्ने गरेको थियो।

हराएको आशा

मे महिनामा राष्ट्रपति पुटिनले युक्रेनबाट ल्याइएका बालबालिकालाई सहज बनाउने एउटा आदेश जारी गरे। त्यसमा युक्रेनको विदेश मन्त्रालयले विरोध जनाउँदै मानवाधिकारसम्बन्धी जिनिभा सन्धिको उल्लङ्घन भएको आरोप लगायो।

यही महिनाको सुरुतिर युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले २० लाख युक्रेनीहरूलाई बलपूर्वक रुसमा निष्कासन गरिएको र तीमध्ये हजारौँ बालबालिका भएको बताएका थिए।

यी सबै परिस्थितिले ओल्गालाई आफ्ना धर्मसन्तानहरू आफूसँग फर्काउने सम्भावना कमजोर बनेको लागेको थियो।

जुनमा अचानक डोनेट्स्कबाट उनलाई एउटा फोन आयो। फोनमा कसैले उनका बच्चाहरूलाई युरोप ल्याइदिन सक्ने बताए।

त्यहाँको प्रशासनसँग पनि राम्रो सम्बन्ध बनाएकी स्वयंसेवी तात्यानाले उनीहरूलाई सहयोग गर्ने इच्छा गरेकी थिइन्।

पुनर्मिलन गराउने स्वयंसेवी

उनीहरूले तात्यानालाई बच्चाहरूको अस्थायी अभिभावक बनाउँदै आवश्यक सबै काजगपत्र पठाइदिए।

निकै झन्झटिलो प्रक्रिया पूरा भएपछि तात्याना बच्चाहरूलाई लिएर रुस, लाट्भियाको बाटो हुँदै जर्मनी आइपुगिन्।

"उनीहरू सबैको थर भिन्नाभिन्नै थियो। प्रत्येक देशको सीमा पार गर्दा सुरक्षाकर्मीहरूलाई बुझाउन मलाई निकै मुस्किल पर्थ्यो," तात्याना भन्छिन्।

डेनिस बच्चाहरूलाई लिन बर्लिनसम्म आए र फ्रान्सको घरसम्म पुर्‍याए।

चार महिनाको तनाव र त्रासबीच परिवारको पुनर्मिलन निकै भावुक बन्यो। एकअर्कालाई अँगालो मारिरहँदा उनीहरूका आँखाबाट आँसु चुहिएको थियो।

"तिमी त बढेर झन् ठूलो भइसकेछौँ," अँगालो हाल्दै ओल्गाले भनिरहेकी थिइन्।

अब यो परिवार बिदा मनाउन पोर्चुगल जाने योजनामा छ।